बैंकले हायर पर्चेज कर्जा घटाए, अब ‘ईभी लोन’मा केन्द्रित
काठमाडौं । अटो व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट कुल १ खर्ब ६ अर्ब रुपैयाँ हायर पर्चेज कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार गत असारसम्म व्यवसायीले कुल १ खर्ब ६ अर्ब ८५ करोड ९० लाख रुपैयाँ बराबरको हायर पर्चेज कर्जा लिएका हुन् । जुन वितगका वर्षहरूको तुलनामा धेरै कम हो । पाँच वर्ष अगाडि अर्थात् २०७७ असारमा अटो व्यवसायीले कुल १ खर्ब ४४ अर्ब ९९ करोड १० लाख रुपैयाँबराबरको हायर पर्चेज कर्जा लिएका थिए । विगत पाँच वर्षको तुलनामा हायर पर्चेज कर्जा २६.२९ प्रतिशतले घटेको हो । नेपाल राष्ट्र बैंकका अनुसार २०८० असारसम्ममा कुल १ खर्ब ३२ अर्ब ३९ करोड ९० लाख, २०७९ असारसम्ममा १ खर्ब ३१ अर्ब ३४ करोड र २०७८ असार सम्ममा १ खर्ब ३४ अर्ब ९० करोड २० लाख रुपैयाँ हायर पर्चेजमा कर्जा लगानी भएको छ । तथ्यांकले पछिल्लो समय हायर पर्चेज कर्जा लगानी घटेको देखिन्छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसपछि हायर पर्चेज कर्जा घट्दै गएको देखिन्छ । पछिल्लो समय अर्थतन्त्रमा देखिएको सुस्तताको असर अटो क्षेत्रमा पनि परेको छ । अटो व्यवसायीहरू अहिले ठूलो समस्यामा रहेको बताउँदै आएका छन् । यो क्षेत्रको पुनरुत्थानका लागि सरकारले नीतिगत व्यवस्था नै गर्नुपर्ने धारणा उनीहरूको छ । अटो व्यवसायीको महाकुम्भका रूपमा परिचित नाडा अटो शो पनि मंगलबारदेखि सुरु भएको छ । जहाँ विद्युतीय गाडीलाई बढी प्राथमिकता दिएको छ । नाडा अटो शोको उद्घाटन कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले सरारसँग नीगित स्थिरताको माग गरेका थिए । उनले अटो क्षेत्रको पुनरुत्थानका लागि सरकारले सहयोग नगरेको गुनासो पनि गरेका थिए । ‘हामी निकै पारदर्शी छौं, यो क्षेत्रमा एक खर्ब बढी लगानी छ, ठूलो मात्रामा राजस्व तिर्छौं, लाखौंलाई रोजगारी दिएका छौं । तर, सरकारले हामीलाई सहयोग गरेन,’ उनले गुनासो गर्दै भनेका थिए । अध्यक्ष चौधरीले सन्दर्भ मूल्यसूची खारेज गर्नुपर्ने, अवैध व्यापार रोक्नका लागि बोर्डरमा कडाइ गर्नुपर्ने र अटो क्षेत्रमा नीगित स्थिरता कायम गर्नुपर्ने माग राखेका थिए । पछिल्लो समय अटो क्षेत्र ठूलो समस्याबाट गुज्रिरहेको धारणा उनको थियो । अध्यक्ष चौधरीले भनेजस्तै अटो क्षेत्रले उपभोग गर्ने कर्जाको परिमाण पनि घट्दा यो क्षेत्र समस्यामा रहेको बुझ्न सकिन्छ । ब्याजदर घट्ने दिशामा यो पाँच वर्षको अवधिमा हायर पर्चेज कर्जाको ब्याजदरमा ठूलो परिवर्तन भने देखिँदैन । तर, पछिल्लो केही महिनायता निक्षेपको ब्याजदर घट्दा कर्जाको ब्याज पनि घटिरहेको छ । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार २०७७ साल असारमा हायर पर्चेज कर्जाको ब्याजदर औसत ११.५८ प्रतिशत थियो । अहिले २०८१ असारमा हायर पर्चेज कर्जाको ब्याजदर औसत १०.५२ प्रतिशत देखिएको छ । यस्तै, २०८० को असारमा १२.८७ प्रतिशत, २०२९ को असारमा ११.८९ प्रतिशत र २०७९ को असारमा औसत ९.७० प्रतिशत ब्याजदर देखिएको छ । हायर पर्चेज कर्जाको ब्याजदरमा ठूलो परिवर्तन भने देखिँदैन । असारयता भने हायर पर्चेज कर्जाको ब्याजदर घटेको बैंकरहरू बताउँछन् । पछिल्लो समय अटो व्यवसायीहरू विद्युतीय गाडीमा केन्द्रित हुँदा बैंक तथा वित्तीय संस्थाले पनि विद्युतीय गाडीको कर्जामा बढी लगानी गर्न थालेका छन् । बैंक तथा वित्तीय संस्थाले आधारदरमा २ प्रतिशतसम्म प्रिमियम लिएर विद्युतीय गाडी कर्जा दिइरहेका छन् । जसले पनि अटो व्यवसायीलाई राहत मिलिरहेको छ । कृषि, औद्योगिक, व्यावसायिक वा निजी प्रयोजनका लागि कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले सवारीसाधन, मेशिनरी औजार, उपकरण खरीद गर्न गर्नका लागि हायर पर्चेज कर्जा पाउने गरेका छन् ।
विदेशी विद्यार्थीलाई अष्ट्रेलियामा थप कडाइ, २२ हजारले रोजगारी गुमाउँदा अर्थतन्त्र ४.१ अर्ब डलरले घट्ने
काठमाडौं । अस्ट्रेलियाले विदेशी विद्यार्थीको संख्यामा कोटा प्रणाली लागु गर्ने भएको छ । विदेशबाट अध्ययनका लागि जाने विद्यार्थीहरूमा अष्ट्रेलियाले .निश्चित संख्या तोकेर कोटा प्रणाली लागु गर्ने तयारी गरेको हो । विगतमा कुनै पनि कोटो प्रणाली नभएपनि विश्वमहामारीका रूपमा फैलिएको कोराना भाइरसपछि अष्ट्रेलियाले कोटा प्रणाली लागु गर्न लागेको हो । यसको मुख्य कारण आप्रवासन संख्या घटाउने रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । हालसम्म विदेशी विद्यार्थीलाई भिसा दिएर पढाउने देशको अग्रस्थानमा अष्ट्रेलिया भएपनि अब सन् २०२५ मा २ लाख ७० हजारलाई मात्रै पढ्नका लागि अनुमति दिने तयारी थालेको अन्तर्राष्ट्रि समाचार एजेन्सीहरूले उल्लेख गरेका हुन् । यस विषयमा अष्ट्रेलियाको सरकारले घोषणा पनि गरिसकेको छ । सरकारको घोषणाअनुसार व्यावसायिक प्रशिक्षण र तालिम दिने संस्थाहरूले विदेशी विद्यार्थी भर्ना गर्न पाउने संख्या घटाएसँगै कोटा प्रणाली लागु गरेको जानकारी दिएको हो । केहीले यो निर्णयको विरोध पनि गरेका छन् । सन् २०२४ को सुरुमा अष्ट्रेलिया सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार अस्ट्रेलियामा सात लाखभन्दा बढी विदेशी विद्यार्थी छन् । अष्ट्रेलियाका शिक्षा मन्त्री जेसन क्लेअरले स्वदेशी शिक्षालाई गुणस्तरी बनाउन यो निर्णय गर्नुपरेको धारणा राखेका छन् । उनले विदेशी सञ्चार माध्यमसँग भनेका छन्, ‘कोभिड महामारीका बेला उच्च शिक्षा नराम्ररी प्रभावित भयो, त्यतिबेला हामीले विदेशी विद्यार्थीलाई स्वदेश फिर्ता पनि गर्यौं, अहिले विदेशी विद्यार्थीको संख्या कोभिड महामारीअघिको तुलनामा १० प्रतिशतले बढी छ, यो घटाउन आवश्यक छ ।’ उनका अनुसार २०२५ मा सार्वजनिक विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको संख्यालाई घटाएर १ लाख ४५ हजार कायम गरिनेछ भने निजी विश्वविद्यालय तथा विश्वविद्यालयबाहेकका अन्य उच्च शिक्षा प्रदायकले ३० हजार विदेशी विद्यार्थी भर्ना गर्न सक्ने छन् । व्यावसायिक शिक्षा तथा तालिम प्रदान गर्ने संस्थाहरूमा ९५ हजारको सीमा रहने अन्तर्राष्ट्रिय सञ्चार माध्यममा उल्लेख छ । सन् २०२२/२३ मा अस्ट्रेलियाको अर्थतन्त्रमा वैदेशिक शिक्षाको हिस्सा ३६.४ अर्ब अस्ट्रेलियन डलर अर्थात् २४.७ अर्ब अमेरिकी डलर थियो । उक्त वर्ष शिक्षा यस देशले निर्यात गरेको चौथो ठूलो वस्तु तथा सेवा बनेको थियो । सिड्नी यूनिभर्सिटीले यस वर्षको सुरुमा तयार पारेको एक प्रतिवेदनअनुसार अष्ट्रेलियाको यो निर्णयले सन् २०२५ मा अस्ट्रेलियाको अर्थतन्त्रमा ४.१ अर्ब अमेरिकी डलर जतिको घाटा हुनेछ भने २२ हजार मानिसले रोजगारी गुमाउने छन् । एजेन्सी
उपत्यकाका ४५ स्थानमा गोगोरोको स्वापिङ स्टेसन
काठमाडौं । गोगोरोले मंगलबारदेखि सुरु भएकाे नाडा अटो शो २०२४ मा विश्वकै पहिलो हाइपर इलेक्ट्रिक स्कुटर नयाँ पल्स, हाइपरफर्मेसन सिटी राइड जेगो र पहिलो एसयूभी स्कुटर क्रसओभर जीएक्स २५० स्मार्ट स्कुटर सार्वजनिक गरेको छ । स्मार्ट स्कुटर सार्वजनिकसँगै कम्पनीले काठमाडौं उपत्यकामा ४५ नयाँ ब्याट्री स्वापिङ स्टेसन स्थापना गर्ने घोषणा पनि गरेको छ । सहरका लागि सस्टेनेबल मोबिलिटी सोलुसन प्रदान गर्ने, ब्याट्री स्वापिङ टेक्नोलोजी इकोसिस्टममा विश्वकै अगुवा गोगोरो इंक र नेबुला इनर्जीले मंगलबार पल्स र जेगोको साथ गोगोरोका विशेष प्रडक्ट रेन्जहरू लन्च गरेका हुन् । दुई स्वाप स्टेशनको सफ्ट लन्च, फूडमान्डु र जुमजुम जस्ता रणनीतिक साझझेदारसँग स्कुटरको प्रयोग पश्चात् प्राप्त अत्याधिक सकारात्मक प्रतिक्रियापछि गोगोरो अब आफ्ना स्कुटरहरू बिक्रीको लागि तयार रहेको नेबुला इनजीका अध्यक्ष मनोज गोयलले बताए । सस्टेनेबल मोबिलिटी र प्रविधिको नयाँ युगमार्फत गोगोरोले नेपालको जिरो इमिसन लक्ष्यमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै, प्रबन्ध निर्देशक सहायु गौयलले दुई पाङ्ग्रे सेग्मेन्टमा ईभीको प्रयोग व्यापक हुनका लागि प्रविधिमा सक्षम हुनुपर्ने आवश्यकता रहेको औंल्याए । ब्याट्री स्वापिङ टेक्नोलोजीद्वारा सञ्चालित गोगोरोका स्कुटर रेन्जले विद्युतीय दुईपांग्रे सवारी खरिद गर्ने उपभोक्ताले सामना गर्ने यस्ता प्रमुख चुनौतीलाई सम्बोधन गर्न मौलिक समाधान प्रदान गर्ने उनले बताए । नेबुला इनर्जीले हाल जीएक्स २५० को लागि रणनीतिक बीटूबी साझेदारलाई ब्याट्री स्वापिङ सेवा प्रदान गर्दैछ । नेबुलाले सेप्टेम्बरको मध्यमा नक्सालको नारायणचौरमा पहिलाे गोगोरो शोरुमको उदघाटन गर्ने नेबुला इनर्जीका जनरल मेनेजर चिरञ्जीवि शाहले बताए । उनका अनुसार उद्घाटनपछि ग्राहकले स्कुटरको परीक्षण र विशेष इन्ट्रोडक्टरी प्राइसमा प्रि-बुकिङ गर्ने र दसैंपछि आफ्नो स्मार्ट स्कुटरको डेलिभरी प्राप्त गर्ने उनले बताए । बिक्री सुरु गर्नुअघि ४१ स्वाप स्टेसनहरू स्थापना गर्ने प्रतिबद्धता अनुरूप नेबुलाले काठमाडौं उपत्यका वरिपरि ४५ वटा ब्याट्री स्वापिङ स्टेसनका लागि निश्चित स्थानको घोषणा गरेको छ । जसअनुसार प्रत्येक २-३ किलोमिटरमा एउटा स्टेसनको उपलब्धता सुनिश्चित हुने उनले बताएका छन् । स्टेसनहरू पेट्रोल पम्प, मार्ट, मल र ग्राहकहरूको सहजता र पहुँचका लागि साझा चासोका क्षेत्रहरूमा राखिने उनको भनाइ छ । गोगोरो स्मार्ट स्कुटरको सबैभन्दा चाखलाग्दो कुरा भनेको यसमा ग्राहकहरूले ब्याट्री खरिद गर्न आवश्यक पर्दैन । किनकि गोगोरोले सुविधाजनक ब्याट्री सब्सक्रिप्सन योजना प्रदान गर्ने कम्पनीकबो दाबी छ । यो योजनाले स्वाप स्टेसनको सम्पूर्ण नेटवर्कमा पहुँच प्रदान गर्ने र प्रयोगकर्तालाई ब्याट्री स्वामित्वको झन्झट बिना नै आफ्नो स्कुटर पावर अप राख्न सजिलो बनाउँने विश्वास कम्पनीले लिएको छ । नेबुला इनर्जीले नेपालमा पेट्रोल पम्पको संख्याभन्दा धेरै ब्याट्री स्टेसन स्थापना गर्ने योजना रहेको शाहले बताए । गोगोरो पल्स भविष्यलाई नियाल्दै गोगोरोले नयाँ एडभान्स्ड हाई पर्फर्मेन्स स्मार्ट स्कुटरलाई पुनः डिजाइन गर्ने क्रममा पल्सको निर्माण गरेको हो । पल्स विश्वकै पहिलो हाइपर इलेक्ट्रिक स्कुटर हो र यसले गोगोरोको नवीनता र क्षमतालाई स्पष्ट रूपमा प्रदर्शन गर्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार पल्सले एडभान्स्ड एरोडायनामिक डिजाइन, नयाँ ९ किलोवाटको गोगोरो-डिजाइन पावरट्रेन, रिभोलुसनरी एडेप्टीभ एक्टिभ-म्याट्रिक्स लाइटनिङ र प्यानोरामिक हाई- डेफिनिशन टच डिस्प्ले प्रयोग गर्दछ । पल्स गौगोरोको नयाँ हाइपर इाइम पावरट्रेनद्वारा सञ्चालित छ, जुन ऊर्जा खपत घटाएर पर्फर्मेन्स बढाउन डिजाइन गरिएको हो । गोगोरोको नयाँ हाई पर्फर्मेन्स एच वान मोटर, पूर्ण रूपमा पुनः डिजाइन गरिएको इलेक्ट्रिक पावर प्लान्ट र पछिल्लो ह्वीलमा ३७८ एनएम टर्कको साथमा अत्याधुनिक ट्याक्सन कन्ट्रील प्रदान गर्ने एक शक्तिशाली स्मार्ट प्रणाली हाइपरकोर रहन्छ । गोगोरोको हाइपर ड्राइभले नयाँ हाइब्रिड वाटर र एयर डुअल-कूलिङ प्रणालीलाई पनि एकीकृत गर्दछ । पल्स ३.०५ सेकेण्डमा नै फुल चार्ज हुन्छ भने म्याक्सिमम पावर आउटपुट ९.० किलोवाट रहेको छ । त्यस्तै, म्याक्सिमम ११ हजार आरपीएम र ३७८ एनएम टर्क रहेको छ । गोगोरो जेगो गोगोरो जेगोले ईभी स्कुटरको बजारमा अरूभन्दा फरक विभिन्न सुविधाहहरू प्रदान गर्छ । यो स्लोक नयाँ बडी डिजाइन र गोगोरोका मुख्य आविष्कारसँग तयार पारिएको कम्पनीले जनाएकाे छ । यसका मुख्य विशेषतामा डुअल ब्याट्री अप्सनहरू समावेश छन् । जसले उच्च गति र लामो रेन्जहरू प्रदान गर्दछ । जेगोमा फराकिला आरामदायी सिट, चौडा ट्रंक र हल्का तौल उपलब्ध छन् जसले यसलाई सजिलै चलाउन र डोहोर्याउन मिल्ने कम्पनीले बताएको छ । गोगोरो जीएक्स २५० गोगोरो जीएक्स २५० अल्टिमेट दुई पांग्रे एसयूभी हो । भारतको महाराष्ट्रमा बनाइएको जीएक्स २५० भारतमा निर्मित गोगोरोको पहिलो स्मार्ट स्कुटर हो । पुनः डिजाइन गरिएको क्रसओभर सिरिज, अल टेरेन फ्रेममा बनाइएको छ जसले विभिन्न स्टोरेज, राइडिंग र कस्टोमाइजेसन क्षमता प्रदान गर्दै बढ्दो रिजिडिटी र कम्फर्ट प्रदान गर्दछ । कम्पनीका अनुसार क्रसओभर जीएक्स २५० को नयाँ फ्रेम डिजाइनले सस्पेन्सन प्रणालीको स्थायित्वलाई बढाउँछ, आराम र स्थिरतालाई जोड दिँदै ठूला भार पनि अटाउन सक्छ । गोगोरो ब्याट्री टेक्नीलोजी विश्व बजारमा हलुका सहरी सवारीसाधनका लागि अग्रणी ब्याट्री स्वापिङ कम्पनीको रूपमा परिचित गोगोरोको इकोसिस्टमको केन्दमा एउटा खुला र इन्टर अपरेबल ब्याट्री स्वापिङ प्लेटफर्म रहको छ । गोगोरी ब्याट्री स्वापिङ भनेको स्वापेबल ब्याट्री रिफ्युलिंगको नयाँ जेनेरेसन हो जसले स्मार्ट, सुरक्षित व्यवसाय र समुदायका लागि गतिशील र बहुमुखी हुन निरन्तर अप्टिमाइज गर्छ । ताइवानमा गोगोरो नेटवर्कले ६,१०,००० भन्दा बढी सवारलाई समर्थन गरेको छ । त्यस्तै २,१०० भन्दा बढी स्थानमा १२,५०० ब्याट्री स्वापिङ स्टेशनको नेटवर्कमार्फत यसका १.४ मिलियनभन्दा बढी स्मार्ट ब्याट्रीहरू सर्कुलेसनमा रहेका छन् । ताइवानमा गोगोरोको ब्याट्री स्वापिङ स्टेसन पेट्रोल स्टेसन भन्दा बढी रहेको कम्पनीले जनाएको छ । ४००,००० भन्दा बढी दैनिक ब्याट्री स्वाप हुन्छन् । गोगोरो ब्याट्री स्वापिङले सन् २०१५ मा सुरु भएदेखि १० लाख टनभन्दा बढी कार्बन डाइअक्साइड बचत गरेको कम्पनीको दाबी छ । ब्याट्री स्वापिङ एउटा इनोभेटिभ अवधारणा हो । जसले चार्ज सकिएको ब्याट्रीसँग फुल चार्ज भएको ब्याट्रीलाई तत्काल प्रतिस्थापन गर्दै प्रयोगकर्तालाई आफ्नो सवारीसाधनको रेन्ज विस्तार गर्न छिटो र प्रभावकारी तरिका प्रदान गर्छ । ब्याट्री स्वापिङ टेक्नोलोजीले दुईपांग्रे ईभी अपनाउनका लागि विद्यमान वर्तमान अवरोधहरू समाधान गर्न मद्दत गर्छ । त्यस्तै, सुरक्षित, दिगो र स्केलेबल तरिकामा सहरी मोबाइल ऊर्जा मागको पनि सम्बोधन गर्ने कम्पनीले बताएको छ ।