काठमाडौं । गत वर्ष वाणिज्य बैंकहरूले २ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ बराबरको घरजग्गा कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकहरूले पाँच वर्षको अवधिमा घरजग्गा कर्जामा उल्लेख्य रूपमा वृद्धि गरेको देखिन्छ । पाँच वर्षघि २०७७ असारसम्ममा बैंकहरूको घररजग्गा कर्जा १ खर्ब ४० अर्ब ५४ करोड रुपैयाँ थियो । तर, पाँच वर्षको अवधिमा बैंकहरूको घरजग्गा कर्जा ५९.८४ प्रतिशत बढेको देखिन्छ ।
पछिल्लो वर्ष घरजग्गा क्षेत्रमा मन्दी आएको भनिए पनि राष्ट्र बैंकको तथ्यांकले भने कर्जा प्रवाहमा कुनै असर नपरेको देखिन्छ । तथ्यांकले प्रत्येक वर्ष घरजग्गा कर्जामा बैंकहरूको लगानी बढ्दै गएको देखिन्छ ।
राष्ट्र बैंकका अनुसार बैंकहरूले २०७८ असारसम्ममा १ खर्ब ५९ अर्ब २१ करोड रुपैयाँ, २०७९ असारसम्ममा १ खर्ब ९९ अर्ब ६४ करोड रुपैयाँ र २०८० असारसम्ममा २ खर्ब २ अर्ब ६३ करोड रुपैयाँ कर्जा घरजग्गामा लगानी गरेका गरेका थिए ।
नेपाल जग्गा तथा आवास विकास महासंघका महासचिव ध्रुब घिमिरे जुनसुकै कर्जाका लागि पनि घरजग्गा धितो राख्नुपर्ने भएकाले वृद्धि भएको हुन सक्ने बताउँछन् । उनका अनुसार घरजग्गा चलायमान भएर भन्दा पनि कर्जा मेन्टेन गर्न अर्काे कर्जा लिएका कारण लगानी बढेको हुन सक्छ ।
‘जुनसुकै धितोको रूपमा घरजग्गा राख्छन् । कुनै उद्योगधन्दा वा सवारी साधन नै खरिद गर्नुपर्याे भने घरजग्गा धितो राखिने भएकाले बढेको हुन सक्छ । तर, घरजग्गामै भनेर कम छ, हामीले पुगेको छैन भनिरहेका छौं,’ उनले भने, ‘घरजग्गा चलायमान भएर भन्दा पनि कर्जालाई मेन्टेन गर्न अर्काे कर्जा लिएका कारण बढेको हुनसक्छ, जस्तो ब्याज तिर्न सकिएन भने त्यसलाई अर्काे धितोमा थपेर कर्जा लिएर ब्याज तिरेको देखिन्छ ।’
यस्तो किसिमको कर्जालाई बैंकिङ भाषमा इभर ग्रिनिङ भन्ने गरिन्छ । सधैं राम्रो ऋण देखाउन गरिने विभिन्न काम इभरग्रिनिङ हो ।
पछिल्लो २ वर्षदेखि मन्दी आएकाले घरजग्गामा कर्जा लगानी नभएको एक बैंकरकाे भनाइ छ । व्यावसायिक कर्जाको नआएकाले घरजग्गा धितो राखेर कर्जा मिलाएको हुन सक्ने उनको भनाइ छ ।
पाँच वर्षमा बैंकहरूको घरजग्गा कर्जा वृद्धिलाई लक्ष्मी सनराइज बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) सुमेद भट्टराई स्वाभाविक मान्दैनन् । उनका अनुसार यसअघि स-साना व्यावासायिक कर्जा दिइएको थियो । तर, व्यावसायिक कर्जामा लेखापरीक्षण प्रतिवेदन, कर चुक्ता प्रमाणपत्र लगायतका प्रमाणपत्र माग्न थालेपछि व्यावसायिक कर्जाहरू व्यक्तिगत तथा घरजग्गाको नाममा रूपान्तरण भएको हुन सक्ने उनको भनाइ छ ।
‘जस्तो ५ वर्ष अगाडि सानो पसल चलाउने भनेर २५ लाख रुपैयाँ व्यावसायिक कर्जा लिएको थियो, विस्तारै नियामक निकायले व्यावसायिक कर्जामा पुनरावलोकन गरेपछि करचुक्ता प्रमाणपत्र, लेखापरीक्षण प्रतिवेदन लगायत कागजात माग्न थालेपछि व्यवसायलाई निरन्तरता दिन सम्भव भएन,’ उनले भने, ‘विस्तारै व्यवसायबाट व्यक्तिगत नाममा ट्रान्सफर, जग्गालाई रिफाइनान्स गरेर व्यवसायमा लगानी हुन सक्छ, केही हदसम्म यसरी कर्जा ट्रान्सफर भएको देखिन्छ ।’
उनका अनुसार घरजग्गा कारोबार र बैंकहरूको कर्जा वृद्धिमा तालमेल मिलेको छैन । किनभने घरजग्गाको कारोबार खासै भएको छैन भने घरजग्गा कारोबारबाट आउने राजस्व समेत घटेको देखिन्छ । तर, बैंकको कर्जाको पोर्टफोलियो भने बढेको हुँदा ट्रान्सफर गरेको हुन सक्ने उनको भनाइ छ ।
आक्रामक बन्यो कुमारी, ११ बैंकको घट्यो
समीक्षा अवधिमा पनि बैंकहरूको घरजग्गा कर्जा ३ प्रतिशत बढेको देखिन्छ । अघिल्लो वर्षको असारसम्ममा २ खर्ब १७ अर्ब रुपैयाँ घरजग्गा कर्जा लगानी गरेका बैंकहरूले गत वर्ष बढाएर २ खर्ब २४ अर्ब रुपैयाँ पुर्याएका हुन् । गत वर्ष ९ बैंकको बढेको छ भने ११ बैंकको घटेको छ ।
समीक्षा अवधिमा सबैभन्दा धेरै कुमारी बैंकले आक्रामक रूपमा घरजग्गा कर्जा वृद्धि गरेको देखिन्छ । यस बैंकको गत वर्ष १४१.८८ प्रतिशत बढेर गत असारसम्म ४ अर्ब ५१ करोड रुपैयाँ घरजग्गा कर्जा प्रवाह गरेको छ । जबकी २०८० असारसम्म बैंकको घरजग्गा कर्जा १ अर्ब ८५ करोड रुपैयाँ मात्रै थियो ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष एनआईसी एशिया बैंकको ३०.५८ प्रतिशत बढेर २८ अर्ब ६० करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ३०.१४ प्रतिशत १३ अर्ब ९५ करोड रुपैयाँ, नेपाल बैंकको २९.९४ प्रतिशत बढेर १५ अर्ब ४२ करोड रुपैयाँ, प्राइम बैंकको २२.३९ प्रतिशत बढेर १८ अर्ब ५७ करोड रुपैयाँ घरजग्गामा कर्जा लगानी गरेका छन् ।
यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकको ७ प्रतिशत बढेर ८ अर्ब ३२ करोड रुपैयाँ, कृषि विकास बैंकको ४.१८ प्रतिशत बढेर १ अर्ब ७२ करोड रुपैयाँ, सिटिजन्स बैंकको ३.३४ प्रतिशत बढेर ४ अर्ब ६८ करोड रुपैयाँ र नबिल बैंकको १ प्रतिशत बढेर २३ अर्ब ५५ करोड रुपैयाँ घरजग्गामा कर्जा लगानी गरेका छन् ।
तर, समीक्षा अवधिमा ११ वटा बैंकको भने घरजग्गा कर्जा लगानी घटेको देखिन्छ । नेपाल एसबीआई बैंकको ०.८० प्रतिशत घटेर ४ अर्ब ९३ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको ०.९१ प्रतिशत घटेर १५ अर्ब ८४ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २.५२ प्रतिशत घटेर २४ अर्ब ६३ करोड रुपैयाँ, एभरेष्ट बैंकको ४.०९ प्रशित घटेर ६ अर्ब ३९ करोड रुपैयाँ, प्रभु बैंकको ५.७२ प्रतिशत घटेर १३ अर्ब ४३ करोड रुपैयाँ घरजग्गा कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ ।
एनएमबी बैंकको ८.२२ प्रतिशत घटेर ४ अर्ब ७८ करोड रुपैयाँ, हिमालयन बैंकको ९.२५ प्रतिशत घटेर १३ अर्ब ६८ करोड रुपैयाँ, सानिमा बैंकको १३.२१ प्रतिशत घटेर ५ अर्ब ६९ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको १८.७४ प्रतिशत घटेर १ अर्ब ५५ करोड रुपैयाँ, सिद्धार्थ बैंकको २२.७१ प्रतिशत घटेर ४ अर्ब ५६ करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकको ४३.५९ प्रतिशत घटेर ९ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंकको तथ्यांक छ ।