सिटिजन्स बैंकका सहयात्री

काठमाडौं । दुई दशकअघि स्थापना भएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो २०औँ वार्षिक साधारणसभासम्म आइपुग्दा वित्तीय कारोबार, सेवा सञ्जाल र संस्थागत क्षमताको विस्तार गरेको छ । बैंकले बुधबार, असोज २८ गते २०औँ वार्षिक साधारणसभा आयोजना गर्दैछ । स्थापना कालदेखि नै बैंकिङ सेवा विस्तारमा केन्द्रित रहेको बैंकले पछिल्लो समय ग्राहकको बदलिँदो आवश्यकता र प्रविधिको विकासअनुसार सेवाको स्वरूपलाई समेत परिवर्तन गर्दै आएको छ ।

परम्परागत शाखा केन्द्रित बैंकिङबाट डिजिटल सेवातर्फ अघि बढिरहेको बैंकले आगामी रणनीतिमा प्रविधि, जोखिम व्यवस्थापन, ग्राहक सेवा र दिगो वित्तलाई प्राथमिकतामा राखेको छ । दुई दशकको व्यावसायिक यात्रामा शाखा विस्तार, वित्तीय संस्थाको प्राप्ति, विभिन्न बैंकिङ सेवाको विकास तथा अनुभवी नेतृत्वको परिचालनमार्फत आफ्नो संस्थागत उपस्थिति बलियो बनाउने प्रयास बैंकले गरेको छ ।

हाल बैंकको देशभर २०० शाखा र १६९ एटीएम सञ्चालनमा छन् । यसका अतिरिक्त तीनवटा एक्सटेन्सन काउन्टर र ४२ वटा शाखारहित बैंकिङ सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । शाखा, एटीएम, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवाको सञ्जालले बैंकलाई विभिन्न स्थानका ग्राहकसम्म वित्तीय सेवा पुर्याउन सहयोग गरेको छ ।

बैंकको २०औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्नेछ । प्रस्तावअनुसार बैंकले चुक्ता पुँजीको ३.८० प्रतिशतका दरले ५८ करोड ९२ लाख ८३ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशतका दरले ३ करोड १० लाख १४ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

यसअनुसार बैंकले कुल चार प्रतिशत अर्थात् ६२ करोड दुई लाख ९८ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको चुक्ता पुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार रुपैयाँ रहेको छ । बैंकमा संस्थापक सेयरधनीको ५१.०८ प्रतिशत र सर्वसाधारण सेयरधनीको ४८.९२ प्रतिशत सेयर स्वामित्व रहेको छ । 

स्थापना भएको दोस्रो आर्थिक वर्षदेखि नै सेयरधनीलाई निरन्तर प्रतिफल प्रदान गर्दै आएको बैंक २०६३ असोज २७ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट २०६४ वैशाख ५ गते ‘क’ वर्गको वित्तीय संस्थाका रूपमा बैंकिङ कारोबार गर्न इजाजतपत्र प्राप्त गरेपछि बैंकले २०६४ वैशाख ७ गतेदेखि कारोबार सञ्चालन गरेको थियो ।

बैंकले आफ्नो व्यावसायिक विस्तारका क्रममा नेपाल राष्ट्र बैंकको स्वीकृतिमा विभिन्न वित्तीय संस्थालाई प्राप्ति गरेको छ । बैंकमा गाभिएका संस्थामा नेपाल हाउजिङ मर्चेन्ट फाइनान्स लिमिटेड, पिपल्स फाइनान्स लिमिटेड, प्रिमियर फाइनान्स लिमिटेड, सहयोगी विकास बैंक लिमिटेड, तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड र सर्जना फाइनान्स लिमिटेड छन् ।

विभिन्न वित्तीय संस्थाको प्राप्तिले बैंकको संस्थागत संरचना र व्यावसायिक यात्रामा भूमिका खेलेको छ । बैंकका संस्थापक तथा सञ्चालकमा बैंकिङ, उद्योग, व्यापार, व्यवस्थापन, सामाजिक क्षेत्र र इन्जिनियरिङलगायत पृष्ठभूमिका व्यक्तिहरू छन् । विविध क्षेत्रको अनुभवलाई बैंकको संस्थागत सञ्चालन र व्यावसायिक विकासमा उपयोग गर्ने प्रयास बैंकको नेतृत्व संरचनामा देखिन्छ ।

nullयस्ताे छ बैंककाे सञ्चालक समिति 

प्रबलजंग पाण्डे

सिटिजन्स बैंकका अध्यक्ष प्रबलजंग पाण्डे उद्योग, व्यापार तथा बैंकिङ क्षेत्रमा सक्रिय व्यवसायी हुन् । इन्जिनियरिङमा स्नातक गरेका ५१ वर्षीय पाण्डेसँग उत्पादनमूलक उद्योग र व्यापार क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव छ । उनी औषधि तथा सिमेन्ट उद्योगमा आबद्ध छन् ।

यी क्षेत्रमा उनको संलग्नता स्वास्थ्य सेवा, निर्माण तथा पूर्वाधारसँग सम्बन्धित व्यावसायिक गतिविधिसम्म फैलिएको छ । व्यावसायिक क्षेत्रसँगै पाण्डे निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा एसोसिएट उपाध्यक्षको भूमिकामा छन् । नेपाल लिजिङ एन्ड फाइनान्स लिमिटेडमा संचालक भई ५ वर्ष काम गरेका उनीसँग नेपाल टेलिकममा इन्जिनियर र बरिष्ठ इन्जिनियर पदमा १२ वर्ष काम गरेको अनुभव छ । 

प्रकाशचन्द्र मैनाली

प्रकाशचन्द्र मैनाली बैंकका सञ्चालक हुन् । उनी   सेवा उद्योग, पोल्ट्री तथा अन्य औद्योगिक क्षेत्रमा संलग्न व्यवसायी हुन् ।

६० वर्षीय मैनालीले आफ्नै व्यवसाय सुरु गर्नुअघि ज्वाइन्ट भेन्चर बैंकमा ९ वर्ष काम गरेका थिए । उनले बैंकिङ क्षेत्रको ११ वर्षको अनुभवपछि विभिन्न व्यावसायिक क्षेत्रमा आफ्नो संलग्नता विस्तार गरेका छन् । 

दिग्विजय बिष्ट

बैंकका सञ्चालक दिग्विजय बिष्ट पुँजी बजार, वित्तीय तथा अन्य व्यावसायिक क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव भएका व्यवसायी हुन् ।

५२ वर्षीय बिष्टले अमेरिकाको ओहायोस्थित मियामी विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर गरेका छन् । व्यवस्थापनसम्बन्धी शैक्षिक पृष्ठभूमि र व्यावसायिक अनुभवका आधारमा उनी विभिन्न सामाजिक तथा व्यावसायिक संस्थामा समेत आबद्ध छन् । 

अनिल ज्ञवाली 

बैंकका अर्का सञ्चालक अनिल ज्ञवाली नेपाली बैंकिङ क्षेत्रमा साढे तीन दशकभन्दा लामो अनुभव भएका बैंकर हुन् ।

६४ वर्षीय ज्ञवालीले बैंक शाखा सञ्चालन, जोखिम व्यवस्थापन तथा संस्थागत नेतृत्वका विभिन्न जिम्मेवारी सम्हालेका छन् । उनले फिलिपिन्सको मनिलास्थित फिलिपिन क्रिस्चियन युनिभर्सिटीबाट स्नातकोत्तर गरेका थिए । ज्ञवालीले नेपालका विभिन्न वाणिज्य बैंकमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुका साथै विदेशी बैंकमा वरिष्ठ पदमा रहेर काम गरेका छन् ।

नबिल बैंक, ग्लोबल आइएमइ बैंकमा काम गरेका उनले नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरेका थिए । त्यसअघि सिटीबैंक एनएको उपाध्यक्ष तथा नेपाल र भुटानको व्यवसाय प्रमुख थिए । बैंकिङ सञ्चालन, जोखिम व्यवस्थापन र अन्तर्राष्ट्रिय बैंकिङमा प्राप्त अनुभव उनको व्यावसायिक यात्राका प्रमुख पक्ष हुन् । 

डा. विनोद आत्रेय

डा. विनोद आत्रेय केन्द्रीय बैंकिङ, वित्तीय व्यवस्थापन, संस्थागत सुधार तथा शैक्षिक क्षेत्रमा चार दशकभन्दा लामो अनुभव भएका विज्ञ हुन् । उनी पनि बैंककाे सञ्चालक हुन् । 

तालिम तथा क्षमता विकास, रणनीतिक योजना, मानव संसाधन व्यवस्थापन, प्रशासन र लघुवित्त सञ्चालनमा उनको विशेषज्ञता छ । उनले एक बैंकमा तीन वर्षभन्दा बढी प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गर्दै संस्थागत सुधारका कार्यक्रम सञ्चालन गरेका थिए । आत्रेयले ७ वर्षसम्म संयुक्त राष्ट्रसंघका परियोजनासँग आबद्ध भएर काम गरेका थिए ।

सरकारी मन्त्रालयहरूको संस्थागत सुधार र पुनर्संरचनासम्बन्धी कार्ययोजना निर्माणमा योगदान दिएका उनले पूर्वाधार बैंक स्थापना तथा बीएफआईएन, इमर्जिङ नेपाल लिमिटेड र केयर रेटिङ नेपाल लिमिटेडजस्ता संस्थामा संलग्न भएर काम गरेका थिए । उनले अस्ट्रेलियाबाट विद्यावारिधि, भारतबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर र नेपालबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन् । आत्रेयका तीन दर्जनभन्दा बढी लेख जर्नल तथा पत्रपत्रिकामा प्रकाशित छन् । उनले सन् २०२३ मा भिक्टोरिया विश्वविद्यालयबाट लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गरेका थिए । 

डा. राजेन्द्र पण्डित

बैंकका अर्का सञ्चालक डा. राजेन्द्र पण्डित अर्थशास्त्र, सार्वजनिक नीति तथा बैंकिङ क्षेत्रका विज्ञ हुन् । नेपाल राष्ट्र बैंकमा दुई दशकभन्दा बढी समय काम गरेका पण्डित हाल नेपाल विश्वविद्यालयमा एसोसिएट प्रोफेसरका रूपमा कार्यरत छन् । केन्द्रीय बैंकमा रहँदा उनले समष्टिगत आर्थिक नीति, मौद्रिक नीति, विदेशी विनिमय नीति तथा बैंकिङ नियमन र सुपरिवेक्षणसम्बन्धी काम गरेका थिए ।

पण्डितले अर्थ मन्त्रालयमा बजेट विज्ञका रूपमा पनि काम गरेका थिए । राष्ट्रिय बजेट तयारी तथा आर्थिक सर्वेक्षणको सहलेखनमा उनको योगदान रहेको छ । उनले अमेरिकाको भर्जिनिया कमनवेल्थ विश्वविद्यालयबाट सार्वजनिक नीतिमा विद्यावारिधि र बेलायतको बर्मिङ्घम विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनका अनुसन्धानमूलक लेख तथा शैक्षिक सामग्री राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् । उनले प्रबल जनसेवाश्री पदकसमेत प्राप्त गरेका छन् । 

हेमा देवी खड्का केसी

बैंककी सञ्चालक हेमा देवी खड्का केसी अन्तर्राष्ट्रिय विकास, कार्यक्रम व्यवस्थापन तथा संस्थागत नेतृत्वमा दुई दशकभन्दा बढी अनुभवी छिन् । उनले एसिया, अफ्रिका र मध्यपूर्वका विभिन्न देशमा काम गरेकी छन् ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), अक्सफाम, जर्मन विकास सहयोग संस्था (जीआईजेड) र बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डीएफआईडी) लगायतका संस्थासँग आबद्ध भएर उनले काम गरेकी छन् ।

हरित आर्थिक विकास, लघु, साना तथा मझौला उद्यम, उद्यमशीलता, वित्तीय पहुँच, रोजगारी, प्राविधिक तथा व्यावसायिक शिक्षा र विपद् सामना गर्ने क्षमता विकास उनका कार्यअनुभवका प्रमुख क्षेत्र हुन् । उनले सहायक आवासीय प्रतिनिधि, वरिष्ठ कार्यक्रम व्यवस्थापक, उपक्षेत्रीय निर्देशक तथा कार्यक्रम प्रमुखजस्ता जिम्मेवारी सम्हालेकी छन् ।

नेपालसहित ताजिकिस्तान, लाओस, यमन, तान्जानिया, नाइजेरिया, जिम्बाब्वे र अफगानिस्तानमा काम गरेको अनुभव भएकी खड्का केसी हाल सिटिजन्स बैंकको सार्वजनिक सञ्चालकका रूपमा कार्यरत छिन् ।

null

बैंककाे उच्च व्यवस्थापन 

गणेशराज पोखरेल

बैंकको व्यवस्थापन नेतृत्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले सम्हालिरहेका छन् । बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव भएका पोखरेल सिटिजन्स बैंकका संस्थापक सदस्यमध्ये एक हुन् ।

सीईओको जिम्मेवारीमा पुग्नुअघि उनले बैंकका विभिन्न विभागमा काम गर्दै व्यवसाय विस्तार र सञ्चालनमा भूमिका निर्वाह गरेका थिए । काठमाडौं विश्वविद्यालयबाट वित्त विषयमा स्नातकोत्तर, त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङमा एमबीए र बैंकिङ कानुनमा स्नातक गरेका उनले नेपाल व्यवस्थापन संघमा सीईओको भूमिका समेत निर्वाह गरेका थिए । 

राजेन्द्रलाल श्रेष्ठ

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) राजेन्द्रलाल श्रेष्ठ बैंकिङ क्षेत्रमा करिब २४ वर्षको अनुभव भएका बैंकर हुन् । भारतको पुणेस्थित एसआईबीएमबाट एमबीए गरेका श्रेष्ठको विशेष दक्षता जोखिम व्यवस्थापनमा छ ।

स्थापनाकालदेखि नै सिटिजन्स बैंकसँग आबद्ध उनले शाखा सञ्चालन, व्यापार वित्त, कर्जा तथा बजारीकरण, कर्जा प्रशासन, कर्जा असुली, जोखिम व्यवस्थापन, अनुपालन, सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण, कानुनी सेवा र सेयरसम्बन्धी विभागमा काम गरेका छन् ।

श्रेष्ठले सिटिजन्स बैंकको न्युरोड शाखामा पाँच वर्ष शाखा प्रबन्धकका रूपमा जिम्मेवारी सम्हालेका थिए । हाल उनको कार्यक्षेत्रमा कानुन तथा सेयर, कर्जा तथा बजारीकरण, वित्त र अनुसन्धान तथा विकास विभाग रहेको बैंकले जनाएको छ । 

राजेन्द्रलाल श्रेष्ठ

प्रमुख कर्जा अधिकृत तथा सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) सुमन मुलेपती बैंकिङ क्षेत्रमा करिब १८ वर्षको अनुभव भएका बैंकर हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका मुलेपती बैंक स्थापनाकालदेखि नै सिटिजन्स बैंकसँग आबद्ध छन् । उनले वित्त विभागबाट आफ्नो जिम्मेवारी सुरु गरेका थिए । त्यसपछि कुमारीपाटी शाखाको प्रबन्धकका रूपमा काम गरेका उनले उपभोक्ता बैंकिङ तथा साना तथा मझौला उद्यम इकाइको प्रमुख भएर करिब ९ वर्ष जिम्मेवारी सम्हालेका थिए ।

कर्पोरेट तथा कमर्सियल बैंकिङ इकाइको प्रमुखका रूपमा पनि उनले पाँच वर्ष काम गरेका थिए । कर्जा व्यवस्थापन, उपभोक्ता बैंकिङ, एसएमई तथा संस्थागत बैंकिङमा प्राप्त अनुभवका आधारमा उनी अहिले बैंकको कर्जा व्यवस्थापनको नेतृत्वमा छन् ।

सञ्जीवकुमार श्रेष्ठ

सिटिजन्स बैंकको सूचना प्रविधिसम्बन्धी कार्यको नेतृत्व प्रमुख सूचना प्रविधि अधिकृत तथा एसीईओ सञ्जीवकुमार श्रेष्ठले गरिरहेका छन् ।

बैंकिङ क्षेत्रमा सूचना प्रविधिसम्बन्धी काममा दुई दशकभन्दा बढी अनुभव भएका श्रेष्ठले युक्रेनबाट कम्प्युटर इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । बैंकिङ प्रणालीको प्रविधिगत सञ्चालनसँगै शाखारहित बैंकिङ, कार्ड सेवा र रेमिट्यान्स क्षेत्रमा समेत उनको अनुभव छ ।

सूचना प्रविधिमा आधारित बैंकिङ सेवा र डिजिटल कारोबार प्रणालीको विकासमा उनले काम गर्दै आएका छन् ।

नारायणराज अधिकारी

प्रमुख प्रशासन अधिकृत, प्रवक्ता, सूचना अधिकारी तथा एसीईओ नारायणराज अधिकारी बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव भएका बैंकर हुन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका अधिकारी २०६४ देखि सिटिजन्स बैंकसँग आबद्ध छन् ।

यसअघि उनले अर्को वाणिज्य बैंकमा रिलेसनसिप म्यानेजर तथा शाखा प्रबन्धकका रूपमा काम गरेका थिए । सिटिजन्स बैंकमा उनले पोखरा शाखाको प्रबन्धकका रूपमा जिम्मेवारी सम्हालेपछि कर्जा जोखिमसम्बन्धी कामको नेतृत्व गरेका थिए ।

कन्सोर्टियम, पूर्वाधार, कर्पोरेट तथा एसएमई इकाइसँग सम्बन्धित कामको अनुभव भएका अधिकारी हाल प्रशासन, मानव संसाधन, सामान्य सेवा, कर्जा असुली तथा संस्थागत सञ्चार विभागको जिम्मेवारीमा छन् । प्रवक्ता तथा सूचना अधिकारीका रूपमा पनि कार्यरत अधिकारीको अनुभव प्रशासनिक व्यवस्थापनदेखि संस्थागत सञ्चारसम्म फैलिएको छ ।

अमित खनाल

प्रमुख जोखिम अधिकृत तथा एसीईओ अमित खनाल बैंकिङ क्षेत्रमा १८ वर्षभन्दा बढी अनुभव भएका बैंकर हुन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका खनाल पछिल्लो १५ वर्षदेखि सिटिजन्स बैंकसँग आबद्ध छन् । कर्जा तथा बजारीकरण क्षेत्रमा १२ वर्षभन्दा बढी अनुभव भएका उनले कर्पोरेट, एसएमई र व्यक्तिगत कर्जासम्बन्धी जिम्मेवारी सम्हालेका छन् ।

खनालले बैंकको कर्पोरेट तथा एसएमई कर्जा जोखिम विभागको नेतृत्व गर्दै करिब सात वर्ष काम गरेका थिए । हाल उनको जिम्मेवारीमा कर्जा जोखिम, सञ्चालन जोखिम, बजार जोखिम तथा सूचना प्रविधि जोखिम व्यवस्थापनका साथै नियामकीय अनुपालन र सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी काम समेटिएका छन् ।

रोशन मल्ल

पूर्वाधार, कन्सोर्टियम तथा कर्पोरेट बैंकिङ प्रमुख (सीबीओ) रोशन मल्लसँग बैंकिङ क्षेत्रमा १८ वर्षभन्दा बढी अनुभव छ । कर्पोरेट बैंकिङ, परियोजना वित्त र पूर्वाधार बैंकिङमा विशेष अनुभव भएका मल्लले वित्त विषयमा व्यवस्थापनमा स्नातकोत्तर, वित्तीय व्यवस्थापनमा एमबीए तथा एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्ट्स (एसीसीए) उपाधि हासिल गरेका छन् ।

मल्लले पूर्वाधार तथा जलविद्युत् आयोजनामा केन्द्रित कर्जा पोर्टफोलियो व्यवस्थापन गर्दै आएका छन् । उनको नेतृत्वमा जलविद्युत्, स्टिल, सिमेन्ट, होटल, रियल इस्टेट तथा व्यापारलगायत क्षेत्रका ठूला परियोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी काम अघि बढाइएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्दै कन्सोर्टियम वित्तपोषणमा समेत उनले काम गरेका छन् ।

रोशन मानन्धर

बैंकका प्रमुख सञ्चालन अधिकृत (सीओओ) तथा गुनासो व्यवस्थापन अधिकारी रोशन मानन्धर शाखा सञ्चालन र खुद्रा बैंकिङमा अनुभव भएका बैंकर हुन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका मानन्धर २०६३ पुस १ गतेदेखि सिटिजन्स बैंकसँग आबद्ध छन् ।

उनले दरबारमार्ग, नयाँ बानेश्वर र कुपण्डोल शाखामा विभिन्न जिम्मेवारी सम्हालेका थिए । २०७५ कात्तिक १८ गतेदेखि खुद्रा बैंकिङ इकाइको प्रमुखका रूपमा काम गरेका मानन्धर हाल केन्द्रीय सञ्चालन, व्यापार प्रशासन, प्रदेश कार्यालयहरू तथा दरबारमार्ग शाखाको जिम्मेवारीमा छन् ।

परेशराज कायस्थ

बैंकका प्रमुख वित्त अधिकृत (सीएफओ) तथा कम्पनी सचिव परेशराज कायस्थ चार्टर्ड एकाउन्टेन्ट हुन् । उनले भारतको इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेका छन् भने त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक गरेका छन् ।

सिटिजन्स बैंकमा आबद्ध हुनुअघि उनले अर्को वाणिज्य बैंकमा तीन वर्षभन्दा बढी समय वित्त प्रमुखका रूपमा काम गरेका थिए । त्यसपछि कार्यकारी वित्त अधिकृतका रूपमा सिटिजन्स बैंकमा आबद्ध भएका कायस्थ हाल बैंकको वित्तीय व्यवस्थापन तथा कम्पनी सचिवसम्बन्धी जिम्मेवारीमा छन् ।

Share News