आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण, मौद्रिक नीतिको तारिफ

काठमाडौं । चालु आर्थिक वर्ष (सन् २०२५)मा नेपालको आर्थिक वृद्धिदर गत आर्थिक वर्ष (सन् २०२४)को ३.९ प्रतिशतबाट बढेर ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ, जसलाई उच्च पर्यटक आगमन, जलविद्युत र धान उत्पादनको वृद्धिले निर्देशित गरेको हुने विश्व बैंकको बुधबार सार्वजनिक नेपाल डेभलपमेन्ट अपडेट : अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव विषयक प्रतिवेदनमा उल्लेख छ । नेपालको अर्थतन्त्र आगामी आर्थिक वर्ष (सन् २०२६)मा भने ५.५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । केन्द्रीय बैंकको लचक मौद्रिक नीति र नियामकीय प्रावधानहरूमा गरिएको सहजीकरणका कारण नेपालको वृद्धिमा निजी क्षेत्रको महत्त्वपूर्ण  योगदान रहनेछ । यद्यपि प्रतिवेदनले बहु जोखिमहरू पनि पहिचान गरेको छ, जसअन्तर्गत वित्तीय प्रणालीमा उच्च जोखिमसहितको निजी क्षेत्रको कर्जा वृद्धिलाई सीमित गर्ने निष्क्रिय कर्जा, लगानी नै प्रभावित हुन सक्नेगरी सम्भावित नीतिको अनिरन्तरता, पूर्वाधार विकासलाई असर गर्ने पुँजीगत खर्चको कार्यान्वयनमा हुन सक्ने ढिलाइ, क्षेत्रीय अस्थिरता र व्यापार अवरोध जसले पर्यटन र आन्तरिक मागलाई कम गर्न सक्ने जस्ता जोखिमहरू रहेका छन् । ‘नेपालको अर्थतन्त्र क्रमिक सुधारको मार्गमा छ,’ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. शिवराज अधिकारीले भने, ‘बजेटरी प्रक्रियामा सुधार ल्याउँदै पूरा हुने चरणमा रहेका परियोजनाहरूलाई सम्पन्न गरेर पुँजीगत खर्च बढाउने हाम्रो प्राथमिकताले बृहत अर्थतन्त्रको स्थायित्व सुदृढ गर्नेछ, आन्तरिक उत्पादन बढाउनेछ र धेरै रोजगारी सिर्जना हुनेछन् ।’ आप्रवासी श्रमिक प्राप्त गर्ने गल्फ मुलुकहरू र मलेसियामा आएका झट्काहरूले पनि वृद्धिलाई धिमा गर्न सक्छ, खासगरी घरपरिवारको उपभोग, गरिबी निवारण र मानव पुँजी विकासमा भूमिका खेल्ने अन्तर्राष्ट्रिय विपे्रषणमा यसले असर पुर्‍याउनेछ । तथापि, नेपालको आप्रवासन अत्यन्त महँगो, असमान अवसरहरू र धेरैका लागि प्रक्रिया नै चुनौतीपूर्ण रहेको अवस्था कायम छ । प्रतिवेदनले नेपालको आप्रवासनको फाइदा र लागतका पछिल्ला तथ्यहरू प्रस्तुत गर्दै दिगोपन र प्रतिफल विस्तारको सुनिश्चितता गर्ने उद्देश्यले समावेशी आप्रवासन व्यवस्थापन प्रणाली निर्माणका लागि आवश्यक प्रमुख नीतिगत हस्तक्षेपहरूलाई प्राथमिकताका साथ उल्लेख गरेको छ । ‘वृद्धिको गतिलाई कायम राख्नु नेपालको विकासका लागि महत्त्वपूर्ण छ । यसका लागि प्रमुख क्षेत्रहरू जस्तै- पूर्वाधार, सुशासन, मानव पुँजी विकास र निजी क्षेत्रमा निरन्तर सुधारको आवश्यकता पर्दछ,’ विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले भने, ‘नेपालले विदेशी कामदारहरूबाट रेमिट्यान्सबाट धेरै फाइदा हासिल गरेको छ र यी प्रवाहहरूको व्यवस्थापनमा सुधार, विदेशमा काम खोज्ने नेपालीहरूलाई राम्रोसँग सहयोग गर्न र नेपालमा दक्ष नेपालीहरूलाई उत्पादनशील बनाउन वातावरण सिर्जना गर्ने जीवन्त घरेलु अर्थतन्त्रको निर्माण नेपालको भविष्यको लागि महत्त्वपूर्ण छ ।’ सुदृढ र थप समावेशी आप्रवासन व्यवस्थापन प्रणालीले पारदर्शी भर्ना प्रक्रिया स्थापित गर्नेछ, श्रमिकलाई विदेश जान राम्रो तयारी गराउनेछ, श्रम बजारमा आप्रवासीहरूको सुरक्षा र आवतजावतलाई सुनिश्चित गर्नेछ, दीर्घकालका सीप र गन्तव्य विविधिकरणका लागि योजना बनाउनेछ र फर्किएका श्रमिकहरूको पुँजी र सिपलाई प्रभावकारी उपयोग गर्नका लागि सहयोगी वातावरण निर्माण गर्ने विश्व बैंकको रिर्पोटमा उल्लेख गरिएको छ ।

पाठ्यपुस्तकमा चन्द्र र गगनहरू अटाउनुपर्छ, ‘अब्राहम लिंकनको चिठी’ भनेर भ्रम फैलाइँदैछ

काठमाडौं । नेपालको शिक्षा प्रणाली र पद्धति परम्परागत ढाँचाबाट अगाडि बढिरहेको छ भन्ने विषय जगजाहेर छ । अध्ययन अनुसन्धानको कमी, विषय विज्ञहरूको न्यून भूमिका, सरकारको सुस्तता र शिक्षकहरूको पनि वेवास्ताले पनि नेपालको शिक्षा प्रणालीमा सुधार हुन नसकेको हाे । व्यवहारिक शिक्षाभन्दा पनि सैद्धान्तिक र घोकन्ते शिक्षा पद्धतिमा अगाडि बढिरहेको नेपाली पाठ्यक्रम र पाठ्यपुस्तकमाथि पनि धेरैले बेलाबखत प्रश्न उठाउँछन् । सरकारी तवरबाट हुनुपर्ने काम एउटा व्यक्तिबाट हुन्छ । विद्यार्थीले पढेको र सिकेको ज्ञानले कतिको सार्थकता पाइरहेको छ ? शिक्षालयबाट काम गर्ने कार्यालयसम्म पुग्दा विद्यार्थीहरू कत्तिको सिपयुक्त र दक्ष हुन्छन् । सिकेको विषयलाई व्यवहारमा उतार्न उनीहरू कत्तिको सक्षम छन् ? यो विषयमा सम्बन्धित शिक्षालय र सरकारले पनि मनन गरेको छ वा छैन ? तपाईं हामी सबैलाई जानकारी भएकै कुरा हो, यो विषयमा न सरकारको चासो छ, न अभिभावकले गम्भीर रूपमा लिएको छ नत विद्यार्थी नै यस विषयको महसुस गरेको छ । नेपाली शैक्षिक पद्धति ‘जसैजसै पण्डित बाजे, उसैउसै स्वाहा’ भइरहेको छ । यो आँट नीति विश्लेषक होमराज आचार्य नेतृत्वको समूहले गर्‍याे । ‘एजुकेशन इन एभ्री होम’ अन्तर्गत नीति विश्लेषक आचार्यको समूहले एक वर्ष ६ महिना समय लगाएर नेपालको पाठ्यपुस्तहरू अध्ययन गर्यो । जसमा अनगिन्ती त्रुटिहरू भेटिए । नेपाली पाठ्यपुस्तकरू विदेशी व्यवसायी, उद्यमी, विज्ञ र कलाकार लगायतको कथाले भरिएका देखिए । त्यहाँ नेपाली र नेपालीपन देखिएन । पाठ्यपुस्तकमा ‘अब्राहम लिंकन’को चिठी पढाइएको भेटियो । विश्वको हावापानी धरातलीय विविधतामा पनि गलत सूचना राखिएको देखियो । नेपालमा प्रत्येक १०/१० वर्षमा पाठ्यपुस्तक पुनरावलोकन गर्नुपर्छ भन्ने मान्यता छ । यही मान्यताअनुसार सरकारले २०७९/०८० मा पुनरावलोकन गरिएका पाठ्यपुस्तकहरूको अध्ययन गर्दा त्रुटि फेला पारेको हो । पाठ्यपुस्तकमा फेला पारेको त्रुटिबारे सम्बन्धित निकायलाई जानकारी गराउँदा समेत अहिलेसम्म कुनै निकायले यसमा ध्यान दिएको छैनन् । सरकार आफैले गर्नुपर्ने काम व्यक्तिले गर्दा पनि वेवास्ता गरेको शैक्षिक अभियन्ता एंव नीति विश्लेषक आचार्यको भनाइ छ । नेपालको इतिहासदेखि विश्वस्तरको कुरा समावेश पाठ्यपुस्तकमा नै त्रुटि फेला पर्दा नेपालको शैक्षिक प्रणालीमाथि नै प्रश्न उठ्न थालेको हो । के छन् त्रुटि ? नेपालको इतिहास, भूगोल, विज्ञान गणितलगायतका विषयमा व्यापक त्रुटि रहेको पाइएको छ । ‘हामीले कुनै व्याकरणका त्रुटि भनेका होइनौं, पाठ्यपुस्तकमा राखेका सूचना तथ्यका आधारमा गरिने कुराहरू नै गलत छन्,’ उनले भने, ‘महिलाहरूलाई कसरी प्रस्तुत गर्ने, जनजातिका संस्कृतिलाई कसरी प्रस्तुत गर्ने भन्नेमा पनि गल्ती छ । नेपालको सांस्कृतिक पुँजी भनेको यहाँका सबै समुदाय र नागरिक हुन्, उहाँहरूले निर्माण गरेका चाडपर्व, नृत्य जति छन् यो भनेको देशको ज्ञान हो, यसलाई बराबर रूपमा स्थान दिनुपर्छ ।’ होमराज नेतृत्वको टिमले गरेको अनुसन्धानमा कक्षा २, ७ र १० मा पढाइ हुने सामाजिक र नेपाली विषयलाई नमुनाका रूपमा लिएर अध्ययन गरिएको थियो । उनी भन्छन्, ‘पाठ्पुस्तकमा धेरै कुरा ‘मेन्सन’ गरियो, लिस्टिङ गर्ने काम गरियो, तर गहिरिएर त्यसको खोजी भने गरिएन । यस्तै, तथ्यपरक त्रुटि पनि पाठ्यपुस्तकमा उत्तिकै पाइएको छ । नेपाल बाघ संरक्षणमा संसारभर नेतृत्वकर्ताका रूपमा मानिन्छ । दक्षिण एसियामै बाघहरू पाइने उद्गम स्थल हो । तर किताबमा जर्मनी अनि ब्राजिलमा बाघ, हात्ती, गैंडाहरू छन् भन्ने कुरा भेटियो, जुन गलत हो । त्यस्तै, अर्को एउटा ‘कालीगण्डकीको तिरैतिर’ भन्ने एउटा निबन्धमा सही जानकारी समावेश नगरेको पाइएको छ । निबन्धमा काठमाडौंबाट एउटा समूह मुक्तिनाथसम्मको यात्रामा निस्केको छ, तर त्यहाँ बुद्धिष्ट संस्कृतिका कुनैपनि कुरा देखिँदैन । मन्दिर र शालिकग्राममात्र देख्छ । उनी किताब लेख्ने मान्छेमा जुन किसिमको दृष्टि हुनुपर्ने हो त्यो नभएको दाबी गर्छन् । होमराज भन्छन्, ‘आँखा हुनु र दृष्टि हुनुमा फरक छ, त्यस्तै हाम्रा पाठ्यपुस्तकमा आँखा छन्, दृष्टि छैनन् । ’ पाठ्यपुस्तकमा गुरुङ, मगर, थारु, मधेसी लगायतका समुदायका संस्कृतिलाई पनि मुख्य रूपमा नल्याएको उनको भनाइ छ । विदेशीलाई प्राथमिकता, नेपालीबारे बेखबर नेपाली पाठ्यपुस्तकले धेरैजसो शब्द नेपालीभन्दा विदेशीहरूको बारेमा खर्चेको छ । नेपाली महिलाभन्दा बढी विदेशी महिलाका कुरा लेखिएका छन् । पाठ्य पुस्तकले आफ्नै देशका मान्छेलाई भने अवमूल्यन गरेको छ । राजाहरूको इतिहास वर्षौं पुरानादेखि वीरेन्द्रसम्मको पढाउनुपर्ने पाठ्यक्रममा नागरिकका कथा लेखिएका छैनन् । नेपालमा अहिले पनि उद्यममा राम्रा काम गर्ने धेरै व्यक्ति छन् । तर, उनीहरूको कथा लेखिएको छैन । होमराज पाठ्यपुस्तकमा ठूला व्यक्तिको मात्र नभइ सर्वसाधारणका कथा पनि लेखिनुपर्ने बताउँछन् । एक जना महिला जसले राम्रो काम गरिरहेकी छन् भने त्यस्ता कथा पनि राखिनुपर्ने उनको धारणा छ । ‘नेपालमा विभिन्न किसिमका व्यवसाय गरेर बस्ने मान्छे छन्, अन्य स्टार्टअप कम्पनी छन्,’ होमराज भन्छन्, ‘गगन प्रधानको हिमालयन जाभा छ, उनले सानो व्यापार सुरु गरेर अहिले सिंगापुर, अस्टेलिया, अमेरिकालगायत विभिन्न देशमा यसका आउटलेट खुलिरहेका छन् । चन्द्र ढकाल पनि सानो व्यापारबाट देशभर फैलिएका छन्, नेपालबाट जन्मिएको सानो व्यापारले विश्व बजारमा नाम कमाएको कुरा हाम्रो पाठ्यपुस्तकमा विद्यार्थीले पढ्न पाउनुपर्‍यो । तर विडम्बना हामी त्यो पढ्न पाउँदैनौं ।’ कलेजस्तरमा पनि बिजनेश पढाइ हुँदा नेपाली बिजनेश आउटलेटको बारेमा पढ्न पाइँदैन । बाजेको सेकुवा, कृष्ण पाउरोटीलगायत नेपालका आफ्नै बिजनेशको बारेमा स्कुलमा मात्र होइन, विश्वविद्यालयमा पढाउनुपर्ने उनको भनाइ छ । उनी यो विषयमा कुनै विदेशी आएर नेपालमा पाठ्यपुस्तकको अडिट गरेको भए शिक्षा मन्त्रालयदेखि विभाग सबैले बोलाइबोलाइ कार्यक्रम गरिसक्थे तर उनी आफूले गरेको काममा कसैले सुनवाइ नगरेकोमा गुनासो पोख्छन् । नेपाली उद्यमीलाई शिक्षासँग गास्ने हो भने विद्यार्थीलाई धेरै सिकाइ हुने उनको अनुभव छ । भुइँमान्छेदेखि सर्वसाधारणका कुराहरू पनि स्कुलदेखि विश्वविद्यालयसम्म पढाइ हुनुपर्ने बताउँदै होमराज विदेशीहरूको बारेमा नेपाली किताबमा धेरै पढाइ हुने तर नेपालीलाई वेवास्ता गर्ने काम पनि हाम्रो पाठ्यपुस्तकमा देखिएको बताउँछन् । के छन् राम्रा विषय ? पाठ्यपुस्तकमा पर्याप्त विवरण र सूचना त्रुटिका बीच पनि केही राम्रा कुराहरूको सुरुवाती भएको पाइन्छ । पहिलेको तुलनामा केही कुरा राम्रा पनि छन् । मानव अधिकार, महिला अधिकार, समानता, संस्कृतिका कुराहरू पनि लेखिएका छन् । तर त्यतिले मात्र पुग्दैन । विद्यार्थीलाई महिलाको अधिकार हनन् भयो भने के-के गर्न सकिन्छ भन्ने रणनीतिसँगै डिजिटल साक्षरताका कुरा पनि समावेश गर्नुपर्ने होमराजको तर्क छ । बच्चाहरू फेसबुक चलाउन जान्दैमा, युट्युबमा भिडियो हेर्न जान्दैमा डिजिटल साक्षरता भएको भन्न सकिँदैन । अहिले सामाजिक सञ्जालमा ९० प्रतिशत बढी गलत सूचना आइरहेको हुन्छ । यस्ता विषय पनि पाठ्यपुस्तकमा समावेश हुनुपर्छ । ‘फेक र बनावटी विषय इन्टरनेटमा धेरै पाइन्छ,’ उनी भन्छन्, ‘ एआईको जमानामा त अझ के के हुन्छ, डिजिटल साक्षरतामा जाँदा धेरै कुरामा ध्यान दिनुपर्छ ।’ पाठ्पुस्तक अध्ययन गर्ने सोच आजभन्दा पाँच वर्षअघि होमराज जातीय विभेदविरुद्ध पदयात्रामा निस्क्किए । यात्रामा उनले जातीय विभेदका कुरामात्र सुनेनन्, स्थानीयका शिक्षा र स्वास्थ्यका कुरा पनि सुने । नागरिकहरूको शिक्षामा एउटै कुरा थियो, ‘हामीले पढ्ने किताबमा हामीले हामीलाई भेटाउँदैनौं, हाम्रो संस्कृति देखिँदैन ।’ तिनीहरूको कुराले उनलाई गम्भीर बनायो । विभिन्न जातजाति, भाषाभाषी रहेका देशमा स्थानीयले आफ्नो पाठ्यपुस्तकमा आफू र आफ्नो समाजलाई नपाउनु आवश्यकता जस्तो लाग्यो होमराजलाई । उनले ७७ वटै जिल्लामा यो विषयमा रुचि राख्दा एउटै जवाफ पाए । त्यसपछि उनलाई लाग्यो अब नेपालको पाठ्पुस्तक कस्तो छ ? यहाँभित्र के कस्ता कुराहरू छन् ? अध्ययन गरिनुपर्छ । ‘म नीति विश्लेषणको विद्यार्थी पनि, नीति विश्लेषण र डेभलपमेन्टको विद्यार्थी पनि भएकाले यस्ता कुराले मलाई क्याच गरिहाल्यो,’ होमराज भन्छन्, ‘अब यो विषयमा अध्ययन कसरी गर्ने भन्ने लाग्यो अनि मैले यो विषयमा खोजी सुरु गरें । अन्य देशमा के अभ्यास छ ? त्यहाँ के कस्तो काम भएको छन् ? भन्ने खोजी सुरु गरें ।’ सोही क्रममा उनले नेपालमा युनाइटेड नेसन्सका धेरै संस्था रहेका र त्यसमध्ये युनिसेफले यो विषयमा केही काम गरेको फेला पारे । संसारभरि पढाइ हुने पाठ्यपुस्तकका समीक्षा कसरी गर्ने ? कुन–कुन कुरा हुनुपर्छ ? भन्ने कुरा थाहा पाए । त्यसको आधारमा विभिन्न देशले गरेका राम्रा अभ्यासको पनि समावेश गरेर नेपालको सन्दर्भमा फिट हुने किसिमले इनोभेसन गरे । ‘गाउँगाउँमा पुगेर नागरिकका कुरा सुनेर सुरु गरेको यो अभियान यहाँसम्म पुग्यो,’ होमराजले भने, ‘ हामीले एउटा फ्रेमवर्कको विकास गरेका छौं । त्यसमा उहाँहरूलाई चित्त नबुझे आफैले अडिट पनि गर्न सक्नुहुन्छ अथवा हामीजस्ता मान्छेलाई बोलाउन सक्नुहुन्छ ।’ पहिलो पटक अडिट होमराज विद्यालय तहका पाठ्यपुस्तकलाई नेपालमै पहिलो पटक अडिट गरेर त्यसभित्र के कस्ता विषयवस्तुहरू छन् भन्ने विषयको सुरुवात गरेको बताउँछन् । नेपाली जनताका छोराछोरीले के पढिरहेका छन् ? गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवस्था पाठ्यपुस्तकमा देखिन्छ कि देखिँदैन भन्ने कुरा आफूहरूले अध्ययनको क्रममा हेरेको जानकारी दिए । उनी परीक्षा पास गर्दैमा गुणस्तरीय शिक्षा पाएको भन्न नमिल्ने बताउँदै शिक्षाको परिभाषालाई नै परिर्वतन गर्नुपर्छ भन्ने उद्देश्यले ‘घरघरमा शिक्षा’ भन्ने अभियान सुरु गरेको बताउँछन् । ‘विश्वविद्यालयको डिग्री हासिल गरेर मात्र हुँदैन, गाउँमा हलो जोत्ने, घाँस काट्ने, मजदुरी गर्ने मजदुरले पनि राम्रा कुरा निर्माण गर्न सक्नुहुन्छ,’ होमराज भन्छन्, ‘नीति निर्माताहरूले महसुस नगरेको यो विषयमा नागरिकलाई हुटहुटी भयो, हामीले यसलाई सिस्टममा ढाल्ने प्रयास गरेका हौं ।’ पाठ्यपुस्तक महत्त्वपूर्ण अहिले नेपालमा एउटा भाष्य निर्माण भएको छ, ‘पाठ्यपुस्तकभन्दा महत्वपूर्ण पाठ्यक्रम हो’ । नेपालको हकमा यो एकदम गलत हो । जुन देशमा पढ्ने संस्कृतिको विकास भएको छैन, जहाँ पाठ्यपुस्तक नै प्राइमरी बुक्स हुन् । सबैको लागि ज्ञान प्राप्त गर्ने, साहित्यको बारेमा जान्ने, जलवायु वातावरणको बारेमा जान्ने, समानताको बारेमा जान्ने कुरा पाठ्यक्रममा जान्नुपर्छ भनेर लेखेरमात्र हुँदैन । यसलाई पाठ्यपुस्कतमै ढाल्न सक्नुपर्छ । उनी नेपालका सबै शिक्षकहरू सिपयुक्त नहुन सक्ने अथवा जस्तो तालिम उनीहरूले पाएको हुन्छ त्यो कक्षामा आएर लागू गर्न नसक्ने भएकाले पनि पाठ्यपुस्तक महत्त्वपूर्ण हुने बताउँछन् । ‘हाइक्वालिटीको पाठ्यपुस्तक भयो भने विद्यार्थीले आफ्नै तरिकाले पढ्न पाउँछन्,’ होमराज थप्छन्, ‘हामीकहाँ पाठ्यपुस्तकभन्दा पाठ्यक्रम महत्त्वपूर्ण हुन्छ भन्ने गलत भाष्य कायम भयो, अन्य देशका शिक्षकहरूले ४ कक्षामा पढाउन १० घण्टा घरमा गएर प्लानिङ गर्छन्, यहाँ शिक्षकको मिहिनेत देखिँदैन ।’ कुपोषित शिक्षा होमराज नेपालको शिक्षा नै कुपोषित भएको बताउँछन् । अहिले पनि धेरै विद्यालयमा शिक्षकहरू हाजिर लगाउने, पाठ्यपुस्तकमा भएको पाठलाई पढेर सुनाउने अनि विद्यार्थीलाई आफै पढेर आउनूस् भन्दै हिँड्ने गरेको पाइन्छ । विद्यालयभन्दा कुन पार्टीको कहाँ बैठक छ, त्यहाँ जाने प्रवृति छ । शिक्षकलाई भोलि गएर कसरी नेता बन्ने भन्ने कुराको बढी पीर रहेको बताउँदै उनी शिक्षण पेसा जुन तरिकाले अघि बढ्नुपथ्र्यो त्योअनुसार हुन नसकेको गुनासो गर्छन् । उनी यसको मुख्य कारण पाठ्यपुस्तक नै रहेको बताउँछन् । ‘विद्यार्थीलाई पालिका, प्रदेश, संघ हुँदै अन्तर्राष्ट्रिय स्तरसम्मको ज्ञान दिनुपर्छ, तर नेपालमा यस्तो छैन,’ होमराज भन्छन्, ‘ हामीले बुद्धको बारेमा जानकारी गराउँदा पनि बुद्ध को हुन् ? भन्ने जानकारी गरायौं, त्योबेला अन्य देशमा कहाँ के के भइरहेको थियो, त्यो बेलाको सोचाइ कस्तो थियो, समय कस्तो थियो भन्ने तहसम्म विद्यार्थीलाई जानकारी गराउन सकेनौं । अहिलेको पाठ्यपुस्तकमा यस्तो जानकारी छैन । ’ उनी यस्ता कुरा पढाउन शिक्षक आफैले पनि खोजी गर्नुपर्ने बताउँछन् । होमराज गुणस्तरीय शिक्षाको कुरा गर्ने हो भने लोकल, नेसनल र ग्लोबलको लिंकेज भएको ज्ञान प्रत्येक विद्यार्थीलाई दिनुपर्ने धारणा राख्छन् । अहिले विद्यालय तहको अधिकार स्थानीय तहमा गएको छ । पाठ्यक्रम लेख्ने अधिकार पनि उसैलाई छ । यसमा पनि पालिकाले आफ्नो नगरभित्रको कुरासँगै देशभित्र र बाहिरका कुरा पनि राख्न आवश्यक छ । नेपालमा अझै प्रमाणपत्रमात्र दिने जुन शिक्षा छ, यसले धेरै कुरालाई बिगारेको होमराज बताउँछन् । ‘मसँग अमेरिकाका ६ वटा विश्वविद्यालयको अनुभव छ । तर, राम्रो र गुणस्तरको काम गर्नलाई डिग्रीको सर्टिफिकेट र विश्वविद्यालयको अनुभव हुनुपर्छ भन्ने छैन,’ आचार्य भन्छन्, ‘मान्छेभित्र सिक्ने, सिकाउने मनोवृत्ति हुनुपर्छ । त्यसो हुन सकेन भने उसको शिक्षा काम लाग्दैन । सामूहिक अध्ययन होमराजसहितको टोलीले १६ महिना लगाएर अध्ययन गरेको पाठ्यपुस्तकलाई अहिले पनि सरकारले कहाँनेर के गल्ती कसरी सुधार गर्ने भन्ने बारेमा चासो दिएको छैन । सरकार आफैंले गर्नुपर्ने कामलाई गैरसरकारी तहबाट गरेर त्रुटि देखाइदिँदा पनि सरकारले सुधारको लागि ध्यान नदिएको गुनसो उनको छ । सरकारले चाँसो नदिँदा अब आफै प्रस्ताव गर्ने विचारमा होमराज र उनको टोली छ । ‘उहाँहरू व्यस्त भएर हामीलाई प्रस्ताव नगरेको पनि हुनसक्छ, अब हामी नै गर्छौं,’ उनी भन्छन्, ‘नेपालमा स्थायित्व नै हुँदैन । हामीले यो काम गर्दा अहिलेसम्म तीन जना शिक्षामन्त्री भए, पहिलो मन्त्री हुँदा हामी अध्ययनमै थियौं, दोस्रो मन्त्री सुमनालाई भेटेर जानकारी गरायौं अहिलेका मन्त्रीलाई भेट्नै सकेका छैनौं, अब भेटेर कुरा राख्छौं ।’

यस कारण बीमितले नपाउन सक्छन् दाबी भुक्तानी

केही दिनअघिको निरन्तरको वर्षाको कारण आएको बाढी-पहिरोले ठूलो जनधनको क्षति भएको छ । क्षति भएका कयौं सम्पत्तिको बीमा पनि भएको छैन । बीमा नभएको सम्पत्तिको दाबी पाउने कुरै भएन । तर, बीमा भएका केही सम्पत्तिको पनि बीमा दाबी भुक्तानी नपाउने देखिन्छ । पाए पनि निकै कम पाउने स्थिति छ । हालैको वर्षाले कोठा भाडामा बस्नेहरूको सम्पत्तिदेखि ठूल्ठूला आयोजनाहरू समेत ध्वस्त भएका छन् । बाढीले यसरी क्षति भएको अवस्थामा बीमा गरेको भएतापनि विभिन्न कारणले बीमा कम्पनीबाट दाबी पाइने कुरामा ढुक्क हुन सकिँदैन । बीमा दाबीमा असर पर्न सक्ने धेरैवटा कारण छन् । जसमध्ये केही कारण यहाँ उल्लेख गरिएका छन् । सम्पत्ति बीमालेखको हकमा प्रायः सम्पत्ति बीमा गर्दा आफूसँग भएको पूरा मौज्दातको बीमा गराउने भन्दा पनि बैंकले मागेजतिको मात्र सम्पत्ति बीमा गराउने प्रचलन छ । यसो गर्दा स्टकमा भएको मौज्दातभन्दा जति प्रतिशतले कम बीमा भएको देखियो दाबी पनि त्यति नै प्रतिशतले घटेर मात्र फर्छ्याैट हुने भएकोले वास्तविक क्षतिभन्दा निकै कम मात्र दाबी पाइन्छ । त्यसकारण सम्पत्ति (पसल तथा गोदाम) बीमा गराउँदा वास्तविक मौज्दात बमोजिम बीमा गराउनुपर्छ । बीमा गराउँदा स्टकमा भएको सम्पत्तिको मौज्दात र बीमा गरेको रकम मिलेता पनि मौज्दातअनुसारको खरिद अथवा आयात गरेको निस्सा जुटाउन सकिएन भने खरिद अथवा आयात प्रमाणित भएबमोजिमको मात्र दाबी भुक्तानी पाइन्छ । त्यसकारण गोदाम अथवा पसलमा मालसामान भएर मात्र पनि हुँदैन, क्षति भएको वास्तविक रकम प्रमाणित गर्नको लागि सर्भेयरलाई मालसामानको खरिद अथवा आयात गरेको निस्सा उपलब्ध गराउनुपर्छ । यदि निस्सा उपलब्ध गराउन सकिएन भने सर्भेयरले क्षति प्रमाणित गर्दैन र प्रमाणित नभए बराबरको दाबी पाइँदैन । बीमा गरिएको मालसामानको परिमाण बीमालेखअनुसार मिलेता पनि यदि बिजक रकम कम गरी खरिद गरेको पाइएमा बीमा कम्पनीले दाबी फर्छ्याैट गर्दा मालसामान खरिद गरेको बिलबमोजिम मात्र भुक्तानी दिने गर्दछ । त्यसर्थ वास्तविक बजार मूल्य सही भएतापनि सर्भेयरले खरिद बिजकमा उल्लेख भएको रकमलाई मात्र आधार मानेर क्षति प्रमाणित गर्ने भएको दाबी रकम कम हुन जान्छ । बीमा कम्पनीमा पेस गरेको सम्पत्ति विवरण र वास्तविक क्षति भएको सम्पत्ति मेल नखाएमा पनि बीमा दाबी भुक्तानी हुँदैन । आफ्नो सम्पत्ति बीमा गराउँदा व्यवसायको प्रकृतिअनुसार आफूसँग भएको र हुनसक्ने प्रत्येक मालवस्तुको परिमाण र मूल्य खुलेको विवरण बीमालेखसँग संलग्न गराउनु पर्दछ । अन्यथा दाबी परेको बेलामा बीमालेखले कभर गरेको र नगरेको वस्तु चिन्न नसक्ने भएकोले दाबी रकममा फरक पार्न सक्छ । जलविद्युत अथवा अन्य उद्योगहरूमा भएको क्षतिको दाबी भुक्तानी दिँदा बीमा कम्पनीले निर्माण पुरा भएको वर्षअनुसार ह्रास कट्टी कटाएर मात्र भुक्तानी दिने गर्दछ । यदि क्षति भएको बेलामा पुनर्निर्माण गर्न पुग्ने रकम बराबरको दाबी लिन चाहनुहुन्छ भने बीमांक रकम आजको (पुनर्निर्माण गर्न पर्याप्त) बजार मूल्य बराबर कायम गरी ह्रास कट्टी नगरिकन बीमांक कायम गरी ‘पुनर्स्थापना सम्पत्ति बीमालेख’ लिनुपर्दछ । ‘पुनर्स्थापना सम्पत्ति बीमालेख’को बीमादर एउटै हो । तर, बढेको बीमांकको मात्र थप बीमाशूल्क लाग्ने गर्दछ । यसरी खरिद गरेका बीमालेखमा दाबी परेको खण्डमा क्षति बराबरकै दाबी भुक्तानी पाइन्छ । निर्माण व्यवसायीको हकमा निर्माण व्यावसायीले कुनैपनि आयोजना निर्माण गरिरहँदा मासिक प्रगति विवरण बनाएर बीमा कम्पनीमा बुझाउनुपर्छ । मासिक नसकिएता पनि त्रैमासिक अथवा प्रत्येक वर्षको वर्षात सुरु हुनुभन्दा पहिला अनिवार्य बुझाउनुपर्छ । उक्त रिपोर्ट बनाउँदा बिओक्यू बमोजिम कुन शीर्षकमा कति प्रतिशत काम सकियो भन्ने स्पष्ट उल्लेख भएको हुनुपर्छ । किनकि यसरी अहिलेको जस्तो ठूलो बाढीले बगाउँदा आयोजना स्थलमा जति काम सकिएको भएतापनि केही पनि बाँकी नरहने गरी बगाएर लान सक्छ र सर्भेयरले हेर्दा केही पनि देखिँदैन र सोहीअनुसार आफूले आयोजना स्थलमा केही पनि संरचना नदेखेको लेखेर पठाइदिनसक्छ । जसको फलस्वरूप बीमा कम्पनीले चाहेर पनि दाबी भुक्तानी दिन सक्दैन । यदि मासिक प्रगति विवरण बनाएर बुझाएको भए त्यसै रिपोर्टलाई आधार मानी वर्षात अघिसम्म सकिएको निर्माण बमोजिम दाबी भुक्तानी पाइन्छ । आयोजनाको बीमा दाबीमा असर गर्नसक्ने अर्को महत्त्वपूर्ण पाटो भनेको ‘सम्भावित क्षति अध्ययन’ (रिस्क एसेसमेण्ट रिपोर्ट) पनि हो । यो रिपोर्ट तयार गरिएन अथवा रिपोर्ट बनाएता पनि रिपोर्टले भने बमोजिम सम्भावित क्षतिलाई सम्बोधन गर्ने कुनैपनि कार्य गरेको पाइएन र रिपोर्टमा उल्लेख भएको सम्भावित तत्वले क्षति भएको खण्डमा दावी रकम नपाउन अथवा निकै कम मात्र पाउन सक्छ । यदि म्याद थप गरिएका आयोजनाहरू हो भने अनिवार्य रूपमा सर्भेयर खटाएर वास्तविक स्थितिको रिपोर्ट बनाएर बीमा कम्पनीमा पेस गर्नुपर्छ । यदि बीचमा काम सुरु गर्दाको वास्तविक स्थितिको सर्भेयर रिपोर्ट पेस गरिएन भने हालको वर्षाले क्षति पुर्‍याएको भएतापनि बीमा कम्पनीले पहिलेदेखि नै भइराखेको क्षति भनेर दाबी नदिन सक्छ । निर्माणाधीन आयोजना क्षति हुँदा सबैभन्दा बढी निर्माण सामग्री तथा मेसिनरीहरू बगाएर लाने गर्दछ । कार पोलिसीले निर्माण सामग्रीहरू जम्मा तीन दिनको लागि मात्र कभर गर्ने र आयोजना क्षेत्रभन्दा बाहिरको निर्माण सामग्री पनि कभर नगर्ने भएकोले बीमा दाबीमा निकै कमी आउन सक्छ । यसको लागि तीन दिनभन्दा बढी र आयोजना स्थलभन्दा बाहिरको निर्माण सामग्रीको छुट्टै बीमा गराउनुपर्छ । साथै आयोजना स्थलभित्र जतिपनि मेसिनहरू छन् ती सबैलाई मुख्य बीमालेखमा समावेश गराएर थप बीमाशूल्क भुक्तानी गर्नुपर्छ । अनिमात्र निर्माण सामाग्री तथा मेसिनरी बीमालेखबाट सुरक्षित रहन्छ । बीमालेखमा ‘मनसुन क्लज’ लगाएको छ भने वर्षातको समयमा काम बन्द गर्नुपर्छ । र, काम रोकिनुभन्दा अगाडिसम्म बिओक्यू अनुसार जति काम सकिएको हो त्यसको विवरण बीमा कम्पनीलाई उपलब्ध गराउनुपर्छ । यसो गर्दा बाढीले क्षति भएता पनि हालसम्म सम्पन्न गरिएका निर्माणमा क्षति पुगेको खण्डमा बीमा कम्पनीबाट सजिलै दाबी पाइन्छ । यदि मनसुन क्लोज लगाएको अवस्थामा वर्षातको समयमा काम सुचारु भइरहेको खण्डमा निर्माण सामग्रीलगायत सो अवधिमा गरिएको कार्यको क्षतिपूर्ति बीमा कम्पनीले दिँदैन । आयोजना क्षति भएको बेलामा खर्च गराउने तत्वमध्ये एउटा तत्व बाह्य भग्नावशेष (फोरेन डेब्रिज) पनि हो । यदि बीमालेखमा बाह्य भग्नावशेष हटाउने कभर छैन भने ती बाह्य भग्नावशेष हटाउँदा भएको खर्च बीमा कम्पनीले दिँदैन । (लेखक श्रेष्ठ एवान रिइन्स्योरेन्स ब्रोकरका नायब प्रमुख कार्यकारी अधिकृत हुन् ।)