बाढीले क्षति पुर्याएका जलविद्युतको मूल्यमा गिरावट

काठमाडौं । बाढी पहिरोको असर पुँजी बजारमा परेको छ । अविरल बर्षाका कारण बाढी पहिरोबाट पुँजी बजारमा सूचीकृत कम्पनीमा क्षति पुर्याएपछि सेयर मूल्यमा गिरावट आएको हो । आइतबार जलविद्युत समूह २.३६. प्रतिशत अर्थात् ६१.४९ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । नेप्सेका अनुसार जलविद्यत समूहका रहेका अधिकांश हाइड्रोको सेयर मूल्य घटेको छ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार २० वटा जलविद्युत आयोजना प्रभावित भएका छन् । जसमध्ये १६ वटा जलविद्युत आयोजनामा क्षति पुगेको इप्पानले जनाएको छ । विकासन्युृजलाई प्राप्त तथ्याङ्क अनुसार बाढीले क्षति पुर्याएका जलविद्युत कम्पनीहरूमध्ये ९ वटा हाइड्रोपावर पुँजी बजारमा सूचीकृत छन् । अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । मान्डू हाइड्रोपावरले बागमती साना जलविद्युत आयोजनामा लगानी गरेको छ । सो आयोजनामा करिब १ अर्ब रुपैयाँ बराबरको क्षति पुर्याएपछि त्यसको प्रत्यक्ष असर सेयर मूल्यमा परेको हो । नेप्सेका अनुसार मान्डु हाइड्रोको सेयर मूल्य ४.४६ प्रतिशत घटेको हो । विहिबार प्रतिकित्ता ८९०.१० रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको सेयर मूल्य आइतबार ५५४ रुपैयाँमा झरेको छ । यस्तै माउन्टेन हाइड्रो नेपालको लगानी रहेको तल्लो हेवाखोला जलविद्युतमा करिब २५ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको छ । लगानी गरेको आयोजनामा क्षति पुर्याएपनि कम्पनीको सेयर मूल्य घटेको छ । माउन्टेनको सेयर मूल्य ७.२१ प्रतिशत घटेर २४३.१० रुपैयाँमा झरेको छ । बिहीबार यस कम्पनीको २६२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । बाढीले सोलु दुधकोशी जलविद्युत आयोजनाको हेडवक्र्समा क्षति पुर्याएर बन्द भएको छ । यस कम्पनीमा साहस ऊर्जाको लगानी छ । सोलु दुधकोशीमा लगानी रहेको यस कम्पनीको सेयर मूल्य ४.८४ प्रतिशत घटेर ४५६ रुपैयाँमा झरेको छ । बिहीबार प्रतिकित्ता ४९७.१७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । सगरमाथा जलविद्युत कम्पनीको सेयर मूल्य ३.३० प्रतिशत घटेर प्रतिकित्ता ५२७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । बिहीबार कम्पनीको ५४५ रुपैयाँमा कारोबार भएको थियो । कम्पनीको लगानी माइखोला जलविद्युत आयोजनामा छ । यस आयोजनामा करिब ७ करोड रुपैयाँ बराबर क्षति भएको इप्पानले जनाएको छ । सगरमाथाकै लगानी रहेको माइखोला क्यासकेड जलविद्युतमा पनि करिब ५ करोड रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । आइतबार माइखोलाको सेयर मूल्य ४.३९ प्रतिशत घटेर ४५७ रुपैयाँमा झरेको छ । बिहीबार ४७८ रुपैयाँमा कारोबार भएको थियो । यस्तै २ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको माया खोला जलविद्युत आयोजनाको सेयर मूल्य ४.७५ प्रतिशत घटेको छ । बिहिबार ३४१ रुपैयाँ रहेको यस कम्पनीको सेयर मूल्य घटेर ३२५ रुपैयाँमा झरेको नेप्सेले जनाएको छ । पाँचथर पावरको लगानी रहेको १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजानामा पनि क्षति पुगेको छ । यसअघिको बाढीले क्षतिग्रस्त आयोजना पुनर्निर्माण सकेर सञ्चालनमा आउन लागेको थियो । तर, सञ्चालनमा आउन नपाउँदै पुनः क्षतिग्रस्त भएको हो । आइतबारको कारोबारमा पाँचथर पावरको सेयर मूल्य ८.२७ प्रतिशत अर्थात् २२ रुपैयाँ घटेर २४४ रुपैयाँमा कायम रहेको नेप्सेले जनाएको छ । बिहीबार यस कम्पनीको २६६ रुपैयाँमा कारोबार भएको थियो । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्र्स)मा क्षति पुर्याएको छ । विद्युत् उत्पादन बन्द गरिएको छ । कम्पनीको सेयर मूल्य ३.४१ प्रतिशत अर्थात् ७ रुपैयाँ घटेर १९८ रुपैयाँमा झरेको छ । यसअघि बिहीबार कम्पनीको सेयर मूल्य २०५ रुपैयाँमा कारोबार भएको थियो । तर, बाढीले क्षति पुर्याएको खानीखोला जलविद्युत आयोजनाको सेयर मूल्य भने बढेको देखिन्छ । कम्पनीको सेयर मूल्य ०.५१ प्रतिशत बढेर २५८ रुपैयाँमा उक्लिएको छ । बिहीबार २५६.७० रुपैयाँमा कारोबार भएको थियो ।

बाढी पहिरोका कारण २० आयोजना प्रभावित, १५ आयोजनामा २ अर्ब बढीकाे क्षति

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी-पहिरोका कारण २० आयाेजना प्रभावित भएका छन् । बाढी-पहिराेले २० वटा हाइड्रोपावर कम्पनीमा क्षति पुर्‍याएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जानकारी दिएको छ । इप्पानका अनुसार बाढीबाट १५ आयाेजनामा २ अर्ब ३१ कराेड रुपैयाँ बराबरकाे क्षति भएकाे छ । अन्यकाे विवरण आउन बाँकी रहेकाे इप्पानले जनाएकाे छ । मान्डू हाइड्रोपावरद्वारा प्रवर्द्धित मकवानपुरकाे २२ मेगावाट क्षमताकाे बागमती साना जलविद्युत आयोजनाकाे पावर हाउस पूणरूपमा डुबेको छ भने बाँध क्षेत्रमा पनि क्षति भएकाे छ । यहाँ करिब १ अर्ब रुपैयाँ बराबरको क्षति भएकाे हाे । माउन्टेन हाइड्रो नेपालद्वारा प्रवर्द्धित पाँचथरकाे २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजनाकाे पावर हाउस डुबानमा परेकाे छ । करिब २५ कराेड रुपैयाँ बराबरकाे क्षति भएकाे छ । याे आयाेजना गत वर्षकाे बाढीबाट पनि प्रभावित भएकाे थियाे । यसैगरी, पाँचथर पावरद्वारा प्रवर्द्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजानामा पनि क्षति पुगेकाे छ । यहाँ कति क्षति भएकाे छ भन्ने कुराकाे यकिन हुन बाँकी नै छ । गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनर्निर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुनः क्षतिग्रस्त भएकाे हाे । साहस ऊर्जाद्वारा प्रवर्द्धित साेलुखुम्बुकाे ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजनाकाे हेडवर्क्समा क्षति भएसँगै उत्पादन बन्द भएकाे छ । क्षतिकाे यकिन हुन बाँकी नै छ । त्यस्तै, सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवर्द्धित इलामकाे ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजनाकाे बाँध र टेलरेसमा क्षति भएकाे छ । याेसँगै उत्पादन बन्द भएकाे छ । करिब ५ करोड रुपैयाँ बराबरकाे क्षति भएकाे जनाइएकाे छ । सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवर्द्धित इलामकाे ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजनाकाे बाँध र प्रसारणलाइनमा क्षति भएकाे छ । करिब ७ करोड रुपैयाँ बराबर क्षति भएकाे हाे । त्यस्तै, पाँचथरकाे १ मेगावाटकाे फेमे खोला जलविद्युत आयोजनाकाे बाँध र विद्युतगृह पूणरूपमा क्षति भएकाे छ । करिब १० करोड रुपैयाँ बराबर क्षति भएकाे इप्पानले जनाएकाे छ । लमजुङकाे ५ मेगावाट क्षमताकाे सिउरीखोला जलविद्युत आयोजनाकाे टेलरेस, इन्टेक र टनेलमा बाढीले क्षति पुर्‍याएकाे छ । करिब २ करोड रुपैयाँ बराबरकाे क्षति भएकाे हाे । लमजुङकाे ४० मेगावाट क्षमताकाे सुपरन्यादी जलविद्युत आयोजनाकाे पहुँचमार्गमा क्षति (प्रोटेक्सन वाल) भएकाे छ । क्षतिकाे यकिन हुन बाँकी नै छ । धादिङकाे २५ मेगावाटकाे इलेप खोला तातोपानी जलविद्युत आयोजनाकाे पहुँचमार्गमा ठूलो क्षति भएकाे छ । क्षतिकाे यकिन हुन बाँकी नै छ । नुवाकाेटकाे २१६ मेगावाटकाे माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाकाे क्याम्प हाउस, पहुँचमार्गमा क्षति र ३ वटा कन्टेनर बगाएको छ । करिब १० करोड रुपैयाँ बराबर क्षति भएकाे जनाइएकाे छ । पाँचथरकाे ५ मेगावाट (प्रस्तावित ९.९ मेगावाट) को हेवाखोला जलविद्युत आयोजनाकाे क्रसर पुरिएको छ । त्यसैगरी, पहुँचमार्गमा क्षति पुग्नुका साथै प्रसारण लाइनको टावर ढलेको इप्पानले जनाएकाे छ । पावर हाउसमा जडान गर्न ल्याइएका सामग्रीहरू पनि बगाएको छ । यहाँ करिब १० करोड रुपैयाँ बराबर क्षति भएकाे छ । पाँचथरकै १५.१ मेगावाटकाे सभाखोला बी जलविद्युत आयोजनाकाे पहुँचमार्ग, पावरहाउस, बाँधमा क्षति र अस्थाई पुल बगाएको छ । यहाँ करिब ७ करोड रुपैयाँ बराबर क्षति भएकाे छ । पाँचथरकै ६.३ मेगावाटकै सभाखोला सी जलविद्युत आयोजनाकाे पहुँचमार्गमा क्षति पुगेकाे छ । करिब ३ करोड रुपैयाँ बराबर क्षति भएकाे छ । कास्कीकाे ८६.५९ मेगावाटकाे लान्द्रुक मोदी जलविद्युत आयोजनाकाे पहुँचमार्गमा क्षति पुगेकाे छ । करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएकाे जनाइएकाे छ । नुवाकाेटकाे १०० मेगावाटकाे सुपर त्रिशूली जलविद्युत आयोजनाका दुई-दुईवटा स्काभेटर र लोडर अनि तीनवटा ट्रिपर बगाएको छ । यहाँ बेलीब्रिज बगाउनुका साथै पावर हाउस स्काभेसन पुरिएको छ । यहाँ करिब २५ करोड रुपैयाँ बराबरको क्षति भएकाे छ । रसुवाकाे २० मेगावाटकाे लाङटाङ खोला जलविद्युत आयोजनामा बाँध, क्याम्प हाउस र पहुँचमार्गमा ठूलो क्षति भएकाे छ । क्षतिको रकम यकिन हुन बाँकी छ । ललितपुरकाे २ मेगावाटकाे खानीखोला जलविद्युत आयोजनाकाे पावर हाउस डुब्नुका साथै प्रसारण लाइनको टावर ढलेको छ । यसैगरी, स्वीचयार्ड, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद भएकाे छ । यहाँ करिब १० करोड रुपैयाँ बराबरको क्षति भएकाे छ । ललितपुरकै ४.३६ मेगावाटकाे टुङ्गुन ठोस्ने जलविद्युत आयोजनाकाे पावर हाउस डुब्नूका साथै प्रसारण लाइनको टावर ढलेको छ । स्वीचयार्ड, ड्याम र हेडरेस टनेलमा क्षति पुगेकाे छ । यहाँ करिब १५ करोड रुपैयाँ बराबरको क्षति भएकाे छ । संखुवासभाकाे १४.९ मेगावाटकाे माया खोला जलविद्युत आयोजनामा बाँध र पहुँचमार्गमा क्षति भएकाे छ । यहाँ करिब २ करोड रुपैयाँ बराबरको क्षति भएकाे हाे ।

बाढीमा व्यापार : ७० प्रतिशत बढ्यो हवाई भाडा, ७ हजार पर्ने टिकटको मूल्य १३ हजार बढी

काठमाडौं । हवाई सञ्चालकहरूले बाढीको समयमा हवाइ टिकट मूल्य बढाएका छन् । बिहीबार साँझदेखि परेको निरन्तरको वर्षाले देशको विभिन्न क्षेत्रमा बाढीपहिरो जाँदा सवारीसाधन आवागमन प्रभावित भएको छ । सोही समयको फाइदा लिँदै हवाई सञ्चालकले हवाई टिकटको मूल्य बढाएका हुन् । दुई दिनअघि मात्रै काठमाडौंदेखि धनगढीको हवाई भाडा ७ हजार ९ सय रुपैयाँ पर्नेमा आज १३ हजार ३ सय रुपैयाँसम्म कायम गरेका छन् । एकदिनमै हवाई सञ्चालकले ६८ प्रतिशतले टिकटको मूल्य बढाएका हुन् । योसँगै काठमाडौंबाट विभिन्न ठाउँमा जाने हवाई टिकट ७० प्रशित बढेको छ । हवाई सञ्चालकले एकतर्फी रूपमा भाडा बढाएपछि अहिले चौतर्फी रूपमा आलोचना भइरहेको छ । बाढीको समयमा ठूलो धनजनको क्षति भइरहेको बेला हवाइ सञ्चालकले हवाइ टिकट बढाएको भन्दै चौतर्फी आलोचना भइरहेको हो । वायुसेवा सञ्चालक संघले भने यात्रुको चाप बढ्दा मूल्य बढ्ने र चाप घट्दा घट्ने प्रावधानअनुसार नै टिकटको मूल्य निर्धारण गरेको बताएको छ । हवाइ भाडाको मूल्य बढाएको भन्दै नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै एयरलाइन्सका प्रतिनिधिहरुलाई छलफलका लागि बोलाइएको बुझिएको छ । बाढीसँगै अब दशैं सुरु हुन पनि केही दिनमात्रै बाँकी छ । हवाइ सेवा सञ्चालकहरूले दशैंमा पनि टिकटको मूल्य बढाउने गरेका छन् । अहिले पनि सवारीसाधनको आवागमन प्रभावित भएसँगै अब दशैंमा घर जानेहरूले महँगो मूल्यमा हवाइ टिकट काटेर जानुपर्ने बाध्यता देखिएको छ । यसले यात्रुलाई थप आर्थिक भार हुने भएको छ । विगतमा पनि दशैंको समयमा काठमाडौंदेखि धनगढीसम्मको टिकट मूल्य १७ हजार पुग्ने गरेको थियो ।