‘जहाजमा बम छ’ भन्ने हल्लाले अर्बौं घाटा, डरैडरले उडान भर्दै कम्पनी
काठमाडौं । गत सातादेखि भारतका लगभग हरेक एयरलाइन्सले प्रत्येक दिन धम्कीपूर्ण कल र मेसेजहरू प्राप्त गरिरहेका छन् । विमानलाई बमले उडाउने कल एयरलाइन्सहरूले पाइरहेका छन् । यसले सम्पूर्ण प्रणालीलाई उथलपुथल पारिरहेकाे छ । यसले गर्दा यात्रुलाई मात्रै होइन एयरलाइन्सले पनि ठूलो घाटा बेहोर्नुपरेको छ । केही दिनअघि मात्रै अमेरिका जाने विमानले ३ करोड घाटा बेहोर्नुपर्याे । यस्ता धम्कीपूर्ण कल र मेसेजले अहिले जनतामा डरको वातावरण सिर्जना गरेको छ । यही ‘थ्रेट गेम’का कारण यो वर्ष हालसम्म ५ सयभन्दा बढी उडान जोखिममा परेका छन् । यसले झण्डै दुई हजार उडान र साढे तीन लाख यात्रु प्रभावित भएका छन् । यसबाहेक वायुसेवा कम्पनीलाई झण्डै १५ अर्ब भारु घाटा भएकाे विभिन्न रिपाेर्टले उल्लेख गरेाका छन् । मंगलबार पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेकाे भारतीय निजी वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा खोजतलास भएकाे थियाे । भिस्तारा एयरवेजको जहाज भारतको नयाँदिल्लीबाट काठमाडौं अवतरण भएकाे थियाे । जहाजमा बम रहेको भन्ने जानकारी दिल्लीबाटै आएसँगै खाेजतलास सुरु गरिएकाे थियाे । १५७ जना यात्रु बोकेर जहाज आज अपरान्ह साढे चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियाे । धम्कीले पूरै तालिका गडबड एयरलाइन्सका अधिकारीहरूका अनुसार कुनै पनि उडानको खतराले उक्त एयरलाइन्सको २४ घण्टा एयर तालिका प्रणालीमा ‘चेन रियाक्सन’ निम्त्याउँछ । किनभने एउटा विमानमा खतरा आए पनि एउटा विमानले २४ घण्टामा कम्तीमा चारदेखि छवटा छोटो दूरीको उडान गर्छ । यस्तो अवस्थामा एउटा उडानलाई खतरामा परेमा त्यस विमानको पछिल्ला सबै उडानहरू ढिलो, रद्द वा पुन: तालिकामा असर गर्छ । १५ अर्ब भारुको घाटा प्रत्येक उडानमा औसत १८० यात्रु हुन्छन् । यस्तो अवस्थामा यो वर्ष अहिलेसम्म करिब ५ सय उडान जोखिममा परेका छन्, जसको अर्थ कम्तीमा दुई हजार उडान र ती उडानमा उडान गर्ने साढे तीन लाखभन्दा बढी यात्रु प्रत्यक्ष प्रभावित भएका छन् । प्रति उडान ३ करोड रुपैयाँको ‘चेन रियाक्सन’ घाटालाई हेर्दा हालसम्म देशका विभिन्न एयरलाइन्सले करिब १५ सय करोड अर्थात १५ अर्ब भारु घाटा बेहोर्नु परेको छ । ३ करोड जरिवाना अक्टोबर १४ मा एयर इन्डियाको विमान मुम्बई एयरपोर्टबाट न्यूयोर्कको जाेन एफ केनेडी (जेएफके) एयरपोर्टको लागि उडेको थियो । जसमा करिब २०० यात्रु र चालक दलका सदस्यहरू थिए । यो विमान करिब १३० टन जेट इन्धनले भरिएको थियो । टेकअफलगत्तै बम रहेको खबर आयो । दुई घण्टापछि विमान दिल्ली एयरपोर्टमा अवतरण गर्नुपर्यो । इन्धन, यात्रु, सामानलगायतका यो विमानको तौल ३४० देखि ३५० टनसम्म रहेकाे जनाइएकाे छ । एयर इन्डियाको यो विमानले अधिकतम २५० टन वजनमात्रै अवतरण गर्न सक्छ । यस्तो अवस्थामा विमानमा रहेको करिब १०० टन इन्धन हावामा उडाइएकाे थियाे । यसपछि विमानलाई दिल्लीमा अवतरण गरियाे । एक सिनियर पाइलटका अनुसार एक टन इन्धनको लागत करिब १ लाख रुपैयाँ पर्छ । उक्त विमानबाट एक सय टन इन्धन उडाइएकाे थियाे । यस्तो अवस्थामा इन्धनका कारण मात्रै एयरलाइन्सले १ करोड रुपैयाँ घाटा बेहोरेको छ । यसबाहेक दिल्लीमा ल्यान्डिङ गरेपछि ल्यान्डिङ चार्ज, २०० भन्दा बढी यात्रु र चालक दलका सदस्यलाई होटलमा बस्ने खर्च आदि पनि समावेश छन् । यस्तो अवस्थामा बमको झुटो समाचारका कारण एयरलाइन्सलाई करिब ३ करोड रुपैयाँ नोक्सान भएको केही वरिष्ठ अधिकारीले बताएका छन् ।
तीन महिनामै ८ बैंकको अर्ब बढी नाफा, नबिलले २ अर्ब कमाउँदा यी ५ बैंकबीच प्रतिस्पर्धा
काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १६ अर्ब २३ करोड रुपैयाँ खुद नाफा गरेका छन् । यो भनेको २१ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकले १३ अर्ब ३४ करोड रुपैयाँ खुद नाफा गरेका थिए । पहिलो त्रैमासमा ८ वटा बैंकले एक अर्ब बढी नाफा गरेका छन् । बैंकहरूको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार सबैभन्दा बढी नाफा नबिल बैंकले गरेको छ । तीन महिनाको अवधिमा नबिल, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, प्राइम कमर्सियल, एनएमबि, एभरेष्ट, कुमारी र प्रभु बैंकले नाफा एक अर्ब बढी कमाएका हुन् । यो अवधिमा नबिलले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ नाफा गरेको छ भने दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबल आइएमई बैंकले १ अर्ब ५१ करोड २१ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४६ करोड ४० लाख, प्राइम कमर्सियलले १ अर्ब २८ करोड ६७ लाख, एनएबि बैंकले १ अर्ब १४ करोड ५६ लाख, कुमारीले १ अर्ब ७ करोड ८१ लाख र प्रभु बैंकले १ अर्ब ४ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको छ । तीन महिनाको अवधिमा नबिलले करिब ४० प्रतिशतले नाफा बढाएको छ भने ग्लोबलले २३.३६ प्रतिशत, प्राइमले ११.७५ प्रतिशत, एनएमबिले १९ प्रतिशत, एभरेष्टले ४४ प्रतिशत, कुमारीले ३०८ प्रतिशत र प्रभुले ०.६२ प्रतिशत नाफा बढाएको छ । यो अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा भने करिब ४ प्रतिशतले घटेको छ । यो अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८६ करोड २२ लाख, नेपाल एसबिआईले ८१ करोड ४६ लाख, हिमालयनले ७२ करोड ६४ लाख, नेपाल बैंकले ६० करोड २१ लाख र लक्ष्मी सनराइज बैंकले ५३ करोड ३२ लाख रुपैयाँ खुद नाफा गरेको छ । यस्तै, यो अवधिमा माछापुच्छ्रे बैंकले ५० करोड ३२ लाख, सानिमाले ३९ करोड ९५ लाख र सिद्धार्थ बैंकले ३८ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ । यस बैंकले गत आवको सोही अवधिको तुलनामा ७९१ प्रतिशत नाफा बढाएको हो । गत आवको सोही अवधिमा यस बैंकको नाफा ४२ लाख रुपैयाँ मात्रै थियो । यस्तै, सिटिजन्स बैंकले २४ करोड ६ लाख, कृषि विकासले १९ करोड ९ लाख, राष्ट्रिय वाणिज्य बैंकले १५ करोड र एनआईसी एशिया बैंकले ११ करोड रुपैयाँ खुद नाफा गरेको छ ।
नेपालमा समावेशी बीमा अपरिहार्य, ‘महँगो हुन्छ भन्ने सोचले बीमा गर्दैनन्’
काठमाडौं । बीमाका सरोकारवालाहरुले नेपालजस्तो विकासोन्मुख देशका लागि समावेशी बीमाको आवश्यकता अझ धेरै रहेको औंल्याएका छन् । नेपालमा न्यून आए र गरिबीको संख्या उल्लेख्यरुपमा रहेको भन्दै त्यस वर्गलाई सुरक्षा प्रदान गर्न नेपालमा समावेशी बीमाको आवश्यकता अझ धेरै रहेको बताएका हुन् । मंगलबारदेखि काठमाडौंमा समावेशी बीमा सम्बन्धमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । सोही सम्मेलनको अवसरमा नेपाल बीमा प्राधिकरण, बीमक संघ र जीवन बीमक संघले पत्रकार सम्मेलन गरेर उक्त सम्मेलनको बारेमा नेपालमा समावेशी बीमाको आवश्कता र यसबारे गर्नुपर्ने विषयहरुको बारेमा जानकारी दिएका छन् । कार्यक्रममा प्राधिकरणको तर्फबाट अध्यक्ष सूर्य प्रसाद सिलवाल, बीमक संघ तर्फबाट अध्यक्ष चंकी क्षेत्री र जीवन बीमक संघको तर्पबाट पोसक राज पौडेल, जर्मनको म्यूनिख रि फाउण्डेशनको तर्फबाट उपध्याक्ष दिर्क रैनहार्ड र माइक्रो इन्स्योरेन्स नेटवर्कका अध्यक्ष लोरेन्जो चनको उपस्थिति रहेको थियो । कार्यक्रममा प्राधिकरणका अध्यक्षले नेपालमा २० प्रतिशतभन्दा धेरै जनसंख्या गरिबीको रेखामुनि रहेकाले उक्त वर्गलाई बीमाको दायरामा ल्याएर उनीहरुको सुरक्षण गर्नुपर्ने धारणा व्यक्त गरे । समावेशी बीमाको अवधारणा नै गरिब, निमुखा, बिपन्न, दुरदराजमा रहेका तथा पिछडिएका वर्गलाई बीमाको दायरामा ल्याएर उनीहरुलाई सूरक्षा दिनु रहेको उल्लेख गर्दै अध्यक्ष सिलवालले नेपालका उक्त २० प्रतिशतलाई बीमाको दायरामा ल्याउनुपर्नेमा जोड दिए । त्यसका लागि स्थानीय सरकार र प्रदेश सरकारको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ । उनले आफुहरु देशका हरेक भूभागमा गएर बीमाको चेतना जगाएको र स्थानीय सरकारहरुलाई पनि यस प्रकारको नीति अवलम्बन गर्न सुझाव दिएको बताए । हालसम्म धेरै स्थानीय सरकारले त्यसअनुसारको काम सुरु गरिसकेको पनि उनले उल्लेख गरे । यसका साथै त्यस्ता वर्गको बीमा गर्दा सरकारले पनि विभिन्न अनुदान र भ्याट छुट लगायतका कार्य गरेर सहयोग गर्नुपर्ने उनको भनाइ छ । उनले यसबारे सरकारसँग पनि छलफल भइरहेको र केही कार्यहरु सम्पन्न पनि भएको धारणा व्यक्त गरे । उनले कृषि बीमाको विषयलाई जोड्दै कृषि बीमा अनुदानको नयाँ कार्यविधिले गरिब जनतालाई सूरक्षा दिने खालको भएको बताए । यस अघि जुनसुकै पनि कृषि तथा पशुपंक्षी बीमा गर्दा सरकारले बीमा शुल्कमा ८० प्रतिशत अनुदान दिने गरेको थियो । त्यस अनुसार १ अर्ब रुपैयाँको बीमा गर्नेले पनि ८० प्रतिशत र १० हजार रुपैयाँ बीमांकको बीमा गर्ने साना किसानलाई पनि ८० प्रतिशत अनुदान दिने व्यवस्था थियो । तर, अहिले १ करोड रुपैयाँ भन्दा धेरैको बीमा गर्नेलाई ५० प्रतिशत, ५० लाख देखि १ करोड रुपैयाँ सम्मको बीमा गर्दा ६५ प्रतिशत र ५० लाख भन्दा थोरैको बीमा गर्दा ८० प्रतिशत अनुदान दिने व्यवस्था लागु भएको छ । यसले गरिब र साना किसानलाई धेरै प्राथमिकता दिएको बताए । उनले नेपालमा भएका समावेशी बीमाको बारेमा विदेशीलाई ‘सेयर’ गर्ने र उनीहरुले गरेका सही अभ्यासका बारेमा हामीले बुझ्न यो सम्मेलनले महत्वपूर्ण भुमिका खेल्ने बताए । उनले ४३ भन्दा धेरै देशबाट ४ सय विज्ञहरुले आफ्नो अनुभवहरुको बारेमा बताउँदा त्यसले नेपालमा भइरहेको व्यवस्थालाई मूल्याङ्कन गर्न सहज हुने धारणा राखे । उनले नेपालमा भएका र गरिएका अनुभवहरु पनि उनीहरुलाई पनि केहि पाठको रुपमा हुने बताए । उनले जलवायु परिवर्तनसँगै हिमतालहरु फुट्ने क्रम जारी रहेको र त्यसले हिमालभन्दा तल बस्ने बस्तीहरुमा असर गर्ने, कृषि चौपाया लगायत ठूलो धनजनको क्षति गर्ने गरेको स्मरण गर्दै उनले त्यस क्षतिबाट आर्थिक रुपमा बच्नका लागि बीमा गर्नुपर्ने धारण व्यक्त गरे । उनले नेपालमा प्राकृतिक प्रकोप आइरहने र त्यसको मारमा गरिब निमुखा वर्गहरु पर्ने भएकाले उनीहरुको धनजनको बीमा गरेर सूरक्षण दिनुपर्ने धारणा व्यक्त गरे । जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलले नेपालको बीमा बजारमा प्रोटेक्सन ग्याप रहेको धारणा राखे । उनले ९० प्रतिशत प्रोटेक्सन ग्याप रहेको दबी गर्न यसको ज्वलन्त उदाहरण गएको बाढीबाट २५० जनाको मृत्यु भएको र आजसम्म १० जनाको पनि दाबी नपरेको बताए । उनले बीमाको आवश्यकता भएका जनतामा कसरी जाने भन्ने विषय यस सम्मेलनले मद्दत पुग्ने दाबी गरे । यसैगरी सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका पौडेलले नेपालको बीमाको विस्तारका लागि चेतना र विश्वासको अभाव खड्किएको बताए । उनले बीमा कम्पनीहरुले विश्वास जगाउनु पर्ने र जनतेचतना जगाउने काम सबैको धाएको धारणा व्यक्त गरे । उनले यो नेपालको मात्र समस्या नभएर विश्वव्यापी समस्या भएको बताए । उनले विश्वबाट नेपालमा भेला भएका बीमाका विज्ञबाट नेपालका बीमाकर्ताले ट्रेनिङ पनि लिने भएकाले यस सम्मेलनले नेपालको बीमा क्षेत्रमा ठूलो भूमिका निर्वाह गर्ने बताए । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले प्रविधिको प्रयोग गरेर समावेशी बीमालाई प्रभावकारी बनाउन सकिने बताए । उनले बीमा क्षेत्रमा विदेशमा विभिन्न प्रविधिको विकास भएको बताउँदै नेपाल धेरै पछाडी रहेको उल्लेख गरे । उनले कुन भूभागमा कति तापक्रम छ, त्यहाँ बाढीले वा अन्य प्राकृतिक विपदले कति क्षति भयो भन्ने कुरा पत्ता लाग्ने प्रविधि विदेशतिर प्रयोग हुने गरेको बताउँदै नेपालमा पनि त्यस किसिमको प्रविधि विकास गरेर दूरदराजको जनतालाई बीमामा समावेश गर्न सकिने बताए । म्यूनिख रि फाउण्डेशनका उपध्याक्ष डिर्क रैनहाडले मानिसहरुले बीमा गर्न महँगो हुन्छ भन्ने सोचले बीमा नगरि बस्ने गरेको बताए । उनीहरुले बीमा नगर्दा कति घाटा हुन्छ भन्ने चाँही सोच्ने नगरेको उनको भनाइ छ । ‘बीमा भनेको जोखिलाई बुझ्नु र न्यूनिकरण गर्नु पनि हो, विपदबाट धन जनको जोखिम रहिरहन्छ, बीमा कम्पनीहरुले बीमितको उक्त चाहनालाई बुझेर सोही अनुसारको प्रडक्ट बनाउनुपर्छ,’ उनले भने । उनले बीमालाई प्रविधिमैत्री बनाएर दूरदराजका जनताको पहुँचमा बीमालाई पुर्याउनु पर्ने बताए । यसले समावेशी बीमाको दायरा बढ्ने उनको भनाइ छ । जोखिम पहिचान, जोखिम न्यूनिकरण र उपयुक्त समाधानको लागि ग्राहकको समस्याको पहिचान गर्नु महत्वपूर्ण विषय रहेको उनको भनाइ छ । माइक्रो इन्स्योरेन्स नेटवर्कका अध्यक्ष लोरेन्जो च्यानले कसैले पनि बीमा गर्छ भनेर मनमा नराख्ने गरेको बताए । जनतालाई बीमाको बारेमा विश्वास जगाउनुपर्नेमा उनले जोड दिए । दाबी भुक्तानी समयमा दिएर जनताको विश्वास जित्न सकिने उनको धारणा छ । यसले गर्दा जनतामा बीमाप्रतिको सकारात्मक भावना जागृत हुने र बीमाको पहुँच वृद्धिमा मद्दत पुग्ने उनको भनाइ छ । उनले बीमामा प्रविधिको उपयोग गर्नुपर्नेमा पनि जोड दिए । मंगलबारदेखि सुरु भएकाे समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आगामी आइतबारसम्म चल्नेछ । म्यूनिख रि र माइक्रो बीमा नेटवर्कसँगको सहकार्यमा जारी यो सम्मेलन २०औँ संस्करण हाे । जहाँ ४४ देशका ३ सयभन्दा धेरै बीमाका विज्ञहरु सहभागी छन् । सम्मेलनमा जलवायु जोखिम बीमा, लघु बीमामा डिजिटल प्रविधि अवलम्बन, समावेशी बीमाको क्षेत्रमा आइपर्ने अवरोध हटाउने सम्बन्धी रणनीतिहरुबारेमा सहभागीबीच छलफल हुनेछ ।