‘कृषि बीमा सफ्टवेयर’को उद्घाटन, अब घरमै बसेर बीमा गर्न सकिने
काठमाडाैं । अबदेखि कृषि बीमा अनलाइनबाट नै गर्न सकिने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले अनलाइनबाटै बीमा गर्ने सफ्टवेयरको सोमबार उद्घाटन गरेको हो । नेपाल बीमा प्राधिकरण र नेपाल बीमक संघको उपस्थितिमा उक्त ‘रियल टाइम सफ्टवेर’को उद्घाटन गरेको हो । सफ्टवेयको उद्घाटन कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले उक्त सफ्टवेयरको उद्घाटन गरेका हुन् । मन्त्रालयकी सहसचिव सवनम शिवाकोटीले ललितपुरको धापाखेल गोविन्द घिमिरेको तीनवटा गाईको बीमा गर्दै उक्त सफ्टवेयरको उद्घाटन गरिएकाे बताइन् । किसान घिमिरेको तीनवटा गाईको एक लाख ७७ हजार रुपैयाँ बराबरको एनएलजी इन्स्योरेन्समा बीमा गरिएको थियो । उक्त बीमाका लागि किसान घिमिरेले ८ हजार ७५० रुपैयाँ बीमाशुल्क भुक्तानी गरेका थिए । हाललाई पशु र बालीको मात्र उक्त सफ्टवेयर प्रणालीमार्फत बीमा गरिने मन्त्रालयले जनाएको छ । अहिले अनलाइनबाट नै बीमा गर्नुपर्ने भन्ने कुनै अनिवार्य भने छैन । अहिले अफलाइनबाट पनि गर्न सकिन्छ । बिस्तारै पूर्ण अनलाइन प्रणालीमा लैजाने मन्त्रालयको योजना रहेको सहसचिव शिवाकोटीले बताइन् । उक्त सफ्टवेयरमार्फत बीमा गर्दा किसान आफैले यूजर आइडी बनाएर अनलाइनबाटै गर्नसक्ने नेपाल बीमा प्राधिकरणका आइटी प्रमुख रविन्द्र श्रेष्ठले बताए । उनका अनुसार अभिकर्ता, बीमक, बीमित तथा किसान सबैले यूजर आइडी बनाएर काम गर्न सक्नेछन् । सफ्टवेयरमा हाल नेपालमा सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरू आवद्ध छन् । यस सफ्टवेरले कृषि बीमालाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउने सहसचिव सिवाकोटीले विश्वास व्यक्त गरिन् । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि कृषि बीमालाई मर्यादित बनाउन रियल टाइम सफ्टवेरमार्फत बीमा गर्ने विषय उल्लेख भएको थियो । सोहीबमोजिम सफ्टवेयरको उद्घाटन गरिएको हो ।
सरकार परिवर्तनको हल्ला सेयर बजारमा, ‘छिट्टै उच्च बिन्दुमा पुग्छ’
काठमाडाैं । दशैंपछि लगातार बढेको सेयर बजार पछिल्लो दुई दिनदेखि फेरि घट्न थालेको छ । पछिल्लो दुई दिनमा सेयर बजार परिसूचक नेप्से १०५.४३ अंकले घटेको छ । हिजो आइतबार ४७.४४ अंकले घटेको बजार सोमबार ५७.९९ अंकले घटेर नेप्से परिसूचक २ हजार ६ सय ३९.९२ बिन्दुमा रोकिएको छ । आज १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ९० करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस दिन २२१ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा २३ वटा कम्पनीको मूल्य वृद्धि भएको छ । आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले वृद्धि हुँदा कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.८२ अंकले वृद्धि भएको छ । न्यादी ग्रुप पावरको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । यस कम्पनीको सेयर मूल्य ९.२० प्रतिशतले घटेको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । हिमालय रिको २२ करोड ३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । किन घट्यो ? सेयर बजारका जानकारहरूले राजनैतिक हलचलका कारणले सेयर बजार घटेको बताउँछन् । सेयर लगानीकर्ता राधा पोखरेलले पछिल्लो समय सरकार ढल्छ भन्ने समाचारहरू आएकाले त्यसको असर सेयर बजारमा देखिएको बताउँछिन् । उनले भनिन्, ‘रवि लामिछाने पक्राउ परेपछि सरकार ढल्छ भन्ने हल्लाहरू आएका छन् । यस्ता हल्ला रवि पक्रिनुपूर्व पनि आएका थिए । यिनै कुराले सेयर बजार घटेको हुनसक्छ ।’ इन्भेष्टर्स फोरम नेपालका अध्यक्ष छोटेलाल रौनियार पनि सरकार परिवर्तन हुने कुराले बजार घटेको बताउँछन् । उनले भने, ‘दुई तिहाइको सरकार ढल्ने समाचारहरू आएका छन् । यसले लगानीकर्ताको मनोबल खस्किएको हुनसक्छ । त्यसले गर्दा सेयर बजार घटेको हो ।’ तर, उनले अहिले सरकार परिवर्तन भएपनि बजारलाई असर नगर्ने बताए । उनका अनुसार अहिले बैंकको ब्याजदर न्यून रहेको छ । बैंकले तरलता पनि प्रशस्तै छ । चाहिए जति ऋण बैंकले दिने अवस्थामा रहेको उल्लेख गर्दै उनले भने, ‘यो बेला भनेको सेयर बजार उकालो लग्ने बेला हो ।’ रौनियारले यथार्थलाई नबुझेर विभिन्न हल्लाको पछि नलाग्न पनि लगानीकर्तालाई अनुरोध गरेका छन् । उनले एक-दुई दिन बजार ओरालो लागे पनि खासै चिन्ता लिनु पर्न अवस्था नहरेको बताए । उनका अनुसार केही दिनमै बजारले आफ्नो लय पक्रिने छ । उनले बजार उकालो लागेर बजारले नयाँ रेकर्ड राख्ने दाबीसमेत गरे । उनले भने, ‘बजारले एक-दुई दिनमै उकालो यात्रा तय गर्छ । पहिलाको उच्चतम बिन्दुको रेकर्ड पार गरेर अघि बढ्छ ।’
बैंकमा ऋणी खोसाखोस, विकास बैंकमा ६२१ जनाको खाता डिएक्टिभ
काठमाडौं । दुई महिनाको अवधिमा १६ हजार ऋणी थपिएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा १५ हजार ९२९ ऋणी थपिएका हुन् । यससँगै बैंक तथा वित्तीय संस्थाहरूमा ऋणीहरूको संख्या १९ लाखभन्दा बढी पुगेको छ । पछिल्लो समय बैंकिङ प्रणालीमा पर्याप्त तरलतासँगै बैंकहरू नयाँ ऋणीको खोजीमा छन् । निक्षेपकर्तासँगै बैंकहरूले कर्जाका ऋणीको संरक्षणमा पनि अथक मिहिनेत गर्छन् । जसकारण यो अवधिमा १६ हजार नयाँ ऋणी थपिन पुगेका हुन् । ऋणीको संख्या बढ्नुलाई आर्थिक गतिविधि बढ्नु र अर्थतन्त्र चलायमान हुने विश्वास गरिन्छ । ऋण लिएर उद्यम गर्नुलाई सकारात्मक पक्षका रूपमा लिइन्छ । यस अवधिमा वाणिज्य बैंकहरूमा १६ हजार १६१ नयाँ ऋणी थपिएका छन् । नयाँ ऋणी थपिएसँगै वाणिज्य बैंकमा कर्जातर्फ ग्राहकहरूको संख्या १५ लाख ८३ हजार ६६९ ऋणी पुगेकाे छ । जबकि गत असारसम्म वाणिज्य बैंकमा १५ लाख ६७ हजार ५०८ ऋणी थिए । यस्तै, फाइनान्स कम्पनीहरूले पनि दुई महिनाको अवधिमा ३८९ नयाँ ऋणी थपेका छन् । भदौसम्म फाइनान्स कम्पनीमा ४३ हजार ५२४ ऋणका ग्राहक रहेका छन् । दुई महिनाअघि अर्थात् गत असारमा ४३ हजार १३५ ऋणी थिए । वाणिज्य बैंक र फाइनान्स कम्पनीहरूले ऋणीको संख्या थप्दा विकास बैंकमा भने ऋणीहरू घटेका छन् । विकास बैंकहरूले दुई महिनामा ६२१ ऋणी गुमाउनु परेको छ । अर्थात् असारको तुलनामा भदौमा विकास बैंकका ६२१ ऋणी बाहिरिएर २ लाख हजार ६ ऋणीमात्रै छन् । जबकि गत असारसम्म २ लाख ८२ हजार ६२७ ऋणी थिए । बैंकरहरूका लागि निक्षेपकर्ता खोज्न जति सहज हुन्छ, त्यति नै असहज कर्जाका ऋणी खोज्न हुने गरेको बताउँछन् । कर्जा लिने व्यक्ति तथा संस्था खोज्न बैंकरहरूले धेरै संघर्ष गर्नुपर्ने हुन्छ । लुम्बिनी विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) उमेश रेग्मी यस अवधिमा कर्जा असुली राम्रो भएकाले ऋणीको संख्या घट्न पुगेको बताउँछन् । साथै वाणिज्य बैंकहरूले समेत विकास बैंकका ऋणीलाई तानेका कारण संख्या कम देखिएको उनको भनाइ छ । ‘विकास बैंकका ऋणीहरूको संख्या घटेकाले कर्जा प्रवाह पनि घटेको छ, नयाँ कर्जाको माग छैन, कोही ऋणीले कर्जा चुक्ता गरेर बसेका छन्, कोही ऋणी बाहिरिएका छन्, कोही ऋणीलाई वाणिज्य बैंकहरूले तानेका छन्,’ उनले भने, ‘माहोल बनेन, व्यवसाय सुधार भएन भन्नुहुन्छ, उहाँहरू जग्गा जमीन बेच्दै कर्जा चुक्ता गरेर बस्नु भएको छ, समग्रमा कर्जाको माग छैन, पर्ख र हेरको अवस्थामा छन् ।’ साथै विकास बैंकका ऋणीहरू ठूला हुने भएकाले वाणिज्य बैंकमा पनि पहुँच राख्ने भएकाले बाहिरिएको उनले बताए । साथै वाणिज्य बैंकमा ब्याजदर सस्तो भएकाले पनि विकास बैंकका ऋणी निस्किएको हुन सक्ने डीसीईओ रेग्मीको भनाइ छ । ‘विकास बैंकका ऋणीहरू वाणिज्य बैंकमा जाने ल्याकत राख्छन्, पहुँच पुर्याउँछन् किनभने उहाँहरूको कर्जाको आकार पनि ठूलो नै हुन्छ, त्यसैले विकास बैंकका ऋणीहरू वाणिज्य बैंकतिर गएका हुन सक्छन्,’ उनले भने, ‘साना ऋणीहरू सम्पत्ति बेचेर कर्जा चुक्ता गरेर बस्नु भएको छ, जसले खराब कर्जा पनि उठेको छ, एनपीएमा परेका केही कर्जालाई बैंक आफैले सेटल गराएका छन् ।’ राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत विनयरमण पौडेल वाणिज्य बैंकमा ऋणीको संख्या बढेको भएपनि कर्जाको आकार भने नढबेको बताउँछन् । पछिल्लो समय वाणिज्य बैंकहरू आक्रामक रूपमा कर्जा विस्तारमा लागेको भएपनि त्यसको नतिजा आउन नसकेको उनकाे भनाइ छ । ‘कर्जा खासै वृद्धि भएको छैन, किनभने कर्जाको आकार त्यति धेरै बढेको देखिँदैन, बजारमा माग छैन,’ उनले भने, ‘सुन कर्जामा स-साना रकमका ऋणी हुन्छन्, त्यसैले ऋणीको संख्या बढेको छ भने सुन कर्जा बढी गएको हुन सक्छ ।’ विकास बैंकबाट ऋणी तानेको आरोप लगाएपनि ग्राहकले सहुलियत हेर्ने वाणिज्य बैंकका कार्यरत अधिकारीहरू बताउँछन् ।