कर्जाको ब्याज साढे २६ प्रतिशत घट्यो, यस्तो छ २० बैंकको आधार दर
काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा कर्जाको ब्याज साढे २६ प्रतिशतले घटेको देखिन्छ । सार्वजनिक तथ्याङ्कअनुसार एक वर्षको अवधिमा बैंकहरूको आधार दर औसत २६.४० प्रतिशत अर्थात् २.६४ प्रतिशत बिन्दु घटेसँगै कर्जाको ब्याजदर पनि सोही अनुसार घटेको हो । चालु आर्थिक वर्ष २०८१/८२ को असोजमा बैंकहरूको आधार दर औसत ७.३६ प्रतिशत बिन्दुमा झरेको देखिन्छ । जबकि गत वर्षको सोही अवधिमा बैंकहरूको आधार दर औसत १० प्रतिशत बिन्दुमा थियो । निक्षेपतर्फको ब्याजदर निरन्तर घटेपछि बैंकहरूको आधार दर घट्न पुगेको हो । बैंकको आधारदर घट्दा कर्जाको ब्याजदर पनि स्वतः घट्न पुग्छ । त्यसैले एक वर्षको अवधिमा बैंकहरूको कर्जाको ब्याजदर पनि औसत साढे २६ प्रतिशत घटेको देखिन्छ । बैंकहरूको आधारदर घट्दा ऋणीका लागि सहज हुन्छ । आधारदर जति नै कम भयो, बैंकको ब्याजदर पनि त्यति नै कम हुने गर्दछ । समीक्षा अवधिमा सबैभन्दा कम आधार दर स्ट्यान्डर्ड चार्टर्ड बैंकको रहेको छ । जसकारण यस बैंकको कर्जाको ब्याजदर पनि स्वतः कम हुन जान्छ । असोजसम्म स्ट्याण्डर्ड चार्टर्डको आधार दर ३२.१८ प्रतिशत घटेर ५.७१ प्रतिशत बिन्दुमा कायम राखेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको आधारदर ८.४२ प्रतिशत बिन्दुमा थियो । यस्तै, यस अवधिमा कृषि विकास बैंकको आधार दर ३१.८८ प्रतिशत घटेर ७.०७ प्रतिशत बिन्दुमा झरेको छ भने कुमारी बैंकको ३१.४३ प्रतिशत घटेर ७.४८ प्रतिशत बिन्दुमा कायम राखेको छ । गत वर्षको सोही अवधिमा कृषि विकासको १०.३८ प्रतिशत बिन्दु र कुमारीको १०.९१ प्रतिशत बिन्दुमा आधार दर थियो । गत वर्ष ९.७ प्रतिशत बिन्दु आधार दर रहेको एभरेष्ट बैंकको २९.८९ प्रतिशत घटेर ६.८ प्रतिशत बिन्दुमा झरेको छ । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको २९.३१ प्रतिशत घटेर ६.१५ प्रतिशत बिन्दुमा आधार कायम राखेको छ । लक्ष्मी सनराइज बैंकको २७.८७ प्रतिशत घटेर ७.७९ प्रतिशत बिन्दु, ग्लोबल आइएमई बैंकको २७.६० प्रतिशत घटेर ७.२९ प्रतिशत बिन्दु, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २७.१२ प्रतिशत घटेर ७.२८ प्रतिशत बिन्दु, नेपाल बैंकको २६.८७ प्रतिशत घटेर ६.७२ प्रतिशत बिन्दुमा झरेको छ । यस्तै, नबिल बैंकको २६.७२ प्रतिशत घटेर ७.०२ प्रतिशत बिन्दु, सानिमा बैंकको २५.७४ प्रतिशत घटेर ७.२४ प्रतिशत बिन्दु, प्राइम बैंकको २५.५६ प्रतिशत घटेर ७.९२ प्रतिशत बिन्दु, सिटिजन्स बैंकको २५.२८ प्रतिशत घटेर ७.९२ प्रतिशत बिन्दुमा आधार दर कायम राखेका छन् । प्रभु बैंकको २४.७७ प्रतिशत घटेर ७.६५ प्रतिशत बिन्दु, नेपाल एसबीआई बैंकको २४.६८ प्रतिशत घटेर ७.७२ प्रतिशत बिन्दु, माछापुच्छ्रे बैंकको २३.९७ प्रतिशत घटेर ७.६१ प्रतिशत बिन्दु, एनएमबी बैंकको २३.९५ प्रतिशत घटेर ७.४९ प्रतिशत बिन्दुमा आधार दर छ । यस्तै, हिमालयन बैंकको २३.११ प्रतिशत घटेर ८.३५ प्रतिशत बिन्दु, एनआईसी एशिया बैंकको २०.७३ प्रतिशत घटेर ८.३७ प्रतिशत बिन्दु र सिद्धार्थ बैंकको २०.४६ प्रतिशत घटेर ७.५८ प्रतिशत बिन्दुमा आधार दर छ ।
व्यावसायिक क्षमताको १५ प्रतिशतमा सीमित स्काई टावर, घाटामा गएपछि ६० करोड ऋणका लागि रेटिङ
काठमाडौं । काठमाडौंको व्यस्त ठाउँ कमलादीमा स्काई टावर सञ्चालनमा आएको एक वर्ष बढी समय भइसकेको छ । पृथक किसिमको पर्यटकीय रोमाञ्चकता प्रदान गर्दै आएको स्काई टावरको सञ्चालन वन्डर्स नेपालले गर्दै आएको छ । अग्लो ठाउँबाट काठमाडौं उपत्यकाको दृश्य नियाल्न मिल्ने स्काई टावरमा आम सर्वसाधारणको आकर्षण कस्तो छ ? दैनिक कति जनाले यो टावरमा चढ्छन् ? १३ रोपनी जग्गा फैलिएको स्काई टावरको कमाइ कस्तो छ ? नेपालमा पृथक किसिमको पर्यटकीय अनुभव दिइरहेको वन्डर्स नेपाल स्काई टावरको आम्दानीप्रति सन्तुष्ट छ वा छैन ? यसमा धेरैको चासो रहेको छ । हालै सार्वजनिक भएका तथ्यांकका आधारमा यो कम्पनीले व्यवसायिक क्षमताको १५ प्रतिशत मात्र सेवा बिक्री गरेको छ । एसियाकै पहिलो स्काई वाक टावर भनेर दाबी गरिएको टावरले वार्षिक ७ लाख २० हजार भिजिरलाई टावरमा चटाउने क्षमता राख्छ । मासिक ६० हजार र दैनिक २ हजार भिजिटरलाई चढाउने क्षमता राख्छ । तर कम्पनीले सन् २०२४ मा १ लाख १० हजार भन्दा कम मानिसलाई स्काइ वाक टावर चढाएको छ । यो कम्पनीको कुल सामथ्र्यको करिव १५ प्रतिशत मात्र हो । सार्वजनिक भएको एक तथ्याङ्क अनुसार कम्पनीले २०२४ मा १२ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले प्रतिव्यक्ति १ हजार रुपैयाँ टिकट बेच्दै आएको छ । टिकट बाहेक कफिसप, सैलुन, रेष्टुरेन्ट चलाएर भाडा आम्दानी पनि गरेको छ । सीमित सञ्चालन खर्चका कारण ह्रासकट्टी,ब्याज र करअघिको नाफा ९ करोड ७० लाख रूपैयाँ कमाएको देखिएको छ । तर कम्पनीको उच्च ह्रासकट्टी र ब्याज खर्चका कारण गत आवमा वन्डर्स नेपालले ४ लाख ७० हजार रूपैयाँ घाटा बेहोरेको रेटिङ एजेन्सी केयर नेपालले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । गत वर्ष कम्पनीले ब्याज खर्च मात्रै ६ करोड ६० लाख रूपैयाँ तिरेको विज्ञप्तिमा उल्लेख छ । यस कम्पनीले ६० करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको हो । कम्पनीले डबल बी माइनसको रेटिङ पाएको छ । कम्पनीले बैंक तथा वित्तीय संस्थामा देखिएको ब्याजदरको उतारचढावले आम्दानीमा प्रभाव पारिरहेको उल्लेख गरेको छ । पछिल्लो समय ब्याजदर घट्दा केही सहज भएको पनि विज्ञप्तिमा उल्लेख छ । पाँचजना सदस्यीय रहको वन्डर्स नोपलको सञ्चालक समितिको नेतृत्व पविन्द्र न्यौपानेले गरिरहेका छन् भने प्रबन्ध सञ्चालकको रूपमा पदमप्रसाद न्यौपानले काम गरिरहेका छन् । टावरमा लिफ्ट अथवा हिँडेर पनि चढेर सिधै माथि पुगिन्छ । टपको सिसामा हिँड्दा ७८ मिटर तलको बगैंचा, पार्किङ, बजार देखिन्छ । वण्डर्स नेपालले धरानको भेडेटार र इलामको कन्याममा पनि टावर निर्माण गरिरहेको छ । वोन्डर्स नेपालले छिट्टै आईपीओ जारी गर्ने निणर्य पनि गरिसकेको छ । त्यसका लागि प्रक्रिया अगाडि बढिरहेको बुझिएको छ ।
३ महिनामा जीवन बीमाको व्यापार ४१ अर्ब बढी, कुन कम्पनीको कति ?
काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूले ४१ अर्ब रुपैयाँ बढीको व्यापार गरेका छन् । चालु आवको ३ महिनामा जीवन बीमकले ४१ अर्ब ३० करोड १४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । यसरी बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ अग्रस्थानमा रहेको छ । नेपाल लाइफले ११ अर्ब ९९ करोड १४ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा नेशनल लाइफ र लाइफ इन्स्योरेन्स कम्पनीले क्रमशः ४ अर्ब ९० कराड ५० लाख र ४ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यसैगरी, हिमालयन लाइफले ४ अर्ब ३१ करोड १२ लाख, सूर्यज्योति लाइफले २ अर्ब ४९ करोड ९३ लाख, एशियन लाइफले २ अर्ब ३ करोड ६८ लाख, सिटिजन लाइफले १ अर्ब ७४ करोड ७४ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब ५७ करोड २२ लाख, मेटलाइफले १ अर्ब ४४ करोड २१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै, लघु जीवन बीमकहरू गार्डियन माईक्रो लाइफ, क्रोष्ट माइक्रो लाइफ र लिबर्टी माईक्रो लाइफले क्रमशः ८ करोड ७१ लाख, ७ करोड ९७ लाख र ५ करोड ४४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।