बेजोसकी पूर्वपत्नीको दानप्रति मस्कको प्रश्न, विवादास्पद विचारधारालाई बढावा दिएको आरोप

काठमाडौं । अर्बपति एलन मस्कले म्याकेन्जी स्कटको परोपकारी काममाथि प्रश्न उठाएका छन् । म्याकेन्जी अमेजनका संस्थापक जेफ बेजोसकी पूर्वपत्नी हुन् । मस्कले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो धारणा राखेका हुन् । यो पोष्टले स्कटको दानको बारेमा प्रश्न उठाएको छ । स्कटले महत्त्वपूर्ण विश्वव्यापी मुद्दाहरूमा ध्यान नदिइरहेको दाबी मस्कको छ । मस्कका अनुसार स्कटको दानले विवादास्पद विचारधाराहरूलाई बढावा दिइरहेको छ । पोष्टले स्कटको ‘विश्वासमा आधारित परोपकार’ को बारेमा पनि प्रश्न उठायो । यसअन्तर्गत उनले २ हजार ५०० भन्दा बढी गैरसरकारी संस्थाहरूलाई बिना शर्त चन्दा दिन्छिन् । मस्कले स्कटले जातीय समानता, आप्रवासी अधिकार र एलजीबीटीक्यूजस्ता मुद्दाहरूमा बढी ध्यान केन्द्रित गर्छिन् । यसले ‘एनजीओ/गैर नाफा कम्प्लेक्स’ लाई फाइदा गर्छ । महँगो डिग्री भएकाले यहाँ जागिर पाउँछन् । स्कटले पाँच वर्षमा १६ बिलियन डलर दान गरेको जनाइएको छ । अमेजनको सेयर बढेपछि उनको सम्पत्ति ३६ अर्ब डलर पुगेको छ । महान परोपकारीको रूपमा उभिँदै स्कट जेफ बेजोसकी पूर्वपत्नी म्याकेन्जी स्कट हालैका वर्षहरूमा एक प्रमुख परोपकारीको रूपमा देखा परेकी छन् । उनले सन् २०१९ देखि १९ अर्ब डलरभन्दा बढी दान गरिसकेका छन् । उनले बिना कुनै सर्त संस्थाहरूलाई ठूलो रकम दिँदै आएकी छन् । यसबाट संस्थाहरूले आवश्यकताअनुसार पैसा खर्च गर्न सक्छन् । दान दिने तरिकामा परिवर्तन यस वर्ष स्कटले आफ्नो दान गर्ने तरिका पनि परिवर्तन गरेकी छन् । पहिलो पटक तिनीहरूले खुला आवेदन प्रक्रिया सुरु गरे । ६ हजारभन्दा बढी गैरसरकारी संस्थाहरूले आवेदन दिएका थिए । स्कटले ३६० भन्दा बढी संस्थाहरूलाई ६४० मिलियन डलर दिने वाचा गरिन् । यो उनको प्रारम्भिक वाचाभन्दा धेरै हो । दान संस्थाहरूले स्कटको बिना शर्त चन्दाको प्रशंसा गरेका छन् । यसले आफ्नो संस्थालाई मात्र नभई सिंगो क्षेत्रलाई फाइदा पुग्ने उनीहरूको भनाइ छ । एलन मस्कले स्कटको दानलाई ‘चिन्तित’ भन्दै प्रश्न गरेका छन् । उनी विश्वास गर्छन् कि स्कटले उनको पैसा गलत ठाउँमा लगानी गरिरहेकी छन् । समाजमा विभाजन निम्त्याउन सक्ने यस्ता विषयहरूमा उनी केन्द्रित छिन् । मस्क भन्छन् कि स्कटले संसारको वास्तविक समस्याहरूमा ध्यान केन्द्रित गर्नुपर्छ । जस्तै गरिबी, भोक र रोग । स्कट र मस्क बीचको यो भिन्नताले दान गर्ने तरिकामा बहस सुरु गर्न सक्छ । स्कट विश्वास गर्दछन् कि संगठनहरूले बिना शर्त पैसा दिनुपर्छ । ताकि तिनीहरूले आफ्नो आवश्यकताअनुसार प्रयोग गर्न सकून् । दान खेर जान नदिने गरी दानको सही सदुपयोग र अनुगमन गर्नुपर्ने मस्कको धारणा छ । (एजेन्सीहरूको सहयोगमा)

होटलमा नयाँ संरचना थपिँदा बैंकहरूको लगानी २‍ खर्ब ८ अर्ब

काठमाडौं । पछिल्लो समय होटल तथा पर्यटन क्षेत्र तंग्रिँदैछ । विभिन्न समस्याबाट थला परेको होटल तथा पर्यटन क्षेत्र पछिल्लो समय अवस्था सामान्य बनेपछि यस क्षेत्रमा गतिविधि बढ्न थालेको देखिन्छ । जसको पुष्टि बैंकहरूले पर्यटन क्षेत्रमा बढाएको ऋण लगानीले पनि गर्छ । देशभर ठूला होटल खुल्नेक्रम जारी छ । जसकारण पनि बैंकहरूको लगानी यस क्षेत्रमा बढेको जानकारहरू बताउँछन् । पछिल्लो तथ्याङ्कअनुसार बैंकहरूले होटल तथा पर्यटन क्षेत्रमा २ खर्ब बढी लगानी गरेका छन् । पर्यटन क्षेत्रसँग सम्बन्धित होटल, माउन्टेनिङ, ट्रेकिङ, रिसोर्ट र्‍याफ्टिङ र क्याम्पिङ लगायतमा बैंकहरूले कर्जा लगानी गरेका हुन् । राष्ट्र बैंकको तथ्याङ्कअनुसार कात्तिकसम्म बैंकहरूले २ खर्ब ७ अर्ब ७३ करोड रुपैयाँ कर्जा पर्यटन क्षेत्रमा लगानी गरेका छन् । गत वर्षको कात्तिकमा बैंकहरूले १ खर्ब ९० अर्ब ६७ करोड रुपैयाँ होटल तथा पर्यटनमा लगानी गरेका थिए । गत वर्षको तुलनामा बैंकहरूले चालु आवको ५ महिनामा ८.९४ प्रतिशत अर्थात् १७ अर्ब ६ करोड १७ लाख रुपैयाँ होटल तथा पर्यटनमा कर्जा बढाएका हुन्। यस अवधिमा कृषि विकास बैंकले होटल तथा पर्यटन क्षेत्रमा आक्रामक रूपमा कर्जा वृद्धि गरेको छ । गत कात्तिकसम्म बैंकले ३१.१३ प्रतिशत अर्थात् १ अर्ब ४६ करोड ५८ लाख रुपैयाँ बढाएर ६ अर्ब १७ करोड ३३ लाख रुपैयाँ पर्यटन क्षेत्रमा लगानी गरेको छ । जबकि गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ७० करोड ७५ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । प्रभु बैंकको २५.८० प्रतिशत २१ अर्ब ८६ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको २४.५९ प्रतिशत १६ अर्ब १९ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको १७.०७ प्रतिशत १८ अर्ब २९ करोड रुपैयाँ, एनएमबि बैंकको १४.९० प्रतिशत ८ अर्ब ४० करोड रुपैयाँ, एभरेष्ट बैंकको १४.८६ प्रतिशत ४ अर्ब २२ करोड रुपैयाँ होटल तथा पर्यटन क्षेत्रमा लगानी गरेका छन् । सानिमा बैंकको १३.१९ प्रतिशत ५ अर्ब ९३ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १२.८५ प्रतिशत १० अर्ब ९४ करोड रुपैयाँ, प्राइम बैंकको १२.६१ प्रतिशत १७ अर्ब ७२ करोड रुपैयाँ, नेपाल बैंकको १२.२० प्रतिशत ९ खर्ब ११ करोड रुपैयाँ, सिद्धार्थ बैंकको ७.४६ प्रतिशत ७ अर्ब ८६ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । नेपाल एसबीआई बैंकको ४.५९ प्रतिशत ६ अर्ब ९६ करोड रुपैयाँ, नबिल बैंकको ३.४८ प्रतिशत १० अर्ब ९३ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको १.९२ प्रतिशत ४ अर्ब ७८ करोड रुपैयाँ, हिमालयन बैंकको १.४९ प्रतिशत ११ अर्ब ५२ करोड रुपैयाँ कर्जा पर्यटनमा लगानी गरेका छन् । तर, समीक्षा अवधिमा एनआईसी एशिया बैंक, कुमारी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने पर्यटन क्षेत्रमा जाने कर्जा घटाएका छन् । एनआईसी एशियाको १४.१४ प्रतिशत ५ अर्ब ७९ करोड रुपैयाँ, कुमारीको १०.६६ प्रतिशत घटेर १२ अर्ब ९५ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्डको ४.१२ प्रतिशत घटेर १ अर्ब २५ करोड रुपैयाँ, सिटिजन्सको २.३८ प्रतिशत घटेर २ अर्ब ७९ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगाको ०.६८ प्रतिशत घटेर २३ अर्ब ९७ करोड रुपैयाँ होटल तथा पर्यटन क्षेत्रमा कर्जा लगानी गरेका छन् । कृषि विकास बैंकका नायब महाप्रबन्धक (डीजीएम) डा.बाबुकाजी थापा लगानीका क्षेत्र संकुचित भइरहेका बेला होटल तथा पर्यटन क्षेत्रमा आशा जगाएको हुँदा बैंकहरू लगानी गरिरहेको बताउँछन् । पछिल्लो समय नयाँ होटल तथा पर्यटकीय संरचना निर्माण भएकाले बैंकको लगानी बढेको उनको भनाइ छ । ‘लगानीका क्षेत्र संकुचित हुँदै गए । अब केमा माग्न आउँछन्, अनि केमा छ त्यसैमा कर्जा दिने हो । होटल व्यवसाय, पर्यटकको आगामनले राम्रो भएको देखिन्छ । त्यसैले हाम्रो बैंकले पनि होटल पर्यटनमा आक्रामक भएर लगानी गरेकै हो,’ उनले भने, ‘हालै एउटा पाँचतारे होटलमा एक अर्ब रुपैयाँ कर्जा दियौं । हिल्टन होटलदेखि पोखराका राम्रा राम्रा होटलमा कर्जा दिइरहेका छौं ।’ डीजीएम थापाका अनुसार सुरक्षित पनि भएकाले होटल तथा पर्यटन क्षेत्र लगानी बढाएको हो । लगानीको मुख्य क्षेत्र पर्यटन, जलविद्युत, कृषि, जडिबुटी नै हुन् । कच्चा पदार्थ, जनशक्ति, मेसिनरी सबै आयात गरेर उद्योग सञ्चालन गर्नुभन्दा यी क्षेत्रमा लगानी गर्दा देशका लागि पनि फाइदा हुने उनले बताए । ‘हामीले नयाँ होटलमा लगानी गरेका हौं, कुनै होटल सञ्चालनमा आइसके भने कुनै नयाँ वर्षमा सञ्चालनमा आउँदैछन्, कुनै होटल निर्माण भइरहेका छन्, पुराना होटलमा नियमित लगानी भइरहन्छ,’ उनले भने । राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत (डीईओ) पवन रेग्मी पर्यटनसँग सम्बन्धित गतिविधि बढेका कारण बैंकहरूको कर्जा बढेको बताउँछन् । होटल व्यवसायमा नयाँ संरचना थपिएकाले पनि कर्जा बढेको हुन सक्ने उनको भनाइ छ । ‘एयरलाइन्स, होटल, ट्रेकिङ व्यवसाय, ट्राभल्स एजेन्सी पनि पर्यटन क्षेत्रभित्र पर्छन्, कोरोना समयमा पर्यटन व्यवसाय ठप्प थियो । त्यसपछिका वर्षमा विस्तारै पिकअप लिन थाल्यो, पछिल्लो समय पर्यटकहरूको संख्यामा पनि वृद्धि भएपछि लगानी गर्न व्यवसायीहरू पनि उत्साहित छन्, बैंकहरू पनि लगानी गर्न तयार भए,’ उनले भने, ‘विशेषगरी होटल व्यवसायमा नयाँ संरचनाहरू थपिएका छन् । केही थपिने क्रममा छन् ।’ डीईओ रेग्मीका अनुसार पछिल्लो समय बैंकहरूसँग पर्याप्त तरलता रहेकाले कर्जा लगानी बढाइरहेका छन् । ब्याजदर पनि कम रहेकाले व्यवसायीहरूको मनोबल अझै बढाउनुपर्ने उनको भनाइ छ । ‘पर्याप्त तरलता भएको समयमा पनि कर्जा लगानी गर्न सकेनन् भने माग पनि कम छ भनेर सन्देश जान्छ, कर्जाको ब्याजदर पनि घटेको छ,’ उनले भने, ‘अझै व्यवसायीहरूको मनोबल बढाउनुपर्ने छ, कोरोना अगाडि मनोबल टुटेको छ । अहिले पनि धेरै उद्योगहरू ५० प्रतिशतको हाराहारीमा चलेका छन् । अब विस्तारै बढ्दै जान्छ ।’

कर्णाली डेभलपमेन्ट बैंकले देखाएको संकेत : कति मजबुत छ वित्तीय प्रणाली ?

काठमाडौं । राष्ट्र बैंकले समस्याउन्मुख घोषणा गरेको एक महिनामै कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा भयो । पुँजी कोष अनुपात नपुगेपछि निक्षेप संकलन तथा कर्जा लगानी गर्न रोक लगाएको राष्ट्र बैंकले बुधबार भने सञ्चालक समिति र व्यवस्थापन समूहलाई नियन्त्रणमा लिएर बैंक आफ्नो कब्जामा लियाे । गत मंसिर ११ गते शीघ्र सुधारात्मक कारवाहीमा पर्दा ६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले वित्तीय सुधार ल्याउने शर्तमा थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाइएको थियो । तर, यस अवधिमा बैंक सुधारको कुनै संकेत नदेखिएको र झन् समस्या निम्तिने देखेपछि राष्ट्र बैंकले आफ्नो नियन्त्रणमा लिएको हो । राष्ट्र बैंकले साउन ६ गतेदेखि साउन ११ गतेसम्म स्थलगत निरीक्षण गर्दा कर्जा नोक्सानी व्यवस्थामा सुपरीवेक्षकीय समायोजन तोकेबमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नहुने, निष्कृय कर्जा (एनपीएल) अनुपात ४०.८५ प्रतिशत कायम रहेको जनाएको छ । अर्को व्यवस्था नभएसम्मका बैंकको व्यवस्थापन समूहको संयोजकमा बैंक तथा वित्तीय संस्था नियमन विभागका उप-निर्देशक टीकाराम खतिवडा, वित्तीय संस्था सुपरिवेक्षण विभागका उप-निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उप-निर्देशक जुगल किशोर कुशवाहालाई सदस्य तोकेको छ । विभिन्न सार्वजनिक फोरममा सहकारी क्षेत्रमा देखिएको समस्या विस्तारै बैंकिङ क्षेत्रमा पुग्ने सार्वजनिक वक्तव्य दिँदै आएका छन् । सहकारीमा देखिएको समस्या लघुवित्त हुँदै विकास बैंकसम्म आइपुगेको छ । कर्णाली बैंक समस्याग्रस्त घोषण भएपछि यो समस्या बैंकिङ क्षेत्रमा थप बढ्छ कि भन्ने चिन्ता र चासोको विषय बनेको छ । सर्वसाधारणलाई सशंकित बनाएको छ । ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरिबहादुर बुढाथोकी क्षेत्रीय स्तरका बैंकलाई समस्या नै रहेको बताउँछन् । थप जटिल वा सशंकित हुनुपर्ने अवस्था नरहेपनि व्यवसाय वृद्धिमा चुनौती भने रहेको उनको भनाइ छ । ‘सबै बैंकको आ-आफ्नो व्यवसाय छ, पोर्टफोलियो छ, व्यवस्थापन समूह पनि अब्बल छ । पश्चिमको एउटा बैंक समस्यामा पर्दा समग्र बैंकिङ क्षेत्रमा समस्या नआउला, थप जटिल नबन्ला । राष्ट्र बैंकले प्रोभिजन गर्न लगाएको छ, ओभरसाइट गरिरहको छ,’ उनले भने, ‘कर्णाली बैंकको जस्तो समस्या अन्य क्षेत्रीय बैंकमा आएको छैन । तर, व्यवसाय गर्न भने पक्कै कठिन छ । काम गर्न गाह्रो छ । कर्जाको गुणस्तरीयतामा ध्यान दिन जरुरी छ ।’ प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनिराम पोखरेल कर्णाली बैंक समस्याग्रस्त घोषण भएपछि अन्य बैंक वित्तीय संस्था पनि समस्यामा पर्छन् कि भनेर आशंका भएपनि त्यस्तो समस्या नरहेको बताउँछन् । तथ्याङ्क हेर्दा अन्य बैंक वित्तीय संस्था समस्यामा नरहेको उनको भनाइ छ । पूर्वबैंकर पर्शुराम कुँवर बैंकहरूको व्यवसाय नै जोखिम लिने र दिने भएकाले वित्तीय प्रणाली सधैं सेन्सेटिभ हुने गरेको बताउँछन् । संस्था समस्यामा परेका बेला नाफाभन्दा पनि दीर्घकालसम्म टिक्न सक्छ कि सक्दैन भन्ने विषय महत्त्वपूर्ण हुने उनको भनाइ छ । साथै बैंक समस्यामा छ भने समाधानका विषयमा पनि बलियो सन्देश बजारमा पठाउनु पर्ने उनी बताउँछन् । ‘वित्तीय प्रणाली सधैं सेन्सेटिभ हुन्छ, व्यापार नै जोखिम लिने र दिने व्यवसाय हो । बैंकहरूको काम नै जोखिम लिने हो । जोखिम लिँदा कहिलेकाहीं तलमाथि हुन्छ । तलमाथि हुँदा नाफा/नोक्सानलाई मतलब गर्दैन । मुख्य विषय भनेको संस्था दीर्घकालसम्म टिक्छ कि टिक्दैन भन्ने हो,’ पूर्वबैंकर कुँवरले भने, ‘नेपालका बैंक मात्रै नभएर विदेशमा पनि नाफा घाटामा चलिरहेका छन् । मुख्य विषय भनेको पुँजी पर्याप्तता र तरलता हो । यो दुइटैले असर गर्‍यो भने संस्थाललाई हानी नोक्सानी पुर्‍याउँछ ।’ सहकारी, लघुवित्त र विकास बैंकमा समस्या देखिएपछि अब वाणिज्य बैंकमा समस्या आउँछ कि भन्ने जनतामा गलत भ्रम रहेको उनको भनाइ छ । तत्काल कुनै पनि बैंक ढल्न नसक्ने अवस्थामा रहेको उनले बताए । ‘वाणिज्य बैंक ढल्न निकै समय लाग्छ । ठूल्ठूला संस्था डुब्न समय लाग्छ । बैंक ढल्नका लागि बागमतीमा धेरै पानी बग्नुपर्छ,’ पूर्वबैंकर कुँवरले भने, ‘साना पसल बन्द भएजस्तो होइन । बैंकिङ अर्गानिक व्यवसाय हो ।’ राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक रामु पौडेल कर्णाली डेभलपमेन्ट बैंकलाई वित्तीय सूचकका आधारमा समस्याग्रस्त संस्था घोषणा गरिएको र अन्य संस्थामा यस्तो समस्या नरहेको बताउँछन् । प्रणाली प्यानिक हुने संकेत नरहेको उनले बताए । हालको तथ्याङ्क र अवस्था हेर्दा बैंकिङ प्रणालीमा थप समस्या आउने नदेखिएको उनको भनाइ छ । ‘अहिले यस्तो कुनै समस्या छैन । सिस्टमिक प्यानिक हुने संकेत होइन । तर, वित्तीय प्रणाली कतिबेला के हुन्छ भन्न सकिँदैन,’ प्रवक्ता पौडेलले भने, ‘सबै राम्रो रहेको अमेरिकामा सिलिकन भ्याली, सिग्नेचर बैंक, क्रेडिट स्वीस बैंक समस्यामा परे । वित्तीय प्रणाली सधैं सेन्सेटिभ हुन्छ । तर, सहकारीले समस्याले विकास बैंकमा समस्या आएको होइन । यो समस्याले वाणिज्य बैंकमा पनि समस्या हुन्छ भन्ने आधारहरू छैनन् । त्यसकारण त्यो अहिले नै सोच्नुपर्ने बेला भएको छैन ।’ उनका अनुसार थप समस्या आउन नदिन नियामक राष्ट्र बैंकले रातदिन काम गरिरहेको छ । प्रणाली जोगाउनका लागि राष्ट्र बैंकले संस्थाभन्दा बढी चिन्ता र चासोका साथ काम गरिरहेको उनको भनाइ छ । ‘थप समस्या हुन दिइने छैन । यदि चिन्ता चासो नभए सहकारी संस्थाजस्तै छोडिदिएको भए पनि हुन्थ्यो नि । प्रणाली बचाउनका लागि, निक्षेपकर्ताको हित संरक्षण गर्न र समस्या के हो त्यहींबाट समाधान निकाल्न राष्ट्र बैंकले कदम चालिरहेको छ, ’ प्रवक्ता पौडेलले भने ।