यी हुन् पढाइसँगै काम दिलाउने काठमाडौंका कलेज
काठमाडौं । पढाइ केवल डिग्रीका लागि होइन, जीवनलाई दिशा दिने एउटा महत्वपूर्ण यात्रा हो । धेरै विद्यार्थीको उद्देश्य स्पष्ट छ- पढेर राम्रो जागिर पाउने । कक्षा १२ सम्म पुस्तकमै सीमित हुने धेरै विद्यार्थीहरू, प्लसटु सकेपछि भने भविष्यको करियर र आम्दानीतर्फ ध्यान दिन थाल्छन् । ‘आफ्नो खर्च आफैं कमाउने’ सपना बोकेर हिँड्नेहरूको संख्या बढ्दो छ, तर अवसर भने सजिलै हात लाग्दैन । नेपालमा अझै पनि स्नातकोत्तरसम्म पढेर मात्र काम खोज्ने प्रवृत्ति प्रबल छ । तर, पछिल्ला वर्षमा यो सोच बदलिँदै गएको छ । अब विद्यार्थीहरू पढाइसँगै काम गर्ने मौका दिने कलेज खोज्न थालेका छन् । यसैले स्नातक तहको पढाइका लागि कलेज छनोट गर्दा, गुणस्तरीय शिक्षासँगै ‘जब प्लेसमेन्ट’को सुविधा दिने शैक्षिक संस्थाहरू पहिलो रोजाइमा परिरहेका छन् । विद्यार्थीको यस्तै आवश्यकतालाई ध्यानमा राख्दै, काठमाडौं उपत्यकाका केही कलेजहरूले पढाइसँगै रोजगारको अवसर उपलब्ध गराइरहेका छन् । हामी आज पढाइसँगै काम खोजी दिने कलेजको विषयमा चर्चा गरेका छौं । आईएसएमटी कलेज काठमाडौंको तीनकुने स्थित गैरीधारामा रहेको आईएसएमटी कलेज उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको रुचिमा पर्ने कलेज हो । लण्डनको सन्डरल्याण्ड विश्वविद्यालयबाट मान्यता प्राप्त यस कलेजले १४ वर्षदेखि नेपालको उच्च शिक्षामा योगदान पुर्याउँदै आएको छ । शैक्षिक क्षेत्र र उद्योगीबीचको खाडल पूरा गर्ने जनशक्ति उत्पादन गर्नु यसको मुख्य उद्देश्य हो । ब्याचलर अफ साइन्स इन इन्फरमेसन टेक्नोलोजी (बिएसआइटी), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) , ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) र साइबर सेक्युरेटीका कार्यक्रमहरू यहाँ सञ्चालन भइरहेका छन् । काठमाडौं बाहिर चितवन पोखरा विराटनगरमा पनि यो कलेज सञ्चालनमा छ । जहाँ मास्टर्समा एमबीए पनि पढाइ हुन्छ । आफ्नो करिकुलम एकदमै उत्कृष्ट भएको दाबी गर्दै आएको यो कलेजले विद्यार्थीलाई पढाउनेमात्र नभई काम गर्ने अवसर समेत प्रदान गरिरहेको छ । उद्योगमा आधारित पाठ्यक्रमले तीन वर्ष पढेर विद्यार्थी ग्य्राजुएट हुने बित्तिकै त्यो उद्योगको बजारलाई आत्मसात् गर्न सक्ने दाबी कलेजको छ । ‘मध्यम, निम्न मध्यमसँगै सबै वर्गले पढ्न मिल्ने गरी शुल्क निर्धारण गरिएको छ’ कलेजका बिजनेस डेभलपमेन्ट हेड वासुदेव वस्ती भन्छन्, ‘यहाँ अध्ययनरत विद्यार्थीले कतिपय काम गर्न सुरु गरिसकेका हुन्छन्, कतिपयले पढ्दा पढ्दै काम कसरी गर्ने भन्ने कुरा सबै थाहा पाइसकेको हुन्छन्, यो कलेजको फोकस भनेको विद्यार्थीले पढ्दै गर्दा र पढिसकेपछि काम पाउन भन्ने नै हो ।’ यो कलेजले वर्षमा दुई पटक ‘जब फेयर’ कार्यक्रम गर्छ । जहाँ नेपालका टप ४०/४५ कम्पनीहरू कलेजमै आउँछन् । ती कम्पनीले विद्यार्थी छनोट गरेर जागिरको अफर गर्छन् । ‘यसो हुँदा विद्यार्थीलाई पढाइ सकेर काम खोज्न कहाँ जाने होला कुन कम्पनी कस्तो छ भन्ने विद्यार्थीलाई थाहा हुन्छ,’ उनी भन्छन्, ‘कम्पनी कलेजमै आउँदा सबै विद्यार्थीलाई जान्ने अवसर हुन्छ । कम्पनीको प्रोफाइल हेर्छ, कुन कम्पनीमा आफ्नो भविष्य देख्छ, वित्तीयसँगै त्यहाँको वातावरण सबै कस्तो छ भन्ने थाहा हुन्छ । यसैले पनि हामी विद्यार्थीको प्लेसमेन्टमा हामी बढी फोकस छौं ।’ सफ्टवेरिका कलेज डिल्ली बजारमा रहेको सफ्टवेरिका कलेज पनि विद्यार्थीलाई पढाउनेमात्र नभई रोजगारीको अवसर दिने कलेजमा पर्छ । आधुनिक र प्रयोगमुखी सिकाइको दृष्टिकोण अपनाउँदै विद्यार्थीलाई उद्यमी बन्न तयार गराइरहेको यो कलेजले विद्यार्थीको व्यक्तित्व विकास र सफ्ट स्किल्स शिक्षालाई पनि प्राथमिकता दिएको छ । सफ्टवेरिकामा स्नातक तहमा कम्पयुटर साइन्स विथ आर्टिफिसिएल इन्टेलिजेन्स (एआइ), कम्पयुटिङ, इथिकल ह्याकिङ एण्ड साइवर सेक्युरेटी कोर्षहरू पढाइ हुन्छन् । यसका लागि अत्यधुनिक कम्प्युटर प्रयोगशाला, प्राविधिक तथा नेटवर्किङशाला प्रयाप्त रहेको कलेजले दाबी गर्दै आएको छ । कलेजका प्राचार्य प्रमोद पौडेल कलेजले स्नातक तहमा इन्फर्मेसन टेक्नोलोजी आइटीलाई जोड दिँदै आएको बताउँछन् । उनी भन्छन्, ‘हाम्रा पूर्व विद्यार्थीहरू देशमा मात्र होइन विदेशका ठूला कम्पनीमा काम गरिरहनुभएको छ, कतिपय भाइबहिनीहरूले आफै कम्पनी खोलेर अरूलाई काम दिइरहेका छन्, धेरैजसो अहिले पनि काम गर्दै हुनुहुन्छ, यसमा कलेजको ठूलो भूमिका छ ।’ कलेजले वर्षमा दुई पटक ठूलो कार्यक्रम गर्छ । जुन वार्षिक कार्यक्रमको रुपमा क्यालेण्डरमै राखिएको छ । सफ्टवेरिकामा अध्ययनरत एक विद्यार्थी भन्छन्, ‘वर्षमा दुर्ई पटक ठूला कार्यक्रम हुन्छन्, जहाँ हामीले आफ्नो प्रोजेक्टहरू प्रदशर्नी गर्छौ, हामीलाई कम्पनीको विषयमा जानकारी लिन सहज हुन्छ ।’ उनी पढाइसँगै ती कम्पनीमा इन्टर्नसिप गर्ने अवसर पनि पाइरहेको बताउँछन् । उनले सातामा एक पटक विभिन्न कम्पनीसँग काम गर्ने अवसर पनि कलेजमै पाएको बताए । टेक्सास इन्टरनेशनल कलेज चाबहिलमा रहेको टेक्सास इन्टरनेश्नल कलेज पनि विद्यार्थीको रोजाइमा पर्ने कलेज मध्येमा पर्छ । यो कलेजले पनि विद्यार्थीलाई पढाइमामात्र केन्द्रित नभई पढिसकेका विद्यार्थीलाई इन्टर्नसिपको अवसर पनि सिर्जना गर्दै आएको छ । टेक्सासले स्नातक अन्तर्गत ब्याचलर अफ साइन्स इन कम्पयुटर साइन्स एण्ड इन्फर्मेसन टेक्नोलोजी (सिएसआइटी), व्याचलर अफ कम्पयुटर एपिलकेसन (बिसीए), ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम), ब्याचलर अफ सोसियल वर्क, व्याचलर अफ बिजनेस स्टडी कार्यक्रम सञ्चालन गरिरहेको छ । कलेजका बिजनेस डेभलपमेन्ट डिरेक्टर नारायण पोख्रेल कलेजलका विद्यार्थीलाई पढ्दा पढ्दै करियर सुरु गर्ने बनाइरहेकोे दाबी गर्छन् । उनका अनुसार अहिले टेक्सासमा स्नातक तहको छैटौं सेमेष्टरमाथिका अधिकांश विद्यार्थी काम गर्दे पढ्दै गरेका छन् । ‘विद्यार्थीले जे पढ्छ आफ्नो रुचिअनुसारको कोर्स छान्न हामी दिन्छौ,’ उनी भन्छन्, ‘विद्यार्थीले कोर्स पढिसक्दा दीर्घकालिन पेशा छनोट गरिसक्नुपर्छ भन्ने कुरालाई कक्षा कोठामा जोडिएर पढाउँछौं ।’ टेक्सासले वर्षमा दुई पटक करिअर काउन्सिलका कार्यक्रमको आयोजना गर्छ । जहाँ विभिन्न विषयका विज्ञहरू कलेजमा आएर विद्यार्थीलाई ओरेन्टेसन दिने गर्छन् । यसका लागि कलेजले विभिन्न आइटी कम्पनीदेखि अन्य विज्ञ कम्पनीसँग सहकार्य गरी काम सुरु गरिरहेको छ । ‘हाम्रो उद्देश्य भनेको विद्यार्थीले पढ्दा पढ्दै आफ्नो रुचि अनुसारको काम सुरु गर्नुपर्छ भन्ने हो, यसका लागि कलेजले सहकार्य गरिरहेको छ,’ पोख्रेलले भने । द ब्रिटिस कलेज नेपालमा अन्तर्राष्ट्रिय शिक्षा प्रदान गर्दै आएको कलेज हो द ब्र्रिटिस कलेज । जसले विद्यार्थीलाई बेलायती डिग्री र हालको रोजगार बजारसँग सम्बन्धित कोर्सहरू सञ्चालन गर्दै आएको छ । करिब १५ वर्षदेखि विद्यार्थीलाई विश्वव्यापी सिकाइको अनुभव र अन्तराष्ट्रिय अवसरहरू प्रदान गर्ने उदेश्यले सञ्चालन भइरहेको छ । यो कलेजले ब्याचलर तहमा बिबीएस, बिबीएससी, बिएससी कम्प्युटिङ, साइबर सेक्युरेटी, एआइ, डेटा साइन्स, कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । कलेजको इन्र्टनसिप प्लेसमेन्ट सिवानी अधिकारी कलेजले एमओयू गरेका कम्पनीसँग सहकार्य गरेर विद्यार्थीलाई इन्टर्नसिपको व्यवस्था गरिरहेको बताउँछिन् । ‘हामीले विभिन्न कम्पनीसँग सहकार्य गरेका छौं, उहाँहरूलाई आवश्यक परेको जनशक्ति हामीलाई पठाउनुहुन्छ, हामी विद्यार्थीलाई जानकारी गराउँछौं इच्छुक विद्यार्थीले आवेदन दिनुहुन्छ,’ उनले भनिन् । ब्रिटिस कलेजले वर्षमा एक पटक जब फेयर पनि गर्छ । कलेजले बिहान कार्यक्रम सञ्चालन गर्दा दिउँसो विद्यार्थीलाई काम गर्ने समय पनि मिल्ने भएकाले अधिकांश विद्यार्थी काम गर्दै पढिरहेको उनको भनाइ छ । ग्लोबल कलेज इन्टरनेशनल ग्लोबल कलेज इन्टरनेशनल काठमाडौंको मध्यबानेश्वरमा छ । कलेजले व्यापारिक केन्द्र र कर्पोरेट संस्थाहरूको सहकार्यमा विद्यार्थीलाई अध्ययन अवधिभर इन्टर्नसिपको अवसर प्रदान गर्छ । यहाँ स्नातक र स्नातकोत्तर तहका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । यो कलेजले स्नातक तह अन्तर्गत बीबीए, बीएचएम, बिटीटीएम कार्यक्रम सञ्चालन गरिरहेको छ । विद्यार्थीले आफूलाई मन लागेको विषय रोज्न सक्नेछन् भने स्नातकोत्तरका एमबीए कार्यक्रम पनि सञ्चालन भइरहेको छ । त्यस्तै, ग्लोबल कलेजले ग्लोबल कलेज अफ सोसल साइन्स एण्ड टेक्नोलोजी बिटेक इन एआइ यो वर्षदेखि सञ्चालनमा ल्याएको छ । विज्ञान विषय लिएर कक्षा ११ र १२ मा क्यामेस्ट्री र म्याथम्याटिक्स विषय लिएर अध्ययन गरेका विद्यार्थीले मात्रै यस कोर्ष पढ्न भर्ना पाउने छन् । यही कलेजमा बिएएलएलबी पाँच वर्षको कोर्स पनि सञ्चालन भएको छ । यस्तै, ग्लोबल कलेज अफ म्यानेजमेन्टले त्रिभुवन विश्वविद्यालयको कार्यक्रम बिबीएस पनि पढाइ हुने पनेरु बताउँछन् । लिबर्टी कलेज यो कलेजले होटेल म्यानेजमेन्ट पढेका ८ जना विद्यार्थीलाई शून्य लागतमा इन्र्टनसिपका लागि जापान पठाएको छ । कलेजमै जापनिज भाषा समेत पढाउँदै आएको कलेजले स्वदेशमात्र नभई विदेशमा पनि विद्यार्थीलाई इन्टर्नसिपको व्यवस्था गर्दै आएको छ । नेपालमा काम गर्दै आइरहेका विभिन्न कम्पनीहरूसँग साझेदारी गर्दै विद्यार्थीका लागि काम गर्ने वातावरण दिँदै आएको छ । कलेजका प्राचार्य डा.देवराज पनेरुका अनुसार पोखरा विश्वविद्यालयबाट मान्यताप्राप्त कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । कलेजले बीसीएस आइटी, बीएचएम, बीबीए र बीबीए फाइनान्सका कार्यक्रमहरू छन् । कलेजको उद्देश्य भनेकै पढ्दै कमाउँदै हो । बैंक तथा वित्तीय संस्थाहरुदेखि विभिन्न कम्पनीसँग सहकार्य गर्दै पेड इन्टर्नसीप गराउँदै आएको उनको दाबी छ । लिबर्टी कलेजमा सिक्दै काम गरेर कमाउने अवसर रहेको पनि जानकारी दिए । कान्तिपुर इन्टरनेश्नल कलेज रोजगारी सुनिश्चित गर्न दिगो व्यावसायिक उद्यमशिलता र गुणस्तरिय शिक्षा दिने उद्देश्यले सञ्चालित भइरहेको छ कान्तिपुर इन्टरनेश्नल कलेजले बिएएलएलबी, बिबीए, बीएचसिएम, बिएचएम लगायतका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त यो कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यका साथ विद्यार्थीहरूलाई दक्ष, सक्षम, समर्पित र योग्य पेशेवरका रूपमा तयार गर्दै होटल तथा पर्यटन उद्योग, बैंकिङ क्षेत्र, कर्पोरेट हाउस, कन्सल्टेन्सी, इन्जिनियरिङ जस्ता विभिन्न क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गरिरहेको दाबी गर्दै आइरहेको छ । एशियन इन्स्टिच्युट एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट (एआइटीएम) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय र्कायक्रमहरू सञ्चालन गर्दै आएको छ । सन् २०१२ देखि ललितपरको खुमलटारमा रहेको यो कलेजले बेलायतमा रहेका विभिन्न विश्वविद्यालय तथा प्रतिष्ठित शैक्षिक संस्थाहरूसँग सहकार्य गर्दै नेपाली विद्यार्थीलाई उच्च शिक्षामा सेवा दिँदै आइरहेको छ । यहाँ हस्पिटालिटी म्यानेजमेन्ट (बीए), बिजनेस म्यानेजमेन्ट (बीए), कम्प्युटिङ एण्ड इन्फर्मेसन टेक्नोलोजी (बीएससी) का कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । यो कलेजले पनि विद्यार्थीलाई पढाइसँगै बाह्य ज्ञान, सीप अनुभव सिक्ने अवसर विद्यार्थीलाई दिँदै आएको छ । यो कलेजले पनि विद्यार्थीलाई पढाइमा मात्र नभई जब प्लेसमेन्टको अवसर पनि दिइरहेको छ । किंग्स कलेज उद्यमशिलतमा आधारित शिक्षा सिक्न चाहने विद्यार्थीका लागि सबैभन्दा राम्रो कलेज हो किंग्स कलेज । काठमाडौंको बबरमहलमा सञ्चालित यो कलेजले व्यवसाय सुरु गरिरहेका र गरिसकेका विद्यार्थीहरूलाई उद्यमशिलताका विषयमा सिकाउने काम गरिरहेको छ । यहाँ स्नातक तहमा अध्ययन गर्ने विद्यार्थी नै प्रोफेशनल हुन्छ । उद्यमी सोच भएका विद्यार्थीहरूका लागि यो कलेज छनोट गर्न राम्रो हुने कलेजका प्रीन्सिपल बिक्रम प्रजापती बताउँछन् । यो कलेजले जब प्लेसमेन्टका लागि छुट्टै प्रोफेशनल डेभलपमेन्ट एण्ड करियर विभाग नै गठन गरेको छ । जहाँ सीप अनुभव र सहयोग प्रदान गरिरहेको छ । जहाँ विद्यार्थीले गरिरहेको काम नयाँ तरिकाले राम्रो बनाउने भन्नेमा ध्यान दिने गरेको उनी बताउँछन् । ‘प्रजापती भन्छन्, ‘कूनै संघ संस्थाले हामीलाई यस्तो जनशक्ति चाहिएको छ भने हामीसँग भएका विद्यार्थीको प्रोफाइल हेर्छौ त्यो प्रोफाइल अनुसार मेल खाने अफर आयो भने विद्यार्थीलाई पठाइदिन्छौं ।’ हिमालयन ह्वाइट हाउस इन्जिनियरिङ, व्यवस्थापन र प्रविधि शिक्षामा उत्कृष्ट शिक्षा प्रदान गरिरहेको अर्को कलेज हो हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज । पुतलीसडकमा रहेको यो कलेजले विद्यार्थीहरूलाई अत्याधुनिक प्रविधिसहितको शिक्षण, सिकाइ र अनुसन्धान वातावरणमा आधारित व्यावहारिक शिक्षा प्रदान गरिरहेको छ । कलेजका प्राचार्य तोयानारायण पौडेल विद्यार्थीलाई पढाइसँगै विभिन्न संघ संस्थामा इन्र्टनशीपको व्यवस्था कलेजले गरिरहेको बताउँछन् । ‘कलेजले वर्षमा जब फेयर लगायतका विभिन्न कार्यक्रमहरू वर्सेनि गर्छ, विभिन्न संघसस्थाहरू आफै आएर आफ्नो संस्थाको लागि योग्य विद्यार्थी छनोट गर्छन्,’ उनी भन्छन्, ‘यसबाट विद्यार्थीलार्य पनि काम खोज्न बाहिर जान पर्दैन, संस्थाले पनि आफूलाई योग्य जनशक्ति पाउँछ ।’ तोय नारायण पौडेल यस्ता कार्यक्रमले गैरप्राविधिक विषय लिएर पढिरहेका विद्यार्थीलाई सहयोग गरिरहेको बताउँछन् । तर, प्राविधिक विषय पढिरहेका विद्यार्थीलाई भने पढ्दै काम गर्दै गर्न समस्या हुने उनको भनाइ छ । पढाइको लागि नै समय अपुग भइरहेको बेला स्नातक तह चार वर्षमा यस्ता विषय लिएर पढिरहेका विद्यार्थीलाई पढ्दै कमाउँदै गर्दा समस्या हुने उनी बताउँछन् । प्राविधिक विषयका विद्यार्थीलाई पढिसकेपछि बाहिर काम खोज्दै जान नपरोस् भन्ने उद्देश्यले विभिन्न कम्पनीहरू कलेजले नै सहकार्य गरिदिने गरेको पौडेल बताउँछन् ।
अमेरिकामा आर्थिक संकट ! ७१ ठूला कम्पनी टाट पल्टिए, बजेट घाटा २९१ अर्ब डलर
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो देशलाई फेरि महान बनाउन चाहन्छन् । यसका लागि उनले विभिन्न निर्णयहरू लिइरहेका छन् । उनले विश्वका धेरै देशमाथि भारी ट्यारिफ (शुल्क) लगाएका छन् जसबाट सरकारको आम्दानी बढोस् । साथै उनले धेरै कम्पनीहरूलाई आफ्नै देशमा बढी लगानी गर्न बाध्य पारेका छन् । तर अहिलेसम्म उनका निर्णयहरूको धेरै प्रभाव देखिएको छैन । जुलाईमा ७१ ठूला कम्पनी टाट पल्टिएका छन् भने बजेट घाटा ४७ अर्ब डलर अर्थात् १९ प्रतिशतको बढोत्तरीसहित २९१ अर्ब डलर पुगेको छ । यो अमेरिका इतिहासमा जुलाई महिनाको दोस्रो सबैभन्दा ठूलो घाटा हो । केवल २०२१ मा मात्र यसभन्दा बढी घाटा भएको थियो । जुलाईमा अमेरिकामा ७१ ठूला कम्पनी टाट पल्टिए जुन २०२० को कोरोना महामारीपछि सबैभन्दा ठूलो संख्या हो । यसअघि मे महिनामा ६४ र जुनमा ६६ ठूला कम्पनी टाट पल्टिएका थिए । यसरी यस वर्ष अमेरिकामा ४४६ ठूला कम्पनी टाट पल्टिइसकेका छन् । यो पछिल्ला १५ वर्षमा सबैभन्दा ठूलो संख्या हो । यो २०२१ र २०२२ को सम्पूर्ण वर्षभन्दा बढी हो । २०२१ मा ४०५ र २०२२ मा ३७३ कम्पनी टाट पल्टिएका थिए । औद्योगिक ९७०० र उपभोक्ता डिस्क्रिएशनरी ९६१० कम्पनीहरूलाई सबैभन्दा बढी घाटा भएको छ । जुलाईमा ट्रेजरी विभागको बजेट घाटा २९१ अर्ब डलर पुगेको छ, जबकि जूनमा यो २७ अर्ब डलर थियो । जुलाईमा सरकारको खर्च ९.७ प्रतिशत बढेर ६३० अर्ब डलर पुगेको छ, जुन जनवरीपछि सबैभन्दा बढी हो । यसबीच राजस्व पनि २.५ प्रतिशत बढेर ३३८ अर्ब डलर पुगेको छ, जसमा २९.६ अर्ब डलरको ट्यारिफ राजस्व पनि समावेश छ । यससँगै यस वर्षको बजेट डेफिसिट १.६३ ट्रिलियन डलर पुगेको छ । अमेरिका आफ्नो इतिहासमा तेस्रो सबैभन्दा ठूलो बजेट घाटातर्फ अघि बढिरहेको छ । यो अवस्थाले अमेरिकी अर्थतन्त्र अझै स्थिर हुन बाँकी रहेको स्पष्ट पार्छ । राष्ट्रपति ट्रम्पका नीति निर्णयहरूले तत्कालीन रूपमा अपेक्षित आर्थिक सुधार ल्याउन सकेका छैनन् । चीनमा एआई चिप्स प्रयोगमा रोक, अमेरिकी कम्पनीहरू संकटमा
कर्णाली डेभलपमेन्ट बैंकको कारोबार रोक्कापछि पनि नेफ्स्कुनको धमाधम ‘डिपोजिट’, फेक विवरण बनाएर झुक्याइयो
काठमाडौं । २०८२ साउन ६ गते राति ९ बजेर ४५ मिनेटमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का एक जना सञ्चालकले सञ्चालक समितिको मेसेन्जर ग्रुपमा एउटा मेसेज पठाउँछन् । मेसेजमा भन्छन्, ‘नमस्कार, साँच्चै त्यो कर्णाली डेभलपमेन्ट बैंकमा रहेको ४५ करोड रुपैयाँ अस्तिको प्रतिवेदनमा हराएको थियो, कतै फेला पर्यो कि के भएको होला ? खोज्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई नै जिम्मेवारी लगाउनु पर्ला जस्तो छ कि नपर्ला जस्तो छ ? छानबिन समितिको प्रतिवेदन पनि हेर्न पाइएन । कारवाही कसैलाई भयो कि भएन होला ?’ ती सञ्चालकको प्रश्नको जवाफ फर्काउँदै ग्रुपमा अध्यक्ष चन्द्रप्रसाद ढकाल लेख्छन्, ‘नमस्कार, मैले पटक-पटक महासचिवज्यूलाई भनेको, कहीँ कतै कुनै प्रक्रिया अगाडि बढाउने ठाउँ नै देख्दिनँ भन्नु भएको छ । मैले तपाईं नगर्ने हो भने मलाई फवार्ड गर्नुस् भनेको छु, भोलिसम्म केही गर्छु भन्नु भएको छ, नभए पर्सि प्राधिकरणमा अनुसन्धानका लागि पत्राचार गरेर राष्ट्र बैंकलाई जानकारी गराउनुपर्छ होला, भोलिसम्म हेरौं ।’ मेसेन्जर ग्रुपमा भएको उक्त संक्षिप्त सवाल-जवाफपछि यो विषय मौन छ । तर, नेफ्स्कुनभित्र भूकम्पको महा झट्का लागेको छ । सञ्चालक समितिको बैठक अधिकांश एजेण्डा प्रस्तुत गरेर यही विषयमा गन्थनमन्धन गर्दै निश्कर्षविहीन रुपमा टुङ्गिन्छ । सञ्चालक समितिका अधिकांश सञ्चालकको एउटै प्रश्न हुन्छ, कसरी गयो कर्णाली डेभलपमेन्टमा यति धेरै बचत ? नेपाल राष्ट्र बैंकले कारोबार रोक्का गरेपछि पनि कसले गर्यो धमाधम बचत जम्मा ? सञ्चालक समितिकै जिम्मेवार पदाधिकारीको जवाफ हुन्छ- थाहा छैन । यही थाहा छैन भन्ने जिज्ञासाको जवाफ खोज्न नेफ्स्कुनका सञ्चालक खेमराज सुवेदीले छानबिन समिति बनाउनु पर्ने माग बैठकमा गर्छन् । उनको प्रस्तावमा अधिकांश सञ्चालकले समर्थन जनाउँदै नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन हुन्छ । समितिको सदस्यमा सञ्चालक ज्ञानु पौडेल र वीरबहादुर राउत भोटे सदस्य बस्छन् । समितिले पाएको छानबिनको ४५ दिनको अवधि सकिसकेको छ । समितिले प्रतिवेदन पनि तयार गरिसकेको छ । तर, सो प्रतिवेदन यो समाचार तयार पार्दासम्म गोप्य छ । यतिसम्म कि सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि सो प्रतिवेदन अध्ययन गर्न पाएका छैनन् । ‘यति धेरै पैसा कसरी कर्णाली डेभलपमेन्ट बैंकमा जम्मा भयो ? राष्ट्र बैंकले कारोबार रोक्का गरेको सूचना सार्वजनिक गरेपछि पनि बचत जम्मा भएको छ कि छैन ? भन्ने विषयमा अध्ययन गर्न छानबिन समिति गठन भएको छ, सो समितिको संयोजक वरिष्ठ उपाध्यक्षज्यू हुनुहुन्छ, सबै जिम्मेवारी उहाँलाई नै दिएको छु, मैले प्रतिवेदन पाएको छैन,’ ढकालले संक्षिप्त प्रतिक्रिया दिँदै भने । नेफ्स्कुन स्रोतका अनुसार अधिकारी संयोजक रहेको छानबिन समितिले महासचिव घनश्याम अधिकारीसमक्ष प्रतिवेदन बुझाइसकेको छ । कर्णाली डेभलपमेन्ट बैंकमा रहेको बचतका विषयमा छानबिन समितिले सञ्चालक समितिलाई अब गर्नुपर्ने काम कारवाहीका विषयमा प्रष्ट पारिसकेको छ । समितिको प्रतिवेदनका विषयमा भने महासचिव अधिकारीले आफूले अध्ययन गर्न नपाएको प्रतिक्रिया दिए । उनले विकासन्युजसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘समितिले मलाई प्रतिवेदन बुझाइसकेको छ । मैले पुरै अध्ययन गर्न पाएको छैन, अबको सञ्चालक समितिको बैठकमा यस विषयमा छलफल हुन्छ ।’ उनका अनुसार साउन ३० गते सञ्चालक समितिको बैठक बसेर यो विषयमा छलफल गर्नेछ । कारोबार रोक लगाएपछि पनि धमाधम बचत नेफ्स्कुनले विसं २०७१ सालदेखि कर्णाली डेभलपमेन्ट बैंकमा कारोबार गर्दै आएको खुलेको छ । अन्य बैंकको तुलनामा कर्णाली डेभलेपमेन्ट बैंकले बढी ब्याज दिने भएकोले नेफ्स्कुनले सोही बैंकमा आफ्नो अधिकांश बचत मुद्दती खातामा राख्दै आएको नेफ्स्कुन स्रोतले बतायो । तर, नेफ्स्कुनले सो बैंक विस्तारै वित्तीय रूपमा जोखिममा रहेको भेउ नपाई झन् कारोबार र निक्षेप बढाउँदै गयो । राष्ट्र बैंकले सो बैंकमा सुक्ष्म रुपमा नियमित सुपरीवेक्षण तथा नियमन गरिरहेको थियो । कर्णाली डेभलपमेन्ट बैंक झन–झन समस्यामा छ भन्ने विषय बैंकिङ बुझेका अधिकांशलाई जानकारी थियो । तर, सहकारीको वित्तीय कारोबार गर्ने शीर्ष निकाय नेफ्स्कुनले त्यो अनुमान किन लगाउन सकेन ? कि अनुमान र जानकारी भएर पनि नेफ्स्कुनले थप जोखिम मोल्यो ? अहिले नेफ्स्कुनभित्रकै अधिकांशले यो जिज्ञासाको जवाफ दिन्छन्, ‘थाहा थियो, नियत गलत भयो ।’ यही बीचमा बैंकिङ क्षेत्रको नियामक नेपाल राष्ट्र बैंकले मंसिर ११ गते कर्णाली डेभलपमेन्ट बैंकलाई वित्तीय कारोबारमा रोक लगाउँछ । ६ महिनाको समय दिएर सुधारात्मक कारवाहीको सूचना सार्वजनिक गर्छ । सो बैंकलाई सोही दिनदेखि निक्षेप संकलन गर्न र कर्जा प्रवाह गर्न रोक लगाएको सूचना जारी हुन्छ । राष्ट्र बैंकको सो सार्वजनिक सूचनाप्रति बैंकका लगानीकर्ता र निक्षेपकर्ता झस्किन्छन् । तर, नेफ्स्कुन भने त्यही समयमा धमाधम सो बैंकमा थप निक्षेप राख्छ । नेफ्स्कुन स्रोतका अनुसार राष्ट्र बैंकको सूचनालाई वेवास्ता गरेर बैंक निक्षेप लिन्छ र नेफ्स्कुन धमाधम पैसा निक्षेपका रुपमा राख्छ । अब यो विषय नियामक नेपाल राष्ट्र बैंक र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)सँगै बचत तथा ऋणको नियामक राष्ट्रिय सहकारी नियमन प्राधिकरणको पनि अनुसन्धानमा तानिन्छ नै । तर, कारोबार रोक लगाएपछि पनि कसको स्वार्थमा बचत जम्मा भयो भन्ने विषय भने नेफ्स्कुनको छानबिन समितिले खुलाउन सामर्थ्य गर्नुपर्ने धारणा सञ्चालक समितिका एक सदस्यले राखे । ‘राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई वित्तीय कारोबारमा रोक लगाएपछि पनि नेफ्स्कुनबाट ५ करोड रुपैयाँ जम्मा भएको देखिन्छ, बैंकले कसरी बुझ्यो र नेफ्स्कुनले कसरी जम्मा गर्यो भन्ने विषयलाई नै आधार बनाएर छानबिन समिति गठन गरेका हौं, अहिले समितिले प्रतिवेदन नै गोप्य राख्दा थप संशय बढेको छ,’ ती सञ्चालकले भने । नेफ्स्कुन स्रोतका अनुसार राष्ट्र बैंकले साउन ११ गते कर्णाली डेभलपमेन्ट बैंकलाई वित्तीय कारोबारमा रोक लगाएदेखि पुस १० गते समस्याग्रस्त घोषणा गरेसम्म ५ करोड रुपैयाँ जम्मा भएको छ । केही सञ्चालकहरूले कारोबारको रसिद माग गर्दा पनि नेफ्स्कुन पदाधिकारी र नेफ्स्कुन व्यवस्थापनले उपलब्ध नगराएको ती सञ्चालकको गुनासो छ । नेफ्स्कुनले दाङ र नेपालगञ्जको शाखाबाट कर्णाली डेभलपमेन्ट बैंकमा कारोबार गर्दै आएको बुझिएको छ । मंसिर ११ गतेदेखि पुस १० गतेसम्म ती दुइटै शाखाबाट सो रकम जम्मा भएको बुझिएको हो । सो शाखाको संयोजक पनि वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी नै छन् । नेफ्स्कुनले उनी संयोजक रहेकै शाखाबाट गलत कार्य भएको भन्दै उनकै संयोजकत्वमा छानबिन समिति बनाएको हो । कर्णाली डेभलपमेन्ट बैंकमा जम्मा भएको रकमबारे बुझ्न खोज्दा वरिष्ठ उपाध्यक्ष अधिकारीले भने प्रतिक्रिया दिन चाहेनन् । बीचमै बचत गायब नेपाल राष्ट्र बैंकले वित्तीय कारोबारमा रोक लगाएपछि पनि कर्णाली डेभलपमेन्ट बैंकमा नेफ्स्कुनले धमाधम बचत गरिरहेको विषय जानकारीमा आएपछि केही सञ्चालकले पदाधिकारी र व्यवस्थापनसमक्ष यस विषयमा जवाफ माग गर्छन् । यो विषयले नेफ्स्कुनभित्र एक किसिमको भूकम्प जान्छ । व्यवस्थापनबाट चित्त बुझ्दो जवाफ नपाएपछि ती सञ्चालकहरूले प्रश्नका पराकम्पनहरू दिइरहन्छन् । कर्णाली डेभलपमेन्ट बैंकमा ५२ लाख रुपैयाँ बचत रहेको डकुमेन्ट यही समयमा नेफ्स्कुन व्यवस्थापनले केही सञ्चालकलाई थामथुम पार्न ‘फेक ब्यालेन्स सिट’ थमाउँछ । नेफ्स्कुन व्यवस्थापनले ४४ वटा बैंक तथा वित्तीय संस्थामा रहेको बचतको विवरण दिँदै कर्णाली डेभलपमेन्ट बैंकमा ५२ लाख ४२ हजार रुपैयाँ बचत रहेको जानकारी गराउँछ । एक महिनाअघि साढे ४३ करोड रुपैयाँसम्म रहेको बचत कसरी एकाएक ५२ लाखमा झर्यो भन्ने विषयले थप संशय सिर्जना गर्छ । र, सुरुवातमै उल्लेखित सञ्चालकले नेफ्स्कुनकै मेसेन्जर ग्रुपमा सो कुरा राख्छन् । कर्णाली डेभलपमेन्ट बैंकमा ५२ लाख ४२ हजार रुपैयाँ बचत रहेको नेफ्स्कुनको सो विवरणमा विभिन्न बैंक तथा वित्तीय संस्थामा कुल ५ अर्ब ४६ करोड ५६ लाख ४६ हजार रुपैयाँ बचत रहेको देखिन्छ । जसमध्ये सबैभन्दा बढी कामना सेवा विकास बैंकमा ६२ करोड ४४ लाख १२ हजार रुपैयाँ अर्थात् कुल बचतको ११.४२ प्रतिशत बचत रहेको उल्लेख छ । विकासन्युज डटकमलाई प्राप्त अर्को डकुमेन्टका अनुसार नेफ्स्कुनको विभिन्न बैंक तथा वित्तीय संस्थामा कुल ६ अर्ब ३४ करोड १५ लाख ५५ हजार रुपैयाँ बचत रहेको देखिन्छ । जसमा कर्णाली डेभलपमेन्ट बैंकमा ४३ करोड २६ लाख ४९ हजार ८ सय २० रुपैयाँ अर्थात् कुल बचतको ६.१७ प्रतिशत बचत रहेको उल्लेख छ । सो डकुमेन्टमा नेफ्स्कुनको सबैभन्दा बढी राष्ट्रिय सहकारी बैंकमा ६५ करोड ७८ लाख ३६ हजार ४२९ रुपैयाँ अर्थात् कुल बचतको ९.३८ प्रतिशत रकम रहेको देखिन्छ । यो विवरणमा भने नेफ्स्कुनको कुल २४ वटा बैंक तथा वित्तीय संस्थामा मात्रै बचत रहेको उल्लेख गरिएको छ । कर्णाली डेभलपमेन्ट बैंकमा साढे ४३ करोड रुपैयाँ बचत रहेको डकुमेन्ट कर्णाली डेभलपमेन्ट बैंकमा केही महिनाअघि मात्रै ४३ करोड २६ लाख रुपैयाँ बचत रहेको नेफ्स्कुनले छोटो अवधिमा कसरी ५२ लाख ४२ हजारमा झार्न सफल भयो ? यो प्रश्न हामीले नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. शिवजी सापकोटासँग राख्यौं । उनले जवाफमा भने, ‘नियमित कारोबार गर्दै जाँदा कहिले निकाल्ने र कहिले बचत गर्ने हिसाबले ५२ लाख देखिएको होला । अहिले साढे ४३ करोड रुपैयाँ नै छ ।’ तर, डुबेको कर्णाली डेभलपमेन्टबाट ४३ करोड रुपैयाँ बचत निकाल्न सक्नु नेफ्स्कुनका लागि दिवास्वप्न नै हो । किनकि अहिले कर्णाली डेभलपमेन्ट बैंक डुबेको छ । उच्च व्यवस्थापन र सञ्चालकहरू जेलमा छन् । कतिपय फरार छन् । राष्ट्र बैंकले डुबेको बैंकलाई उकास्न प्रयत्न गर्दैछ । वित्तीय कारोबार छैन । राष्ट्र बैंकका अनुसार अहिले कुनै पनि संस्थागत निक्षेपकर्ताको निक्षेप भुक्तानी भइरहेको छैन । तर, यो कठिन समयमा नेफ्स्कुनले ४३ करोडको बचत ५२ लाखमा झारेको तर्कलाई पत्याउने आधार देखिँदैन । बरु नेफ्स्कुनकै सञ्चालकहरूले यसलाई व्यवस्थापन प्रमुखको लापरवाही र गैरजिम्मेवारी महसुस गरेका छन् । नेफ्स्कुन स्रोतले कर्णाली डेभलपमेन्ट बैंकमा रहेको साढे ४३ करोड रुपैयाँ बचत ५२ लाखमा झारेको विषयलाई व्यवस्थापनले कमजोरी भएको धारणा अनौपचारिक रूपमा सञ्चालकसमक्ष राखेको बताएको छ । सीईओ डा. सापकोटाले कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले वित्तीय कारोबारमा रोक लगाएपछि पनि नेफ्स्कुनबाट बचत जम्मा भएको स्वीकार गरे । तर, उनले त्यसलाई सम्बन्धित शाखाको कमजोरी भएको तर्क दिए। ‘राष्ट्र बैंकले कारोबारमा रोक लगाएपछि पनि हाम्रोबाट २ करोड रुपैयाँ हाराहारी कर्णाली डेभलपमेन्ट बैंकमा जम्मा भएको देखिएको छ, यो कारोबार नेपालगञ्ज र दाङ शाखाबाट भएको छ, कमजोरी गर्ने सम्बन्धित शाखाका इन्चार्जलाई कारवाही गरिसकेका छौं, हामी अब यो रकम सेटल गर्ने प्रयास गर्दैछौं,’ सीईओ सापकोटाले विकासन्युजसँग भने । उनले कर्णाली डेभलपमेन्ट बैंकमा रहेको बचत कसरी सेटल गर्ने भन्ने विषयमा छिट्टै राष्ट्र बैंकका अधिकारीहरुसँग बेसर एउटा निचोड निकाल्ने बताए । उनले छानबिन समितिको प्रतिवेदन पनि तयार भइसकेकोले अब थप प्रक्रिया अगाडि बढाउने जानकारी दिए । ‘यो प्रक्रियामा सम्बन्धित शाखा प्रमुख, सीईओ, नेफ्स्कुनको कोषाध्यक्ष, अध्यक्ष र सिंगो सञ्चालक समिति जिम्मेवार र जवाफदेही हुनुपर्छ,’ ती सञ्चालकले भने । कर्मचारी भन्छन् : माथिबाटै आदेश थियो नेफ्स्कुनले कर्णाली डेभलपमेन्ट बैंकमा धेरै रकम जम्मा गरेको भन्दा पनि वित्तीय कारोबारमा रोक लगाइसकेपछि पनि किन पैसा बचत गर्यो भन्ने विषयलाई नेफ्स्कुनकै अधिकांश सञ्चालकले प्रश्न उठाइरहेका छन् । ‘कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले समेत वित्तीय कारोबारमा रोक लगाएपछि आफैंमा समस्याग्रस्त रुपमा रहेको नेफ्स्कुन जस्तो संस्थाले करोड बढी बचत राख्नु अपराध हो, अब जानिनँ भन्ने छुट कसैलाई छैन, यो काममा जिम्मेवार सबैले कारवाहीको भागिदार हुनुपर्छ,’ नेफ्स्कुनका एक सञ्चालकले भने । ती सञ्चालकले भोलि समस्या पर्दा सञ्चालकहरु जेल जाने तर कर्मचारीहरुले उन्मुक्ति पाउने वातावरण बन्ने भएकोले आजै सबै कुरा गहन ढंगले विश्लेषण र छानबिन गरेर अगाडि बढ्नुपर्ने धारणा राखे । ‘यो प्रक्रियामा सम्बन्धित शाखा प्रमुख, सीईओ, नेफ्स्कुनको कोषाध्यक्ष, अध्यक्ष र सिंगो सञ्चालक समिति जिम्मेवार र जवाफदेही हुनुपर्छ,’ ती सञ्चालकले भने । नेफ्स्कुनका कोषाध्यक्ष दिपक थापाले पनि वित्तीय कारोबार रोक लगाएपछि पनि बचत गर्नु शाखाका कर्मचारीको कमजोरी रहेको धारणा राखे । ‘कर्णाली डेभलपेन्ट बैंकको कारोबार रोक लगाएपछि पनि ३/४ करोड रुपैयाँ बचत भएको छ, त्यो सोही शाखाका कर्मचारीको कमजोरी भएकोले उनीहरुलाई जिम्मेवारीबाट हटाइसकेका छौं,’ थापाले भने । ‘कर्णाली डेभलपमेन्ट बैंकलाई वित्तीय करोबारमा रोक लगाइएपछि पनि बचत जम्मा गर्ने निर्देशन सीईओले दिएको र सो समयमा शाखाका इन्चार्ज विदामा रहेको बुझिएको छ, यस विषयमा थप पछि थाहा होला,’ नेफ्स्कुन स्रोतले भन्यो । नेफ्स्कुनले दाङ शाखाका इञ्चार्ज विष्णुदत्त जोशी र नेपालगञ्ज शाखाका इन्चार्ज छत्र प्रसाद धमालालाई जिम्मेवारीबाट हटाइसकेको छ । ती शाखाका एक कर्मचारीले पनि सीईओ सापकोटाकै आदेशमा रकम बचत गरेको बताएका छन् । ‘एउटा शाखाबाट त्यति धेरै रकम हामी आफैले बचत गर्ने कुरा सोच्नै सकिँदैन, हामीलाई आफै जम्मा गर्ने अधिकार पनि हुँदैन, सीईओ सरको आदेशले नै हामीले रकम बचत गरेका हौं, कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले कारोबारमा रोक लगाएपछि हामीले कारोबार गरेको साँचो हो, दुई/तीन करोड रुपैयाँ बैंकबाट झिकेका पनि छौं,’ ती कर्मचारीले भने । नेफ्स्कुनले तत्काल पैसा पाउँदैन : राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले तत्काल संस्थागत निक्षेपकर्ताको निक्षेप फिर्ता हुने सम्भावना नरहेको बताएको छ । राष्ट्र बैंकले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको सञ्चालन तथा व्यवस्थापनका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उप-निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरेर काम गरिरहेको छ । सो समितिमा उप-निर्देशकद्वय विष्णुकुमार विश्वकर्मा र जुगल किशोर कुशवाहाल सदस्यका रुपमा काम गरिरहेका छन् । अहिले सो समितिले आन्तरिक व्यवस्थापनको काम गरिरहेको बताएको छ । संयोजक खतिवडाले अहिले केही व्यक्तिगत निक्षेपकर्ताको रकम भुक्तानी गर्ने कार्य सुरु गरेको बताएका छन् । तर, ठूलो रकम बचत रहेका संस्थागत निक्षेपकर्ताले भने तत्काल रकम फिर्ता पाउने सम्भावना नरहेको उनको भनाइ छ । ‘नेफ्स्कुनको पनि ४३ करोड बढी निक्षेप देखिएको छ, हामीले अहिले व्यक्तिगत निक्षेपकर्तालाई पहिलो प्राथमिकता राखेका छौं, त्यसैले पनि नेफ्स्कुनजस्ता संस्थागत निक्षेपकर्ताले तत्काल फिर्ता पाउने सम्भावना छैन,’ उनले भने । उनका अनुसार ठूला संस्थागत निक्षेपकर्तालाई सेटल गर्नका लागि नयाँ रणनीतिका साथ काम गर्नुपर्ने देखिएको छ । त्यो भनेको निक्षेपकर्तालाई नै सेयरधनी बनाएर काम गर्न सकिने उनको तर्क उनको छ ।