काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले आफ्नो तथ्यांकलाई व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउने भन्दै २०७९ कात्तिकमा ‘तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७९’ ल्यायो । कार्यविधिले नेप्सेबाट उपलब्ध हुने तथ्यांक प्रयोग गरेबापत विभिन्न वर्गका प्रयोगकर्ताले शुल्क तिर्नुपर्ने व्यवस्था गर्यो ।
नेप्सेको उद्देश्य आफ्नो तथ्यांकलाई व्यवस्थित रूपमा वितरण गर्ने र त्यसबाट आम्दानीसमेत बढाउने थियो । तर, कार्यविधि कार्यान्वयनमा आएको चार वर्ष पुग्न लाग्दा यसको प्रभाव भने उल्टो देखिएको छ । नेप्सेका अनुसार कार्यविधि लागू भएपछि नयाँ प्रयोगकर्ताले तथ्यांक खरिदका लागि आवेदन नै दिएका छैनन् ।
कार्यविधि आउनुअघि नेप्सेबाट अनुमति लिएर करिब १० वटा संस्थाले तथ्यांक प्रयोग गर्दै आएका थिए । तर, नयाँ शुल्क र सर्तसहितको व्यवस्था लागू भएपछि ती संस्थाले समेत अनुमति नवीकरण नगरेको नेप्से स्रोतको भनाइ छ । हाल ‘नेपाली पैसा’ र ‘सोर्स कोड’ नामका दुई संस्थाले मात्रै नेप्सेबाट आधिकारिक रूपमा तथ्यांक खरिद गरिरहेको नेप्से स्रोतले जनाएको छ । ‘शुल्क महँगो भएकाले तथ्यांक खरिदका लागि प्रयोगकर्ता आउन सकेनन्’, नेप्से स्रोतले भन्यो ।
नेप्सेले तथ्यांकको प्रयोगलाई व्यक्तिगत, शैक्षिक तथा अनुसन्धानात्मक, व्यावसायिक र संस्थागत प्रयोजनका आधारमा वर्गीकरण गरेको छ । इन्भेष्टमेन्ट कम्पनी, वित्तीय विश्लेषक, बैंक तथा वित्तीय संस्था, सञ्चार माध्यम, तथ्यांक वितरक तथा वित्तीय औजार विकासकर्ता कम्पनीलगायतका लागि फरक-फरक शुल्क र मापदण्ड तोकिएको छ ।
नेप्सेबाट वास्तविक समयमा उपलब्ध हुने सबै तथ्यांक प्रयोग गर्न विदेशी कम्पनीले मासिक २ हजार अमेरिकी डलर भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।
बैंक तथा वित्तीय संस्था, इन्भेष्टमेन्ट कम्पनी तथा वित्तीय विश्लेषक कम्पनीका लागि वास्तविक समयको तथ्यांक प्रयोग गर्न मासिक ६० हजार रुपैयाँ शुल्क तोकिएको छ ।
तथ्यांक वितरक कम्पनी तथा वित्तीय औजार विकासकर्ता कम्पनीले व्यापारिक तथा पुनःवितरण प्रयोजनका लागि मासिक १ लाख रुपैयाँ तिर्नुपर्नेछ । सञ्चार माध्यमले समाचार प्रयोजनका लागि वास्तविक समयको सबै तथ्यांक प्रयोग गर्दा मासिक ४० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ ।
गैरनाफामूलक शैक्षिक तथा अनुसन्धानात्मक संस्था, विश्वविद्यालय र कलेजका लागि भने मासिक ५ हजार रुपैयाँ शुल्क तोकिएको छ । आवश्यकताअनुसार सीमित तथ्यांकसमेत प्रयोग गर्न सकिने र त्यसअनुसार शुल्क भुक्तानी गर्नुपर्ने व्यवस्था कार्यविधिमा छ ।
तर, शुल्क मात्रै होइन, तथ्यांक प्रयोग गर्न चाहने संस्थाका लागि नेप्सेले विभिन्न मापदण्डसमेत तोकेको छ । बैंक तथा वित्तीय संस्था, इन्भेष्टमेन्ट कम्पनी तथा वित्तीय विश्लेषक कम्पनीका लागि न्यूनतम चुक्ता पुँजी ५ करोड रुपैयाँ, कम्तीमा तीन वर्षदेखि निरन्तर सञ्चालनमा रहेको र कम्तीमा १५ जना कर्मचारी रहेको हुनुपर्ने व्यवस्था छ ।
त्यस्तै, तथ्यांक वितरक तथा वित्तीय औजार विकासकर्ता कम्पनीका लागि न्यूनतम् चुक्ता पुँजी १ करोड रुपैयाँ, तीन वर्षदेखि निरन्तर सञ्चालनमा रहेको र कम्तीमा आठ जना कर्मचारी हुनुपर्नेछ । सञ्चारमाध्यमले तथ्यांक प्रयोग गर्न न्यूनतम् चुक्ता पुँजी ५० लाख रुपैयाँ, तीन वर्षदेखि निरन्तर सञ्चालनमा रहेको र कम्तीमा १० जना कर्मचारी रहेको हुनुपर्ने व्यवस्था गरिएको छ ।
नेप्सेको तथ्यांक प्रयोग गर्न शुल्क तिर्ने मात्रै होइन, सम्बन्धित प्रयोगकर्ताले विभिन्न कागजातसमेत पेस गर्नुपर्ने व्यवस्था छ । शैक्षिक तथा अनुसन्धान प्रयोजनका लागि व्यक्तिगत रूपमा तथ्यांक प्रयोग गर्न चाहनेले प्रयोगको उद्देश्य स्पष्ट खुलाइएको निवेदन दिनुपर्नेछ । विद्यार्थी भए सम्बन्धित शैक्षिक संस्थाको सिफारिस पत्र, नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा सरकारी निकायबाट जारी परिचयपत्रसमेत आवश्यक पर्छ ।
संस्थागत प्रयोगका लागि विश्वविद्यालयको हकमा डिनको कार्यालय र निजी शैक्षिक संस्थाको हकमा सम्बन्धित संस्थाको प्रमुखको सिफारिसपत्र आवश्यक पर्नेछ । निजी शैक्षिक संस्थाले संस्था दर्ता प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्रको प्रतिलिपिसमेत पेस गर्नुपर्नेछ ।
व्यावसायिक प्रयोजनका लागि कम्पनी दर्ताको प्रमाणपत्र, तथ्यांक वितरकका लागि तथ्यांक बिक्री तथा वितरण गर्न सक्ने उद्देश्य खुलेको प्रबन्धपत्र तथा नियमावली, सञ्चार माध्यमका लागि सूचना विभागमा दर्ता भएको प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र आवश्यक पर्ने व्यवस्था छ ।
एपिआई जडानका लागि सर्भर, आईपी ठेगाना, सञ्जाल रेखाचित्र, विस्तृत व्यापार योजना लगायतका विवरणसमेत माग गर्न सकिने व्यवस्था कार्यविधिमा छ । आवश्यक ठानेमा नेप्सेले थप जानकारीसमेत माग गर्न सक्नेछ ।
यसरी हेर्दा तथ्यांक प्रयोगका लागि शुल्कसँगै संस्थागत योग्यता, कागजात र प्राविधिक विवरणको व्यवस्था गरिएको छ । यही कारण पनि सम्भावित प्रयोगकर्ताले नेप्सेको तथ्यांक प्रयोग गर्न चासो नदेखाएको हुन सक्ने देखिन्छ ।
आम्दानी बढाउने उद्देश्य, प्रयोगकर्ता भने घटे
नेप्सेको आम्दानी संरचना हेर्दा तथ्यांक तथा सूचना सेवाबाट हुने आम्दानीको हिस्सा निकै सानो देखिन्छ । आर्थिक वर्ष २०८०/८१ मा नेप्सेले धितोपत्र कारोबारबाट २ अर्ब ७४ करोड रुपैयाँ र अन्य सेवा बिक्रीबाट ९ करोड ४५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
त्यसै वर्ष नेप्सेले विभिन्न गैरसञ्चालन तथा लगानी आम्दानीबाट ५६ करोड ३३ लाख रुपैयाँ प्राप्त गरेको थियो । यसअनुसार सञ्चालन र गैरसञ्चालन आम्दानीको अनुपात करिब ८३:१७ थियो ।
आर्थिक वर्ष २०८१/८२ मा नेप्सेको कुल आम्दानीमा धितोपत्र कारोबारबाट प्राप्त कमिसनको हिस्सा ८० प्रतिशत थियो । सदस्यता शुल्क तथा सूचीकरणबाट २ प्रतिशत, टीएमएस तथा तथ्यांक शुल्कबाट १ प्रतिशत र अन्य आम्दानीबाट १७ प्रतिशत योगदान रहेको थियो । अन्य आम्दानीमा लाभांशको हिस्सा १० प्रतिशत र ब्याजको हिस्सा ७ प्रतिशत थियो ।
आर्थिक वर्ष २०८२/८३ मा भने नेप्सेले धितोपत्र कारोबारबाट २ अर्ब ७० लाख ३४ हजार रुपैयाँ कमिसन आर्जन गरेको छ ।
यी तथ्यांकले नेप्सेको आम्दानीको ठूलो हिस्सा अझै पनि धितोपत्र कारोबारमा निर्भर रहेको देखाउँछन् । तथ्यांक तथा सूचना सेवाबाट हुने आम्दानीलाई वैकल्पिक स्रोतका रूपमा विकास गर्न सकिने भए पनि हालको शुल्क र प्रयोगसम्बन्धी व्यवस्थाले त्यसलाई विस्तार गर्न नेप्सेले सकेको छैन ।
विश्वका प्रमुख स्टक एक्स्चेञ्जहरूको आम्दानी संरचना हेर्दा भने तस्वीर फरक देखिन्छ । धितोपत्र कारोबारसँगै सूचना प्रविधि, तथ्यांक तथा अन्य सूचना सेवाबाट हुने आम्दानीलाई उनीहरूले महत्वपूर्ण स्रोतका रूपमा विकास गरेका छन् ।
अष्ट्रेलियन सेक्युरिटिज एक्स्चेञ्जको कुल आम्दानीमा सूचना प्रविधिसँग सम्बन्धित आम्दानीको हिस्सा २३.१ प्रतिशत रहेको छ । त्यस्तै कोरिया एक्स्चेञ्जमा २०.२ प्रतिशत, बुर्सा मलेसियामा १०.३ प्रतिशत, ढाका स्टक एक्स्चेञ्जमा ६.६ प्रतिशत हिस्सा सूचना प्रविधिसँग सम्बन्धित आम्दानीको रहेको अध्ययनले देखाएको छ ।
यसको अर्थ आधुनिक स्टक एक्स्चेञ्जका लागि कारोबार शुल्क मात्रै आम्दानीको आधार होइन । तथ्यांक, बजार सूचना, प्रविधि र विभिन्न सूचना सेवासमेत आम्दानीका महत्वपूर्ण स्रोत बनिरहेका छन् । नेपालमा भने नेप्सेको तथ्यांक प्रयोग गर्ने प्रयोगकर्ता नै घट्दै गएका छन् ।
कार्यविधि लागू हुनुअघि अनुमति लिएर तथ्यांक प्रयोग गर्ने करिब १० संस्थामध्ये अधिकांशले नवीकरण नगर्नु र हाल दुई संस्थाले मात्रै आधिकारिक रूपमा तथ्यांक खरिद गर्नुले नेप्सेको वर्तमान नीति र बजारको आवश्यकताबीच दूरी रहेको संकेत गर्छ ।
नेपाल स्टक एक्स्चेञ्ज पुनर्संरचना प्रतिवेदन, २०८२ ले पनि यही विषयलाई औंल्याउँदै नेप्सेले सूचना प्रविधि र तथ्यांक सेवासँग सम्बन्धित थप आम्दानीका स्रोत पहिचान गर्दै जानुपर्ने उल्लेख गरेको छ । तर, तथ्यांकलाई आम्दानीको नयाँ स्रोत बनाउने हो भने शुल्क तोक्ने मात्र होइन, प्रयोगकर्ता बढाउने वातावरण पनि बनाउनुपर्ने देखिन्छ ।