नाडा अटो शोलाई इतिहासकै आकर्षक बनाउने रणनीति, यी ब्राण्डबीच हुँदैछ प्रतिस्पर्धा

काठमाडौं । नेपाली अटो क्षेत्रको महाकुम्भका रुपमा लिइने नाडा अटो शो मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । आयोजक नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) ले स्टल निर्माण लगायतका कामहरू तीव्र गतिमा अगाडि बढाएर तयारी अन्तिम चरणमा पुर्याएको छ ।  नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले पहिलो पटक गत साउनमै नाइमा मोबिलिटी एक्स्पो सम्पन्न गरिसकेको छ । नाडाले पनि यस पटकको अटो शो विगतको भन्दा भव्य, फरक र आकर्षक हुने दाबी गरिरहेको छ ।  ‘हाम्रो तयारी सकिसकेको छ । बाहिरी संरचना तयार भइसकेको छ र भित्री स्टल निर्माणको काम रातभर चल्छ,’ नाडा अटो शोका संयोजक अनुप बरालले विकासन्युजसँग भने ।  नाडा अटो शोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।  नाडा अटो शो आयोजना हुनुभन्दा एक साताअघि मात्रै नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले सोही ठाउँमा अटो शो आयोजना गरेको थियो ।  ‘हामीले नाइमाले आयोजना गरेको एक्स्पोलाई चुनौतीका रूपमा लिएका छैनौं । उहाँहरूले एउटा इभेन्ट गर्नुभयो, त्यो राम्रो हो,’ बरालले भने, ‘नाडा अटो शो हाम्रो वार्षिक क्यालेन्डरको इभेन्ट हो । हामी आफ्नो पूर्ण तयारीका साथ अघि बढेका छौं । उहाँहरूले गरेर हामीलाई चुनौती हुने भन्ने नै हुँदैन ।’ ‘नाडा भनेको एउटा ‘होल बडी’ जस्तै हो, जहाँ एउटा गाडीमा चाहिने स–साना पाट्र्स, लुब्रिकेन्ट्स, टायरदेखि लिएर ठूला गाडीसम्मका सबै व्यवसायीहरू समेटिएका छन्,’ उनले भने, ‘त्यसैले हाम्रो आयोजनाको आयतन र सहभागिता बृहत् छ ।’ नाडा र नाइमामा एउटै ब्राण्डको सहभागिता नाइमाले आयोजना गरेको शोमा सहभागी भएका कतिपय ब्राण्डहरू नाडा अटो शोमा पनि सहभागी हुने भएका छन् । रोयल इन्फिल्ड, बीवाईडी, यामाहा जस्ता ब्रान्डहरू दुवै प्रदर्शनीमा रहने नाडाले जनाएको छ ।  ‘नाइमामा प्रदर्शन गरिएका ब्रान्डहरू हाम्रोमा पनि छन् । हामी मिलेरै अगाडि बढेका छौं,’ संयोजक बरालले भने । सुजुकी र टाटाले भारतमा उत्पादन भएका विद्युतीय गाडी अटो शो प्रर्दशनमा राख्दैछन् भने बीवाइडी र एमएडब्लु वृद्धिले चीनमा उत्पादन भएका गाडीहरु अटो शोमा राख्ने जनाइएको छ ।  यी ४ ब्राण्डले अटो शोमा रोचक प्रतिस्पर्धा गर्ने बुझिएको छ । अटो शोमा सुजुकीको ई–भिटारा, टाटाको ह्यारीयर ईभी, एमएडब्लु वृद्धिको दीपल एस ०५ र नामी ०३ आउँदै छन् भने बीवाइडीको एट्टो–टु प्रदर्शनमा राखिनेछन् । ई-भिटारा सुजुकीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले ई–भिटारालाई अटो शोमा राख्ने भएको छ । यो कम्पनीको पहिलो ईभी हो । फिन ड्रिम्सले बनाएको ब्लेड ब्याट्रीको साथ आउन लागेको यो गाडी दुई ब्याट्री अप्सनमा उपलब्ध हुनेछ ।  यसमा रहेको ४९ र ६१ किलोवाट आवरको ब्याट्रीले अधिकतम ५०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । यसमा १०५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ । जापानी निर्माताले आफ्नो पहिलो प्योर इलेक्ट्रीक एसयूभीमा इको, नर्मल र स्पोट्स ड्राइभ मोडसँगै स्नो मोड र वान पेडल ड्राइभिङ मोड पनि दिएको छ । यसको मूल्य अटो शोमा सार्वजनिक हुने कम्पनीले जनाएको छ ।   टाटा ह्यारियर अटो शोमा टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आफ्नो ह्यारियर ईभीलाई अटो शोमा राख्ने जनाएको छ । कम्पनीले भारतमा यसमा ६५ र ७५ किलोवाट आवरको एलएफपी ब्याट्रीसँगै १५ वर्षको अनलिमिटेड किलोमिटर वारेन्टी दिएको छ । टाटा ह्यारियरमा रियर माउण्टेड १७५ किलोवाट र अलह्वील ड्राइभ मोडलमा २९१ किलोवाटको मोटर रहेको छ । यसले ५०४ न्युटन मिटरसम्म टर्क जेनेरेट गर्ने कम्पनीको भनाइ छ । दिपल एस ०५ र नामी ०६ एमएडब्लु वृद्धिले अटो शोमा दीपल एस–०५ र डोङफेङ नामीे–०६ मोडेलहरू राख्नेछ ।  दीपल एस–०५ मा सीएटीएलद्वारा निर्मित ब्याट्रीले एक पटकको फूल चार्जमा ५१० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ । जुन नेपालमा उपलब्धमध्ये सबैभन्दा धेरै हो । यसमा रिमोट इन एन्ड आउट यसको अर्थ साँघुरो ठाउँमा पार्किङ गर्दा चाबीकै बटनले गाडीलाई अगाडि÷पछाडि सार्न सकिने सुविधा रहेको छ ।  जर्मनीमा ‘आइएफ डिजाइन अवार्ड २०२५’ जितेको यस एसयूभीमा एडीएएस २.५ सुइट अन्तर्गत १९ वटा उन्नत सुरक्षा सुविधा छन् । जबकि यस सेगमेन्टमा सामान्यतया ६ वटा मात्र हुन्छन् ।  कम्पनीले दीपल एस–०५ दुई भेरियन्टमा सार्वजनिक गरेको हो । जसको लाइट भेरियन्टको मूल्य ४८ लाख ९९ हजार र म्याक्स भेरियन्टको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको छ ।  यस्तै, नामीे–०६ पनि अटो शोमा राम्रो बिक्री गर्ने अपेक्षा कम्पनीको छ । एमएडब्ल्यू वृद्धिले सर्वाधिक बिक्री गरेको यो गाडीध्येको एक मोडल हो नामीे–०६ । यसको ब्याट्रीमा ९९ किलोवाट क्षमताको मोटर रहेको छ । कम्पनीका अनुसार यसको मूल्य ५७ लाखदेखि ६२ लाखसम्म रहेको छ ।  बीवाईडी   बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले नाडा अटो शोमा एट्टो–टु प्रदर्शनी राख्ने जनाएको छ । कम्पनीका अनुसार एट्टो–टु चिनियाँ बजारमा ३२ र ४५.१२ किलोवाट आवरको ब्याट्री प्याकमा उपलब्ध भए पनि नेपालमा भने ५१.३ किलोवाट आवरको एलएफपी ब्याट्रीमा उपलब्ध हुनेछ ।  ब्याट्रीको आकार एट्टो–थ्री एड्भान्सको भन्दा ठूलो रहेको कम्पनीले जनाएको छ । यसले एक पटकको चार्जिङमा ३४० किलोमिटर रेन्ज दिनेछ । कम्पनीले गाडीको मूल्य नाडा अटो शोमै सार्वजनिक गर्ने जनाएको छ । कम्पनीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा एट्टो–वान ह्याचब्याक सार्वजनिक गरेको थियो ।  टिकटमा छुट नाडा अटो शोमा १९ वटा चार पांग्रे ब्रान्ड, १३ वटा हलुका व्यावसायिक सवारीसाधन ब्रान्ड र ४ वटा दुईपांग्रे सवारी ब्रान्ड सहभागी हुने संयोजक बरालले जानकारी दिए ।  उनका अनुसार अटो शोमा ३५ कम्पनी (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू), १ सय २५ भन्दा बढी प्रदर्शक सहभागी हुने छन् । अटो शोमा १ लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । नाडा अटो शो अवलोकनका लागि सर्वसाधारणलाई २०० रुपैयाँ र विद्यार्थीहरूलाई परिचयपत्रका आधारमा १५० रुपैयाँ टिकट शुल्क तोकिएको छ । साथै अनलाइनमार्फत टिकट खरिद गर्ने दर्शकले २० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ ।  नाडाले अटो शो भव्य र सफल हुनेमा विश्वस्त रहेको बताउँदै सम्पूर्ण अटोप्रेमीहरूलाई अवलोकनका लागि भ्रमण गर्न आग्रहसमेत गरेको छ ।   

२५ अर्बको कारोबारमा सिमेन्ट उद्योगको नाफा १.१४ अर्ब रुपैयाँ मात्रै

काठमाडौं । पुँजी बजारमा सूचीकृत ४ वटा सिमेन्ट उद्योगले १ अर्ब भन्दा बढी नाफा गरेका छन् । शिवम् सिमेन्ट, घोराही सिमेन्ट इण्डष्ट्रिज, सोनापुर मिनिरल्स एण्ड आयल र सर्वोत्तम सिमेन्टले गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब १४ करोड ४४ लाख ७२ हजार रुपैयाँ नाफा गरेका हुन् । समीक्षा अवधिमा घोराही सिमेन्टबाहेक अन्य तीन वटा सिमेन्ट उद्योगको नाफा बढेको हो ।  गत वर्ष चारवटै सिमेन्ट उद्योगले २५ अर्ब रुपैयाँ बराबरको गरेका छन् । गत असारसम्ममा चार वटा उद्योगको सञ्चालन आम्दानी २३.७० प्रतिशत अर्थात् ४ अर्ब ७८ करोड ६४ लाख १८ हजार रुपैयाँ बढेर २४ अर्ब ९८ करोड ६ लाख ९६ हजार रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । अघिल्लो वर्ष २० अर्ब १९ करोड ४२ लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार गरेका थिए ।  गत वर्ष सबैभन्दा धेरै कारोबार सर्वाेत्तम सिमेन्टले गरेको छ । यस कम्पनीले ९ अर्ब ५५ करोड रुपैयाँ बराबरको व्यवसाय गरेको जनाएको छ । यस्तै, शिवम् सिमेन्टले ७ अर्ब ७६ करोड रुपैयाँ, घोराही सिमेन्टले ५ अर्ब ५ करोड रुपैयाँ र सोनापुरले २ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार गरेका हुन् । घोराही सिमेन्ट गत वर्ष ६६ करोड ३ लाख ७९ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा गत वर्ष नोक्सानी घटाएको हो । अघिल्लो वर्ष कम्पनीले १ अर्ब ४४ करोड ७० लाख ८० हजार रुपैयाँ नोक्सानी बेहोरेको थियो ।  गत वर्ष कम्पनीको सञ्चालन आम्दानी ५ अर्ब ५ करोड ८ लाख ४३ हजार रुपैयाँ छ । अघिल्लो वर्ष ४ अर्ब ४७ करोड ७९ लाख ७० हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । गत वर्ष कम्पनीको कुल नाफा १ अर्ब २ करोड ५९ लाख ८० हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ३० करोड ८५ लाख हजार रुपैयाँ कुल नाफा थियो । गत वर्ष कम्पनीको बिक्री लागत ४ अर्ब २ करोड ४८ लाख ६२ हजार रुपैयाँ, प्रशासनिक तथा वितरण खर्च २८ करोड ९० लाख २९ हजार रुपैयाँ, वित्तीय लागत ८९ करोड २० लाख ६९ हजार रुपैयाँ रहेको छ ।  अर्ब ५६ करोड ७६ लाख ८५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको सञ्चित नाफा अर्ब ३८ करोड २७ लाख ६६ हजार रुपैयाँ र सेयर प्रिमियम २ अर्ब ६५ करोड ८४ लाख ६८ हजार रुपैयाँ रहेको छ । सर्वोत्तम सिमेन्टको गत वर्ष खुद नाफा ५७२.५१ प्रतिशत १ अर्ब ४५ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले १४ करोड ९३ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  समीक्षा वर्षमा कम्पनीको सञ्चालन आम्दानी ४९.८७ प्रतिशत बढेर ९ अर्ब ५५ करोड ३ लाख ४८ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ६ अर्ब ३७ करोड २३ लाख ३९ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  कम्पनीको कुल नाफा १७३.०१ प्रतिशत बढेर २ अर्ब ६ करोड २३ लाख ८३ हजार रुपैयाँ र अन्य आम्दानी २१८.०२ प्रतिशत बढेर २१८.०२ प्रतिशत बढेर १६ करोड १९ लाख ६९ हजार रुपैयाँ रहेको छ ।   कम्पनीको प्रशासन खर्च ५६.१८ प्रतिशत बढेर १६ करोड ३५ लाख ६३ हजार रुपैयाँ, वितरण खर्च १७५.३७ प्रतिशत बढेर ४८ करोड ८५ लाख ८९ हजार रुपैयाँ र कुल खर्च ५४.३८ प्रतिशत बढेर ९४ करोड ८१ लाख ८८ हजार रुपैयाँ गरेको छ ।  गत वर्ष कम्पनीको चुक्ता पुँजी ७ प्रतिशत बढेर ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ र अन्य इक्विटी १२.८५ प्रतिशत बढेर ४ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ रहेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी १६.९ड रुपैयाँ बढेर २०.१९ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ रहेको छ । सोनापुर मिनरल्स एण्ड आयलको गत वर्ष खुद नाफा ६१ लाख ५० हजार रुपैयाँ धनात्मक छ । अघिल्लो वर्ष कम्पनीले ४७ करोड १० लाख ८ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो ।  गत वर्ष कम्पनीको सञ्चालन आम्दानी ५९.४७ प्रतिशत बढेर २ अर्ब ६१ करोड ५२ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले १ अर्ब ६३ करोड ९९ लाख ९ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी १ हजार ८५६.७० प्रतिशत बढेर १ करोड २२ लाख ४९ हजार रुपैयाँ र कुल नाफा ७१२.५० प्रतिशत बढेर ७० करोड ६ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।  अघिल्लो वर्ष १३ करोड ६४ लाख ४१ हजार रुपैयाँ ऋणात्मक रहेको कम्पनीको सञ्चालन नाफा गत वर्ष ४३ करोड ७० लाख ४५ हजार रुपैयाँ धनात्मक भएको छ ।  ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष २८८.८६ प्रतिशत बढेर १ अर्ब १२ करोड ९२ लाख ९५ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २० पैसा धनात्मक भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १५.३२ रुपैयाँ ऋणात्मक थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १९०.४९ रुपैयाँ रहेको छ ।  ​​​​​​​ शिवम् सिमेन्टको गत खुद नाफा २०५.८५ प्रतिशत बढेर ७९ करोड ४१ लाख ८ हजार रुपैयाँ रुपैयाँ आर्जन गरेको छ । कम्पनीले अघिल्लो वर्ष २५ करोड ९६ लाख ३७ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।  गत वर्ष कम्पनीको सञ्चालन आम्दानी ०.७८ प्रतिशत बढेर ७ अर्ब ७६ करोड ४२ लाख ९६ हजार रुपैयाँ, अन्य आम्दानी ३०.७८ प्रतिशत घटेर १३ करोड ९४ लाख रुपैयाँ र कुल नाफा ६६.२९ प्रतिशत बढेर १ अर्ब ७२ करोड ९३ लाख ७८ हजार रुपैयाँ गरेको छ ।  समीक्षा वर्षमा कम्पनीको बिक्री लागत ९.४४ प्रतिशत घटेर ६ अर्ब ३ करोड ४९ लाख १७ हजार रुपैयाँ गरेको छ ।  कम्पनीको प्रशासनिक खर्च २१.४६ प्रतिशत बढेर २७ करोड ५१ लाख ३६ हजार रुपैयाँ, वितरण खर्च ३.६७ प्रतिशत घटेर ६५ करोड ५३ लाख ४६ हजार रुपैयाँ, वित्त लागत ७९.५० प्रतिशत घटेर १ करोड १ लाख ८६ हजार रुपैयाँ र कुल खर्च १.६६ प्रतिशत घटेर ९४ करोड ६ लाख ६९ हजार रुपैयाँ गरेको छ ।  गत वर्ष कम्पनीको चुक्ता पुँजी ८.५४ प्रतिशत बढेर ५ अर्ब ४५ करोड ६८ लाख ८ हजार रुपैयाँ, सेयर प्रिमियम रिजर्भ ९५ करोड ६२ लाख ३३ हजार रुपैयाँ र अन्य जगेडा कोष १०.४६ प्रतिशत बढेर ३ अर्ब ८७ करोड ६७ लाख ५६ हजार रुपैयाँ रहेको छ । गत असारसम्म कम्पनीको प्रतिसेयर आम्दानी १४.५५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८८.५७ रुपैयाँ रहेको छ ।

विश्वको दोस्रो धनी व्यक्ति बने ल्यारी एलिसन, एकै वर्ष १०७ अर्ब डलरको वृद्धि

काठमाडौं । विश्वका धनीहरूको सूचीमा यस वर्ष ओरेकलका संस्थापक ल्यारी एलिसन तीव्र गतिमा अगाडि बढेका छन् । यस वर्ष मात्रै उनको नेटवर्थमा १०८ अर्ब डलरको वृद्धि भएको छ । हाल एलिसनको कुल नेटवर्थ ३०१ अर्ब डलर पुगेको छ । यस आधारमा उनी एलन मस्क (३७२ अर्ब) पछि दोस्रो स्थानमा छन् । एलिसन ओरेकलका संस्थापक मात्र होइनन्, कम्पनीका सबैभन्दा ठूलो सेयरधनी पनि हुन् । ओरेकल मुख्यतया डेटाबेस सफ्टवेयर विकास गर्ने कम्पनी हो । ल्यारी एलिसनको जन्म १९४४ मा न्युयोर्कमा भएको हो । उनी एकल महिलाको सन्तान थिए । नौ महिनाको उमेरमा निमोनिया भएपछि उनकी आमाले उनलाई आफ्नी दिदी–भिनाजुलाई सुम्पिएकी थिइन् । उनको बाल्यकाल सिकागोको साउथ साइडमा बित्यो । एलिसनले युनिभर्सिटी अफ इलिनोई र युनिभर्सिटी अफ शिकागो दुबै अधुरै छाडे । पछि २२ वर्षको उमेरमा उनी क्यालिफोर्नियाको बर्कले सरे र एम्पेक्स नामक कम्पनीमा कम्प्युटर प्रोग्रामरको काम सुरु गरे । सन् १९७७ मा उनले आफ्ना दुई सहकर्मीहरूसँग मिलेर कम्पनी स्थापना गरे, जसको नाम पछि ओरेकल राखियो। ओरेकलले प्रारम्भमा अमेरिकी खुफिया निकाय सीआईएका लागि डेटाबेस तयार पारेको थियो । कम्पनीले १९८६ मा आईपीओ ल्याएर आफ्नो व्यावसायिक विस्तार सुरु ग¥यो । सन् २०१० मा ओरेकलले सन माइक्रोसिस्टम्स लाई ७.४ अर्ब डलरमा किने । सन् २०१६ मा कम्पनीले नेटसुइटलाई ९ अर्ब डलरमा अधिग्रहण गर्‍यो । ३१ मे २०२४ मा समाप्त भएको वर्षमा कम्पनीले ५३ अर्ब डलर राजस्व आर्जन गर्‍यो । हाल एलिसनसँग कम्पनीका ४० प्रतिशतभन्दा बढी सेयर रहेका छन् । ओरेकलको मुख्यालय अस्टिन, टेक्सासमा रहेको छ । कम्पनीसँगै एलिसनले टेस्लामा पनि लगानी गरेका छन् । उनीसँग आफ्नो सेलिङ टिम, इन्डियन वेल्स टेनिस इभेन्ट तथा हवाईको लनाइ टापु समेत छ । ८० वर्षीय एलिसन आफ्नो विलासी जीवनशैलीका लागि प्रख्यात छन् । उनले लक्जरी रियल एस्टेटमा ठूलो लगानी गरेका छन् । सन् २०१० मा उनले आफ्नो सम्पत्तिको कम्तीमा ९५ प्रतिशत दान गर्ने वाचा गरेका थिए । करिब ३७ वर्षसम्म ओरेकलको नेतृत्व गरेपछि एलिसनले सेप्टेम्बर २०१४ मा सीईओ पदबाट राजीनामा दिएका थिए । हाल उनी कम्पनीका चेयरम्यान र चीफ टेक्नोलोजी अफिसर (सीटीओ) छन्। सन् २०१८ देखि २०२२ सम्म उनी टेस्लाको बोर्डमा समेत रहे । सन् २०१२ मा उनले हवाईको एउटा पूरा टापु ३०० मिलियन डलरमा खरिद गरे र २०२० देखि स्थायी रूपमा त्यहीँ बस्न थाले । ओरेकल र टेस्लासँगै उनको कयौं अन्य कम्पनीमा पनि हिस्सेदारी छ ।