आन्तरिक वायुसेवासँग ४३ जहाज, काठमाडौंबाट मात्रै दैनिक तीन सय उडान

काठमाडौं । आन्तरिक वायुसेवामा तीब्र प्रतिस्पर्धा बढ्न थालेको छ । वायुसेवा कम्पनीबीच एकपछि अर्कोले जहाज थप गर्ने र सेवा संचालनको दायरा बढाउने कार्यलाई तीब्रता साथ अगाडि बढाइरहेका छन् । काठमाडौं विमानस्थलाई आधार बनाएर उडान गर्ने वायुसेवाको प्रतिस्पर्धा बढ्नुले यात्रु सेवामा सहजता हुने गरेको भएपनि दुर्गम क्षेत्रमा भने अझै समस्या छ । हाल नेपालका विभिन्न १० वटा आन्तरिक वायसेवासँग ४३ वटा जहाज रहेका छन् । यी जहाजमार्फत काठमाडौं विमानस्थलबाट मात्रै दैनिक साढे तीन सय वटासम्म उडान हुने गरेको छ । याे जहाज स‌‌ख्या नियमित उडानका वायुसेवाकाे मात्रै हाे । हेलिकाेप्टरले चार्टर उडान गर्ने भएकाेले तीनकाे स‌‍ख्या उल्लेख छैन । हेलिकाेप्टर स‍ख्या करीब डेढ दर्जन रहेकाे छ । पर्यटकीय सिजनमा सबैभन्दा बढी उडान तथा अवतरण हुने गरेको त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । उनका अनुसार अहिले पर्यटकीय सिजन नहुँदा पनि दैनिक ११० वटा उडान र सोही नै संख्यामा अवतरण हुने गरेका छन् । यो तथ्यांक पर्यटकीय सिजनमा दोब्ब नै हुने गरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ । उनका अनुसार पर्यटकीय सिजनमा दैनिक ३ सय उडान सामान्य हो । नेपालमा जहाज कम्पनी थप हुने र वायुयान बढ्दै गएको भएपनि समस्या नै रहेको वायुसेवा संचालक संघका प्रवक्ता घनश्याम आचार्यले बताए । सीता एयरका महाप्रवन्धक रहेका अचार्यका अनुसार सेवा दिन जहाज थप गर्नुपर्ने वाध्यता छ । जहाज नहुँदा यात्रुको चाप धान्नै समस्या हुन्छ जहाज हुँदा विमानस्थलको चापले अर्को समस्या हुने गरेको उनको बुझाई छ । उनका अनुसार वायुसेवा कम्पनीले आफ्नो बजार बढाउन पनि जहाज थप गर्ने पर्ने वाध्यता रहेको छ । कुन बायुसेवाका कति जहाज बुद्ध एयर                       ९ वटा तारा एयर                      ७ वटा यति एयरलाईन्स          ६ वटा गोमा एयर                     ६ वटा नेपाल वायुसेवा निगम   ६ वटा सिम्रिक एयरलाईन्स      ४ वटा सीता एयर                     २ वटा सौर्य एयर                      १ वटा मकालु                           १ वटा काष्टमण्डप                  १ वटा जम्मा                         ४३ वटा आन्तरिक वायुसेवा तीब्र प्रतिस्र्पाधाले यात्रुलाई सहज हुने भएपनि सुगम क्षेत्रलाई धानेको भएपनि दुर्गमममा समस्या रहेको यति एयरलाइन्सका अपरेसन निर्देशक गोविन्द पौडेलले बताए । उनका अनुसार जति जहाज भएपनि सिजनमा पुग्दैन । अफ सिजनमा विमानस्थको भिजिविटिली कम हुँदा समस्या हुने गरेको छ । उनका अनुसार बजारको आवश्यकता पूरा गर्न र आफ्नो मार्केट बढाउन पनि जहाज थप गर्ने रणनीतिलाई सामान्य नै मान्नुपर्ने पौडेलको तर्क छ । एउटा वायुसेवा आउँदैमा र जहाज थप गर्दैमा समस्या हुने अवस्था नरहेको र बजार बढ्दै गएकोले आवश्यकताको सिद्धान्त अनुसार सेवा विस्तार भएको सौर्य एयरका प्रवन्ध निर्देशक गोपाल भट्टराईले बताए । उनका अनुसार जहाज कम्पनीले दिने सेवा र सुविधाले यात्रु तान्न सक्छन । जसको सेवा र सुविधा राम्रो हुन्छ उतै यात्रु जाने भएकोले पनि आवश्यकता अनुसार सेवामा प्रतिस्पर्धा गर्नुपर्छ । हाल १ मात्रै जहाज रहेको कम्पनीले करिब ५० देखि ६० करोड खर्चेर थप अर्को जहाज ल्याउने तयारी थालेको छ । जहाज आगामी १५ दिनमा आउने पनि उनको दाबी छ । अान्तिर वायुसेवाका यी जहाजमध्ये काष्टमण्डपबाहेक सबैकाे उडान भइरहेकाे छ । याे वायुसेवाेकाे भने हाल जहाज भएरपनि उडानमा राेक लागेकाे छ । पछिल्लो समय आन्तरिक वायुसेवा कम्पनी सबैभन्दा बढि जहाज बनाउने र प्रतिस्पर्धा गर्नेमा बुद्ध र यति एयर नै अग्र स्थानमा रहेका छन् । दुबै वायुसेवाले क्षमता बढाउने र बजार बिस्तारमा नयाँ रणनीति बनाएर अगाडि बढिरहेका छन् । दुबै वायुसेवाले नेपाली आकासमा एटीआर नामक आधुनिक वायुसेवा थप गरेर सेवा दिने भएका छन् । बुद्धसँग ७ वटा एटीआर जहाज नै छ भने यतिले पनि चार वटा ल्याउने प्रक्रियालाई अगाडि बढाएको छ ।

मदिरा र सुर्तिजन्य पदार्थलाई व्यवस्थित गर्न थप ऐन ल्याउने तयारि, व्यवसायिद्वारा असन्तुष्टी व्यक्त

काठमाडौं। सरकारले मदिरा तथा सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट तथा पार्सलमा चेतनामूलक सन्देश तथा चित्र राख्ने निर्देशिकालाई कार्यान्वयनमा ल्याउन उद्योगी व्यवसायीले अटेर गरेपछि स्वास्थ्य मन्त्रालयले यससम्बन्धी ऐन नै ल्याउने तयारी गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता भोगेन्द्र डोटेलले सार्वजनिक स्थलमा धुम्रपान नियन्त्रण तथा नियमावलीको प्रावधानलाई कार्यान्वयन गर्न अनुगमनलाई पनि प्रभावकारी बनाइने बताए। उनका अनुसार व्यवासायीले अटेर गरे त्यसको मुल्य उनीहरुले नै चुकाउनुपर्ने बताए। स्वास्थ्य मन्त्रालयले हालै जारी गरेको मदिरा नीतिलाई प्रभावकारी कार्यान्वयनमा ल्याउन मदिरा ऐन ल्याउन लागिएको उनले जानकारी दिए। उनले नयाँ नीतिले दिर्घकालिन रुपमा सकारात्मक असर र राम्रो काम हुने भन्दै कुनैपनि हालतमा ऐन ल्याएर कार्यान्वयन गर्ने बताए। स्वास्थ्य मन्त्रालयले सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका ०७२ जेठ १ गतेदेखि कार्यान्वयनमा ल्याएको थियो। निर्देशिकामा सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्सपेटी तथा पार्सलमा ९० प्रतिशत चेतनामूलक सन्देश चित्र राख्नुपर्ने तथा सार्वजनिक स्थलमा धुम्रपान गर्न नपाइने प्रावधान छ । निर्देशिका लागु आएपछि सरदर दैनिक ११ वटा चुरोट उपभोग गर्ने अहिले पाँच वटामा झरेको अध्ययनमा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। व्यवसायीहरुको असन्तुष्टी राज्यको राजस्वमा महत्वपूर्ण योगदान रहेको मदिराजन्य क्षेत्रलाई नियमन गर्ने नाममा हचुवाको भरमा नीति ल्याइएको भन्दै मदिरा उत्पादक तथा व्यवसायिले यसअघि नै विरोध गर्न थालिसकेका छन्। मदिरा उत्पादक संघका अध्यक्ष रवि केसीले सरकारले आफूहरुसँग छलफल नै नगरी नीति ल्याएको  भन्दै मदिराको वर्तमान अवस्था र भविष्य नहेरी हचुवाको भरमा नीति आएकाले व्यवसायीहरुको भविष्य अन्धकारमा परेको बताए। उनले सरकारले जिम्मेवारीपूर्वक तरिकाले व्यवसायीसँग प्रस्तुत हुन र सरकार र व्यवसायी मिलेर समस्याको समाधान गर्न सकिने बताए। उनले नीतिले नियमन भन्दा मदिरा व्यवसायलाई पूर्ण रुपमा नियन्त्रण गर्ने खालको भन्दै सरकारले व्यवसायीको उठीबास लगाउने गरी नीति ल्याएको बताएका छन्।

महावौद्धका व्यापारी र बैंक उस्तै भए, राष्ट्र बैंक के हेर्दैछ ?

डा. चन्द्रमणि अधिकारी लगानी गर्ने बेलामा दीर्घकालीन सोच नराखी महावौद्धका खुद्रा व्यापरीले जस्तो रातारात कमाउने गरी लगानी गर्ने अनि अहिले रुवाबासी गरेर सरकार गुहार्ने ? लिने ब्याज चैं हरेक दिन बढाउँदै जाने, दिने ब्याजमा कोर्टेलिङ गर्ने ? बचत खातामा ब्याज रत्तिभर नबढाउने । यो धृष्टता किन ? राष्ट्र बैंक के हेर्दैछ ? खास गरी क वर्गका वाणिज्य बैंकहरुको नियतमा प्रश्न उब्जेको छ । दीर्घकालिन तथा दीगो व्यवसायमुखी र आर्थिक समृद्धिका योजनामा लगानी गर्नुपर्नेमा अल्पकालिन सट्टेबाजी लगानी भैरहेको छ । बैंकहरुले साहुकार प्रवृत्तिमा रमाएर लगानी गर्दैछन । बैंकहरुले त्यसरी लगानी गर्न मिल्दैन् । बिग्रीएको जति विषयमा अन्य वित्तिय संस्था तथा सहकारीलाई दोष थोपर्ने तर लगानी, निक्षेप रं पूँजि परिचालनबीच सन्तुलन नराख्ने वाणिज्य बैंकहरुको प्रवृत्तिमा सुधार हुनुपर्छ । बैंकहरुले नाफा कमाउनु पर्छ भन्ने कुरामा कसैको दुई मत छैन तर नाफा मात्रै खोज्ने कुरा चाँही स्विकार गर्न सकिन्न । नाफाले नै वित्तिय संस्थाहरुलाई उत्प्रेरणा र अग्रताको बाटोमा लैजान्छ । तर त्यस्तो मुनाफा उचित हुनु पर्छ । न्यायसंगत हुनुपर्छ । व्यवसायिक योजना तथा दीर्घकालिन र दीगो व्यवसायिक सोच सहित लगानी गरेर नाफा कमाउनु बैंकहरुको कर्तव्य हो । बैंक र अन्य व्यवसायमा धेरै अन्तर छ । रेष्टुरेन्ट चलाउनु वा खुद्रा व्यपार गर्नु र बैँक चलाउनु फरक विषय हो । तर बैंकरहरुले यस्तै कुरा बुझेनन् र राष्ट्र बैंकले उचित नियमन गर्न नसक्दा लगानी योग्य पूँजीको चराम अभावको अवस्थामा मुलुक पुगेको हो । बैंकिङ व्यवसायसका छुट्टै आधार हुन्छन् । यो खुद्रा व्यापार वा स्टक मार्केट जस्तो होइन् । बैंकिङ क्षेत्र र उत्पादनशिल क्षेत्र एक अर्काका परिपूरक हुन् । बैंकिङ क्षेत्रको विस्तारले उत्पादन मुलक क्षेत्रको विकास हुनु पर्ने हो । तर हामी कहाँ बैंकहरुले एकै बर्षमा धेरै नाफा दिने गरि अनुत्पादक क्षेत्रमा लगानी गरेका छन् । साना बचत कर्तालाई ब्याज दिन नमान्ने ठुलालाई मात्रै धेरै ब्याज दिने कुरा पनि गलत भयो । यस्तो प्रवृत्तिबाट बैंकहरु सुध्रिनु पर्छ । अब बैंकहरुले लगानीसँगै निक्षेप संकलन, पूँजी वृद्धि र रिजर्भ फण्डको उपयोगको योजना पनि सँगै बनाउनु पर्छ । भारतमा बढिमा २ प्रतिशतको स्प्रेड दर छ । हामी कहाँ ५ प्रतिशत दिइएको छ तर बैंकहरुले छिद्रहरुको प्रयोगद्धारा त्यो सिमा पनि नाघेका छन् । बैंकिङ क्षेत्र ठिक ढंगले नचलेको अवस्थामा नियामक सक्रिय हुनुपर्ने हो । लगानी कर्ता र बचत कर्ता दुबै माथी न्याय हुनुपर्छ । हिजो ६/७ प्रतिशतमा फकाई फकाई लगानी गर्ने अनि अहिले १२/१३ प्रतिशत ब्याज लिने कुरा ठिक भएन । केन्द्रिय बैंकले सहि ढंगले कदम चाल्नु पर्छ । अर्थमन्त्रालय पनि सक्रिय हुनुपर्छ ।(डा. अधिकारीसँग गरिएको कुराकानीमा आधारित)