अब योगदानमा आधारित पेन्सन, सरकारी कर्मचारीको १० प्रतिशत तलब काटिने

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षदेखि योगदानमा आधारित पेन्सनको व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री कृष्ण बहादुर महराले पेश गरेको आगामी आर्थिक बर्षको बजेट वक्तव्यले योगदानमा आधारित पेन्सनको व्यवस्था कार्यान्वयन गर्ने भनेको छ । योगदानमा आधारित पेन्सन कार्यान्वयनका लागि सरकारले आगामी आर्थिक बर्षभित्रै निवृत्तिभरण ऐन ल्याउने बताइको हो । यस अघि नै १० प्रतिशत कर्मचारी र १० प्रतिशत सरकारले व्यहोर्ने गरि निवृत्तिभरण ऐनको मस्यौदा बारे प्रारम्भिक छलफल भैरहेको छ । निवृत्तिभरण ऐन लागु भएपछि नियुक्त हुने निजामती, जंगी, प्रहरी र शिक्षकका लागि योगदानमा आधारित पेन्सन लागु हुनेछ ।

तीन वटा विमानस्थल बनाउन १३ अर्ब ७३ करोड, निजगढको ग्लोबल टेण्डर निकाल्ने

काठमाडौं । सरकारले निजगढ, भैरहवा र पोखरा विमानस्थल निर्माणका लागि १३ अर्ब ७३ करोड रुपैंयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री कृष्ण बहादुर महराले व्यवस्थापिका संसदमा पेश गरेको आगामी आर्थिक बर्षको वजेट अनुसार तीन वटा बिमानस्थलको निर्माणलाई उच्च प्राथमिकतासहित १३ अर्ब ७३ करोड विनियोजन गरेको हो । सरकारले लुम्बिनी विमानस्थल ०७५ साल भित्रै निर्माण सक्ने र पोखरा अन्तराष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षबाट निर्माण आरम्भ गर्ने बताएको छ । त्यस्तै निजगढ अन्तराष्ट्रिय विमानस्थलको ग्लोबल टेण्डर पनि आगामी आर्थिक बर्षभित्रै गरिसक्ने बताएको छ ।

रेमिटेन्स बैंक खातामा मात्रै, रेमिट हाइड्रोमा लगानीको अवसर पनि

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षदेखि विदेश जाने नेपाली कामदारका लागि बैंक खाता अनिवार्य गरेको छ । त्यसरी खोलिएका खातामा मात्रै उनीहरुले रेमिटेन्स पठाउन पाउनेछन् । वैदेशिक रोजगारीमा गएका नेपालीहरुले आफ्नो आम्दानीको केहि हिस्सा स्वेच्छाले जलविद्युत उत्पादनमा लगाउन पाउनेछन् । त्यसका लागि रेमिट होइड्रो कार्यक्रम अघि बढाउने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।