कम्पनी ऐन संशोधनपछि ७२ कम्पनी खारेजीमा, (सुचिसहित)
काठमाडौं । कम्पनी ऐन संशोधन भएपछि ७२ कम्पनी खारेजीमा गएका छन् । कम्पनी ऐनको पहिलो संशोधनले पुराना कम्पनीलाई चुक्ता पुँजीको ०.५ प्रतिशत शुल्क बुझाएर खारेजीमा जाने सुबिधा उपलब्ध गराएपछि ती कम्पनी खारेजीमा गएका हुन् । खारेज कम्पनीको विवरण हेर्न यहाँ क्लिक गर्नुस खारेजीमा जाने कम्पनीका सञ्चालकहरुले चुक्ता पुँजीको ०.५ प्रतिशत शुल्क बुझाएर बन्द गर्न बाटो खुल्ने कम्पनी रजिष्टार कार्यालयले जनाएको छ ।पुराना कम्पनी बन्द गर्न चाहनेहरुका लागि तयार पारेको आवेदन फारम, कम्पनी खारेजी सम्बन्धी साधारण सभाले गरेको निर्णयको माइन्युट, लेखा परीक्षण प्रतिवेदन, कर चुक्ताको प्रमाणपत्र र अन्य निकायबाट अनुमति लिएका भए त्यस्तो निकायबाट अनुमति लिएको प्रमाणपत्र उपलब्ध गराउनु पर्ने राजिष्टार कार्यालयका आशिष श्रेष्ठले बताए । स्थानीय तहदेखी नै चरणबद्ध भएर मन्त्रालयसम्म आइपुग्नु पर्ने भएकाले पनि तत्काल ७२ कम्पनी मात्र खारेजीमा गएका हुन् । अहिलेसम्म ७२ वटा मात्रै खारेजीको पत्र मात्र आएको उनले बताए । कम्पनी खोल्न भन्दा पनि बन्द गर्न समस्या हुदै आएको थियो । कम्पनी ऐन संशोधन भएपछि चुक्तापुँजी ०.५ प्रतिशत शुल्क बुझाएपछि खारेजीमा जान सक्ने व्यवस्था गरिएको छ । अब विविध कारणले सञ्चालन हुन नसकेको उद्योग प्रतिष्ठाले स्वेच्छिक खारेजीमा जान सक्ने छन् ।
सेयर मूल्य बढेपछि एप्पल इंक बन्यो सर्वाधिक महंगो कम्पनी, बजार मूल्य १० खर्ब डलर
एजेन्सी । आईफोन निर्माता कम्पनी एप्पल इंकको बजार मूल्य बढेर १० खर्ब अमेरिकी डलर पुगेको छ । विश्वको अगुवा प्रविधि कम्पनी एप्पलको बजार पुँजीकरण बढ्नुमा सेयर मूल्य मुल कारण रहेको छ । एप्पलको सेयर मूल्य बढेर २०७ डलर कटेको छ । यो हालसम्मको सबैभन्दा बढी मूल्य हो । एप्पलको नाफा ३० प्रतिशत बढेको छ । उसको नाफा बढेर ११ अर्ब ५० करोड डलर पुगेको छ । एप्पलको आम्दानी १७ प्रतितश बढेर ५३ अर्ब ३० करोड डलर पुगेको भारतको फाइनान्सियल एक्सप्रेसले बताएको छ ।गत जुनसम्म एप्पलले ४१ करोड ३० लाख थान आईफोन बिक्री गरेको छ । ४२ वर्ष पुरानो एप्पल बुधबार अमेरिकाको सर्वधिक महंगो कम्पनी भएको हो । चीन सरकार स्वामित्वको पेट्रोचाइनाको रेकर्डलाई एप्पलले तोडेको फाइनान्सियल एक्प्रेसले जनाएको छ । पेट्रो चाइनाले सन् २००७ मा साधारण सेयर (आईपीओ) निष्कासन गरेपछि उसको बजार पुँजीकरण १० खर्ब १ अर्ब डलर नाघेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । एप्पलको १ अर्ब डलरबाट १० खर्ब डलरको यात्रा सन् १९८० मा एप्पलको बजार पुँजीकरण १ अर्ब डलर थियो । सोही वर्षको डिसेम्बरमा एप्पलको सेयर नासाडकमा कारोबारका लागि सुचिकृत भएको थियो । सन् २००७ मा एप्पलको बजार पुँजीकरण १ खर्ब डलर पुगेको थियो । ११ वर्षको अवधिमा एप्पलको सम्पत्ति ९ खर्ब डलर बढेको छ । र, अमेरिकाको सबैभन्दा मूल्यवान कम्पनी एप्पल भएको छ ।
नागढुङगा-धुलीखेल मेट्रो रेलको अध्ययन गर्न ६ कम्पनी प्रारम्भिक छनौटमा
काठमाडौं । नागढुङगा-धुलीखेल मेट्रो रेलको विस्तृत सम्भाव्यता अध्ययनका लागि ६ वटा कम्पनी प्रारम्भिक छनौटमा परेका छन् । लगानी बोर्डले विस्तृत सम्भाव्यता अध्ययनका लागि आव्हान गरेको ग्लोबल टेण्डरमा २३ वटा कम्पनीहरुले आवेदन दिएका थिए । तीमध्ये ६ वटा कम्पनी प्रारम्भिक छनौटमा परेका हुन् । ‘आवेदन दिएका २३ कम्पनीमध्ये ६ वटा प्रारम्भिक छनौटमा परेका छन्, तीमध्येबाट एउटा कम्पनीले विस्तृत सम्भाव्यता अध्ययन गर्ने जिम्मेवारी पाउनेछ’, लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले भने । बोर्डले जेठ ३ गते सार्वजनिक सूचना निकालेको थियो । बोर्डले अर्काे हप्ता ती कम्पनीहरुको विवरण सार्वजनिक गर्न तयारी अन्तिम चरणमा पुर्याएको हो । तीर्न ६ वटा कम्पनीहरुले बुझाएका थप विवरणहरुका आधारमा विस्तृत सम्भाव्यता अध्ययन गर्ने कम्पनीको छनौट हुनेछ । त्यसरी छनौट हुने कम्पनीले सम्भाव्यता भन्दा विस्तृत र डीपीआर भन्दा तल्लो स्तरको प्रतिवेदन तयार पार्नेछ । विस्तृत सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेपछि लगानी बोर्डकै अगुवाईमा निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा सो रेलमार्ग निर्माणको प्रक्रिया अगाडि बढाइनेछ । लगानी बोर्डको बैशाख १५ गते बसेको बैठकले ४५ किलोमिटर लामो नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल मेट्रो रेलको विस्तृत सम्भाव्यता अध्ययनको प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । लगानी बोर्डले राािष्ट्रय योजना आयोगका पुर्वाधार हेर्ने तत्कालिन सदस्य हिरेन्द्रमान प्रधान नेतृत्वको कार्यदलले पहिलो चरणमा नागढुंगा कलंकी कोटेश्वर धुलिखेल मेट्रो रेल बनाउन सकिने सिफारिस गरेको थियो । मेट्रो रेलको प्रति किलोमिटर लागत ४ अर्ब हुने प्रक्षेपण गरिएको छ । यसको कुल लागत १८० अर्ब पुग्नेछ । लगानी बोर्डले निर्माण, सञ्चालन र हस्तान्तरण(बुट) मोडलमा मेट्रो रेल निर्माण गर्ने सोँच बनाएको छ ।