विन बहुउद्देशीय सहकारीको १४ औं व्यापार मेला हुँदै, महिला उद्यमीका उत्पादन प्रदर्शनी हुने
काठमाडौं । विन बहुउद्देशीय सहकारी संस्थाले ट्रेड फेयर आयोजना गर्ने भएको छ । विन बहुउद्देश्यीय सहकारीले यही साउन २६, २७ र २८ गते १४ औं संस्करणको ट्रेड फेयर अर्थात व्यापार मेला २०८० आयोजना गर्न लागेको हो । महालक्ष्मीस्थान स्थित डिलाइट पार्टी भेन्युमा हुने व्यापार मेलामा ५१ वटा स्टलहरू रहने छन् । मेलामा सहकारीका सदस्य महिला तथा अन्य व्यक्तिगत महिला उद्यमीले तयार पारेका चाँदी तथा धातुका गरगहना, प्राकृतिक रेशा, नेपाली कागज, पस्मिना, फेल्ट, उनी, काष्ठ, पोते, नेपाली ढाँका, कपडा, अचार, चटनी, अष्टमण्डल, क्वाटी, चकलेट, फुरनदाना, क्याण्डी, तितौरा, मस्यौरा लगायत नवरस ब्राण्डका सामग्री प्रदर्शनी तथा बिक्री हुने विन बहुउद्देशीय सहकारीले जानकारी दिएको छ । मेलालाई अझै आकर्षक बनाउन विन बहुउद्देशीयले गिफ्ट भौचर, उपहार, निःशुल्क वाईफाई, निःशुल्क मास्क, निःशुल्क चिया, खानेपानी, विभिन्न जिल्लाका रैथाने उत्पादन, खाजाका स्टल, फेस पेन्टिङ, नेल पेन्टिङ, मेहिन्दी लगायतको व्यवस्था गरेको छ । विन बहुउद्देश्यीय सहकारीले महिलाहरूलाई उद्यमी बनाउन बेसिकदेखि एडभान्ससम्मको तालिम समेत सञ्चालन गर्दै आएको छ । तालिममा सहभागीले बनाएका उत्पादनको प्रवर्द्धन गर्न मेलामा प्रदर्शनी र प्रतियोगिताको समेत आयोजना हुने सहकारीले जनाएको छ । यसका साथै महिला उद्यमशीलता तालिमका नयाँ उत्पादन अष्टमण्डल, बेकरी, क्यान्डी, तितौरा, अचार र स्न्याक्स पनि मेलामै सार्वजनिक हुने बताइएको छ । ३ दिनसम्म चल्ने मेला १० देखि १५ हजारले अवलोकन गर्ने र ५० देखि ७५ लाखसम्मको कारोबार हुने अपेक्षा गरिएको छ । विन बहुउद्देशीय सहकारी संस्था महिलाहरूको सामाजिक तथा आर्थिक विकास गर्ने उद्देश्य लिएर सन् १९९१ मा सहकारी ऐन अन्तर्गत स्थापना भएको बजारीकरण गर्ने नेपालकै पहिलो सहकारी संस्था हो । संस्थाले स्थापना कालदेखि नै आफ्ना महिला सदस्यका साथै उनीहरूको सहभागीताजमा सञ्चालित उद्योग व्यवसायबाट उत्पादन गरिएका वस्तु एवं सेवाहरूलाई स्वदेश तथा विदेशमा बजारीकरण गर्दै आएको छ । यस बाहेक महिलाहरूलाई उद्यमी बनाउने उद्देश्यले सीप अभिवृद्धि तालिम समेत सञ्चालन गर्दै बजारीकरण सहयोग गर्दै आएको छ ।
राष्ट्र बैंकले ५ रुपैयाँका १५ करोड सिक्का बजारमा ल्याउने
काठमाडौं । सरकारले ५ रुपैयाँका दरका १५ करोड थान सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्री परिषदको बैठकले सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । हाल नेपाल राष्ट्र बैंकको टक्सार विभागले १ रुपैयाँ र २ रुपैयाँ दरको सिक्का मात्रै टकमरी गर्दै आएको छ । सरकारले स्वीकृति दिएसँगै अब राष्ट्र बैंकले ५ रुपैयाँ दरको सिक्का बजारमा ल्याउने छ । ५ रुपैयाँ दरको नयाँ सिक्का नयाँ डिजाइनमा आउने छ । जसमा नेपालको संस्कृति झल्कने र राष्ट्रिय जनावर पनि अंकित हुने छ । यसअघि पनि ५ रुपैयाँको सिक्का प्रचलनमा थियो ।
खराब कर्जा बढेपछि लक्ष्मी लघुवित्तको नाफा ऋणात्मक
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा ८ करोड ३४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १५ करोड ९० लाख रुपैयाँ खुद नाफा गरेको थियो । लघुवित्तको ब्याज आम्दानी घटेर खराब कर्जा बढेका कारण नाफामा असर पुगेको हो । लघुवित्तको ब्याज आम्दानी ३१.३२ प्रतिशत घटेर ३६ करोड ६९ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ५३ करोड ४३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । साथै, लघुवित्तको खराब कर्जा ३.२७ प्रतिशतबाट बढेर ८.३६ प्रतिशत पुगेको छ । लघुवित्तको नेट फि तथा कमिशन आम्दानी २९.०१ प्रतिशत घटेर ५ करोड ६१ लख रुपैयाँ, कुल सञ्चालन आम्दानी ३१ प्रतिशत घटेर ४२ करोड ३१ लख रुपैयाँ र सञ्चालन नाफा ८ करोड ३४ लाख रुपैयाँ ऋणात्मक छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १५ प्रतिशत बढेर ४४ करोड १६ लाख रुपैयाँ, जगेडा कोष २०.७९ प्रतिशत घटेर ३४ करोड ८९ लाख रुपैयाँ, निक्षेप तथा सापटी २३.७५ प्रतिशत घटेर ५ अर्ब ३४ करोड ५७ लाख रुपैयाँ र कर्जा २५.१५ प्रतिशत घटेर ५ अर्ब ७६ करोड रुपैयाँ रहेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी १८.८१ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १७९.१ रुपैयाँ रहेको छ । यद्यपी लघुवित्तको वितरणयोग्य नाफा भने ६ करोड ९० लाख रुपैयाँ रहेको छ ।