प्राइम बैंकको ब्याज आम्दानी १७.६६ प्रतिशत बढ्यो, प्राेभिजन बढ्दा नाफामा असर
काठमाडौं । प्राइम कमर्सियल बैंकको गत आर्थिक वर्षको चौथों त्रैमाससम्म खुद ब्याज आम्दानी १७.६६ प्रतिशत बढेर ७ अर्ब २७ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ६ अर्ब १८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष बैंकको ब्याज आम्दानी बढेको भएपनि नाफा भने सामान्य घट्न पुगेको छ । गत असारसम्म बैंकले २ अर्ब २६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो । कर्जा नोक्सानी व्यवस्था बापतको रकम छुट्याउँदा नाफा घट्न पुगेको बैंकले जनाएको छ । आगामी वर्षहरुमा अर्थतन्त्र एवं उद्योग व्यवसायमा सकारात्मक प्रभाव देखिएसँगै सो व्यवस्था रकम फिर्ता भई बैंकको नाफामा बृद्धि हुने बैंकले अपेक्षा गरेको छ । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा १९.०७ प्रतिशत बढेर ६ अर्ब ६९ करोड रुपैयाँ गरेको छ । बैंकका अनुसार गैह्र कोष आम्दानी १२.३७ प्रतिशत बढेर १ अर्ब ८१ आर्जन गरेको छ । बैंकको वितरणयोग्य नाफा २० करोड ४८ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको कुल निक्षेप ७.९५ प्रतिशतले बृद्धि गरी १ खर्ब ७८ अर्ब ५६ करोड रुपैयाँ संकलन गरेको छ । साथै, कर्जा प्रवाह ५.२६ प्रतिशतले बृद्धि गरी १ खर्ब ६३ अर्ब ६ करोड लगानी गरेको छ ।
शिखर इन्स्योरेन्सका अध्यक्ष अग्रवालले ग्रहण गरे शपथ
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीका अध्यक्ष गौरव अग्रवालले पद तथा गोपनियताको सथप ग्रहण गरेका छन् । उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष शपथ ग्रहण गरेका हुन् । अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज शिखर इन्स्योरेन्स कम्पनीको संचालक समितिका अध्यक्ष अग्रवाललाई अध्यक्ष पदको शपथ गराएका हुन् । त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल र शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे उपस्थित रहेको थियो ।
आइएमई लाइफद्धारा ६ प्रदेशमा सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम सम्पन्न
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनिले आफ्नो छैटौं बार्षिक उत्सवको अवसरमा श्रावण २० गते शनिबार देशका छ वटा प्रदेशमा रहेका मानव सेवा आश्रम, बृद्धाश्रम र बालआश्रममा सामाजिक उत्तरदायित्वका विभिन्न गतिविधिहरु गरेको छ । कोशी प्रदेशमा बिर्तामोड र बिराटनगर शाखाबाट परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सन्चालित हाम्रो साझा घरमा रहनुभएको ४० जनाभन्दा बढी बृद्ध बृद्धालाई झुल तथा खाद्यान्न सामाग्रि बितरण गरेको छ । उक्त कार्यक्रम १०० जनाभन्दा बढीको उपस्थितिका बिच सम्पन्न भएको थियो । मधेश प्रदेशमा बीरगन्ज र हरिवन शाखाबाट मानव सेवा आश्रम हरिवन र वीरगन्जमा क्रमश खाद्यान्न सामाग्री वितरण गरिएको थियो । वाग्मती प्रदेशबाट काठमाडौंको सोह्रखुट्टेस्थित असहाय जेष्ठ नागरिक आश्रम तथा भक्तपुरको मानव कल्याण समाज सेवा घर तथा नारायणघाट शाखाबाट चितवन मानव सेवा आश्रममा सरसफाइका सामाग्री हस्तान्तरण र खाजा खुवाउने कार्यक्रम गरिएको थियो । त्यसैगरी गण्डकी प्रदेशबाट बाग्लुङ शाखाले बाग्लुङ मानव सेवा आश्रममा बसेका वृद्धवृद्धादेखि बालबालिकासम्मलाई भोजन सहयोग गरेको थियो । वालिङ शाखाले शिव पार्वती बृद्धाश्रम, राम्दिमा रहेका बृद्धहरुकालागि फलफूल, नगद र सिलिङ्ग पंखा वितरण गरेको थियो । दमौलि शाखाबाट उज्यालो मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम गरिएको थियो । कर्णालि प्रदेशबाट नेपाल बीमा प्राधिकरण प्रदेश प्रमुख पदम सोडारीको उपस्थितिमा बादि सरोकार मन्च, सुर्खेतलाई खाद्यान्न सामाग्री वितरण गरिएको थियो । उक्त मन्च अन्तर्गत आश्रममा एक सय दश जना लोपोन्मुख बादि जातिका बाल विद्यार्थीहरु बस्ने गर्छन् । सुदुर पश्चिम प्रदेश अन्तर्गतको धनगढी शाखाले आमाको माया छात्रावासमा अनाथ बालबालिकालाई खाना खुवाउने कार्यक्रम गरेको थियो । लम्की शाखाले बौनिया स्थित सहारा घरमा भोजन वितरण गरेका छ भने बाजुरा शाखामा पनि बालआश्रममा भोजन वितरण गरेको छ । उक्त कार्यक्रमहरुको समापनमा सम्पूर्ण कर्मचारीहरुलाई सम्बोधन गर्दै यस्ता कार्यक्रमहरुले समाजमा सकारात्मक सोंचको विकास गर्ने तथा सामाजिक उत्तरदायित्व निभाउन आईएमई लाइफ इन्स्योरेन्स सदैव तत्पर रहने कुरा बताए । छैटौं वार्षिकोत्सव अन्तर्गत आईएमई लाइफ इन्स्योरेन्सले आगामी दिनमा देशैभर स्वास्थ्य शिविर, युवाहरुलाई वित्तिय सशक्तिकरण तालिम तथा रक्तदान कार्यक्रमको आयोजना गर्न गईरहेको छ ।