नबिल बैंकले उच्च तहका कर्मचारीका लागि भीआरएस ल्याउने
काठमाडौं । मर्जर भएको एक वर्षपछि नबिल बैंकले पुनः स्वेच्छिक अवकास सुविधा (भीआरएस) ल्याउने तयारी गरेको छ । बैंकले एउटै विभागमा दोहोरिएका कर्मचारी कटौति गर्न भीआरएस सुविधा ल्याउने तयारी गरिरहेको हो । यसअघि बैंकले २ पटक भीआरएस सुविधा जारी गरेको बताउँदै नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनोज ज्ञवालीले फेरी भीआरएस ल्याउने तयारीमा रहेको बताए । साविक नेपाल बङ्गलादेश (एनबी) बैंकलाई गाभेपछि नबिल बैंकले तेस्रो पटक भीआरएस सुविधा जारी गर्ने तयारी थालेको हो । नबिल बैंकले साविक नेपाल बङ्गलादेश बैंकलाई २०७९ असार २७ गतेदेखि एकीकृत कारोबार गरेको थियो । एनबी बैंक नबिलमा गाभिनु अघि नै केही कर्मचारीहरु भीआरएसमा बाहिरीएका थिए । त्यसपछि एकीकृत कारोबार पश्चात् पनि पुनः बैंकले भीआरएस सुविधा दिएको थियो । अघिल्लो पटक भीआरएस सुविधा दिँदा ७० जना कर्मचारी बाहिरीएका थिए । बाहिरीने कर्मचारीहरुमा अधिकांश एनबी बैंकका थिए । ‘साविक एनबी बैंकले भीआरएस ल्याएर गाभेको हो, एनबी बैंकलाई गाभेपछि पनि फेरी भिआरएस ल्याएका थियौं, फेरी पनि नबिल बैंकले भीआरएसको तयारी गरेको छ,’ उनले भने, ‘यसअघि २ पटक भीआरएस जारी गर्दा ७० जना बाहिरीएका थिए, बाहिरीने सबै कर्मचारी एनबी बैंकका थिए । उच्च तहमा एउटै पदमा दुई जना भएपछि एक जनालाई भीआरएस सुविधा दिएर बिदा गर्नु स्वभाविक रहेको उनको भनाइ छ । ‘भीआरएस सबै कर्मचारीलाई भन्दा पनि टप एक्जिक्यूटिभ अर्थात् सिनियर तहका कर्मचारीका लागि निकालिन्छ किनभने एउटै विभाग प्रमुखमा २ जना चाहिँदैन,’ उनले भने, ‘एचआर, आइटी, फाइनान्स लगायतको विभागमा २ जना हेड चाहिँदैन, त्यसैले भीआरएसको माध्यमबाट कर्मचारी व्यवस्थापन गर्नु स्वभाविक हो ।’ उनका अनुसार नबिल बैंकमा हाल २ हजार ४ सय भन्दा बढी कर्मचारी कार्यरत छन् ।
ग्लोबल आइएमई बैंकले ल्यायो स्मार्ट अडियो डिभाइस सुविधा
काठमाडौं । ग्लोबल आइएमई बैंकले स्मार्ट अडियो डिभाइसबाट भ्वाइस मेसेजद्वारा क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टी हुने सुविधा ल्याएको छ । बैंकले क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टिका लागि साउन्ड बक्स र एलईडी डिस्प्ले सहितको सेवा ल्याएको हो । यो योजनासँगै बैंकका ग्राहकले क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा भुक्तानीको पुष्टीकरण एलईडी बोर्डमा रहेको साउन्ड बक्सले भुक्तानी पुष्टि गर्ने भ्वाइस मेसेज दिनेछ । यसले ग्राहक र व्यापारीका लागि सम्पूर्ण प्रक्रियालाई सुविधाजनक बनाउने बैंकले जनाएको छ । यसबाट मर्चेन्ट-व्यापारी तथा ग्राहकहरुलाई मोबाइल फोनमा भुक्तानी प्राप्त भएको मेसेजका निमित्त कुर्नुपर्ने समयको पनि बचत हुने बैंकको विश्वास छ । यसबाट व्यापारीलाई भुक्तानी आवेदनको पुष्टीकरण निर्भरता समेत घटाउँने बैंकको विश्वास छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५९ शाखा कार्यालय, ३६७ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सय भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
मल्टीपर्पस फाइनान्सले भदौ १० गतेदेखि ३५ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने
काठमाडौं । मल्टीपर्पस फाइनान्सले भदौ १० गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । फाइनान्सले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत अर्थात् १ सय कित्ता बराबर नयाँ ३५ कित्ता सेयर बिक्री गर्ने भएको हो । mाइनान्सले हाल कायम चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको ५ करोड ८२ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ गत असार १२ गते बुकक्लोज गरेको थियो । त्यसैले असार ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरुले कम्पनीको हकप्रद सेयर खरिद गर्न पाउने छन् । सेयरधनीहरुले कम्पनीको हकप्रदमा भदौ ३१ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनााथ क्यापिटल लिमिटेड रहेको छ । मुक्तिनाथ क्यापिटल, मल्टीपर्पस फाइनान्स र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले फाइनान्सलाई आइआरएन सिङ्गल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।