मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँट, ६ जना भाग्यमानीले पाए ११ कित्ता

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट सम्पन्न भएको छ । लघुवित्तको एफपीओ आज कात्तिक १६ गते बिहीबारका दिन बाँडफाँट गरिएको निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ । लघुवित्तको एफपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा विधिबाट बाँडफाँट गरिएको थियो । त्यसैले १२ हजार ३८१ जना लगानीकर्ताले लघुवित्तको १० कित्ता सेयर प्राप्त गरेको नेपाल एसबीआई मर्चेन्टले बताएको छ । साथै, ६.४५ कित्ता सेयर बाँकी रहेकाले ६ जनाले थप १ कित्ता सेयर प्राप्त गरेका छन् भने १ जनाले ०.४५ कित्ता सेयर प्राप्त गरेका छन् । लघुवित्तको एफपीओमा १३ लाख २० हजार २०३ आवेदकले १ करोड ४८ लाख ३१ हजार २८० कित्ता सेयरका लागि आवेदन दिएका थिए । लघुवित्तले असोज २५ गतेदेखि असोज ३० गतेसम्म एफपीओ बिक्री खुला गरेको थियो । लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूलय दरका १ लाख २३ हजार ८१६.५ कित्ता सेयर बिक्री खुला गरेको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ बिक्री गर्ने लघुवित्तले जनाएको छ ।

आईएफसी र एनसीएचएलबीच डिजिटल भुक्तानी इकोसिस्टमलाई सुदृढ बनाउन सहकार्य

काठमाडौं । अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच सम्झौता भएको छ । डिजिटल भुक्तानी इकोसिस्टमलाई सुदृढ बनाउँदै नेपालमा डिजिटल भुक्तानीको क्षेत्रलाई प्रवद्र्धन गर्नेगरी दुई निकायबीच सम्झौता भएको हो । उक्त सम्झौतामा आईएफसी नेपालका आवासिय प्रतिनिधि बाबाकार सेदिख फाये र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । सो सम्झौतासँगै आईएफसीले एनसीएचएललाई नेशनल पेमेन्ट स्विच (एनपीएस) को प्रारम्भिक रोलआउट लगायत कार्यान्वयनका लागि विभिन्न गतिविधिहरूमा प्राविधिक सहायता उपलब्ध गराउनेछ । उक्त सहायता अनुरुप आईएफसीले मुख्य सञ्चालन नियमहरू, प्राविधिक तथा सुरक्षा मापदण्डहरूको समीक्षाका लागि एडभान्जरीको भूमिका निर्वाह गर्नेछ । एनसीएचएलको नयाँ डिजिटल पहलहरू डिजाइन रसञ्चालन गर्न, क्रस बोर्डर पेमेन्ट, इन्डस्ट्री स्यान्डबक्स स्थापना गर्न र विभिन्न वित्तीय क्षेत्रको क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने कम्पनीले जनाएकाे छ । आईएफसी र एनसीएचएल बीचको उक्तसम्झौतालाई डिजिटल भुक्तानी इकोसिस्टममा एक महत्वपूर्ण कोसेढुङ्गाको रुपमा लिइएको छ र नेपालमा डिजिटल पहलहरूलाई थप सुदृढ गर्न आईएफसीको सहयोग र अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरू मार्फत महत्वपूर्ण आयाम थप्ने अपेक्षा गरिएको छ । आईएफसी विश्व बैंक समूहकोसबैभन्दा ठूलो विकास संस्था हो जसले सदस्य राष्ट्रहरूमा उत्पादनमूलक लगानीमा स्वदेशी र विदेशी निजी पुँजीको अनुकूल प्रवाहलाई प्रोत्साहन र मद्दत गर्न केन्द्रित सदस्य गर्दै आएको छ । आईएफसीको डिजिटल वित्तीय सेवा सम्बन्धी नेपाल परियोजनाले डिजिटल वित्तीय प्रणालीलाई समृढ बनाउन आवश्यक सल्लाह तथा सहायता प्रदान गर्न डिजिटल भुक्तानी क्षेत्रमा नेपालका मुख्य सरोकारवालाहरूलाई प्राविधिक सहायता तथा सल्लाह प्रदान गर्दै आइरहेको छ । एनसीएचएल नेपाल राष्ट्र बैंक र अधिकांश सबै बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्रिय भुक्तानी प्रणाली तथा पूर्वाधारहरू सञ्चालन गर्ने उद्देश्यका साथ प्रवद्र्धन गरेको भुक्तानी प्रणाली सञ्चालक कम्पनी हो ।

गुराँस लघुवित्तको नाफा धनात्मक, ब्याज आम्दानी ११८.९१ प्रतिशत छलाङ

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको खुद नाफा ६० लाख २२ हजार रुपैयाँ ऋणात्मक थियो । असोज मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ११८.९१ प्रतिशत बढेर १ करोड २९ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ५९ लाख २७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । तीन महिनाको अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ५५.७८ प्रतिशत बढेर १ करोड ९४ लाख रुपैयाँ, सञ्चालन मुनाफा १४ लाख ६६ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४ प्रतिशत बढेर १० करोड १४ लाख रुपैयाँ, जगेडा कोष ६.९७ प्रतिशत घटेर २ करोड ४८ लाख रुपैयाँ, सापटी रकम १०.४९ प्रतिशत बढेर ९१ लाख ४५ हजार रुपैयाँ, निक्षेप २७ करोड ५६ लाख रुपैयाँ र कर्जा प्रवाह ५.५८ प्रतिशत बढेर १ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी पनि धनात्मक भएको छ । लघुवित्तको प्रतिसेयर आम्दानी ३.६८ रुपेयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १२४.५४ रुपैयाँ रहेको छ । लघुवित्तको खराब कर्जा ०.३२ प्रतिशत बढेर ४.२७ प्रतिशत पुगेको छ ।