एभरेष्ट बैंकद्वारा टोखामा १२८औं शाखा विस्तार

काठमाडौं । एभरेष्ट बैंकले काठमाडौंको टोखामा नयाँ शाखा विस्तार गरेको छ । देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यका साथ मंसिर ८ गते टोखा नगरपालिका वडा नं. ६, टोखामा आफ्नो १२८ औं शाखा उद्घाटन गरेको हो । उक्त शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य र टोखा नगरपालिकाका उप–मेयर मुरारी तामाङले संयुक्त रुपमा गरेका छन् । उक्त उद्घाटन समारोहमा नेपाल चेम्बर अफ कमर्शका कार्यकारी सदस्य कृष्णमान श्रेष्ठ, टोखा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष शान्ता खनाल पौडेल, बैंकका नायब महाप्रबन्धक केशव राज पौडेल, बाग्मती प्रदेश प्रमुख सन्तोष कुमार भट्टराई, बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । सो उद्घाटन समारोहमा बैंकका सञ्चालक समिति अध्यक्ष डा. वैद्यले बैंकहरु विश्वासको सहयात्री भएको साथै साथै टोखा र सो आसपासका बासिन्दाहरुलाई सबल, सरल, उत्कृट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिवद्दता व्यक्त गरे । सो अवसरमा टोखा नगरपालिकाका उप–मेयर तामाङले टोखामा बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए । यो संगै बाग्मती प्रदेशमा बैंकको शाखा संख्या ४६ पुगको छ भने काठमाडौं उपत्यकामा ३६ पुगेको छ ।  

फेडेरल रिईन्स्योरेन्स ब्रोकर ‘बेस्ट ब्रोकर अफ द इयर’ अवार्डबाट सम्मानित

काठमाडौं । फेडेरल रिईन्स्योरेन्स ब्रोकर ‘बेस्ट ब्रोकर अफ द इयर’ अवार्डबाट सम्मानित भएको छ । फेडेरल रिईन्स्योरेन्स ब्रोकर्स (एफआरबीएल) भारतीय चेम्बर अफ कमर्सद्वारा मुम्बईमा आयोजित प्रतिष्ठित चौथो आइसीसी इमर्जिङ्ग एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड २०२३ मा ‘ब्रोकर अफ दि इयर – नेपाल’ अवार्डको विजेताको रुपमा बिहीबार सम्मानित भएको हाे । चौथो आइसीसी इमर्जिङ्ग एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड ,२०२३ अन्तर्राष्ट्रिय ख्याति प्राप्त स्वतन्त्र परामर्शदाता पिडब्लुसि भारतको सहकार्यमा गरिएको थियो । उक्त समारोहमा पिडब्लुसिले, अवार्डको प्रक्रिया समीक्षकको रूपमा कार्य गर्दै, चयन प्रक्रियाको विश्वसनीयता र पारदर्शिता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको छ । उक्त समारोहमा कम्पनीको कार्य कुशलता, प्रभावकारी एवम् पारदर्शी नीति तथा योजना, आम जनमानसको विश्वसनियता र लोकप्रियता तथा चुस्त, सहज र विस्तारीत सेवा प्रवाहको आधारमा कार्य सम्पादन गर्ने विभिन्न कम्पनीहरुलाई सम्मानित गरिएको छ । भारतको मुम्बईमा नोभेम्बर २२ बाट सुरु भएको समारोहमा फेडेरलका प्रबन्ध निर्देशकसुवर्ण पौडेलले एशियन स्तरको उक्त पुरस्कार ग्रहण गरेका छन् । उक्त अवार्ड ग्रहण गरे पश्चातः पौडेलले आफ्नो विचार व्यक्त गर्दै भने, ‘यो अवार्ड एफआरबीएलको संचालक समिति , व्यवस्थापन तथा अन्य सरोकारवालाहरुको अथक प्रयास र सहयोगको परिणाम हो । यस अवार्डले हाम्रो ग्राहक सेवाको उत्कृष्टतालाई सुनिश्चित गरेको छ र हामीलाई अझै गुणस्तरीय सेवा प्रदान गर्न हौसला बढाएको छ ।’ उक्त उपाधिले एफआरबीएललाई पुनर्बीमा क्षेत्रमा उत्कृष्टताको उदाहरण बन्न मदत पुगेको छ । नेपालको पुनर्बीमा दलाल क्षेत्रमा उत्कृष्टता र ग्राहक–केन्द्रित सेवाको दृष्टिकोणबाट एक आदर्शको स्थापना गर्न एफआरबीएल सफल भएको छ । एफआरबीएलले भारतीय चेम्बर अफ कमर्स तथा इमर्जिङ एसिया बीमा पुरस्कार समितिलाई आभार व्यक्त गर्दै पुनर्बीमा दलाल क्षेत्रमा निरन्तर उत्कृष्ट सेवा प्रदान गर्न अग्रसर रहने प्रतिबद्दता जनाएको छ । यो उपाधि एफआरबीएलको लागि अर्को ऐतिहासिक उपलब्धि हो । हालै मात्र नेपालमा ISO  9001:2015 प्रमाणीकरण प्राप्त गर्ने पहिलो पुनर्बीमा दलाल कम्पनी बनेको एफआरबीएल, ‘ब्रोकर अफ दि इयर – नेपाल’ अवार्ड प्राप्त गर्ने पनि नेपालकै पहिलो पुनर्बीमा दलाल कम्पनी बनेको छ । विश्वभरका प्रतिष्ठित बीमा कम्पनीहरू, पुनर्बीमा कम्पनीहरू, ब्रोकरहरू र जोखिम व्यवस्थापन फर्महरूसँग रणनीतिक रूपमा साझेदारी गर्दै, एफआरबीएलले अन्तर्राष्ट्रिय पुनर्बीमा क्षेत्रमा एक प्रमुख खेलाडीको रूपमा आफ्नो स्थान बलियो बनाएको छ । उक्त भव्य समारोहमा एसियन राष्ट्रहरु भारत, नेपाल, श्रीलंका, थाइल्याड, भुटान, म्यानमार र मालदिभ्सबाट बीमा क्षेत्रका दिग्गज व्यक्तिहरुको उपस्थिति थियो ।

सहकारी दर्ता, क्षेत्र विस्तार र सेवा केन्द्र स्वीकृतिमा रोक

काठमाडौं । सरकारले कुनै पनि प्रकृतिका सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अर्को व्यवस्था नभएसम्म महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई कार्यक्षेत्र बनाई बचत तथा ऋणको मुख्य कारोबार गर्ने गरी सङ्घ, प्रदेश र स्थानीय तहबाट कुनै पनि प्रकृतिको सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाउने निर्णय मन्त्रिपरिषद्बारा भएकाले सोही अनुसार कार्य गर्न अनुरोध गरेको छ । कात्तिक २३ गतेको मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराउँदै मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले सम्पूर्ण वित्तीय क्षेत्रमै असर पर्नसक्ने जोखिम बढ्दै गएकाले मन्त्रिपरिषद्को निर्णयअनुसार यस्ता कार्यमा रोक लगाइएको जानकारी दिए । देशभर ठूलो सङ्ख्यामा रहेका बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाबाट पछिल्लो समयमा ठूलाठूला बचत स्वीकार गर्ने र जोखिमयुक्त लगानी गर्ने प्रवृत्ति वृद्धि भएको मन्त्रालयले जनाएको छ । सहकारी संस्थाका सदस्य तथा बचतकर्ताको बचत फिर्ता हुन नसकी सहकारी संस्थाहरूमा ठूलो समस्या सिर्जना हुन गएकाले अर्को व्यवस्था नभएसम्मका लागि उक्त कार्यमा रोक लगाइएको मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।