सूर्योदय वोमी लघुवित्तका दुई संस्थापक सेयरधनी बाहिरिँदै
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको साढे ६० लाख कित्ता सेयर बिक्री गर्ने भएको हो । संस्थापक सेयरधनी गोविन्द शर्माको नाममा रहेको ३१ हजार २६६ कित्ता, र सरस्वती जोशीको २९ हजार ३५१ कित्ता गरी कूल ६० हजार ६१७ कित्ता सेयर बिक्रीमा राखेको हो । सो संंस्थापक सेयरको बिक्री मूल्य तोकिएको छैन । सेयर खरिद गर्न इच्छुकले सर्वसाधारण लगानीकर्ताले ३५ दिनभित्र आवेदन दिन लघुवित्तले आग्रह गरेको छ । यदि सो अवधिभित्र बिक्री नभएमा सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गर्ने लघुवित्तले बताएको छ ।
नेप्सेमा २ बैंकको बोनस सेयरमूल्यमा समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले सांग्रिला डेभलपमेन्ट बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन गरेको हो । यी दुई बैंकले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा सोमबार कारोबार हुनेछ । सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत प्रतिशत बोनस सेयरमूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता २८०.९५ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । आइतबार बैंकको सेयर प्रतिकित्ता २९५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद गरी कूल ५.२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले १९औं वार्षिक साधारणसभा मंसिर २४ गते लैनचौर ब्याङ्क्वेट काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १०.५ प्रतिशत प्रतिशत बोनस सेयरमूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ३५२.९४ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । आइतबार बैंकको सेयर प्रतिकित्ता ३९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५५ नगद गरी कूल ११.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले १५औं वार्षिक साधारणसभा मंसिर २३ गते रुपन्देहीमा बिहान ११ बजे बोलाएको छ ।
उत्कृष्ट काम गरेर वर्षेनी अवार्ड पाउने हिमालयन एभरेष्टको रणनीति
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आइतबार ३ बजे केन्द्रिय कार्यालय नजिकैको एउटा होटलमा पत्रकार सम्मेलन गर्याे । छोटो समयमा पत्रकार सम्मेलन गरिएको हुँदा निश्चित पत्रकार र बीमा कम्पनीमा कार्यरत कर्मचारी मात्रै होटलमा उपस्थित थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)विजयबहादुर शाह किरेमिरे ढाका टोपी र कोट पाइन्टमा चिटिक्क मुद्रामा हसिला देखिन्थे । पत्रकार सम्मेलनममा गत बिहीबार इण्डियन चेम्बर अफ कमर्शले हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई प्रदान गरिएका २ वटा पुरस्कारको विषयमा जानकारी गराइयो । २ सय वर्षको इतिहास बोकेको संस्था इण्डियन चेम्बर अफ कमर्शले उत्कृष्ट लघु बीमक (बेस्ट माइक्रो इन्स्योरर–नेपाल) र अतिप्रभावकारी प्रविधि अनुकुलन (मस्ट इफेक्टिभ एडप्सन अफ टेक्नोलोजी–नेपाल)अवार्ड कम्पनीले पाउँदा खुसी र गौरव लागेको सीईओले जानकारी गराए । उनका अनुसार बिमष्टेक राष्ट्रका बीमा कम्पनीहरूको व्यावसायिक वृद्धि, बीमा पहुँच विस्तार र बीमा क्षेत्रको डिजिटाइजेशनमा प्रोत्साहन गर्ने ध्येयले इण्डियन चेम्बर अफ कमर्शले उक्त अवार्ड प्रदान गर्दै आएको छ । विभिन्न विधाहरूमा नेपालका बीमा कम्पनीहरूमध्ये २ वटा विधामा पुरस्कार प्राप्त गर्ने हिमालयन एभरेष्ट इन्स्योरेन्स पहिलो कम्पनी हो । हिमालयन एभरेष्टले लघुबीमालाई बढावा दिँदै आएकाले सोही विधामा कम्पनीले पुरस्कार प्राप्त गरेको सीईओ शाहले बताए । साथै, कम्पनीले प्रविधिको प्रयोग गरेर धेरै बीमा पोलिसी बिक्री गरेको हुँदा प्रोत्साहनस्वरूप पुरस्कार प्रदान गरेको उनको भनाइ छ । ‘नेपालमा सामान्यतया १५ लाख बीमा पोलिसीहरू काटिन्छन् । तर, हिमालयन एभरेष्टले प्रविधिको सहायतामा १७ लाखभन्दा बढी मानिसलाई एउटै पोलिसीबाट बीमाको सुविधा दिइरहेका छौं, प्रविधिको प्रयोग गरेनौं भने त्यो सम्भव थिएन, प्रविधिको प्रयोग गरेको हुँदा उक्त पुरस्कार प्रदान गरिएको हो,’ उनले भने, ‘पुरस्कार राशी बढी रूपैयाँकाे नभए पनि प्रोत्साहन गर्नु ठूलाे विषय हो ।’ उनका अनुसार विगतमा कम्पनीले जुन सूचकहरू प्राप्त गरेको थियो आगामी दिनमा त्योभन्दा बढी हासिल गर्नुपर्ने चुनौती थपिएको छ । साथै, आजभन्दा भोलि र भोलिभन्दा पर्सि राम्रो गर्दै जानु पर्ने दायित्व थपिएको उनले बताए । सम्मेलनमा नेपाल, भुटान, बर्मा, भारत, श्रीलङ्का, बङ्गलादेश लगायत देशका ८० बीमा कम्पनीहरू सहभागी थिए । कम्पनीहरूले दिएको विवरणका आधारमा ४ महिना समय खर्चेर मूल्याङ्कन गरी कम्पनी छनोट गरेको सीईओ शाहले बताए । साथै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत वर्ष पनि दुइटा अवार्ड पाएको थियो । गत वर्ष इन्स्योरेन्स ‘एसियाली इन्स्योरेन्स इन्क्लुजन इनिसियटिभ अफ द एअर अवार्ड’ र ‘न्यू इन्स्योरेन्स प्रडक्ट अफ द एअर नेपाल अवार्ड’ प्रदान गरेको थियो । अब कम्पनीले प्राप्त गर्ने पुरस्कार प्रत्येक वर्ष थपिँदै जाने सीईओ शाहले बताए । उनका अनुसार भारत, श्रीलङ्का र बङ्लादेशको बीमा क्षेत्र नेपालको तुलनामा विकसित छ । तर, बर्मा र भुटानको बीमा क्षेत्र भने नेपालभन्दा पछि छ । संख्यात्मक हिसाबले नेपालभन्दा अघि भए पनि गुणस्तरका हिसाबले नेपालको बीमा क्षेत्र अघि रहेको उनको दाबी छ । साथै, नेपालमा पनि बीमा कम्पनीहरूलाई हौसला प्रदान गर्न पुरस्कार वितरणको व्यवस्था हुनुपर्ने माग उनले गरे । ‘व्यवसायको अनुशासन पालनामा नेपालको बीमा क्षेत्र सबैभन्दा अघि छ, नेपालमा बीमा कम्पनीलाई पुरस्कृत गर्ने कुनै संस्था छैन। तर, इण्डियन चेम्बर अफ कमर्शले नेपालको बीमाको लागि योगदान गर्दै आएको छ, नेपालका बीमा कम्पनीहरूमध्ये कुन राम्रो छ भनेर इण्डियन चेम्बर अफ कमर्शले मूल्याङ्कन गरिदिएको छ,’ उनले भने, ‘नेपालमा पनि बीमा कम्पनीहरूलाई प्रोत्साहन गर्न यस्ता पुरस्कार वितरण गर्ने संस्था जन्मिनुपर्छ, बीमा पहुँच, शाखा, नाफा, कर्मचारी, कर्मचारी संख्यालगायत सूचकमा जुन कम्पनी उत्कृष्ट छ, ती कम्पनीलाई पुरस्कार वितरणको अभ्यास थालनी गर्नुपर्छ ।’ साथै, पछिल्लो समय बीमा कम्पनीहरूले सेयरधनीहरूलाई प्रतिफल दिनुपर्ने नाफाबाट अवार्ड खरिद गरेको आरोपका विषयमा उनले भने, ‘पुरस्कार खरिद गरेको आरोप लगाउने व्यक्तिलाई कानुन लाग्नुपर्छ, त्यस्ता व्यक्तिलाई कानुन लाग्छ की लाग्दैन ?’ उनका अनुसार कम्पनीले प्राप्त गरेका अवार्ड खरिद गरेकाे छैन । भारतीय चेम्बर अफ कमर्शले मुम्बईमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)विजयबहादुर शाहलाई उक्त अवार्ड प्रदान गरेको हो । इण्डियन चेम्बर अफ कमर्शले नेतृत्वदायी भूमिका निर्वाह गर्दै बीमाको क्षेत्रमा विशेष योगदान पुर्याएका एशियाली देशका बीमा कम्पनीहरूमध्येबाट उत्कृष्ट कम्पनीलाई विगत ४ वर्ष देखि सम्मान गर्दै आएको छ । एशियामा उदीयमान बीमा कम्पनीको कार्य सम्पादन, व्यवसाय विस्तार, प्रविधिको प्रयोगलगायत विधामा विश्व प्रतिष्ठित परामर्शदाता पीडब्लुसीले स्वतन्त्र मूल्याङ्कन गर्छ । सोही आधारमा कम्पनीले लघुबीमा क्षेत्रमा गरेको सेवा प्रवाह र प्रभावकारिता र प्रविधिको प्रयोगले बीमा सेवामा सहजता उपलब्ध गराएको र पहुँच अभिवृद्धिमा जोड दिएकोमा कम्पनीलाई उक्त पुरस्कार प्राप्त गरिएको सीईओ शाहले बताए । हिमालयन एभरेष्टले पछिल्लो समय प्रत्येक वर्ष कुनै न कुनै अन्तर्राष्ट्रिय अवार्डहरू जित्दै आएको छ । यसअघि गत वर्ष सिंगापुरमा इन्स्योरेन्स एसियाले हिमालयन एभरेष्टलाई इन्स्योरेन्स इन्क्लुजन इनिसियटिभ अफ द येअर नेपाल अवार्ड र न्यू इन्स्योरेन्स प्रडक्ट अफ द एअर नेपाल अवार्ड प्रदान गरेको थियो । कम्पनीले विगत ३० वर्षदेखि निर्जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।