नेप्सेमा आरएसडिसी लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो । लघुवित्तले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा बिहीबार कारोबार हुनेछ । लघुवित्तको ८.६० प्रतिशत प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ४८७.७५ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बुधबार लघुवित्तको सेयर प्रतिकित्ता ५२९.७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
बैंकरलाई गभर्नर अधिकारीको निर्देशन – अप्ठ्यारोमा परेका व्यवसायीलाई सहजीकरण गर्नु
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले परिस्थितिजन्य कारणले अफ्ठेरोमा परेका उद्यम÷व्यवसायको प्रवद्र्धनका निम्ति आवश्यक सहजीकरण गरिदिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएका छन् । ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थासम्बद्ध बैंकर्स संघका अध्यक्ष÷प्रतिनिधिहरूसँग आज राष्ट्र बैंकमा आयोजित अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले यस्तो निर्देशन दिएका हुन् । ‘असल मनशायले व्यवसाय सञ्चालन गर्दागर्दै पनि अर्थतन्त्रको प्रतिकूल अवस्था र परिस्थितिजन्य कारणले कसैलाई अफ्ठेरो परेको छ भने त्यस्ता व्यवसायीलाई सहजीकरण गरिदिनुस्, उद्योग/व्यवसाय सहज रूपमा सञ्चालन हुने आवश्यक वातावरण बनाऔँ, त्यसको निम्ति आवश्यक नीतिगत समन्वय र अभिभावकत्व ग्रहण गर्न राष्ट्र बैंक सधैँ तयार छ,’ उनले भने । वित्तीय स्थायित्वमा असर पार्नेगरी वित्तीय क्षेत्रविरुद्ध हुने अवाञ्छित गतिविधिप्रति कुनै किसिमको सम्झौता हुन नसक्ने गभर्नर अधिकारीले स्पष्ट पारे । त्यस्ता गतिविधि बैंकिङ कसुरजन्य कार्य भएको धारणा उनले राखे । ‘ऋण लिएपछि तिर्नैपर्छ, कसैले तिर्दिन भन्छन् र तिर्नुपर्दैन भनेर ऋणीलाई उकास्छन् भने त्यस्ता गतिविधिलाई बैंकिङ कसुरको दायरामा ल्याउनुपर्ने देखिन्छ,’ उनले भने । सो अवसरमा गभर्नर अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा २०८० मंसिर ४ र ५ गते आयोजित मुलुकको अर्थतन्त्रकोवर्तमान स्थिति र आगामी कार्यदिशासम्बन्धी अन्तरक्रियामा उठेका विषयवस्तुका बारेमा समेत जानकारी गराएका थिए । कार्यक्रममा डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरू देवकुमार ढकाल, डा. गुणाकर भट्ट, रेवतीप्रसाद नेपाल र विश्रुत थापाले वित्तीय क्षेत्रका समसामयिक विषयबारे धारणा राखेका थिए । अन्तरक्रियामा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सुनिल केसी, डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका कोषाध्यक्ष नरेशसिंह बोहरा, नेपाल वित्तीय संस्था संघका अध्यक्ष सुनिल पन्त र नेपाल लघुवित्त बैंकर्स संघका कार्यबाहक अध्यक्ष रामबहादुर यादव र अन्य प्रतिनिधिको उपस्थिति थियो । उनीहरुले पछिल्लो समय कर्जाको सावाँ÷ब्याज असुली तथा खराब कर्जाको व्यवस्थापन चुनौतीपूर्ण रहेको र बैंकिङ क्षेत्रमा कार्यरत जनशक्ति विदेशिने क्रम बढेको उल्लेख गर्दै त्यसको समाधानको निम्ति आवश्यक कदम चाल्नुपर्ने सुझाव दिए । साथै, कर्जा नोक्सानीसम्बन्धी विद्यमान व्यवस्थामा सहजीकरण गर्नुपर्ने आवश्यकतामा उनीहरूले जोड दिएका थिए ।
अब जोकोही बीमा अभिकर्ता बन्ने बाटो बन्द
काठमाडौं । अभिकर्ता (एजेन्ट)लाई बीमा क्षेत्रको खम्बाका रूपमा लिइन्छ । बीमा कम्पनीहरूको व्यवसाय धान्ने मेरुदण्ड नै अभिकर्ता हुन् । गाउँ-समाजमा गएर आम सर्वसाधारणलाई राजी गराएर बीमा गराउने काम अभिकर्ताहरूले गर्दै आएका छन् । त्यसैले बीमाको दायरा बढाउनुमा अभिकर्ताको मुख्य भूमिका छ । कुनै समय नेपालमा बीमा अभिकर्ताहरूको संख्या ५ लाखभन्दा बढी थियो । उक्त संख्या धेरै भएको भन्दै नेपाल बीमा प्राधिकरणले गुणस्तरीयतामा जोड दिन विभिन्न क्रियाकलाप गर्दै आएको छ । गत कात्तिकदेखि प्राधिकरणले बीमा अभिकर्ता बन्न परीक्षा प्रणाली कार्यान्वयनमा ल्याएसँगै जोकोही व्यक्ति अभिकर्ता बन्ने बाटो बन्द भएको हो । बीमा ऐन, २०७९मा बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने प्रावधानअनुसार गत कात्तिक १७ गतेदेखि अनलाइन परीक्षा सुरु गरेको हो । त्यसैले अब अभिकर्ताको इजाजत (लाइसेन्स)का प्राप्त गर्न परीक्षा दिनुपर्ने भएको छ । बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल गुणस्तरीयता कायम गर्न अभिकर्ताको परीक्षा प्रणाली सुरु गरेको बताउँछन् । कम्पनीहरूको पहिलो अण्डरराइटर अभिकर्ता भएकाले परीक्षा प्रणालीबाट सक्षम व्यक्ति चयन भएर आउने अपेक्षा रहेको उनको भनाइ छ । ‘बीमा कम्पनीहरूमा पहिलो अण्डरराइटर भनेका अभिकर्ता हुन्, अभिकर्ताले नै सबै कुरा बुझेको छैन भने कस्तो अण्डरराइटिङ गर्ला ?, त्यसैले अभिकर्ताको संख्यात्मक वृद्धि भयो, अब गुणस्तरीयता कायम गर्नुपर्छ,’ उनले भने, ‘अभिकर्ता भएपछि एउटा परिवारमा मात्रै बीमा गर्याे, त्यसपछि काम नै नगर्ने अभ्यास देखिन्छ, अब व्यावसायिक अभिकर्ता बन्नुपर्छ भनेर परीक्षा प्रणाली सुरु गरेको हो ।’ गुणस्तरीय अभिकर्ता भएपछि बीमाका बारेमा पनि थप सचेतना बढ्ने उनको भनाइ छ । जीवन बीमा कम्पनीको मार्केटिङको पहिलो हस्ती भएकाले सक्षम अभिकर्ताले बीमाका बारेमा बीमितलाई बुझाउन सक्ने उनले बताए । साथै, बीमा दाबी भुक्तानी गर्दा अभिकर्ताले भरेका फर्महरू नै आधार मानिने भएकाले परीक्षा प्रणालीबाट कुशल व्यक्ति छनोट हुन सक्ने उनको बुझाइ छ । ‘जीवनमा बीमामा मेडिकल र फाइनान्सको अण्डरराइटिङको समस्या देखिन्छ, सबैभन्दा नजिक भएर चिन्ने भनेको अभिकर्ताले हो, क्वालिटी मेन्टन गर्न अभिकर्ताको जाँच लिने गरेका हौं, पहिलो चरणमा १ सय जनाले जाँच दिएका थिए, ६९ जनाले मात्रै परीक्षा पास गरे, अब विस्तारै सुधार हुँदै जान्छ, तालिम दिएरमात्रै अभिकर्ता बनाउने चलन छ, परीक्षा प्रणालीले पनि केही सुधार हुने अपेक्षा छ,’ कार्यकारी निर्देशक पौडेलले भने । पछिल्लो समय आर्थिक मन्दीका कारण धेरै अभिकर्ता भयो भने बीमा पनि धेरै हुने अनुमान छ । यसरी परीक्षा प्रणालीले नयाँ अभिकर्ताको आकर्षण कम भएर बीमा व्यवसाय घट्ने हो कि भन्ने चिन्ता पनि भइरहेको छ । तर, दीर्घकालमा बीमा क्षेत्रको सुधारका लागि उक्त कदम चालेको उनको भनाइ छ । ‘आर्थिक गतिविधि नहुँदा बीमाको बजार खस्किएको छ, धेरै अभिकर्ता भएपछि केही विस्तार हुन्थ्यो की भन्ने लाग्न सक्छ तर, आगामी दिनमा सुधार गर्न प्रक्रिया अघि बढाएको हो,’ उनले भने । कुनै समय ५ लाख अभिकर्ता रहेको प्राधिकरणको आँकडा थियो । तर, सक्रिय अभिकर्ताको संख्या भने डेढ लाख मात्रै थियो । छिमेकी मुलुक भारतमा अभिकर्ता बन्न धेरै गाह्रो छ । नेपालमा सजिलो प्रक्रिया भएपछि विकृति बढेको प्राधिकरणको अनुमान छ । ‘अभिकर्ता अध्ययनशील भयो भने त्यही अनुसारको बीमामा स्वस्थ प्रतिस्पर्धा हुनेछ, जीवन बीमा देखिएका विकृति कम हुन्छन्,’ उनले भने । पेसागात बीमा अभिकर्ता संघ (एलआईसी) नेपालको अध्यक्ष नरबहादुर घर्ती पनि अभिकर्ता बन्न परीक्षा प्रणाली आवश्यक रहेको बताउँछन् । अस्वस्थ प्रतिस्पर्धा हटाउन परीक्षा प्रणाली आवश्यक रहेको उनको भनाइ छ । ‘अभिकर्ताहरूले आफ्नो दायित्व पुरा गर्न सकेनन्, कुनै रेस्पोन्सिबिलिटी पनि छैन, जस्तो पायो त्यस्तो व्यक्ति एजेन्ट बनेका छन्, कुनै एजेन्ट त एसएलसी पनि पास नगरेका छन्, परीक्षा प्रणाली हुँदा पेसेवररूपमा मान्छेहरू आउँछन्, महत्व बढ्छ,’ उनले भने । अभिकर्ता भनेको पहिलो आधार भएकाले जोकोही अभिकर्तासँग बीमा गराउँदा बीमितको रकम जोखिममा रहेको उनको भनाइ छ । परीक्षा प्रणालीबाट सक्षम व्यक्ति आउने भएकाले विश्वास पनि बढ्दै जाने उनले बताए । ‘जस्तो पायो त्यस्ता व्यक्तिलाई एजेन्ट बनाउनु हुँदैन, अब व्यवस्थित भएपछि एजेन्टको महत्व बढ्छ, फुटपातको मान्छे एजेन्ट बनेका छन्, जसको कुनै सामाजिक दायित्व छैन, राम्रोसँग अक्षर पढ्न नजान्ने मान्छे पनि एजेन्ट छन्, शुद्ध नेपाली लेख्न पनि जान्दैनन्, त्यस्ता व्यक्तिहरूले पैसा लगेर खायो भने कसले जिम्मेवारी लिन्छ,’ उनले भने, ‘जागिर खान गयो भने सर्टिफिकेट देखाउनुपर्छ भने यो त करोडौं रुपैयाँको कारोबार हुने क्षेत्र हो ।’ उनका अनुसार केही एजेन्सी म्यानेजरले आफ्नो श्रीमतिलाई समेत पनि एजेन्ट बनाएका छन् । त्यसैले अब परीक्षा प्रणालीले बीमा क्षेत्रमा भएका गलत अभ्यास रोक्न विश्वास उनले लिएका छन् । साथै, राम्रो व्यक्तित्व भएका, केही गरौं भन्ने भावना भएका, दायित्व भएको व्यक्ति अभिकर्ता बन्नुपर्ने उनको भनाइ छ । पेसागत अभिकर्ता संघका अध्यक्ष केदारनाथ अधिकारी संख्यात्मक वृद्धि भएकाले अभिकर्ताको संख्या कम गराउन परीक्षा प्रणाली ठिकै भएको बताउँछन् । साथै, अभिकर्ताको संख्या धेरै भएकाले प्राधिकरणले समेत नियमन गर्न नसकेको उनको भनाइ छ । ‘अभिकर्ताको संख्यात्मक पहुँच धेरै छ, त्यसकारण तत्काल अभिकर्ताको संख्या कम गराउन परीक्षा प्रणाली ठिकै हो, बीमा प्राधिकरण स्वयमले लाइसेन्स र तालिम दिन नसकिरहेको बेलामा अभिकर्ता नियुक्ति र नियमन फितलो भइरहेको छ, परीक्षा प्रणालीले दीर्घकालमा सकारात्मक प्रभाव पार्नेछ,’ उनले भने । भविष्यमा गुणस्तरीय अभिकर्ताहरू बजारमा आउने उनको भनाइ छ । उनका अनुसार डेढ अर्ब जनसंख्या भएको भारतमा १२ लाखमात्रै अभिकर्ता छन् । तर, ३ करोड जनसंख्या भएको नेपालमा २ लाख अभिकर्ता हुनु नै इनफ हुने उनको धारणा छ ।