एनआईसी एशिया लघुवित्त इटहराले प्रहरी चौकीलाई दियो फलैचा
मोरङ । मोरङको रतुवामाई नगरपालिका बडा नम्बर ९ मा अवस्थित एनआईसी एशिया लघुवित्त वित्तीय संस्था शाखा कार्यालय इटहराले इटहरा प्रहरी चौकीलाई दुई थान रेडिमेड फलैचा बितरण गरेको छ । इटहरा प्रहरी चौकीमा हिजो शुक्रबार एक औपचारिक कार्यक्रमका बीच सो फलैचा हस्तान्तरण गरिएको हो । त्यसैगरी सोहि कार्यक्रममा दिपक सप्लायर्सले एक थान बायोस्याण्ड फिल्टर चौकीलाई उपलब्ध गराएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै एनआईसी एशिया लघुवित्त वित्तीय संस्था शाखा कार्यलय इटहराका प्रमुख मुरारि लम्सालले यस प्रकारको सामाजिक कार्य आफ्नो संस्थाले पहिलो पटक गरेको नभई यसअघि पनि गर्दै आएको जानकारी दिए । यस्तै, उनले कोरोना महामारीका बेला सदस्यहरूलाई नि:शुल्क मास्क र सेनिटाइजर वितरण गरेकोलगायत विभिन्न कामहरू उनले स्मरण गरे । उनले विपन्न परिवारलाई कम्बल वितरण जस्ता बिपन्नमुखी कार्यक्रमहरू सञ्चालन गरिसकेको बताउँदै आगामी दिनमा सामाजिक हितका कार्यक्रमहरू अझ प्रभावकारी ढङ्गबाट सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै इटहरा प्रहरी चौकीका इन्चार्ज राम कुमार माझीले एनआईसी एशियाप्रति आभार प्रकट गरे । छलफलमा आएका सर्बसाधरणलाई बस्न ठाउँ अभाव भइरहेका बेला एनआईसी एशियाले वितरण गरेको फलैचाले थप टेवा पुग्ने भनाइ उनको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय सिजुवाका प्रमुख दिपक खरेल, रतुवामाई–९ का वडा अध्यक्ष ईन्द्रबहादुर लिम्बु, वडा सदस्य तारा भण्डारी, इटहरा प्रहरी चौकीका इन्चार्ज रामकुमार माझीलगायत अन्य प्रहरी जवानहरू, रतुवामाइ मानव अधिकार समूहका अध्यक्ष तेजप्रसाद भण्डारी, एमाले नेता मेघनाथ शर्मा कट्टेल, सामाजिक अभियन्ता प्रकाश कार्की, एनआईसी एशिया लघुवित्त वित्तीय संस्था कोशी प्रदेश प्रमुख सम्राट कटुवाल, उर्लाबारी शाखाका प्रमुख केशवराज जोशी, इटहरा शाखा प्रमुख मुरारी लम्साल, कर्मचारी जालपा खडका, रितादेबी न्यौपाने र स्थानियवासीको सहभागिता थियो ।
नेको इन्स्योरेन्सको नाफा १५० प्रतिशत बढेसँगै ईपीएस पनि बढ्यो
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०÷८१को पहिलो त्रैमासमा खुद नाफा १५० प्रतिशत बढाएर ८ करोड ८० लाख ४३ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ५२ लाख ८६ हजार रुपैयाँ मात्रै खुद नाफा गरेको थियो । गत असोज मसान्तसम्म कम्पनीले ७६ करोड ४७ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७५ करोड ३८ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले गत असोजसम्म २९ करोड २८ लाख रुपैयाँ कूल दावी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड ९२ लाख रुपैयाँ कूल दावी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ, महाविपत्ति कोष १० करोड ५७ लाख रुपैयाँ र निर्जीवन बीमा कोष ३ अर्ब ५७ करोड २२ लाख रुपैयाँ पुगेको छ । असोजसम्म कम्पनीको प्रतिसेयर आम्दानी १७.५० रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २११.७१ रुपैयाँ रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ४६.०६ गुणा छ ।
लक्ष्मी सनराइज बैंकका शाखा कार्यालय गाभिने, कुन–कुन हुन् ?
काठमाडौं । लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयहरु गभिने भएका छन् । साविक लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर भएको ५ महिना पछि शाखा कार्यालय गाभिने भएका हुन् । लक्ष्मी बैंक र सनराइज बैंकबीच गत असार २९ गते एकीकृत कारोबार भएको थियो । दुवै बैंकका एउटै स्थानमा रहेका २ वटा शाखा कार्यालय गाभिएर कायम रहेको शाखाबाट कारोबार सुरु हुने बैंकले जनाएको छ । बैंकका अनुसार इलाम नगरपालिका ७ चोक बजार शाखा कार्यालय गाभिएर साविक सनराइज बैंकको शाखा कार्यालय रहेको स्थान इलाम नगरपालिका ७ निकुञ्जपथबाट कारोबार हुनेछ । यस्तै, भिमदत्त नगरपालिका ४ गल्ली नम्बर ५मा रहेको शाखा कार्यालय शाखा गाभिएर साविक लक्ष्मी बैंकको शाखा कार्यालय गल्ली नम्बर २बाट कारोबार हुने बैंकले बताएको छ । मंसिर १७ गतेदेखि गाभिएर उक्त शाखा कार्यालयबाट कारोबार सुरु हुने बैंकको भनाइ छ ।