भगवान कोइरालाको अस्पताललाई नेशनल लाइफको ७५ लाख सहयोग

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले प्रा.डा. भगवान कोइरालाको अस्पताललाई ७५ लाख रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ । इन्स्योरेन्सले बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ मा हाल निर्माणाधिन २०० बेड क्षमताको गैह्र नाफा मूलक बाल अस्पताल काठमाडौं इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थलाई सो रकम बराबरको सहयोग गर्ने भएको हो । नेशनल लाईफले उक्त अस्पतालको निर्माण परियोजनाका लागि ३ वर्षसम्म प्रतिवर्ष २५ लाख रुपैयाँका दरले वित्तीय सहयोग उपलब्ध गराउने गरी सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबाट कम्पनीको कार्यकारी प्रमुख सुरेश प्रसाद खत्री र इन्ष्टिच्यूटको तर्फबाट संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाले सम्झौतामा हस्ताक्षर गरेका छन् । सोही अवसरमा सम्झौतामा हस्ताक्षर गर्दै कार्यकारी प्रमुख सुरेश प्रसाद खत्रीले पहिलो किस्ता रकम २५ लाख रुपैयाँको चेक पनि सो संस्थालाई हस्तान्तरण गरे । समारोहमा प्रा.डा. भगवान कोइरालाले नेपालका सबै बाल बालिकाको स्वास्थ्यमा सहज र सर्वसुलभ पहुँच पुर्याउने उद्देश्यले परियोजना संचालन गर्न लागिएको र क्रमिक रुपमा देशको अन्य स्थानहरुमा समेत वाल स्वास्थ्य सेवा उपलब्ध गराउने योजना रहेको बताए । यसैगरी कम्पनीको तर्फबाट कार्यकारी प्रमुख सुरेश प्रसाद खत्रीले काठमाडौं इन्ष्टिच्यूट अफ चाईलड हेल्थबाट निर्माणधिन वाल अस्पतालको परियोजनामा योगदान पुर्याउन पाएकोमा खुशी व्यक्त गरे । त्यस्तै, अस्पताल सञ्चालन पछि नेपालका बाल बालिकाहरुले सहज रुपमा थप उत्कृष्ट स्वास्थ्य सेवा प्राप्त गर्नेमा विश्वस्त रहेको उनले बताए ।

महालक्ष्मी विकास बैंकले महालक्ष्मी स्वस्तिक बँगैचाको मर्मत गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंकले ललितपुर महानगरपालिका वडा नं ५, महालक्ष्मीस्थान, महालक्ष्मी मन्दिरमा अवस्थित महालक्ष्मी स्वस्तिक बँगैचाको मर्मत कार्यको लागि महालक्ष्मीस्थान व्यवस्थापन समितिसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । महालक्ष्मी मन्दिर परिसरको प्राकृतिक सौन्दर्यलाई अभिवृद्धि गर्नुका साथै मन्दिरमा दशर्न गर्न आउने दर्शनार्थीहरुलाई स्वच्छ तथा शान्त वातारणको अनुभूति प्राप्त गर्न मद्दत पुर्याउने उद्देश्यले बैंकले उक्त बगैँचा मर्मत गर्नका लागि उक्त सम्झौता गरेको हो । बैंकले २०७७ सालमा बँगैचाको पुनः निर्माण गर्नुका साथै निरन्तर मर्मत कार्य गर्दै आईरहेको छ । बैंकले इच्छुक दर्शनार्थीहरुलाई मन्दिरमा डिजिटल दान/भेटी प्रदान गर्न सहजता पु¥याउने हेतुले क्युआर कोडको व्यवस्था गरेको छ । महालक्ष्मीस्थान व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम ढुङ्गाना र बैंकको निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले समझदारी पत्रको आदानप्रदान गरेका थिए । आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ । विगत देखि नै ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्ध रहिआएको यस बैंकले आम ग्राहकहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्ध जनाएको छ ।

नेप्सेमा एक लघुवित्तको एफपीओ सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एक लघुवित्तको एफपीओ सूचीकृत भएको छ । सोमबार मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एक लाख २३ हजार ८१६ कित्ता एफपीओ नेप्सेमा सूचीकृत भएको हो । यससँगै उक्त सेयर दोश्रो बजारमा कारोबार गर्न मिल्ने छ ।