कर्मचारी सञ्चय कोषले २२ प्रतिशत बढायो सेयरमा लगानी, ५.२३ खर्ब पुग्यो कूल सम्पत्ति

काठमाडौं । कर्मचारी सञ्चय कोषले चालु आर्थिक वर्ष २०८०/८१को पहिलो त्रैमासमा ३२ अर्ब रुपैयाँ सेयरमा लगानी गरेको छ । कोषले सार्वजनिक गरेको तथ्याङ्क अनुसार असोज मसान्तसम्म धितोपत्रमा २२ प्रतिशत लगानी बढाएर ३२ अर्ब २ करोड ३५ लाख रुपैयाँ गरेको हो । गत वर्षको सोही अवधिमा कोषले २६ अर्ब २३ करोड ९४ लाख रुपैयाँ धितोपत्रहरूमा लगानी गरेको थियो । असोजसम्म कोषको बैंक तथा वित्तीय संस्थाहरुमा १ खर्ब ४५ अर्ब १९ करोड रुपैयाँ मौज्जात रहेको छ । गत वर्षको सोही अवधिमा १ खर्ब २५ अर्ब ९८ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा मौज्जात थियो । कोषका अनुसार गत असोजसम्म २ अर्ब ४७ अर्ब ७५ करोड रुपैयाँ सञ्चयकर्तालाई कर्जा तथा सापटी दिएको छ । गत वर्षको असोजमा २ खर्ब २७ अर्ब ७३ करोड रुपैयाँ सञ्चयकर्तालाई कर्जा तथा सापटी दिएको थियो । ४ खर्ब ७१ अर्ब २४ करोड रुपैयाँ कूल सम्पत्ति रहेकोमा गत असोजसम्म बढेर ५ खर्ब २३ अर्ब ६९ करोड रुपैयाँ पुगेको कोषले जनाएको छ ।

राष्ट्रिय सहकारी बैंकको ब्याजदर परिवर्तन, अब कुन खातामा कति ?

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सहकारी बैंकले मंसिर १२ गतेदेखि लागू हुने गरी बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको हो । बैंकले बचततर्फ न्यूनतम ३.५० प्रतिशतदेखि अधिकतम १०.२५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । जसमा साधारण बचत खातामा ३.५० प्रतिशतदेखि ४ प्रतिशत, विशेष बचतमा ४.२५ प्रतिशत, सुपर बचतमा ४.२५ प्रतिशतदेखि ४.७५ प्रतिशत तोकिएको छ । यस्तै, एनसिसिएल समुन्नत बचच खातामा न्यूनतम ४.२५ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत, एनसिसिएल प्रिमियम बचतमा ४.५० प्रतिशतदेखि ५ प्रतिशत, अनिवार्य नियमित बचतमा ९.५० प्रतिशत र क्रमिक बचतमा ९.२५ प्रतिशतदेखि १० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको बैंकले जनाएको छ । यस्तै, बैंकको मुद्दती निक्षेपमा न्यूनतम ८.७५ प्रतिशतदेखि अधिकतम १०.२५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । बैंकका अनुसार कर्जा तर्फ विभिन्न विभिन्न शिर्षकमा ८.५० प्रतिशतदेखि १३.७५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ । बैंकका अनुसार घर घडेरी खरिद तथा भवन निर्माण कर्जाको स्वः लगानी नियमानुसार हुनेछ । लघुवित्त कर्जा, गरिबि निवारण कर्जा, सबल सहकारी कर्जा र दिगो सहकारी कर्जा लगानीको ब्याजदर संस्था वर्गीकरणको आधारमा फरक गरीने जनाएको छ । साथै, मुद्दती निक्षेपको बिड रेट १०.२५ प्रतिशत सम्म प्रस्ताव गर्न सकिने बैंकले जनाएको छ । अपाङ्ग, दलित र महिलाद्वारा संचालित संस्थालाई प्रकाशित ब्याजदरमा ०.५ प्रतिशतसम्म थपघट गर्न सकिने छ । यस्तो सुविधा दोहोरो हुनेगरी प्रदान गरिने छैन ।

वित्तीय ठगीबाट आफू पनि बचौं, अरूलाई पनि बचाऔं : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले नचिनेको व्यक्तिका लहलहैमा लागेर पैसा पठाउने वा खाताका विवरण उपलब्ध नगराउन आग्रह गरेको छ । वित्तीय चेतनाका लागि सन्देश जारी गर्दै राष्ट्र बैंकले अपरिचित व्यक्तिको विश्वासमा खाताको विवरण उपलब्ध नगराउन आग्रह गरेको हो । राष्ट्र बैंकका अनुसार ह्वाट्सएप, भाइबर, मेसेन्जर जस्ता मोबाइल एप वा इमेल वा फोनबाट विभिन्न किसिमका चिठ्ठा परेको, पुरस्कार जितेको, धन सम्पत्ति वा सुन फेला परेको, अपुताली सम्पत्ति फेला परेको वा छोटो समयमै धेरै प्रतिफल पाइने योजना उपलब्ध भएको जस्ता विभिन्न बहानाका सन्देश पठाउन सक्छन् । साथै, सो रकम वा सम्पत्ति प्राप्त गर्न केही रकम पठाउनु पर्दछ वा खाताको जानकारी दिनुपर्दछ भनी सर्वसाधारणलाई आर्थिक प्रलोभन देखाई ठगी गर्ने घटना संसारभर हुने गरेका छन् । यी सबै घटना वित्तीय ठगीका उदाहरण भएको राष्ट्र बैंकले जनाएको छ । ‘यस्ता सन्देशलाई विश्वास गर्ने, हुँदै नभएको वा आफूले भाग नलिएको चिठ्ठा वा पुरस्कार जितेको कुराको पछि लाग्ने वा चिन्दै नचिनेको व्यक्तिका झुटो कुराको विश्वास गरी लहैलहैमा लागेर पैसा पठाउने वा खाताका विवरण उपलब्ध गराउने कार्य नगरौं,’ राष्ट्र बैंकको सन्देशमा भनेको छ । साथै, वित्तीय ठगीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउनु पर्ने राष्ट्र बैंकले जनाएको छ ।