फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको मंसिर १३ गते बसेको बैठकले १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हाल कायम चुक्ता पुँजी १ अर्ब १४ करोड ७७ लाख४५ हजार रुपैयाँ रहेको छ । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

लक्ष्मी लघुवित्त १४औं वर्षमा प्रवेश, ग्राहक संख्या १ लाख ७ हजार पुगे

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था १३ बर्ष पुुरा गरी १४औं वर्षमा प्रवेश गरेको छ । लघुवित्त आज मंसिर १४ गतेदेखि १४औं वर्षमा प्रवेश गरेको लघुवित्तले जनाएको छ । लक्ष्मी लघुवित्तले १३औँ बार्षिकोत्सवको अवसरमा संस्थाको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको छ । राष्ट्र बैंकले बैंकहरुलाई सहायक कम्पनी खोल्न दिने प्रावधान ल्याएपछि २०६७ सालमा लक्ष्मी लघुवित्त सञ्चलानमा आएको थियो । लक्ष्मी लघुवित्त २३ नम्बरमा खोलिएको लघुवित्तीय संस्था हो । ग्राहकहरुलाई कमर्सियल बैंकको स्वाद चखाउने गरी स्थापना भएको लक्ष्मी लघुवित्तले आफ्ना सबै सेवा डिजिटलाइजेशन गरेर ग्राहकहरुलाई सेवा दिइरहेको छ । लक्ष्मी लघुवित्तले नेपालको लघुवित्त क्षेत्रमा पहिलो पटक सेन्ट्रलाइज कोर बैंकिङ सिस्टम सुरु गरेको हो । पहिला शाखा–शाखामा आफ्नो डाटाराखेर सिस्टम चलाइन्थ्यो तर लक्ष्मीले केन्द्रबाट नै शाखालाई मोनिटरिङ गरेको हो । मोबाइल एप चलाउने लक्ष्मी लघुवित्त पहिलो हो । कनेक्ट आइपीएसबाट इसेवा, खल्ति लगायत कारोबार लक्ष्मी लघुवित्तले गरिरहेको छ । लक्ष्मी लघुवित्तले ५६ जिल्लामा ९० वटा शाखा सञ्जाल मार्फत आफ्नो सेवा प्रवाह गरिरहेको छ । लक्ष्मी लघुवित्तका ग्राहक सदस्य संख्या १ लाख ७ हजार ९९७ रहेका छन् । लघुवित्तको निक्षेप २ अर्ब २१ करोड रुपैयाँ रहेको छ भने लगानीमा रहेको कर्जा ६ अर्ब ९४ करोड रुपैयाँ रहेको लघुवित्तले जनाएको छ । ससँगै संस्थाले हालसम्म सहयोग गर्ने सबै सरोकारवालाहरुलाई धन्यवाद दिएको छ । र, आगामी दिनहरुमा पनि सबैबाट थप सहयोगको अपेक्षा गरेको संस्थाले जनाएको छ । लक्ष्मी लघुवित्त लक्ष्मी सनराइज बैंक (साविक लक्ष्मी बैंक)को सहायक संस्था हो ।

धितो लिलाम गरेको ३ महिनापछि मात्रै जमानीकर्ता कालोसूचीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणको जमानत बस्ने व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्नका लागि दिइने समय ३५ दिनबाट बढाएर ९० दिन अर्थात् ३ महिना पुर्याएको छ । राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै यस्तो व्यवस्था ल्याएको हो । “कर्जा सुविधा उपलब्ध गराउनका लागि जमानत दिने व्यक्ति, फर्म, कम्पनी वा सङ्गठित संस्थाले जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपूर्व ऋणीले सुरक्षणस्वरुप राखेको धितो लिलाम गरी असुली गर्नुपर्नेछ”, संशोधित एकीकृत निर्देशनमा भनिएको छ, “यस्तो सुरक्षणबाट भएको असुली पर्याप्त नभई बैंकको असुल गर्नुपर्ने रकम बाँकी रहेमा सोको भुक्तानीका लागि जमानतदातालाई ९० दिनको समय प्रदान गर्नुपर्नेछ, सो सूचना अवधि पश्चातमात्र जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपर्नेछ ।” यसअघि जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपूर्व निजले जमानी दिएको रकम चुक्ता गर्न इजाजतपत्रप्राप्त संस्थाले ३५ दिनको लिखित सूचना दिनुपर्ने व्यवस्था थियो । त्यस्तै संयुक्त उपक्रम (जोइन्ट भेन्चर)मा कुनै आयोजनामा लगानी गरेका कम्पनीको कालोसूचीसम्बन्धी व्यवस्थामा पनि संशोधन गरिएको छ । “जेभीमा आबद्ध कुनै फर्म तथा कम्पनी कालोसूचीमा परेका कारणले मात्र सोही जेभीमा आबद्ध अन्य फर्म तथा कम्पनीहरूलाई कालोसूचीमा राख्न अनिवार्य हुने छैन”, निर्देशनमा भनिएको छ ।