निफ्रा बैंकले डाक्यो पाँचौं साधारणसभा, ९० करोड ९४ लाख रुपैयाँ लाभांश बाँड्ने
काठमाडौं । लाभांश वितरण प्रस्ताव पारित गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको मंसिर १४ गते बसेको बैठकले पाँचौं वार्षिक साधारणसभा पुस १७ गते काठमाडौंमा बिहान ९ बजे बोलाएको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी २१ ऋर्ब ६० करोड रुपैयाँको ४.२१ प्रतिशतका दरले ९० करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको छ । बैंकको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । संस्थापक समूहबाट ३ जना सञ्चालक निर्वाचन गर्नेछ । यस्तै, सर्वसाधारण समूहबाट सञ्चालक बनेका प्रवीण सुवेदीको नियुक्तिलाई अनुमोदन गर्नेछ । बैंकले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि पुस ६ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पुस ६ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।
अर्थमन्त्री र गभर्नरबीच भेटवार्ता, राष्ट्र बैंकका ४ दर्जन कर्मचारीको सरुवा
काठमाडौं । नेपाल राष्ट्र बैंकले एकैपटक झण्डै ४ दर्जन कर्मचारीहरूको सरुवा गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ५ जना कार्यकारी निर्देशकसहित ४६ जना कर्मचारीहरूको सरुवा गरिएको सहायक सूचना अधिकारी डा.भागवत आचार्यले जानकारी दिए । गभर्नर अधिकारीले बुधबार कार्यकारी निर्देशक, उपनिर्देशक र सहायक निर्देशकको सरुवा गरेको आचार्यले बताए । आचार्यका अनुसार गैर-बैंक वित्तीय संस्था पर्यवेक्षण विभाग प्रमुख प्रदीपराज पौड्याललाई मुद्रा विभागमा सरुवा गरिएको हाे । सूचना प्रविधि विभागका कार्यकारी निर्देशक राम बहादुर मानन्धरलाई गैर-बैंक वित्तीय संस्था पर्यवेक्षण विभागको जिम्मेवारी दिइएको उनले बताए । यस्तै, मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यलाई सूचना प्रविधि विभागमा सरुवा गरिएको उनको भनाइ छ । बैंकिङ्ग विभाग सम्हाल्ने गरी कार्यकारी निर्देशक बिश्रुत थापालाई जिम्मेवारी दिईएको छ । थापा यसअघि वित्तीय संस्था पर्यवेक्षण विभाग प्रमुख थिए । बैंकिङ विभाग प्रमुख दयाराम शर्मालाई भने वित्तीय संस्था सुपरिवेक्षणमा सरुवा गरिएको डा.आचार्य बताउँछन् । उनका अनुसार ठूलो संख्यामा उपनिर्देशक सहायक निर्देशकहरूको सरुवा गरिएको छ । राष्ट्र बैंकले २५ जना उप-निर्देशक र १६ जना सहायक निर्देशक गरी ४१ जनाको सरुवा गरेको बताइएकाे छ । अर्थमन्त्री र गभर्नरबीच भेटवार्ता बिहीबार राष्ट्र बैंकका गभर्नर अधिकारी र अर्थमन्त्री डा.प्रकाशशरण महतबीच वान टू वान भेटवार्ता भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्नुअघि अर्थमन्त्री डा.महतले गभर्नर अधिकारीसँग भेटवार्ता गरेका हुन् । दुवै जनाबीच वान टू वान भेटवार्ता भएको अर्थमन्त्री सचिवालयले जनाएको छ । मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा छलफल भएको स्रोतको भनाइ छ । वित्त नीति र मौद्रिक नीतिको समन्वय गरेर समीक्षा गर्न अर्थमन्त्री डा.महतले आग्रह गरेका थिए । अप्ठ्यारामा परेका व्यवसायलाई सहजिकरण गर्ने विषयमा पनि छलफल भएको बुझिएको छ । ‘मौद्रिक नीति प्रभावकारी बनाउने, अप्ठ्यारामा परेको निजी क्षेत्रलाई सहजिकरण गर्न र अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीतिको समीक्षा गर्न गभर्नरज्यूसँग छलफल भएको हो,’ अर्थमन्त्री सचिवालयले भन्यो । अर्थमन्त्री डा. महतले अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रको मनोबल बढाउन ब्याजदर घटाउने गरी व्यवस्था गर्न गभर्नरसमक्ष आग्रह गरेका छन् । साथै, गभर्नर अधिकारीले भेटवार्ताको क्रममा अर्थमन्त्री डा.महतलाई आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेश गरेको बताइएको छ ।
शिखर इन्स्योरेन्सले गर्यो २० दिनमै भूकम्प पीडितलाई भुक्तानी
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले २० दिनमै भूकम्पबाट भएको क्षतिको दाबी भुक्तानी गरेको छ । कम्पनीले कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट क्षति पुर्याएका बीमितलाई छोटो समयमै दाबी भुक्तानी गर्न सफल भएको हो । भूकम्पको भोलिपल्टै घटनास्थलमा सर्भेयर खटाइ कम्पनीले द्रुत गतिमा क्षति मूल्याङ्कनको काम सुरु गरेको थियो । भूकम्पबाट पीडित बीमितको निवेदन आउनु भन्दा अगाडी नै कम्पनीले आफ्ना बीमितलाई क्षति मूल्याङ्कनको काम सुरु गरेर नेपालको बीमा क्षेत्रमै उदाहरणीय काम गरेको इन्स्योरेन्सको दावी छ । शाखा कार्यालयका कर्मचारी तथा कम्पनीले खटाएका सर्भेयरले पहिलो चरणमा बीमितसँग आवश्यक समन्वय गरेर न्यूनतम कागजात जुटाउनुका साथै दाबी रकम यकिन गरिएको थियो । विषम परिस्थितिमा पनि शाखा कार्यालय तथा सर्भेयरहरुको सक्रियतामा क्षति सङ्ख्याको ९० प्रतिशत दाबी भुक्तानी भइसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले जानकारी दिएका छन् । केहि दाबी भुक्तानी बीमितका आफन्तजन घाइते तथा मृत्यु भएका कारणले सम्पर्कमा आउन नसक्दा दाबी भुक्तानी हुन नसकेको कम्पनीले जनाएको छ । उनीहरुलाई सम्पर्क गर्ने प्रयास भइरहेको र सम्पर्कमा आउने वित्तिकै दाबी भुक्तानी गरिने कम्पनीले जानकारी दिएको छ ।