आइजीआई प्रुडेन्सियल र सिद्धि स्मृति प्रतिष्ठानबीच क्यासलेस सेवा सम्झौता
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र भक्तपुरको भीमसेनस्थानमा रहेको सिद्धि स्मृति प्रतिष्ठानबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठानबीच नगद रहित (क्यासलेस) सेवा सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी उज्ज्वल ढुंगाना र सिद्धि स्मृति प्रतिष्ठानका संचालन निर्देशक अनिल राजभण्डारीले हस्ताक्षर गरे । यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म सिद्धि स्मृति प्रतिष्ठानबाट नगद रहित हस्पिटलाईजेशस (क्यासलेस हस्पिटलाईजेशस) प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ । साथै, सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी उज्ज्वल ढुंगानाले सिद्धि स्मृति प्रतिष्ठानले आफना ग्राहकलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस (क्यासलेस हस्पिटलाईजेशस) सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आबद्ध सदस्यलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट प्राप्त गर्नसक्ने हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।
शिवम् होल्डिङ्सले पनि प्रिमियममा आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल
काठमाडौं । शिवम् सिमेन्ट्सको सहायक कम्पनी शिवम् होल्डिङ्सले पनि आईपीओ जारी गर्ने भएको छ । सिमेन्ट्सको करिब ८५ प्रतिशत सेयर लगानी रहेको शिवम् होल्डिङ्सले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको हो । होल्डिङ्सले जारी पुँजी ५ अर्ब ८० करोड रुपैयाँको २० प्रतिशत बराबर हुने एक सय रुपैयाँ दरको एक करोड १६ लाख कित्ता साधारण सेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । जसको लागि संस्थाले नेपाल धितोपत्र बोर्डको स्वीकृतिको लागि प्रक्रिया अगाडि बढाएको छ । संस्थाले अधिकृत तथा जारी पूँजी ५ अर्ब ८० करोडमध्ये संस्थापकहरुतर्फ ८० प्रतिशत अर्थात ४ अर्ब ६४ करोड र सर्वसाधारणतर्फ २० प्रतिशत अर्थात १ अर्ब १६ करोड रुपैयाँ सेयर पूँजी छुट्याई प्रिमियम मूल्यमा निष्कासन गर्ने प्रक्रिया शुरु गरेको हो । त्यस्तै, उक्त सेयर निष्काशन गर्नको लागि संस्थाले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गर्न सम्झौता गरेको छ । उपयुक्त सम्झौता अनुसार कम्पनीले सर्वसाधारणमा सेयर निष्कासन गरी बजारमा छरिएर रहेको स-साना पूँजीलाई संकलन गर्दै लगानी थप विस्तार गरी देशको अर्थतन्त्रमा योगदान पुर्याउदै मुनाफा आर्जन गर्ने विश्वास लिएको छ । शिवम् होल्डिङग्स २०७१ सालमा प्रा.लि. कम्पनी अन्तर्गत दर्ता भई २०७९ सालमा पब्लिक लिमिटेडमा परिणत भएको कम्पनीले नेपालको सबैभन्दा ठूलो सिमेन्ट तथा किलङकर उत्पादन क्षमता भएको अत्याधुनिक प्रविधियुक्त ग्रिनफिल्ड उद्योग, जुन उद्योगले वेष्ट हिटको उपयोग गरि करिब १२ मेघावाट विद्युत समेत उत्पादन गरी आफ्नै उद्योगमा प्रयोग गर्दै आएको छ । कन्भेयरवेल्टबाट चुनढुंगा ढुवानी गर्न सुरुङमार्ग समेत निर्माण गरिरहेको चिनिया विदेशी लगानी समेत रहेको होङशी शिवम् सिमेन्ट, विनयी त्रिवेणी गाँउपालिका सर्दि, पूर्वी नवलपरासीमा अवस्थित कम्पनीमा ३० प्रतिशत सेयर रहेको छ । उक्त उद्योग विगत ५ वर्षदेखि पूर्ण सञ्चालनमा रहेको प्रोजेक्टमा ठूलो रकम लगानी गरेको छ र उक्त शेयर लगानी गरेको कम्पनीबाट प्रतिफलसमेत प्राप्त गर्न शुरु गरिसकेको छ । यस कम्पनीका संस्थापकहरुमा शिवम् सिमेन्ट्सको संस्थागत सेयर लगानी करिब ८५ प्रतिशत र अन्य १९ जना विभिन्न उद्योग, व्यापार र पेशा व्यवसायमा सफल रहेका व्यक्तिहरुको व्यक्तिगत करिब १५ प्रतिशत सेयर लगानी रहेको छ । कम्पनीले आफ्नो सेयर रकम लगानी गरेको संस्थाबाट विगत २ वर्षदेखि मुनाफा समेत प्राप्त गरेको छ भने सेयर जारी गरी सर्वसाधारणबाट संकलन हुने प्रिमियम मूल्य सहितको रकम अन्य उपयुक्त परियोजनाहरु विस्तार गर्नेछ । जस्तै हाइड्रोपावर, बैंक वित्तीय संस्था, टुरिजम क्षेत्र र इन्फाष्ट्रक्चरका परियोजना तथा अन्य उद्योग लगायतका क्षेत्रमा समेत सेयर लगानी विस्तार गर्ने योजना कम्पनीको योजना रहेको जानकारी गराइएको छ ।
नेप्सेमा एक लघुवित्तको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा नाडेप लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको २० प्रतिशत बोनस सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै नेप्सेमा संस्थाको थप ८ लाख ९ हजार ६०० कित्ता बोनस सेयर थपिएको छ । जुन अबको सेयर बजारमा किनबेच गर्न मिल्ने छ ।