राष्ट्र बैंकमा ५ जना कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर, आइतबारदेखि लागू हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकमा थप ५ जना विभागीय प्रमुख (कार्यकारी निर्देशक) को जिम्मेवारी हेरफेर भएको छ । केही दिन अघि मात्र ५ जना कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज सोमबार पनि थप ५ जना कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरेका हुन् । यससँगै, बैंक तथा वित्तीय संस्था नियमन विभागका डा। गुणाकर भट्टले भुक्तानी प्रणाली विभागको जिम्मा पाएका छन् । उनी प्रवक्ताको जिम्मेवारीमा समेत छन् । त्यस्तै, भुक्तानी प्रणाली विभागका गुरुप्रसाद पौडेलले नियमन विभागको जिम्मेवारी पाएका छन् । यस्तै, जनशक्ति व्यवस्थापन विभागमा हाल वित्त व्यवस्थापन विभाग हेर्दै आएका मुकुन्द क्षेत्री सरुवा भएका छन् । त्यसैगरी, वित्त व्यवस्थापनको जिम्मेवारी रामु पौडेल र विदेशी विनिमय व्यवस्थापन विभागको जिम्मेवारी तुलसी घिमिरेले पाएका छन् । पौडेल यसअघि विदेशी विनिमय व्यवस्थापन विभागको प्रमुख थिए । गर्भनर अधिकारीले आगामी आइतबारदेखि लागु हुने गरी विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।
एलआईसी नेपालको २१औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) (नेपाल) को २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा सोमबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७८/७९ लाई अनुमोदन गर्ने प्रस्तावलाई पारित गरेको छ । त्यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरेको छ । त्यस्तै, सभाले आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकमा श्री पिएल श्रेष्ठ एण्ड कम्पनीलाई पुनः नियुक्त गरेको छ ।
एशियन लाइफ इन्स्योरेन्सको सञ्चालक मास्केले दिइन् राजीनामा
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक सजल मास्केले राजीनामा दिएकी छिन् । कम्पनीको सञ्चालक समितिको सञ्चालक मास्केले आफ्नो व्यक्तिगत कारण देखाई राजीनामा दिएकी हुन् । उनको राजीनामालाई मंसिर १८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।