ग्रामीण क्षेत्रका बासिन्दाका घरमा गएर सेवा दिन बीमा कम्पनीलाई अध्यक्ष सिलावालको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा यही मङ्सीर १९ गते रूपन्देही जिल्लाको बुटवलमा लुम्बिनी प्रदेशस्थित बीमा कम्पनीका प्रदेश कार्यालय प्रमुखहरूसँग बीमा सम्बन्धी समयसामयिक विषयमा अन्तरक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले शहरी क्षेत्रमा मात्र केन्द्रित नभई गाउँ गाउँमा पुगेर नागरिकको विश्वास बढ्ने गरी बीमा व्यवसाय गर्न बीमा कम्पनीका प्रदेश कार्यालयका प्रमुखहरूलाई निर्देशन दिए । अध्यक्ष सिलवालले स्थानीय तहसँग नियमित रूपमा सम्पर्कमा रही काम गर्न, कानून, नियम र निर्देशिकाले निषेध गरेका कार्य नगर्न र नागरिकलाई गुणस्तरीय सेवा दिन निर्देशन दिए । साथै, उनले ग्रामीण क्षेत्रका बासिन्दाका घर घरमा गएर बीमा सेवा दिन, डिजिटल माध्यमबाट व्यवसाय गर्न र स्थानीय आवश्यकताका आधारमा लघुबीमालेख ल्याउन लघु बीमा कम्पनीहरूलाई निर्देशन दिए । कार्यक्रममा सहभागीहरूले बीमा सम्बन्धी जानकारीमूलक कार्यक्रमहरू वडा वडामा समेत गर्नुपर्ने, विद्यालयका पाठ्क्रममा बीमा विषयलाई समेत समावेश गर्नुपर्ने, घर निर्माण गर्दा नै बीमा गर्ने व्यवस्था गर्नुपर्ने, कृषि प्राविधिकको पर्याप्त व्यवस्था गर्नुपर्ने लगायतका धारणा राखेका थिए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक सुशीलदेव सुवेदी, प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयका प्रमुख पूर्ण बहादुर थापा तथा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र लघुबीमा कम्पनीका प्रदेश कार्यालय प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
प्राइम कमर्सियल बैङ्क कर्मचारी सङ्घको अध्यक्षमा पोखरेल
काठमाडौं । प्राइम कमर्सियल बैंक कर्मचारी संघको अधिवेशन तथा निर्वाचन सम्पन्न भएको छ । प्राइम कमर्सियल बैङ्क कर्मचारी सङ्घको तेस्रो केन्द्रीय अधिवेशन शनिबार काठमाडौंमा सम्पन्न भएको छ । अधिवेशनले संघको केन्द्रीय समितिमा विगत १० वर्षदेखि सङ्घमा आवद्ध रहेका बुद्धिराज पोखरेलको अध्यक्षतामा १३ सदस्यीय र्निविरोध निर्वाचित गरेको छ । निर्वाचित समितिमा अध्यक्ष पोखरेलसहित उपाध्यक्ष धन बहादुर गोले, महासचिव शैलेश उप्रेती, सचिव बालकृष्ण राउत, कोषाध्यक्ष राजेश मानन्धर, वरिष्ठ केन्द्रिय सदस्य दामोदर ढुङ्गाना, केन्द्रीय सदस्य (खुल्ला) बिवेक दली, मिलन विक्रम बस्नेत, राजेश दाहाल, रेवन्त राज नेपाल तथा केन्द्रीय सदस्य (महिला) स्वेज्ना राजभण्डारी, मोनालिसा मल्ल र रूचिमा लोप्चन् निर्वाचित भएका छन् । सो अवसरमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरले बैङ्कको उन्नति तथा प्रगतिमा कर्मचारीहरूको मुख्य भुमिका रहने हुँदा सबै मिलेर अथक परिश्रम गर्न आह्वान गरे ।
राष्ट्रिय बीमा संस्थान बन्यो जीवन बीमा कम्पनी, कहिले आउला आईपीओ ?
काठमाडौं । राष्ट्रिय बीमा संस्थान जीवन बीमा कम्पनी लिमिटेडमा परिणत भएको छ । जसको लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणले औपचारिक रुपमा स्वीकृति दिई प्रमाणपत्र दिएको छ । प्राधिकरणले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको नाममा जीवन बीमकको प्रमाणपत्र जारी गरेको हो । यससँगै अब साविकको राष्ट्रिय बीमा संस्थानले राष्ट्रिय जीवन बीमा कम्पनीको नामबाट बीमा ऐन, २०७९ बमोजिमको जीवन बीमा व्यवसाय गर्ने छ । साविकको राष्ट्रिय बीमा संस्थानले प्रस्ताव गरेअनुसार संस्थानलाई कम्पनीमा परिणत गरिएको हो । कम्पनीमा परिणत भएसँगै अब कम्पनीले सर्वसाधारणमा सेयर निष्काशन गर्नुपर्छ । बीमा ऐन अनुसार कम्पनीले एक वर्षभित्रमा पुँजी वृद्धि गरी ५ अर्ब रुपैयाँ पुर्याउने, संस्थापक सेयरधनीको तर्फबाट ७० प्रतिशत अर्थात ३ अर्ब ५० करोड रुपैयाँ संकलन गर्ने र सर्वसाधारणलाई ३० प्रतिशत अर्थात एक अर्ब ५० करोड रुपैयाँको साधारण सेयर निष्काशन गर्नुपर्ने हुन्छ । संस्थापकले पैसा थपेपछि पनि सर्वसाधारणको लागि सेयर निष्काशन प्रक्रिया भने अझै धेरे समय लम्बिने भएको छ । संस्थानले विगत ५ वर्षदेखिको हिसाब लेखापरीक्षण गराउन र साधारणसभा गराउन सकेको छैन । अन्तिम आर्थिक वर्षको लेखापरीक्षण र साधारणसभा नगरेका कम्पनीले सर्वसाधारणमा सेयर निष्काशन गर्न पाउँदैनन् ।