विदेश भ्रमणमा राष्ट्र बैंकका कर्मचारीको ताँती
काठमाडौं । त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय कक्षतर्फ हेर्दा विदेश जानेहरूको लर्काे देखिन्छ । विमानस्थल खचाखच देखिन्छ । विभिन्न कामको सिलसिलामा दैनिक विदेश जाने हजारौं नेपाली छन् । अधिकांश नेपालीको सपना छ, एकपटक विदेश जाने । तालिम, अध्ययन र अनुभव आदानप्रदानका नाममा ठूलो संख्यामा जनप्रतिनिधि तथा कर्मचारी विदेश जाने गरेका छन् । नेपाल राष्ट्र बैंकका कर्मचारीहरूमा पनि विदेश मोह प्रत्येक वर्ष बढ्दै गएको देखिएकाे छ। प्रत्येक वर्ष अन्तर्राष्ट्रिय सभा, बैठक तथा कार्यक्रमहरूमा सहभागी हुनका लागि राष्ट्र बैंकबाट विदेश जाने कर्मचारीको संख्या बढ्दो छ । राष्ट्र बैंकबाट एक वर्षमै ४२२ पटकसम्म कर्मचारीहरू विदेश भ्रमणमा गएको तथ्यांक सार्वजनिक भएको छ । गत आर्थिक वर्ष २०७९/८०मा ४२२ पटकसम्म अन्तर्राष्ट्रिय सभा, बैठक तथा कार्यक्रमहरूमा कर्मचारीहरूको सहभागिता रहेको राष्ट्र बैंकले जनाएको छ । गत वर्ष राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ८ पटकसम्म विदेश भ्रमण गएका हुन् । यस्तै, डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना (तिम्सिना) र बमबहादुर मिश्रले ९ पटकसम्म विदेश भ्रमण गरेका छन् । यस्तै, राष्ट्र बैंकबाट प्रतिनिधित्व गर्दै सञ्चालकहरूले एकपटक विदेश भ्रमण गरेको तथ्यांकमा उल्लेख छ । यस्तै, कार्यकारी निर्देशकहरू २८ पटक, निर्देशकहरू ५७ पटक, आईटीतर्फका निर्देशकहरू ६ पटक, उपनिर्देशकहरू १२५ पटक, आईटीतर्फका उपनिर्देशकहरू ८ पटक, मेकानिकलतर्फका उपनिर्देशकहरू १ पटक, सहायक निर्देशकहरू १२३ पटक, सहायक निर्देशकहरू (आई.टी.)तर्फ एक पटक विदेश भ्रमण गएका हुन् । यसैगरी, हेड असिस्टेन्ट ५० पटक, हेड असिस्टेन्ट (आई.टी.)तर्फ १ पटक, असिस्टेन्ट १ पटक, असिस्टेन्ट (आई.टी)तर्फ २ पटक, एक्टिङ असिस्टेन्ट डाइरेक्टर १ पटक विदेश भ्रमणमा गएका राष्ट्र बैंकले जनाएको छ । यसअघि अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ७३ पटकसम्म विदेश भ्रमण गएका थिए । यस वर्ष उच्च तहका अधिकारीहरू ३ पटक, कार्यकारी निर्देशकहरू १५ पटक, निर्देशकहरू १२ पटक, उपनिर्देशकहरू २० पटक र सहायक निर्देशकहरू तथा अन्य कर्मचारी २३ पटक विदेश भ्रमणमा गएका थिए ।
दाबी भुक्तानीमा ढिलाइ गर्ने बीमा कम्पनीलाई कारबाही गर्न मुख्यमन्त्री चौधरीको आग्रह
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आज राप्ती उपत्यका (देउखुरी)स्थित लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहलमा लुम्बिनी प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तर्क्रिया एवं छलफल कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बीमा दाबी भुक्तानी समयमै नदिई ढिलाई गर्ने बीमा कम्पनीहरुलाई कारबाही गर्न नेपाल बीमा प्राधिकरणसँग आग्रह गरेका छन् । उनले बीमा दाबी भुक्तानी सजिलै गर्ने वातावरण तयार गरी बीमा क्षेत्रलाई बद्नाम हुन नदिन आग्रहसमेत गरे । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेशमा बीमा क्षेत्रको समग्र विकास एवं विस्तारका लागि प्रदेश बीमा नीति ल्याउनु आवश्यक भएको औंल्याउँदै बीमा नीति निर्माणमा सहयोग गर्न प्राधिकरण तयार रहेको बताए । उनले भने, ‘बीमा सम्बन्धमा आउने गुनासा कम गर्न प्राधिकरणले नीतिगत र व्यवहारिक रूपमा कार्य गर्दै आएको छ, आम नागरिकलाई सहज रूपमा बीमा सेवा पुर्याउन जोड दिइएको छ।’ कार्यक्रममा उठेका प्रश्नहरुको जबाफ दिँदै अध्यक्ष सिलवालले बीमा दाबी शीघ्र भुक्तानी गर्ने व्यवस्था मिलाउन कार्य भइरहेको जानकारी दिए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमाको महत्व, बीमा बजारको विद्यमान अवस्था, बीमा क्षेत्रको विकास एवं विस्तारमा प्रदेश सरकारको भूमिका लगायत बीमा सम्बन्धी समग्र विषयमा प्रस्तुति दिएका थिए । कार्यक्रममा सहभागीहरुले बीमा गर्न बीमा अभिकर्ता घर घरमा जाने तर दाबी भुक्तानी गर्न भने बीमा कम्पनीहरुले ढिलाइ गर्ने वा नदिने गरेको गुनासो आउने गरको, कृषि प्राविधिक र बीमा अभिकर्ताले पर्याप्त पारिश्रमिक नपाएका कारण कुषिबीमा विस्तार नभएको, हरेक स्थानीय तहसम्म बीमकका शाखा विस्तार गर्नु आवश्यक देखिएको उल्लेख गरे। यसैगरी, बीमा कम्पनीहरुले कम्पलसरी बीमाबाहेक अन्य बीमा गर्न नमानेको, लम्पीस्किन रोगका कारण क्षति भएका गाई, भैंसीको बीमा दाबी भुक्तानी नगरेको, कोरोना बीमाको दाबी भुक्तानी नपाएको, दाबी भुक्तानी समयमा नपाउँदा बीमाप्रतिको विश्वसनीयतामा कमी आएकोलगायतका धारणा सहभागीहरुले राखेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्री, प्रमुख सचिव र प्रदेश मन्त्रालयका सचिवहरु, नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक र प्रदेशस्थित विभिन्न सरकारी निकायका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयका प्रमुख पूर्णबहादुर थापाले गरेका थिए।
ललितपुरको इमाडोलमा सिटिजन्स बैंकको शाखा सञ्चालनमा
काठमाडौं । सिटिजन्स बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९०औं शाखा ललितपुरको इमाडोलमा सञ्चालनमा ल्याएको छ । यससँगै काठमाडौं उपत्यकाभित्र यस बैंकको ३८ वटा शाखाहरु र बाग्मती प्रदेशमा ५२ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । नयाँ शाखा सञ्चालनको अवसरमा यस शाखामा खाता खोल्दा डेविट कार्ड, मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरुको पहिलो वर्ष निशुल्क प्राप्त गर्न सकिने बैंकले जनाएको छ । साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५५ र लकर शुल्कमा ५०५ छुट उपलब्ध रहेको छ । यो सुविधाहरु हालसालै खुलेको टेकु शाखामा पनि उपलब्ध रहेको बैंकले जनाएको छ । इमाडोलमा आज आयोजित एक कार्यक्रमका बीच बैंक संचालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरे । कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष पाण्डेले प्रुडेन्ट बैंकिङ्ग र सुशासनमा कुनै सम्झैता नगरी ग्राहक सेवामा विशेष ध्यान पुर्याउने दृढता व्यक्त गरे । सो अवसरमा बैंक संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको पनि उपस्थिति थियो । उक्त शाखाको उद्घघाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । सुविधा सम्पन्न यस शाखा मार्फत लकर सेवा, एटिएम सेवा लगायत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५० वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ७९ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।