लक्ष्मी टेक्नोप्लाष्टले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट

काठमाडौं । लक्ष्मी टेक्नोप्लाष्टले सर्वसाधारणलाई आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले १०० रूपैयाँ अंकित दरका १४ लाख कित्ताले हुन आउने १४ करोड रकम बराबरको साधारण सेयरमा अंकित मुल्यमा प्रिमियम रकम थप गरी साधारण सेयर जारी गर्न लागेको छ । कम्पनीले उक्त कार्य गर्नका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । लक्ष्मी टेक्नोप्लाष्टका तर्फबाट प्रबन्ध निर्देशक अंजनी नन्दन मारु र नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । लक्ष्मी टेक्नोप्लाष्ट लिमिटेड वि.सं. २०७२ असोज १८ गते प्राइभेट कम्पनीको रुपमा स्थापित भई कम्पनी ऐन, २०६३ बमोजिम पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो ।  

आइएमई पे ‘एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड’ बाट सम्मानित

काठमाडौं । आइएमई पे प्रतिष्ठित ‘एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले प्रदान गर्दै आएको अवार्ड अन्तर्गत फिनटेक समूह मध्येबाट ‘आइएमई पे’ कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको हो । आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यस अवार्डलाई फिनटेक क्षेत्रमा नबप्रबर्तन , नेतृत्वदायी जनशक्ति ब्यवस्थापन , सहज ग्राहक सेवा , वित्तीय समावेशीता तथा साक्षरताको उत्थानमा गतिशील रहने कम्पनीको प्रतिबद्धता प्रतिको सम्मानको रुपमा लिएको बताए । कर्पोरेट क्लब नेपालले स्वतन्त्र निर्णायक मण्डल मार्फत मुल्याकंन गराइ नेपालको कर्पोरेट क्षेत्रका विभिन्न विधाहरूमा अवार्ड प्रदान गर्दै आइरहेको छ ।

रिलायबल नेपाल लाइफद्वारा १४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सुर्खेत शाखाले १४ लाख रुपैयाँ बराबरको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले सल्यान जिल्ला कालिमाटी गाउँपालिका वड नंं ५ निवासी स्वर्गीय रामबहादुर घर्तीको परिवारलाई सो बराबरको दाबी रकम हस्तान्तरण गरेको हो । बीमा रकम रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सुर्खेत शाखाका प्रमुख र कर्णाली प्रदेश प्रमुख रामचन्द्र भण्डारी, जनप्रतिनिधि निमबहादुर बुढामगरको रोवरमा निज बीमित स्वर्गीय ब. घर्तीको श्रीमती काशीमाया घर्तिलाई हस्तान्तरण गरिएको हो । स्वर्गीय रामबहादुर घर्तीको मलेसियामा मंसिर २२ गते कालगतीले मृत्यु भएको थियो । उनको श्रीमती काशीमाया घर्तीलाई बीमा वापत १४ लाख रुपैयाँ माघ १५ गते उनको घरमा नै गई दिएको कम्पनीले जनाएको छ ।