आइएमई लाइफको दोस्रो त्रैमासमा खुद नाफा २३ करोड, २ अर्ब १० करोड बीमाशुल्क आर्जन

काठमाडौं  । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिसम्म कम्पनीको खुद नाफा २३ करोड ४७ लाख २५ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिसम्मको तुलनामा ९६.१४ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिसम्म कम्पनीले ११ करोड ९६ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । दोस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब १० करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १२.३३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ८७ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ९९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ७९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ११.२० प्रतिशत बढी हो । कम्पनीको चुक्तापुँजी ४ अर्ब रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीले शेयर प्रिमियम शीर्षकमा १ अर्ब ५३ करोड रुपैयाँ सञ्चित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्ति कोषमा १५ करोड ३५ लाख रुपैयाँ र सञ्चित जगेडा कोषमा ८५ करोड २ लाख रुपैयाँ रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) ११.७४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १७७.२७ रुपैयाँ रहेको छ ।

मेट लाइफ ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स‘ बाट सम्मानित

काठमाडौं । मेट लाइफ नेपाल २०२३ को एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स इन्स्योरेन्स विधामा सम्मानित भएको छ । यस अवार्डले मेटलाइफको उत्कृष्ट व्यावसायिकता र सामाजिक उत्तरदायित्वका साथै ग्राहक र समुदायका विकासशील आवश्यकताहरू अनुरूप नवीन र रचनात्मक समाधानहरूको लागि निरन्तर प्रतिबद्धतालाई प्रतिनिधित्व गर्ने कम्पनीको भनाई छ । मेट लाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले व्यक्तिगत रूपमा अवार्ड ग्रहण गर्ने क्रममा भने, ‘यो सम्मानले हाम्रो कर्मचारी तथा अभिकर्ता टोलीको जोश र समर्पणलाई झल्काउँछ र तृप्ति र आशावादी भावना जगाउँछ । यसले हाम्रो आफ्नै मापदण्डहरू पार गर्ने, निरन्तर रूपमा आविष्कार गर्ने र बीमा क्षेत्रमा अझ ठूलो प्रभाव पार्ने हाम्रो दृढ संकल्पलाई प्रेरणा दिन्छ ।’ कर्पोरेट उत्कृष्टताका लागि एचआरएम नेपाल अवार्ड २०२१ मा एचआरएम नेपालद्वारा स्थापना गरिएको र ग्रोथ सेलरहरूको स्वायत्त सहायक संस्था कर्पोरेट क्लब नेपालद्वारा आयोजना गरिएको हो । यस अवार्ड समारोह सकारात्मक परिवर्तन गर्ने उत्कृष्ट व्यक्तिगत र संस्थागत योगदानहरू लाई मान्यता दिने वार्षिक कार्यक्रम हो । यस समारोहमा बिविन्न क्षेत्रका विशेषज्ञहरु र सरकारी प्रतिनिधिहरू उपस्थित हुन्छन् । मेट लाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरुलाई जीवन बीमा, दूर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरु प्रदान गरिरहेको छ ।

एनआइबिएल स्टेबल फन्डमा ७ करोड ८५ लाख कित्ता सेयरका लागि आवेदन

काठमाडौं । एनआइबिएल स्टेबल फन्डमा हालसम्म ७ करोड ८५ लाख भन्दा बढी कित्ता सेयरका लागि आवेदन परेको छ । एनआइएमबि एस क्यापिटलको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत ‘एनआईबिएल स्टेबल फण्ड’मा उक्त आवेदन परेको हो । बन्दमुखी योजनाको १ अर्ब रकम बराबरको १० करोड इकाईहरू प्रति इकाई अंकित मूल्य १० रुपैयाँका दरमा माघ २ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला भैरहेको छ । उक्त निष्काशनमा शुक्रबार दिउँसो साढे १२ बजेसम्ममा ३५ हजार ३३५ जना आवेदकले ७ करोड ८५ लाख ८१ हजार ५२० इकाई खरिदका लागि आवेदन दिएका हुन् । त्यसमध्ये ३ हजार ८५७ जना आवेदन मार्फत सेयर खरिदका लागि माग भएको १ करोड ३० लाख ६० हजार ८७० इकाईहरु रद्द भएका छन् । यस निष्काशन तथा बिक्री माघ २ देखि छिटोमा माघ ५ गतेसम्मका लागि खुल्ला गरिएकोमा उक्त अवधिभर माग बमोजिम आवेदन प्राप्त नभएकाले यहि माघ १६ गतेसम्मका लागि आवेदन मिति थप गरिएको छ ।