क्यापिटल मर्चेन्टलाई समस्याग्रस्तबाट फुकुवा गर्ने तयारी, खराब कर्जा उठेको हो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ वर्षअघि समस्याग्रस्त घोषणा गरेको क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडलाई कारवाही फुकुवा गर्ने तयारी गरेको छ । नेपाल राष्ट्र बैंकले २०६९ माघमा समस्याग्रस्त घोषणा गरेको क्यापिटल मर्चेन्टलाई समस्याग्रस्तबाट फुकुवा गर्ने तयारी गरेको हो । नेपाल राष्ट्र बैंक स्रोतका अनुसार सो संस्थामा अनुगमन गरेर वित्तीय विवरणको विभिन्न सूचकहरू केलाउँदा धेरै सुधार भएको पाइएपछि समस्याग्रस्तबाट फुकुवा गर्ने तयारी गरेको हो । एक महिनाअघि राष्ट्र बैंकले क्यापिटल मर्चेन्टको स्थलगत रूपमा निरीक्षण गरेको थियो । ‘लामो समय बितिसक्दा पनि समस्याको समाधान नभएपछि एक महिनाअघि राष्ट्र बैंकका अधिकारीहरू क्यापिटल मर्चेन्ट पठाइएको थियो, धेरै सुधार भएको प्रतिवेदन तयार भएको छ, केही ऋण भने असुल हुन नै बाँकी छ । तर, त्यसलाई समस्याग्रस्तबाट फुकुवा गरेर असुल गर्न सकिन्छ, राष्ट्र बैंकले अब चाँडै सो संस्थलाई समस्याग्रस्तबाट फुकुवा गर्ने तयारी गरेको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो । समस्याग्रस्त हुनुअघि यस संस्थाको कुल कर्जा ३ अर्ब ६८ करोड ३९ लाख रुपैयाँ र निक्षेप २ अर्ब ७९ करोड ८३ लाख रुपैयाँ थियो । यस फाइनान्स कम्पनीका तत्कालीन प्रबन्धक पवन कार्कीले मनलाग्दी किसिमले नक्कली ऋणी खडा गरेर कर्जा प्रवाह गर्दा संस्थामा समस्या सिर्जना भएको थियो । उनको गलत नियतका कारण संस्थाको खराब कर्जा बढेको थियो भने पुँजी कोष नकारात्मक बनेको थियो । पछि राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्दै संस्थालाई नै आफ्नो कब्जामा लिएको थियो । राष्ट्र बैंकले संस्थालाई ‘टेकओभर’ गरेपछि सतप्रतिशत कर्जा खराब कर्जामा गणना भएको थियो भने पुँजी कोष ऋणात्मक थियो । कम्पनीलाई समस्याग्रस्त घोषणा गर्दा ६ महिनाको म्याद दिएर राष्ट्र बैंकको निर्देशन बमोजिम पुँजीकोष कायम गर्न, थप निक्षेप संकलन एवं नवीकरण नगर्न, थप कर्जा तथा जमानत प्रदान नगर्न नयाँ शाखा नखोल्न, राष्ट्र बैंकको स्वीकृति बिना स्थिर सम्पत्ति खरिद वा बिक्री नगर्न, निष्क्रिय कर्जाको अनुपात ५ प्रतिशतभन्दा तल ल्याउन लगायत निर्देशन राष्ट्र बैंकले दिएको थियो । तर, क्यापिटलको समस्या समाधान भएन । थप जटिल बन्दै गयो । यसरी समस्या सिर्जना हुनुको मुख्य कारण कम्पनीका पूर्वप्रबन्धक सञ्चालक कार्की र उनका ससुरा शम्भु केसी थिए । यो विषयमा ठूलो अनुसन्धान पनि भयो । कति निर्दोष व्यक्ति पनि समातिए । धेरै जेल पनि पुगे । मुद्दा अझै पनि सल्टिएको छैन । अहिले अधिकांश सूचकहरू सकारात्मक बनेको बुझिएको छ । क्यापिटल मर्चेन्ट क्यापिटल मर्चेंन्ट बैंकिङ एण्ड फाइनान्सका सञ्चाल रञ्जन रायमाझी विगतको भन्दा संस्था सहज अवस्थामा रहेको बताउँछन् । उनका अनुसार संस्थाले ६० प्रतिशत ऋण असुल गरिसकेको छ । ‘विगतका सबै ऋणीलाई एउटै बास्केटमा राख्दा समस्या भयो, ऋणीले सम्पत्ति पनि मेरो होइन र ऋण पनि मैले लगेको होइन भन्ने स्थिति बन्यो, केही सर्वसाधारण पनि फसे, भिरमा रहेको जग्गा बिक्री हुने अवस्था पनि बनेन, यी विभिन्न समस्या सिर्जना हुँदा संस्था समस्याग्रस्तबाट मुक्त हुन नसकेको हो, अहिले विगतको तुलनामा धेरै सुधार भएको छ,’ उनले भने । सम्बन्धित सामग्री :  जसलाई १२ वर्षदेखि राष्ट्र बैंकले नै गर्न सकेन ‘रिभाइव’ क्यापिटल मर्चेन्टले कर्जा असुल गर्न नसकेपछि प्रभुले गाभ्न मानेन, संकटग्रस्त फुकुवा लगत्तै हकप्रद निकाल्ने

आइएमई पेबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ५०० रुपैयाँ बोनस पाइने

काठमाडौंं । आइएमई पे ले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा ५०० रुपैयाँ सम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । फागुन १० गतेबाट सुरु भएको सो अफर दुइ महिना सम्म रहने छ । यस अफर अन्तर्गत विदेशमा रहेको सेवाग्राहीहरूले मनिग्राम मार्फत पठाएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा ५०० रुपैयाँ बोनस सम्म पाउन सक्ने कम्पनीले जनाएको छ । मनि ग्राम बाहेक अन्य रेमिटेन्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यास मार्फत पठाइएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पनि एक सय रुपैयाँ बोनस प्राप्त गर्न सकिने छ । आइएमई पे’मार्फत संसार को कुनै पनि देशबाट पठाएको पैसा प्रयोगकर्ताहरूले सजिलै प्राप्त गर्न सक्छन् ।

सौराहामा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले चितवनको सौराहामा २ दिवसीय प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । इन्स्योरेन्सले बिभिन्न शाखा कार्यालमा कार्यरत कर्मचारीहरुको पेशागत दक्षता अभिवृद्धिको लागि चैत्र ९ र १० गते ५० जना भन्दा बढी कर्मचारीहरुको सहभागितामा चितवन जिल्ला स्थित सौराहमा दुइ दिवशीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणको प्रचलित निर्देशिकाको कार्यान्वयन गर्दै आफ्ना कर्मचारीको क्षमता अभिवृद्धिलाइ मध्यनजर राख्दै प्रशिक्षण कार्यक्रम संचालन गरेको जनाएको छ । उक्त कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री, क्लस्टर प्रमुख मछिन्द्र बोगटीका साथै केन्द्रिय कार्यालबाट प्रशिक्षणको लागि जानु भएका प्रशिक्षकहरुले मार्केटिङ, अण्डरराईटिङ, दावी, मानव संसाधन, ब्राण्डिङ, लेखा र ग्राहक सेवा लगायतका बिषयहरुमा प्रस्तुतिकरण दिएका थिए । उक्त प्रशिक्षण कायर्क्रमबाट कर्मचारिहरुमा नविन ज्ञान र उत्साहको सञ्चार भएको सहभागीहरुले प्रतिक्रिया दिएका छन् । मर्जर सँगै कम्पनीले बजार बिस्तारलाई पहिलो प्राथमिकता दिएको र बजार बिस्तारमा सबै भन्दा ठुलो भुमिका कर्मचारीहरुकै हुने हुँदा कम्पनीले केन्द्रमा रहेका कर्मचारीलाई मात्रै नभई प्रदेश स्तरका कर्मचारीलाई पनि उतिकै दक्ष बनाउने रणनीतिका साथ प्रशिक्षण दिएको जानाएको छ ।