नेपाल एसबिआईका ग्राहकलाई ह्याम्स अस्पतालमा छुट

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड र ह्याम्स अस्पतालबीच व्यवसायिक सम्झौता भएको छ । नेपाल एसबिआई मर्चेण्ट र ह्याम्स अस्पतालबीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा सोमबार हस्ताक्षर भएको छ । सहमतिपत्रमा ह्याम्स अस्पतालका लिमिटेडका मार्केटिङ प्रबन्धक तेन्जिङ खुन्से बज्रचार्यको उपस्थितिमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका इन्भेष्टमेन्ट बैंकिङ तथा मार्केटिङ प्रमुख सुशान्त खतिवडाले हस्ताक्षर गरेका हुन् । उक्त सहमतिपत्रमा उल्लेख भए बमोजिम नेपाल एसबिआई बैंकका सम्पूर्ण शाखा कार्यालयहरु तथा नेपाल एसबिआई मर्चेण्ट लेखनाथमार्ग ठमेल, काठमाडौं मार्फत नयाँ डिम्याट खाता खोल्दा वा हाल कायम डिम्याट खाता सञ्चालन गर्दै आएका डिम्याट सेवा प्रयोगकर्ता ग्राहकहरु ह्याम्स अस्पतालले प्रदान गर्ने सेवामा उपचारका लागि लाग्ने शुल्कमा १० प्रतिशत र फर्मेसीको लागि लाग्ने शुल्कमा ५ प्रतिशत विशेष छुट प्रदान गर्ने सहमति भएको छ । कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका इन्भेष्टमेन्ट बैंकिङ तथा मार्केटिङ प्रमुख खतिवडाले सहकार्यमा जोडिएकोमा खुसी व्यक्त गरे । ह्याम्स अस्पतालका प्रबन्धक मार्केटिङ प्रबन्धक बज्रचायले पनि आपसी सहकार्यबाट व्यवसायिक उचाइ हासिल हुने अपेक्षा राखे । समारोहमा दुईवटै संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सिटिजन्स बैंकका ग्राहकलाई भिवान्ता काठमाडौंमा छुट हुने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भिवान्ता काठमाडौंबीच समझदारी भएको छ । बैंक र झम्सिखेल, ललितपुर स्थित भिवान्ता काठमाडौंबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले भिवान्ता काठमाडौंको सेवाहरुमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । बैंकले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १७ लाख २४ हजार ग्राहकवर्गलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

आवश्यकताका आधारमा फरक-फरक बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले हिमाल, पहाड र तराई मधेशमा आवश्यकताका आधारमा फरक-फरक बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणले डिजिटल बीमालेख मार्गदर्शन जारी गर्न लागेको सन्दर्भमा आइतबार काठमाडौंमा आयोजित ‘डिजिटल बीमालेख सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रम’ लाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बजारको समग्र अनुसन्धान गरी नागरिकका आवश्यकता अनुसार नयाँ बीमालेख ल्याउन निर्देशन दिएका हुन् । ‘भविष्य अनिश्चित छ । विपद्को जोखिम सधैं हुन्छ । जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्ने एकमात्र माध्यम भनेको बीमा हो ।’ अध्यक्ष सिलवालले भने, ‘संसद्, संसदीय समिति, सरकार, राजनीतिक दल लगायत सबैले बीमाका बारेमा बुझेपछि मात्र बीमा क्षेत्रको विकास र पहुँच विस्तारले तीब्रता पाउँछ । त्यसतर्फ सबै लाग्नुपर्छ ।’ प्राधिकरणले कागजात नस्वीकार्ने निर्णय गरेपछि बाध्य भएर कम्पनीहरू डिजिटलाइजेशनमा जानुपर्ने अवस्था आउन सक्ने अध्यक्ष सिलवालले बताए । बीमा क्षेत्रमा सूचना प्रविधिको अधिकतम् प्रयोग गरी लागत न्यून गर्न र सेवा प्रवाहलाई छिटोछरितो बनाउनका लागि आगामी १५–२० वर्ष सम्मको आवश्यकतालाई धान्ने गरी नयाँ सफ्टवेयर संचालनमा ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन । अध्यक्ष सिलवालले टिप्पणी गरे, ‘प्राधिकरण क्रमिक रूपमा डिजिटलाइजेशनमा अगाडि बढिरहेको छ । बीमा कम्पनीहरूले पनि लगानी बढाएर नयाँ सफ्टवेयर संचालनमा ल्याउनुपर्छ । कम्पनीका आ–आफ्ना विशेषताहरूलाई सम्बोधन गर्ने गरी नयाँ सफ्टवेयर ल्याउन बीमकका सङ्घहरू अग्रसर हुनुपर्छ ।’ लघुबीमा कम्पनीहरूलाई न्यून आय भएका बर्ग र पिछडिएका क्षेत्रलाई लक्षित गरी लघुबीमा व्यवसाय गर्न इजाजतपत्र दिइएको उनले स्पष्ट गरे । लघुबीमा कम्पनीहरू इजाजतको परिधिभित्र रहनु पर्नेमा अध्यक्ष सिलवालले जोड दिए । उनले थपे ‘न्यून आय भएका बर्ग र पिछडिएका क्षेत्रलाई नै लक्षित गरी काम गर्नुपर्छ । फरकखालका नयाँ बीमालेख ल्याउनुपर्छ । बीमा दाबी भुक्तानी छिटोछरितो हुनुपर्छ ।’ नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूले खोजमूलक अध्ययन अनुसन्धान गरेर नयाँ नयाँ बीमालेखहरू ल्याउनुपर्ने आवश्यकता औंल्याए । नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले आगामी वर्ष धेरै क्षेत्रमा व्यापक रूपमा डिजिटलाइजेशनमा जाने प्राधिकरणको तयारी रहेको जानकारी दिए । नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बीमा कम्पनीहरूले पर्याप्त अध्ययन अनुसन्धान गरी बीमालेख ल्याएमा मात्र बीमालेखको बिक्री बढ्ने, बीमित सन्तुष्ट हुने र बीमाप्रतिको विश्वसनीयता समेत बढ्ने बताए । नेपाल जीवन बीमक सङ्घका अध्यक्ष पोषक राज पौडेलले बीमा कम्पनीहरू डिजिटलरूपमा अगाडि बढ्न तयार रहेको बताए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले जीवन बीमालेख स्वीकृतिमा देखिएका समस्या तथा चुनौती सम्बन्धी प्रस्तुतीकरण गरेका थिए । बजार अध्ययन गरी नयाँ नयाँ बीमालेख प्रचलनमा ल्याउन बीमा कम्पनीहरूलाई उनले आग्रह गरे । नेपाल बीमा प्राधिकरणका उपनिर्देशक राम कोजुले बीमालेख कोडिङ्ग तथा डिजिटल बीमालेख सम्बन्धी प्रस्तुती गरेका थिए । बीमालेख कोडिङ्गको शुभारम्भ नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले कम्प्युटर प्रणालीका माध्यमबाट हरेक बीमालेखलाई कोडिङ् नम्बर दिने कार्य ‘बीमालेख कोडिङ्ग’ को सोमबार काठमाडौंमा शुभारम्भ गरेका छन् । बीमालेख कोडिङ्गको कार्यान्वनबाट प्रत्येक बीमालेखको फरक फरक कोड नम्बर हुने, कम्प्युटर प्रणालीबाट नै कोड नम्बर तय हुने, प्राधिकरण र बीमा कम्पनीका वेभसाइटबाट कोड नम्बरका आधारमा बीमालेखबारे समग्र जानकारी प्राप्त गर्न सकिने सुविधाहरू प्राप्त हुने छन् । कार्यक्रममा जीवन बीमा कम्पनी र लघुबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा बीमालेख शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो ।