सहकारीले बैंकभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरुले बैंकभन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्सकुन) ले आयोजना गरेको लेखा सुपरीवेक्षण राष्ट्रिय गोष्ठीमा प्रमुख अतिथिका रुपमा बोल्दै उनले सहकारीहरु आफ्नो मूल्य मान्यता र सिद्धान्त विपरित अस्वस्थ प्रतिस्पर्धामा लाग्दा समस्या सिर्जना भएको बताएका हुन् । जुन उद्देश्यका साथ सहकारी स्थापना भएको थियो त्यसको खिलाप गर्दै काम भइरहेको धारणा उनको छ । ‘सहकारीहरु बैंकभन्दा ठूलो कारोबार गर्ने अभ्यासमा लागे, सहकारीको मूल्य मान्यता विपरित काम गर्न थाले, बचतकर्ताको बचतलाई दुरुपयोग गर्ने अधिकार कसैलाई पनि हुँदैन, सहकारीमा आवद्धहरुले नै समाधान गर्ने हो, सरकारले सल्लाह दिने हो, यो बाटो जाउ भन्ने हो । सरकारले समस्या समाधान गर्ने होइन’, उनले भने । सदस्यले पनि सबै कुराको जिम्मा सञ्चालकलाई दिन नहुने उनको धारणा छ । ‘शिक्षक, डाक्टर तथा वकिल सबै यो क्षेत्रमा छन्, सर्वप्रथम मेरो कर्तव्य के हो बुझ्नुपर्छ, त्यो बुझ्न सकियो भने यो समस्या आउँदैन,’ उनले भने । लेखा सुपरिवेक्षण समितिमा पनि खोट रहेको उनको भनाइ छ । अहिलेको समस्या समाधान गर्नका लागि अहिलेदेखि नै लाग्न आवश्यक रहेको उनले बताए ।
महिला फुटबल टोलीलाई एनआइसी एसियाको सम्मान
काठमाडौं । वाफ च्याम्पियनसिप उपविजेता नेपाली महिला फुटबल टोलीलाई एनआईसी एसिया बैंकले सम्मान गरेको छ । एनआईसी एसियले टोलीमा रहेका २३ खेलाडी र ८ अफिसियललाई जनही २५ हजार प्रदान गर्यो । सोमबार एनआईसी एसियाका सीईओ रोशनकुमार न्यौपाने, सहायक सीईओ सन्तोषकुमार राठी, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङलगायतले नेपाली टोलीलाई सम्मान गरेका थिए । नेपाली महिला फुटबलले असाधारण सफलता हात पारेकाले सम्मान गरेको बैंकले जनाएको छ । फागुनमा साउदी अरेबियामा सम्पन्न प्रतियोगितामा नेपाल फाइनलमा जोर्डनसँग पेनाल्टी शुटआउटमा पराजित भएको थियो । यस्तै एनआईसी एसिया बैंकले राष्ट्रिय टोलीकी गोलरक्षक अञ्जना रानामगरलाई आफ्नो ब्रान्ड प्रमोटरमा नियुक्त गरेको छ ।
फोनपेको अन्तर-आबद्ध भुक्तानी प्रणालीमा मोरु डिजिटल वालेट समावेश
काठमाडौं । फोनपेले पे नेप प्राइभेट लिमिटेडमको मोरु डिजिटल वालेटलाई आफ्नो सञ्जालमा समावेश गरेको छ । मोरु डिजिटल वालेट फोनपे नेटवर्कमा अन्तर-आबद्ध भएकाले अब मोरु डिजिटल वालेटबाट सजिलै क्यूआर भुक्तानी कारोबारहरू गर्न सकिनेछ । फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र मोरु डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत श्रीश पौडेललेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । अब मोरु डिजिटल वालेट प्रयोगकर्ताहरूले फोनपे नेटवर्कमा अबस्थित नेपालभरका झन्डै १४ लाख व्यवसायी स्टोरहरूमा सहजरूपमा सुविधाजनक र सुरक्षित क्यूआर भुक्तानी गर्न सक्नेछन् । कार्यक्रममा बोल्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत सापकोटाले मोरु डिजिटल वालेटलाई बढ्दो भुक्तानी इकोसिस्टममा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । साझेदारीले प्रयोगकर्ताहरूलाई व्यापक डिजिटल भुक्तानी अनुभव प्रदान गर्नका लागि सदैब तत्पर रहने पनि उनले बताए । समारोहमा मोरु डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत पौडेलले फोनपेसँग आबद्ध हुँदै फोनपे नेटवर्कमा आबद्ध भएका देशभरका १४ लाख व्यवसायीहरूमाझ मोरु डिजिटल वालेट प्रयोगकर्ताहरूको पहुँच पुग्ने बताए । प्रयोगकर्ताले यो साझेदारीको साथ अन्य फोनपे सेवाहरूबाट पनि लाभ उठाउन सक्ने उनको भनाइ छ ।