मातातीर्थ औँसीमा नबिल बैंकले ल्यायो सन्देशमूलक भिडियो
काठमाडौं । मातातीर्थ औँसीको अवसरमा नबिल बैंक लिमिटेडले सन्देशमूलक भिडियो बनाएको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई, आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ सो भिडियो नबिल बैंकले आफ्नो आधिकारिक सामाजिक सञ्जालहरूमार्फत सार्वजनिक गरेको छ । विशेष गरी सहर र जागिरमा रहेका महिलाहरू आमा बनेपछिको अवस्थालाई यो भिडियोले औंल्याएको छ । आमा बन्ने क्रममा आफ्नो पहिचान नै बिर्सिएकी आमा, उनको व्यस्तता, बच्चा बच्ची र परिवारप्रतिको उनको दायित्व यो भिडियोमा देखाइएको छ । त्यस्तै आमालाई आफ्नो पहिचानमा फर्काउन तथा खुसी बनाउन सन्तान र परिवारले खल्ने भूमिका पनि भिडियोमा देखाइएको बैंकले जनाएको छ । बैंकका अनुसार जम्मा दुई मिनेट ४५ सेकेन्डको छोटो भिडियोले सहरको सानो परिवार अनि आमाले सन्तानको लालनपालनमा आफ्नो करियरलाई कसरी बिर्सिन्छिन् भन्ने यथार्थ चित्रण गर्न खोजिएको छ । यस भिडियोले देखाइएकोे आमाको दैनिकी अधिकांश नेपालीहरुको घरको कथासँग मेल खान्छ । बैंकले विभिन्न सन्दर्भमा समाजलाई सचेतना फैलाउने तथा सन्देश विस्तार गर्ने भिडियो बनाउँदै आएको छ । मातातीर्थ औँसीका अवसरमा बनाइएको भिडियोमा धेरै जनाले आफ्नो आमा (ममी) प्रति कृतज्ञता व्यक्त गर्दै भिडियोको प्रशंसा गरिरहेका छन् ।
घरविहीन भएकालाई नेपाल लाइफले दियो राहत सामग्री
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आगलागीका कारण घरविहीन भएकालाई राहत सामग्री प्रदान गरेको छ । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा आगलागीका कारण घरविहीन भएका पीडित परिवारहरूलाई राहत सामग्री सहयोग स्वरूप प्रदान गरेको हो । मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, वडा अध्यक्ष कलिम राईन, यस कम्पनीका कर्मचारीहरू तथा स्थानीय नागरिक अगुवाहरूको समुपस्थितिमा पीडितहरुलाई प्रत्येक घर एक थान साडी वितरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा बोल्दै मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले कम्पनीले गरेको सहयोगका निम्ति धन्यवाद ज्ञापन गरेका छन् । यस प्रकारको सहयोगले भीषण आगलागीबाट प्रभावित घर परिवारलाई सहज हुने विश्वास समेत व्यक्त गरे । वडा अध्यक्ष कलिम राईनले आगलागीबाट लत्ता कपडा नष्ट भएका कारण प्रभावित परिवारले अत्यन्तै कष्टकर जीवन बाँच्नुपरेको अवस्थामा कम्पनीले प्रदान गरेको सहयोगले जीवनयापन सहज हुने कुरा बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस कम्पनीले विभिन्न सामाजिक आर्थिक रूपान्तरणका क्रियाकलापहरु गर्दै आएको कुरा बताए । प्रभावित परिवारलाई हरसम्भव सहयोग गर्न कम्पनी सदैव तत्पर रहेको र आगामी दिनमा पनि कुनै किसिमको सहयोग चाहिएको खण्डमा कम्पनी अग्रपंक्तिमा रहेर सहयोग गर्न तयार रहेको कुरा समेत बताए । कम्पनीले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, बीमा सचेतना, पूर्वाधार निर्माण तथा गरिब निमुखा, सीमान्तकृत वर्गको जीवन उत्थानका निम्ति संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको कुरा समेत बताए । यस भीषण आगलागीबाट प्रभावित भएका १५० घरपरिवारलाई कम्पनीले राहत सामग्री उपलब्ध गराएको हो । मटिहानी नगरपालिका वडा नम्बर ६ मा लागेको आगोले सय भन्दा बढी घर पूर्ण रुपमा नष्ट भएका छन् भने करिव पचास वटा जति घरमा क्षति भएको छ ।
सानिमा बैंकको फोनपे क्यूआरबाट अन्तरदेशीय भुक्तानी गर्न सकिने
काठमाडौं । भारतीय ग्राहकले सानिमा बैंकको फोनपे क्युआर मार्फत अन्तरदेशीय भुक्तानी गर्न सक्ने भएका छन् । सानिमा बैंकले फोनपे पेमेन्ट सर्भिस प्रा.लि.सँग भारतीय नागरिकहरूलाई सहज र सजिलो डिजिटल भुक्तानीका लागि सहकार्य गरेको हाे । बैंकका अनुसार यस सहकार्य अन्तर्गत, भारतीय नागरिकहरूले अब फोनपे, भीम एप र युपीआई मार्फत फोनपे नेटवर्क अन्तर्गतका क्युआर कोड स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् । यस सहकार्यबाट नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरुले नेपालमा सुरक्षित र सुनिश्चित डिजिटल माध्यमबाट झन्झटमुक्त भुक्तानीको अनुभव प्राप्त गर्न सकिने छ । सानिमा बैंकका देशका सातै प्रदेशमा १३३ कार्यालयहरु तथा १२४ वटा एटिएम सञ्जाल रहेका छन् ।