प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २०८१ वैशाख २२ गते शनिबार काठमाडौंमा अभिकर्ता उत्प्रेरणा ‘क्याफ्टीङ लिडरसिप’ कार्यक्रम भव्यरूपमा सम्पन्न गरेको छ । क्याफ्टीङ लिडरसिप कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका ७ सय भन्दा बढी अभिकर्ताहरूको उल्लासमय सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रसाईंले अभिकर्ताहरूको कामको उच्च सम्मान व्यक्त गर्दै काम गर्न उर्जा प्रदान गरेका थिए । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले कार्यक्रमलाई सम्बोधन गर्दै अभिकर्ताहरूलाई आफ्नो पेसामा निष्ठापूर्वक काम गर्दा कही कतै बाधा आए कम्पनीले सधै सहजीकरण गर्ने बताएका थिए । कम्पनीका नायब महाप्रबन्धक एवं नेशनल सेल्स हेड सोन बहादुर मगरले स्वागत मन्तव्य राख्दै जीवन जिउनका लागि मात्र नभएर जीवन जित्नका लागि भन्दै आफ्नो पेसामा सफलता प्राप्त गर्न निरन्तर र परिणाममुखी कार्य गर्न प्रोत्साहन गरे । कम्पनीका तालिम विभाग प्रमुख योगेन्द्र प्रसाद खतिवडाले अभिकर्तालाई कम्पनीले प्रदान गर्ने सेवा सुविधा तथा बिक्री कलासम्बन्धी तालिम प्रदान गरेका थिए । कार्यक्रमको मुख्य आकर्षण प्रसिद्ध कलाकार कम्पनीका ब्राण्ड एम्बेसडर मनोज गजुरेलको सहभागीहरुमा रोचक ढंगले उत्प्रेरणात्मक प्रस्तुती रहेको थियो । उनले जीवन बीमाले सबैको जीवनमा निश्चिन्तता प्रदान गर्नेमा विश्वस्तता व्यक्त गरे।
नेपाल लाइफले मनायो २३औं वार्षिकोत्सव
काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २३औं वार्षिकोत्सव देशव्यापी रूपमा विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाएको छ । यस सुखद अवसरमा देशका १२ स्थानबाट रक्तदान कार्यक्रम, १८५ वटै शाखामा वृक्षारोपण कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर तथा विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू भव्यतापूर्वक सञ्चालन गरेको हो । यस अवसरमा कम्पनीले रक्तदान कार्यक्रममार्फत कोशी प्रदेशको दमकमा ३९, मधेश प्रदेशको वीरगञ्जमा ३२ र जनकपुरमा ३४, बागमती प्रदेशको नारायणगढमा ४३, हेटौंडामा ३२, ललितपुरमा ३८ र काठमाडौंमा ७०, गण्डकी प्रदेशको पोखरामा ४१, लुम्बिनी प्रदेशको बुटवलमा २५ र कोहलपुरमा ३८, सुदरुपश्चिमको महेन्द्रनगरमा ३२ र धनगढीमा ३३ गरी कुल ४५७ पिन्ट रगत संकलन गरेको छ । साथै, कम्पनीले केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, कर्णाली प्रदेशको सुर्खेतमा रहेको बादी सरोकार मञ्च नेपाललाई हजार लिटरको पानी ट्यांकी प्रदान, धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको हरियाली प्रवर्द्धन कार्यक्रमलाई १०० वटा वृक्ष रोप्नका निम्ति ५ लाख रुपैयाँको आर्थिक सहयोग तथा कम्पनीले आफ्ना १८५ वटै शाखामा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको छ । यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले सम्पूर्ण ग्राहकले गरेको विश्वास, कम्पनीको मेरुदण्डका रूपमा रहेका अभिकर्ताहरू, मार्गनिर्देशन प्रदान गर्ने सञ्चालक समितिका पदाधिकारी, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारी, माया, स्नेह प्रदान गर्ने सेयरधनी, नेपाल बीमा प्राधिकरण, अन्य नियामक निकायका साथै नेपाल लाइफलाई नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्न अतुलनिय भूमिका खेल्ने सबै सरोकारवालामा धन्यवाद ज्ञापन गरेका छन् । आगामी दिनमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरूको सेवाको गुणस्तरीयतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने उनले बताए । यसका साथै सम्पूर्ण सरोकारवालाको अपेक्षालाई पूरा गर्न कम्पनी दत्तचित्त भएर लागिपर्ने उनको भनाइ छ ।
१०९.६५ प्रतिशत बढ्यो सिद्धार्थ प्रिमियरको नाफा, अधिकांश सूचकमा छलाङ
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमासमा खुद नाफा १०९.६५ प्रतिशत बढेर ५९ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २८ करोड ४८ लाख रुपैयाँ खुद नाफा गरेका थिए । चैत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क १३८.५६ प्रतिशत बढेर १ अर्ब ३२ करोड ८६ लाख ५२ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५५ करोड ६९ लाख ५८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ९३ प्रतिशत घटेर ६६ करोड २५ लाख रुपैयाँ गरेको छ । त वर्षको सोही अवधिमा कम्पनीले ३४ करोड ३१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । यस अवधिमा कम्पनीको कुल आम्दानी २ अर्ब १५ करोड रुपैयाँ गरेको छ भने १ अर्ब ३० करोड रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ६ करोड रुपैयाँ कुल आम्दानी गरेको थियो भने ६६ करोड ३९ लाख रुपैयाँ कुल खर्च गरेको थियो । कम्पनीको चुक्ता पुँजी २५.३५ प्रतिशत बढेर २ अर्ब ८० करोड रुपैयाँ, विशेष जगेडा कोष २ अर्ब ५० करोड र महाविपत्ति कोष २१.६९ प्रतिशत बढेर १६ करोड ७४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८.६९ रुपैयाँ बढेर २८.३७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ भने २५४.५९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २६.४४ गुणा रहेको छ ।