सहकारीलाई प्रविधिमैत्री बनाउँदै मिरा, अब सबै कारोबार एउटै सफ्टवेयरबाट
काठमाडौं । मुलुकको अर्थतन्त्रको एउटा महत्त्वपूर्ण खम्बाको रूपमा सहकारीलाई लिइन्छ । नेपालमा ३० हजार बढी सहकारीहरू रहेका छन् । तर, धेरै सहकारीहरू डिजिटलाइज हुन सकेका छैनन् । सूचना प्रविधिको बढ्दो विकास र विस्तारले गर्दा सहकारीहरू पनि प्रविधिमैत्री हुनुपर्ने अवस्था सिर्जना भइसकेको छ । यही अवस्थालाई मध्यनजर गरी करिब १ वर्षदेखि सहकारीलाई डिजिटलाइज गर्दै आएको छ, मिरा सफ्टवेयर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफस्कुन), रारा ल्याब्स प्रालिसँगको सहकार्यमा नियोसिस टेक्नोलोजीले विकास गरेको हो । क्लाउडमा आधारित ईआरपी सफ्टवेयरले सरकारीबाट हुने सबै किसिमका काराबारलाई डिजिटल बनाउने नियोसिस टेक्नोलोजीका प्रमुख प्रविधि अधिकृत (सीटीओ) मनोज तिवारीले बताए । ‘नेपालका ३० हजार बढी सहकारीलाई डिजिटलाइज गर्ने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘त्यसै अनुसार मिरा सफ्टवेयरमा सहकारीलाई प्रविधिमैत्री बनाउन आवश्यक पर्ने सबै सुविधाहरू रहेका छन् ।’ सन् २०३० सम्म राष्ट्रिय सहकारी महासंघले देशभरका सबै सहकारीलाई पूर्ण डिजिटलाइज गर्ने प्रतिबद्धता जारी गरेको छ । यही प्रतिबद्धतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने अभियानमा लागेको छ, मिरा सफ्टवेयर । ‘सहकारीको सेवालाई छिटो, छरितो, भरपर्दो र पारदर्शी बनाउन अब डिजिटलाइजको विकल्प छैन’, उनले भने, ‘यदि तपाई पनि सहकारीलाई डिजिटलाइज गर्न चाहनुहुन्छ भने मिरा सफ्टवेयर एउटा उत्तम विकल्प हुन सक्ने छ ।’ मिरा सफ्टवेयरमा सदस्य तथा सेयर व्यवस्थापन, बैंकिङ व्यवस्थापन प्रणाली, लेखा प्रणाली, मोबाइल बैंकिङ तथा ई-बैंकिङ व्यवस्थापन, मौज्दात व्यवस्थापन प्रणाली लगायत सहकारीलाई डिजिटलाइज गर्न आवश्यक पर्ने सबै सुविधाहरू रहेका छन् । मिरा सफ्टवेयर सेवा शुल्क समेत सस्तो रहेको छ । वार्षिक १६ हजार रूपैयाँमै मिरा सफ्टवेयरका आधारभूत सुविधा प्रयोग गर्न सकिन्छ । अन्य सेवाहरू लिँदा पनि न्यूनतम शुल्क लाग्ने कम्पनीले जनाएको छ । मिरा सफ्टवेयरले सस्तो मूल्यमा गुणस्तरीय, भरपर्दो र सुरक्षित सेवा दिने तिवारीको भनाइ छ । मिरा ईआरपीले विभिन्न चरणमा इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमको अडिट गरी आईएसओ २७००१ सर्टिफिकेट समेत प्राप्त गरेको छ । यसलाई अझै सुरक्षित बनाउन उच्च्स्तरीय प्रविधि पूर्वाधार तयार गरिएको छ । सहकारी संस्थाको सफ्टवेयरमा भएको तथ्यांकको सुरक्षा र गोपनियतामा कुनै पनि सम्झौता नगर्ने पनि नियोसिस टेक्नोलोजीले प्रतिबद्धता जनाएको छ । मिरा ईआरपीलाई नेपाली र अंग्रेजी दुवै भाषामा चलाउन सकिन्छ । गूगल प्ले स्टोर र एप्पल एप स्टोरबाट मिरा एप डाउनलोड गरी डिजिटल बैंकिङको सबै सुविधा घरबाटै लिन सकिने नियोसिस टेक्नोलोजीको जानकारी दिएको छ । कम्पनीले प्रयोगकर्तालाई आवश्यकता अनुसार २४ सै घण्टा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । सञ्चालनमा आएको ९ महिनामै १८१ सहकारी संस्थाहरूले मिरा सफ्टवेयर प्रयोग गरिरहेको छन् ।
एनआईसी एशियाद्वारा सामुदायिक विद्यालयमा पुस्तकालय भवन हस्तान्तरण
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण सम्पन्न गरी हस्तान्तरण समेत गरिसकेको छ । विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराइ अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण निर्माणार्थ सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैंकले उक्त पुस्तकालय भवनहरु निर्माण गरेको हो । बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित जोशीपुर गाउँपालिका–१ मा अवस्थित श्री मोहन्याल माध्यमिक विद्यालय, मधेश प्रदेशको सिराहा जिल्ला स्थित भगवानपुर गाउँपालिका–१ मा अवस्थित श्री बाला सुन्दरी माध्यमिक विद्यालय, कोशी प्रदेशको झापा जिल्ला स्थित बुद्धशान्ती गाउँपालिका–२ मा अवस्थित श्री आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका–३ मा अवस्थित श्री गौरीगञ्ज माध्यमिक विद्यालय, गण्डकी प्रदेशको तनहु जिल्ला स्थित बन्दिपुर गाउँपालिका–१ मा अवस्थित श्री पवित्रा माध्यमिक विद्यालयको पुस्तकालय भवन निर्माण कार्य सम्पन्न भएर पुस्तकालय स्थापनाको लागि बैंकले सम्बन्धित विद्यालयहरुलाई उक्त पुस्तकालय हस्तान्तरण गरिसकेको छ । त्यसैगरी, मधेश प्रदेशको पर्सा जिल्ला स्थित वीरगञ्ज महानगरपालिका–१४ मा अवस्थित श्री सिद्धार्थ माध्यमिक विद्यालय र लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला स्थित सियारी गाउँपालिका–४ मा अवस्थित श्री पब्लिक सेकेन्डरी स्कुलको पुस्तकालय भवनहरु निर्माण कार्य भइरहेको, साथै, बाग्मति प्रदेशको चितवन जिल्ला स्थित राप्ती नगरपालिका–७ मा अवस्थित श्री विरेन्द्र आदर्श माध्यमिक विद्यालयको भवन निर्माणका लागि निर्माणकर्ता छनौट प्रकृया अगाडि बढिसकेको छ । बैंकले यी पुस्तकालय भवनहरु निर्माणका लागि भनेर कुल २ करोड १३ लाख २३ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । यी पुस्तकालय भवनहरु निर्माणपछि उक्त विद्यालयहरुमा अध्ययनरत ११ हजारभन्दा बढी विद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् भने विद्यालयमा अत्यावश्यक पुस्तकालय व्यवस्थापन गराई विद्यार्थीहरुलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाइका सामग्रीहरुमा पहुँच भई उनीहरुको शैक्षिक गुणस्तर बढ्ने एवं व्यक्तित्व विकासमा ठूलो सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
हिमालयन बैंकद्वारा प्रहरीलाई गोप्रो क्यामरा हस्तान्तरण
काठमाडौं । हिमालयन बैंकले जिल्ला प्रहरी कार्यालय वीरगन्जलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय, वीरगंज, पर्सालाई रुपैयाँ तीन लाख सात हजार पाँच सय बराबरको चेष्ट स्ट्राप सहित पाँच थान गोप्रो हिरो १२ क्यामरा खरिद गरी हस्तान्तरण गरेको छ । जिल्ला प्रहरी कार्यालय, वीरगंज, पर्साको अनुरोधमा पर्सा जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिविधिहरुको निगरानी तथा रोकथाम गर्न बैंकले जिल्ला प्रहरी कार्यालय, वीरगंज, पर्सालाई सो सहयोग प्रदान गरेको हो । बैंकका तर्फबाट बैंकका प्रमुख प्रशासकीय अधिकृत पवन अग्रवाल र बैकका मधेश प्रदेशका प्रदेश प्रमुख सागर कुमार रेग्मीले सहयोग स्वरुप सो क्यामरा प्रहरी उपरीक्षक कुमुद ढुङ्गेललाई एक समारोहकोबीच हस्तान्तरण गरे । उक्त समारोहमा बैंकका तथा जिल्ला प्रहरी कार्यालयका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।