६६ प्रतिशतले बढे बीमा सर्भेयर, कति छन् सक्रिय ?
काठमाडौं । बीमा व्यवसायमा क्षति मूल्यांकनकर्ताको रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका बीमा सर्भेयरको संख्या पछिल्लो सात आर्थिक वर्षमा उल्लेखनीय वृद्धि भएको देखिन्छ । सात आवमा बीमा कम्पनीहरूमा सर्भेयरको संख्या ६६.६६ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार आव २०७४/७५ मा बीमा सर्भेयरको संख्या ४१६ थियो । उक्त संख्या आव २०८०/८१ मा वृद्धि भएर १ हजार २४८ पुगेको छ । तथ्यांकअनुसार आव २०७४/७५ देखि आव २०७७/७८ सम्म बीमा सर्भेयरको संख्या ४ सय को हाराहारीमा थियो भने आव २०७८/७९ मा आइपुग्दा सो संख्यामा वृद्धि भएर १ हजार २ सयको हाराहारीमा पुगेको देखिन्छ । त्यसपछिका वर्षमा भने बीमा कम्पनीहरूमा त्यही संख्याकै हाराहारीमा सर्भेयरको संख्या रहेको तथ्यांक छ । आव २०७५/७६ मा ४३५ बीमा सर्भेयरको संख्या रहेकोमा आव २०७६/७७ मा सो संख्यामा केही कमी आएको देखिन्छ । उक्त आवमा ३५६ जना सर्भेयर बीमा कम्पनीमा संलग्न छन् । आव २०७९/८० मा १२ सय ४० जना सर्भेयरको संख्या पुगेको छ । उक्त आवमा साविकको बीमा समितिले धेरै सर्भेयरहरुको तालिम र अनुमतिपत्र प्रदान गरेकाले सर्भेयरको संख्यामा उल्लेखनीय वृद्धि हुन गएको नेपाल बीमा प्राधिकरणले जनाएको छ । सक्रिय बीमा सर्भेयर नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयरलाई इजाजतपत्र (लाइसेन्स) दिने र नवीकरण गर्दै आएको छ । हाल बीमा कम्पनीमा आवद्ध १ हजार २४८ बीमा सर्भेयर प्राधिकरणमा नवीकरण भएका सर्भेयरको संख्या हो । तीमध्ये कतिजना नियमित रूपमा सक्रिय भएर काम गरिरहेका छन् भन्ने यकिन तथ्यांक नभएको प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले बताए । बीमा सर्भेयरको लागि अहिले बीमा ऐन २०८१ मा वार्षिक रूपमा नवीकरण गर्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था लागू भएसँगै सक्रिय सर्भेयरको संख्यामा वृद्धि हुने उनको भनाइ छ । सर्भेयरको आवश्यक योग्यता बीमा व्यवसायमा क्षति मूल्यांकनकर्ताको रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति बीमा सर्भेयर हुन् ।सर्भेयरले क्षति भएको घटनास्थलमा गएर क्षतिको मूल्यांकन गरेपछि त्यसको आधारमा दाबी भुक्तानी दिने गर्छ । बीमितले आफ्नो सम्पति क्षति भएको कुरा बीमकलाई जानकारी गराएपछि सम्बन्धित कम्पनीले क्षतिको मूल्यांकनको लागि सर्भेयरलाई खटाउन गर्दछ । बीमा सर्भेयर बन्नको लागि बीमा प्राधिकरणले बीमा नियमालीमार्फत निश्चित मापदण्ड तोकेको छ । बीमा नियमावली २०८१ को दफा ४६ अनुसार बीमा सर्भेयर बन्नको लागि इन्जिनियरिङ विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ । त्यसबाहेक चार्टर्ड एकाउन्टेन्टेन्सी परीक्षा उत्तीर्ण हुनुपर्ने, स्नातक उपाधि हासिल गर्नुका साथै कुनै पनि जीवन बीमा कम्पनीमा वा प्राधिकरणमा १० वर्ष अधिकृतस्तरको पदमा काम गरेको हुनुपर्ने छ । इन्टर्नसीप गर्नुपर्ने बीमा सर्भेयरको इजाजतपत्र (लाइसेन्स) प्राप्त गर्नुअघि निवेदकले कम्तीमा तीन महिना सम्बन्धित विषयको सर्भेयर वा बीमकमा इन्टर्नसीप गर्नुपर्ने हुन्छ । लाइसेन्स नवीकरण बीमा सर्भेयरले लाइसेन्स नवीकरणको लागि लाइसेन्सको अवधि समाप्ति हुनु अगावै बीमा सर्भेयर भई कार्य गरेको विवरण तथा कागजात संलग्न गरी प्राधिकरणमा निवेदन दिनुपर्ने हुन्छ । बीमा सर्भेयरको ऐनको दफा ९४ को उपदफा (१) बमोजिमको अवधिभित्र नवीकरणको लागि निवेदन नदिएमा विलम्ब शुल्क तिरी नवीकरणको लागि निवेदन दिन पाइने व्यवस्थासमेत नियमावलीमा छ । कार्य अनुभवका आधारमा बीमा सर्भेयरहरूलाई तहगत आधारमा वर्गीकरण गरिएको हुन्छ । बीमा सर्भेयरको लाइसेन्स नवीकरणको लागि सर्भेयरले इजाजतपत्रको अवधि समाप्त हुनु अगावै बीमा सर्भेयर भई कार्य गरेको विवरण तथा कागजात संलग्न गरी प्राधिकरणमा निवेदन गर्नुपर्ने छ । संस्थागत सर्भेयरको हकमा लाइसेन्स प्राप्त गर्नको लागि सो कम्पनीको सञ्चालक, कार्यकारी प्रमुख वा उच्च व्यवस्थापकमध्ये कम्तीमा एक जनाले बीमा सर्भेयरको सम्बन्धित विषयको तालिम लिई परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने छ । संस्थागत सर्भेयरले आफूले गर्ने सर्भेसँग सम्बन्धित विषयमा सर्भेयरको लाइसेन्सप्राप्त व्यक्तिलाई काममा लगाउन सक्ने प्रावधान छ । सर्भेयरले गर्न पाउने सर्भेको सीमा प्राधिकरणले निर्धारण गरे बमोजिम हुने नियामवलीमा उल्लेख छ । त्यस्तै, सर्भेयरको पारिश्रमिक पनि प्राधिकरणले निर्धारण गरेको मापदण्डको आधारमा बीमकले तोक्न सक्ने व्यवस्था नियमावलीमा छ । नियमावलीअनुसार प्राधिकरणले सर्भेयरलाई तीन प्रकारमा वर्गीकरण गरेको छ । प्राधिकरणले तोकेको न्यूनतम रकम र संख्या बराबरको सर्भे गरी कम्तीमा १५ वर्ष काम गरेको सर्भेयरलाई ‘क’ वर्गमा वर्गीकरण गरेको छ । प्राधिकरणले तोकेको न्यूनतम रकम र संख्या बराबरको सर्भे गरी कम्तीमा ७ वर्ष काम गरेको सर्भेयरलाई ‘ख’ वर्गमा र प्राधिकरणबाट लाइसेन्स लिई ‘क’ र ‘ख’ बमोजिमको योग्यता पूरा नभएको सर्भेयरलाई ‘ग’ वर्गमा वर्गीकरण गरेको छ । संस्थागत सर्भेयरको भने वर्गीकरण गरिएको छैन ।
वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८ दिन भोजन, सातै प्रदेशमा स्वास्थ्य सेवा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा घरबारविहीन र मानसिक सन्तुलन गुमाएका सडक आश्रित व्यक्तिहरूलाई १८ दिनसम्म भोजन वितरण गरेको छ । चैत्र २० गतेदेखि वैशाख ६ गतेसम्म १८ दिन चलाइएको यस अभियानमा काठमाडौंका विभिन्न स्थानमा आश्रय लिएका करिब १ हजार ९०० जनाले लाभ प्राप्त गरेका छन् । भोटु:इन्दिरा समाज कल्याण संस्थासँगको सहकार्यमा सञ्चालन गरिएको भोजन कार्यक्रम जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल र गौशालालगायत क्षेत्रहरूमा केन्द्रित थियो । नदी किनार, सडक छेउ र पुलमुनि वस्ने घरबारविहीन व्यक्तिहरूलाई लक्षित गरी दैनिक भोजन वितरण गरिएको बैंकले जनाएको छ । यसै क्रममा, बैंकले चैत्र २ गतेदेखि वैशाख ५ गतेसम्म सातै प्रदेशका विभिन्न स्थानहरूमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गर्यो । शिविरहरू कोशी प्रदेशको हल्दिबारी र महेन्द्रचोक, मधेश प्रदेशको विद्यापति चोक, बागमती प्रदेशको बुढानीलकण्ठ, गण्डकी प्रदेशको अमरापुरी, लुम्बिनी प्रदेशको जीतपुर र हस्पिटल लाइन, कर्णाली प्रदेशको श्रीनगर र दुल्लु, र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा आयोजित भएका थिए । ती शिविरहरूबाट करिब १,७०० जना बिरामीहरूले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् । बैंकले आफ्नो प्रत्येक वार्षिकोत्सवमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको छ । संस्थागत सामाजिक उत्तरदायित्वका माध्यमबाट बैंकले आगामी दिनहरूमा पनि सामाजिक, आर्थिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।
गुणाकर भट्टले दिए राजीनामा, गभर्नर बन्ने सम्भावना बलियो
काठमाडौं । डा. गुणाकर भट्टले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका छन् । राष्ट्र बैंकको आगामी गभर्नर बन्ने सम्भावना बलियो भएसँगै उनले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बुधबार साँझ बसेको बैठकले डा. भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो । कांग्रेस सभापति देउवाले उनलाई बोलाएर गभर्नर बन्ने संकेत दिएपछि उनले शुक्रबार राजीनामा दिएका हुन् । डा. भट्टले दिएको राजीनामा राष्ट्र बैंक सञ्चालक समितिले पारित गर्नुपर्ने हुन्छ । तर, तत्काल कुनै एजेन्डा नरहेकाले सञ्चालक समिति बैठक आह्वान नगरिएको राष्ट्र बैंक स्रोतले बतायो । ‘उहाँले राजीनामा दिनु भएको हो । उहाँले दिएको राजीनामा राष्ट्र बैंकको गभर्नर कार्यालयमार्फत सञ्चालक समितिले स्वीकृति गर्छ,’ राष्ट्र बैंक स्रोतले भन्यो । साढे २ दशकदेखि राष्ट्र बैंकमा कार्यरत डा. भट्टले विभिन्न विभागको प्रमुखको भूमिका समेत निर्वाह गरेका छन् । हाल उनी आर्थिक अनुसन्धान विभागमा कार्यकारी निर्देशकको जिम्मेवारीमा छन् । डा. भट्टले राष्ट्रिय ऋण व्यवस्थापन विभाग, बैंक सुपरीवेक्षण, बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभागको प्रमुख भएर काम गरेका थिए । विस २०५७ सालमा राष्ट्र बैंकमा जागिर सुरु गरेका डा. भट्ट त्रिभुवन विश्वविद्यालयबाट (एमबीए) गोल्ड मेडलिस्ट समेत हुन् । उनले अमेरिकाको विलियम्स कलेजबाट अर्थशास्त्रमा मास्टर्स र अमेरिकाकै वेनी स्टेट विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् । उनीसँग ग्रामीण विकास बैंकको सञ्चालक र नेपाल धितोपत्र बोर्डको सञ्चालक समेत रहेर काम गरेको अनुभव छ । साथै अर्थमन्त्रालयमा आर्थिक सल्लाहकार, विभिन्न समयमा बजेट तर्जुमा गर्न, आर्थिक सर्वेक्षण तर्जुमा गर्न समेत उनले योगदान पुर्याएका छन् । विभिन्न विश्वविद्यालयमा अध्यापनसमेत गरेका उनी हाल कर्जा सूचना केन्द्रको अध्यक्षको भूमिकामा समेत छन् ।