काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) का प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री विकासशील मुलुकका बीमा तथा पुनर्बीमा कम्पनीहरूको संस्था एआईआरडीसीको उपाध्यक्षमा निर्वाचित भएका छन् ।
जिम्बाब्वेको हरारेस्थित रेनबो टावर्स होटलमा सेप्टेम्बर २८, २०२६ मा सम्पन्न संस्थाको साधारण सदस्य बैठकबाट क्षेत्री उपाध्यक्षमा निर्वाचित भएका हुन् । उनी संस्थाको कार्यकारी सञ्चालक मण्डलका सदस्यसमेत रहनेछन् ।
विकासशील मुलुकका बीमा तथा पुनर्बीमा कम्पनीबीच सहकार्य, ज्ञान तथा अनुभव आदानप्रदान र बीमा क्षेत्रको विकास तथा विस्तार गर्ने उद्देश्यले एआईआरडीसी स्थापना भएको हो ।
क्षेत्री उपाध्यक्षमा निर्वाचित भएपछि नेपालको बीमा क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा थप प्रतिनिधित्व र सहकार्यको अवसर प्राप्त हुने अपेक्षा गरिएको छ ।
एआईआरडीसीको आगामी सञ्चालक मण्डल बैठक सन् २०२७ अप्रिल ६ मा फिलिपिन्सको मनिलामा आयोजना हुने तय भएको छ । यस्तै, सन् २०२८ मा काठमाडौंमा आयोजना हुने २५औँ एआईआरडीसी सम्मेलनको स्थानीय आयोजक समितिको अध्यक्षको जिम्मेवारीसमेत क्षेत्रीले सम्हाल्नेछन् ।
उक्त सम्मेलन सफल बनाउन नेपाल तथा एआईआरडीसीका सदस्य राष्ट्रबीच समन्वय र सहकार्यलाई थप सुदृढ गरिने कम्पनीले जनाएको छ । उपाध्यक्षका रूपमा क्षेत्रीले संस्थाका उद्देश्य प्रवर्द्धन गर्नुका साथै नेपालका अन्य बीमा तथा पुनर्बीमा कम्पनीलाई पनि एआईआरडीसीको सदस्य बन्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।