काठमाडौं । जलविद्युत् कम्पनी एबीपी इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
यससम्बन्धी सम्झौता एबीपी इनर्जी र सिद्धार्थ क्यापिटलबीच भएको हो । सम्झौतामा एबीपी इनर्जीका अध्यक्ष पूर्णलाल श्रेष्ठ र सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै कम्पनीको प्रस्तावित आईपीओ निष्कासन तथा व्यवस्थापन प्रक्रिया प्रचलित कानुन, नियामकीय व्यवस्था तथा सम्बन्धित निकायबाट प्राप्त हुने स्वीकृतिअनुसार अघि बढाइने कम्पनीले जनाएको छ ।
एबीपी इनर्जीले नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१, घ्याङफेदीमा ८ मेगावाट क्षमताको तादी घ्याङफेदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । तादी खोलाको पानी उपयोग गरी विद्युत् उत्पादन गर्ने यो आयोजना रन–अफ–रिभर प्रकृतिको हो ।
आयोजनाको प्रतिमेगावाट लागत करिब २० करोड ५० लाख रुपैयाँ रहेको छ । आयोजनाको कुल लागत १ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा सिद्धार्थ बैंकले १ अर्ब २३ करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता भएको कम्पनीले जनाएको छ ।
आयोजनाको भौतिक प्रगति हालसम्म ६० प्रतिशतभन्दा बढी पुगेको छ । कम्पनीले २०८४ साल वैशाख मसान्तसम्म आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ ।
कम्पनीको सञ्चालक समूहमा जलविद्युत् क्षेत्रमा अनुभव भएका पूर्णलाल श्रेष्ठ र बलराम खतिवडासँगै एफवान सफ्ट इन्टरनेसनल तथा इसेवाका संस्थापक अज्गर अली रहेका छन् ।
कम्पनीले अनुभवी नेतृत्व र ऊर्जा क्षेत्रमा दीर्घकालीन प्रतिबद्धताका साथ नेपालको जलस्रोतको उपयोग गरी स्वच्छ तथा नवीकरणीय ऊर्जा उत्पादनमा योगदान गर्ने लक्ष्य लिएको जनाएको छ ।