गोरखा गार्डन होटलमा प्रभु बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
पोखरा । प्रभु बैंक लिमिटेड र गोरखा गार्डन होटलबीच छुटसम्बन्धी साझेदारी सम्झौता भएको छ । गोरखा नगरपालिका–६, अर्घलेस्थित गोरखा गार्डन होटलमा प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले १५ प्रतिशत छुट पाउने भएका छन् । मंगलबार भएको कार्यक्रममा प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु राना र गोरखा गार्डन होटलका अध्यक्ष सुरेन्द्र कुँवरले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकका ग्राहकहरूले डेबिट र क्रेडिट कार्ड वा अन्य विद्युतीय माध्यमबाट भुक्तानी गर्दा गोरखा गार्डन होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन सेवामा छुट प्राप्त गर्नेछन् । आरामदायी बसाइ, पारिवारिक वातावरण र उत्कृष्ट आतिथ्य सेवाका लागि परिचित गोरखा गार्डन होटलसँगको यो सहकार्यले गोरखाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने र बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
स्वरोजगार लघुवित्तको साधारण सभा वैशाख २९ गते, १३.५० प्रतिशत बोनस सेयर प्रस्ताव
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न वैशाख २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा दिउँसो ११:३० बजेबाट सुरु हुने लघुवित्तले जनाएको छ । संस्थाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १३.५० प्रतिशत बोनस सेयर र त्यसबाट लाग्ने कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव सभामा पेश गर्नेछ । त्यस्तै, सभाबाट मर्जर तथा एक्विजिशनसम्बन्धी कार्यको लागि सञ्चालक समितिलाई आवश्यक अधिकार प्रदान गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू पनि पारित गरिनेछ । साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले वैशाख ११ गते बुक क्लोज गर्नेछ । जस अनुसार वैशाख १० गतेसम्म नेप्सेमा कारोबार भई नाम कायम भएका सेयरधनीहरूलाई सभा सहभागी र लाभांश प्राप्त गर्ने छन् ।
समृद्धि फाइनान्सका सीईओ सन्तोष घिमिरेले गरे पदभार ग्रहण
काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोषकुमार घिमिरेले पदभार ग्रहण गरेका छन् । मंगलबार अध्यक्ष ठाकुरप्रसाद भट्टराईसँग शपथ ग्रहण गर्दै उनले औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन् । संस्थाको फागुन २८ गते बसेकाे सञ्चालक समितिको बैठकले घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको थियो । उनले यसअघि नेपाल राष्ट्र बैंकमा तीन दशक सेवा गरी अवकाश प्राप्त गरेका थिए । त्यस्तै, गोर्खाज फाइनान्स लिमिटेडमा पनि सीईओको जिम्मेवारी सम्हालिसकेका छन् । नेपाल राष्ट्र बैंकमै कार्यरत रहँदा समस्याग्रस्त नेपाल सेयर मार्केट फाइनान्समा व्यवस्थापन प्रमुखको जिम्मेवारी पनि सम्हालेका घिमिरेसँग नियामक निकायदेखि वित्तीय संस्थासम्मको अनुभव छ । उनको अनुभव, नेतृत्व क्षमता र दूरदर्शिता समृद्धि फाइनान्सलाई आगामी दिनमा अझ सशक्त र स्थायीतर्फ उन्मुख गराउने संस्थाको विश्वास छ । संस्थाले आफ्नो वित्तीय सेवा विस्तार र व्यवसायीक समृद्धिका लागि घिमिरेको नियुक्तिलाई महत्त्वपूर्ण उपलब्धिको रूपमा हेरेको छ ।