प्रभु महालक्ष्मी लाइफको कर्पोरेट क्लब एचिभर्स अवार्ड सम्पन्न
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई सम्मान गर्दै कर्पोरेट क्लब एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । चितवनको नारायणगढमा असोज २ देखि ४ गतेसम्म तीन दिन सञ्चालन भएको कार्यक्रममा अभिकर्तालाई सम्मान, व्यवसायिक क्षमता विकास तथा मनोरञ्जनात्मक गतिविधि समेटिएको थियो । कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले पानसमा दीप प्रज्वलन गरेर गरेका थिए । सो अवसरमा उनले उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता लिडरहरूको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको बताए । यस्ता सम्मानले अभिकर्ताहरूलाई थप उत्साह र आत्मविश्वासका साथ व्यवसायमा अघि बढ्न प्रेरणा दिने उनको भनाइ थियो । आगामी दिनमा पनि अभिकर्तालाई उच्च मनोबलका साथ व्यवसाय गर्न कम्पनीको निरन्तर साथ र सहयोग रहने उनले प्रतिबद्धता जनाए । आर्थिक वर्ष २०८२/८३ को सफलताको उत्सव मनाउँदै कम्पनीले आर्थिक वर्ष २०८३/८४ लाई थप सफलताको वर्ष बनाउन सहभागीहरूलाई प्रेरित गरेको थियो । कम्पनीका नेसनल सेल्स हेड तथा नायब महाप्रबन्धक सोनबहादुर मगरले आर्थिक वर्ष २०८२/८३ को सफलताले नयाँ आर्थिक वर्षको लक्ष्य हासिल गर्न थप ऊर्जा मिलेको बताए । कार्यक्रममा आचार्य राजा बाबु साहले ‘पावर अफ माइन्ड सेट फर बिजनेस ग्रोथ’ विषयमा प्रशिक्षण दिएका थिए । प्रशिक्षणले अभिकर्ताको व्यवसायिक क्षमता विकासमा सहयोग पुगेको कम्पनीले जनाएको छ । कार्यक्रममा देशभरबाट कम्पनीका व्यवस्थापक तथा अभिकर्तासहित करिब २०० जनाको सहभागिता रहेको थियो । आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई कर्पोरेट क्लब अवार्डबाट सम्मान गरिएको थियो । प्रभु महालक्ष्मी लाइफले आफ्ना अभिकर्ताको क्षमता विकास र मनोबल बढाउन विभिन्न मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ ।
नेपाल फिनसफ्टको अध्यक्षमा वसन्तराज लम्साल नियुक्त
काठमाडौं । नेपाल फिनसफ्ट कम्पनी लिमिटेडको अध्यक्षमा कम्पनीका संस्थापक सदस्य वसन्तराज लम्साल नियुक्त भएका छन् । लम्साल लघुवित्त क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका अनुभवी व्यक्तित्व रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उनले लघुवित्त क्षेत्रसँग सम्बन्धित विभिन्न नेतृत्वदायी भूमिकामा समेत रहिसकेका छन् । पछिल्लो समय लघुवित्त क्षेत्रको नीति, संस्थागत सुदृढीकरण, स्रोत व्यवस्थापन तथा प्रविधिको प्रयोगलगायतका विषयमा उनले निरन्तर धारणा राख्दै आएका छन् । यसैगरी, कम्पनीको सञ्चालक समितिमा श्रीराम पोखरेर्ल नयाँ सञ्चालकका रूपमा नियुक्त भएका छन् । पोखरेलको नियुक्तिसँगै नयाँ नेतृत्व संरचनाले कम्पनीको दीर्घकालीन व्यावसायिक योजना, सुशासन, वित्तीय सुदृढीकरण तथा सेवा विस्तारलाई थप व्यवस्थित रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास कम्पनीले गरेको छ । लम्साल तथा पोखरेलको नियुक्तिसँगै कम्पनीले आगामी पाँच वर्षभित्र नेपाल फिन्सफ्ट कम्पनी लिमिटेडलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत गर्ने दीर्घकालीन लक्ष्यलाई समेत थप प्राथमिकताका साथ अघि बढाउने भएको छ । नेपाल फिन्सफ्ट कम्पनी लिमिटेड ३४ वटा लघुवित्त वित्तीय संस्थाको सामूहिक लगानीमा स्थापना भएको विशिष्ट प्रकृतिको प्रविधि कम्पनी हो । लघुवित्त संस्थाहरूको सूचना प्रविधिसम्बन्धी आवश्यकता पहिचान गरी उनीहरूलाई स्वदेशमै विकसित तथा व्यावहारिक सफ्टवेयर र डिजिटल समाधान उपलब्ध गराउने उद्देश्यले कम्पनी स्थापना गरिएको हो । संस्थापक लघुवित्तहरूको साझा लगानी र आवश्यकताबाट जन्मिएको कम्पनी भएकाले फिनसफ्टले लघुवित्त क्षेत्रको वास्तविक व्यावसायिक तथा प्रविधिगत आवश्यकता नजिकबाट बुझ्दै त्यसअनुसारका समाधान विकास गर्ने लक्ष्य राखेको छ । कम्पनीले हाल कोर बैंकिङ सिस्टम, मोबाइल बैंकिङ, रिपोर्टिङ तथा नियामकीय रिपोर्टिङ प्रणाली, लर्निङ म्यानेजमेन्ट सिस्टमलगायत विभिन्न सूचना प्रविधि तथा डिजिटल समाधानहरू उपलब्ध गराउँदै आएको छ ।
नेशनल लघुवित्तबाट बाहिरिँदै ७ जना संस्थापक सेयरधनी, बिक्रीमा राखे सेयर
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाका ७ जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्ने भएका छन् । उनीहरूले संस्थामा रहेको कुल ४६ हजार ५३४ कित्ता सेयर बिक्री गर्न लागेका हुन् । लघुवित्तका अनुसार श्यामबहादुर गुरुङले १२ हजार कित्ता, झापाको विर्तामोड-९ का गोपाल खरेलले ८ हजार कित्ता, झापाको कन्काई-३ का गोपाल खरेलले ५ हजार कित्ता, राजु बस्नेतले १ हजार १६३ कित्ता, गोमादेवी चुडालले ५ हजार कित्ता, टिका श्रेष्ठले १० हजार २२३ कित्ता र अरुण खेतानले ५ हजार १४८ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका हुन् । संस्थाले यसअघि विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि कुनै आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाका लागि समेत सेयर बिक्री खुला गरिएको हो । संस्थापक सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा-१०, काभ्रेपलाञ्चोकमा आवेदन पेस गर्नुपर्नेछ ।