शीघ्र सुधारात्मक कारबाहीमा ४ लघुवित्त, २ संस्थालाई नगद जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न ६ वटा लघुवित्त वित्तीय संस्थामाथि कारबाही गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नियामकीय व्यवस्था उल्लङ्घन गरेको भन्दै ती संस्थामाथि शीघ्र सुधारात्मक कारबाही तथा नगद जरिवाना गरेको हो ।

राष्ट्र बैंकका अनुसार फरवार्ड लघुवित्तलाई वैशाख ८ गते शीघ्र सुधारात्मक कारबाही गरिएको छ । संस्थाले २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६.१२ प्रतिशत मात्र कायम गरेको पाइएपछि बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ (क) बमोजिम कारबाही गरिएको हो ।

त्यस्तै, धौलागिरी लघुवित्तलाई वैशाख १० गते शीघ्र सुधारात्मक कारबाही गरिएको छ । संस्थाले २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६.३८ प्रतिशत मात्र कायम गरेको पाइएपछि राष्ट्र बैंकले कारबाही गरेको हो ।

मातृभूमि लघुवित्तलाई वैशाख २९ गते कारबाही गरिएको छ । संस्थाले २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ४.०८ प्रतिशत मात्र कायम गरेको पाइएपछि शीघ्र सुधारात्मक कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, एनआईसी लघुवित्तले २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६.३९ प्रतिशत मात्र कायम गरेको पाइएपछि असार १२ गते शीघ्र सुधारात्मक कारबाहीमा परेको छ ।

राष्ट्र बैंकले वीन नेपाल लघुवित्तलाई पनि कारबाही गरेको छ । संस्थाले २०८२ चैत महिनामा अनिवार्य नगद मौज्दात कायम नगरेपछि २०८३ असार २३ गते प्रथम पटकका लागि ५८.३८ रुपैयाँ नगद जरिवाना लगाइएको राष्ट्र बैंकले जनाएको छ ।

सञ्जीवनी लघुवित्तमाथि भने अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै पटकपटक जरिवाना गरिएको छ । संस्थाले २०८२ चैत तथा २०८३ वैशाख, जेठ र असार महिनामा अनिवार्य नगद मौज्दात कायम नगरेपछि क्रमशः ७१३ रुपैयाँ, १ हजार ६७ रुपैयाँ, १ हजार ४१२ रुपैयाँ र १ हजार ४१० रुपैयाँ जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

Share News