काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट अभिकर्तालाई सम्मान गर्दै कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल मार्केटिङ र सम्पत्ति शुद्धीकरणसम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ का उत्कृष्ट अभिकर्तालाई सम्मान तथा चेयरपर्सन क्लब सदस्यता वितरण गर्ने उद्देश्यले आयोजना गरेको वार्षिक चेयरपर्सन क्लब कार्यक्रम भैरहवास्थित होटल सिद्धार्थ भिलासामा दुई रात तीन दिनसम्म सञ्चालन गरेको हो ।
कार्यक्रममा लक्ष्य पूरा गरी चेयरपर्सन क्लबमा छनोट भएका अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीसहित ५६५ जनाको सहभागिता रहेको कम्पनीले जनाएको छ ।
कार्यक्रमको सुरुआत भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै र घाइते तथा बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै एक मिनेट मौनधारण गरेर गरिएको थियो ।
चेयरपर्सन प्रेमराज्य लक्ष्मी सिंहले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेकी थिइन् । उनले अभिकर्ता कम्पनीको मेरुदण्ड भएको उल्लेख गर्दै उनीहरूको सीप, क्षमता र नेतृत्व विकासका लागि कम्पनीले निरन्तर लगानी र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले हासिल गरेको व्यवसायिक उपलब्धि नेशनल लाइफ परिवारको सामूहिक सफलताको परिणाम भएको बताए ।
उनले नयाँ आर्थिक वर्षमा स्पष्ट लक्ष्य, मापनयोग्य रणनीति र उच्च व्यवसायिक प्रतिबद्धतासहित अघि बढ्दै अभिकर्ता सञ्जाललाई अझ सुदृढ बनाउने र ग्राहक सेवाको गुणस्तर सुधारमा जोड दिइएको बताए ।
कार्यक्रममा चेयरपर्सन क्लब सदस्यता वितरण गर्नुका साथै नेपालभरबाट आफ्नो कोड र सञ्जालमा उत्कृष्ट व्यवसाय गर्ने प्रथम, द्वितीय र तृतीय अभिकर्तालाई सम्मान गरिएको थियो ।
यस्तै, सेन्चुरियन क्लब, नेशनल स्टार, नेशनल सुपरस्टार तथा लगातार १० वर्षसम्म चेयरपर्सन क्लबमा छनोट भएका अभिकर्तालाई पनि विशेष सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद साडारीले सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रशिक्षण दिँदै बीमा क्षेत्रलाई पनि सम्पत्ति शुद्धीकरणको माध्यम बनाउन सकिने जोखिम भएकाले शंकास्पद कारोबारको निगरानी र कानुनी व्यवस्था पालना गर्न सबै पक्ष सचेत हुनुपर्ने बताए ।
प्रशिक्षक विश्वराज पौडेलले कृत्रिम बुद्धिमत्ता (एआई) लाई बीमा व्यवसायसँग कसरी जोड्न सकिन्छ भन्नेबारे प्रयोगात्मक उदाहरणसहित प्रशिक्षण दिएका थिए । उनले ग्राहकसँग सम्पर्क, सामग्री निर्माण, व्यवसायिक योजना र सूचना व्यवस्थापनमा एआईको उपयोग गर्न सकिने बताए ।
त्यसैगरी प्रशिक्षक संजोग कोइरालाले डिजिटल युगमा बीमा व्यवसाय विस्तारका लागि डिजिटल प्लेटफर्मको प्रभावकारी प्रयोग आवश्यक रहेको बताए । उनले सामाजिक सञ्जाल र डिजिटल माध्यम प्रयोग गर्दा कानुन तथा नियामकीय व्यवस्था पालना गरी सत्यतथ्य र स्वीकृत सामग्री मात्र सार्वजनिक गर्नुपर्नेमा जोड दिए ।
सम्मानित अभिकर्ताले चेयरपर्सन क्लबमा छनोट हुन वर्षभर निरन्तर मेहनत, अनुशासन र उत्कृष्ट व्यवसायिक प्रदर्शन आवश्यक पर्ने भन्दै कार्यक्रममा सहभागी हुन पाउनु गौरवको विषय भएको बताए । वर्षभरको मेहनतको कदरस्वरूप प्राप्त सम्मानले आगामी दिनमा अझ राम्रो काम गर्न प्रेरणा मिलेको उनीहरूको भनाइ थियो ।