काठमाडौं । नेपाल फिनसफ्ट कम्पनी लिमिटेडको अध्यक्षमा कम्पनीका संस्थापक सदस्य वसन्तराज लम्साल नियुक्त भएका छन् ।
लम्साल लघुवित्त क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका अनुभवी व्यक्तित्व रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार उनले लघुवित्त क्षेत्रसँग सम्बन्धित विभिन्न नेतृत्वदायी भूमिकामा समेत रहिसकेका छन् ।
पछिल्लो समय लघुवित्त क्षेत्रको नीति, संस्थागत सुदृढीकरण, स्रोत व्यवस्थापन तथा प्रविधिको प्रयोगलगायतका विषयमा उनले निरन्तर धारणा राख्दै आएका छन् ।
यसैगरी, कम्पनीको सञ्चालक समितिमा श्रीराम पोखरेर्ल नयाँ सञ्चालकका रूपमा नियुक्त भएका छन् ।
पोखरेलको नियुक्तिसँगै नयाँ नेतृत्व संरचनाले कम्पनीको दीर्घकालीन व्यावसायिक योजना, सुशासन, वित्तीय सुदृढीकरण तथा सेवा विस्तारलाई थप व्यवस्थित रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास कम्पनीले गरेको छ ।
लम्साल तथा पोखरेलको नियुक्तिसँगै कम्पनीले आगामी पाँच वर्षभित्र नेपाल फिन्सफ्ट कम्पनी लिमिटेडलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत गर्ने दीर्घकालीन लक्ष्यलाई समेत थप प्राथमिकताका साथ अघि बढाउने भएको छ ।
नेपाल फिन्सफ्ट कम्पनी लिमिटेड ३४ वटा लघुवित्त वित्तीय संस्थाको सामूहिक लगानीमा स्थापना भएको विशिष्ट प्रकृतिको प्रविधि कम्पनी हो ।
लघुवित्त संस्थाहरूको सूचना प्रविधिसम्बन्धी आवश्यकता पहिचान गरी उनीहरूलाई स्वदेशमै विकसित तथा व्यावहारिक सफ्टवेयर र डिजिटल समाधान उपलब्ध गराउने उद्देश्यले कम्पनी स्थापना गरिएको हो ।
संस्थापक लघुवित्तहरूको साझा लगानी र आवश्यकताबाट जन्मिएको कम्पनी भएकाले फिनसफ्टले लघुवित्त क्षेत्रको वास्तविक व्यावसायिक तथा प्रविधिगत आवश्यकता नजिकबाट बुझ्दै त्यसअनुसारका समाधान विकास गर्ने लक्ष्य राखेको छ ।
कम्पनीले हाल कोर बैंकिङ सिस्टम, मोबाइल बैंकिङ, रिपोर्टिङ तथा नियामकीय रिपोर्टिङ प्रणाली, लर्निङ म्यानेजमेन्ट सिस्टमलगायत विभिन्न सूचना प्रविधि तथा डिजिटल समाधानहरू उपलब्ध गराउँदै आएको छ ।