हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स कप फुटसलको विजेता

काठमाडौं । दोस्रो नेपाल इन्स्योरेन्स कप फुटसल प्रतियोगिताको उपाधि हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले जितेको छ ।

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७९औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा हिमालयन एभरेस्टले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीलाई ५–२ गोलले पराजित गर्दै उपाधि जितेको हो । सिद्धार्थ प्रिमियर भने उपविजेतामा सीमित भएको छ ।

सामाखुसी फुटसल ग्राउन्डमा सम्पन्न प्रतियोगितामा विभिन्न बीमा कम्पनीका टोलीले सहभागिता जनाएका थिए । सहभागी टोलीको उत्कृष्ट प्रदर्शन र रोमाञ्चक खेलका कारण प्रतियोगिता आकर्षक बनेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा हिमालयन एभरेस्ट इन्स्योरेन्सका दिनेश कुमार सिंह प्लेयर अफ द टुर्नामेन्ट घोषित भए। सोही टोलीका सुनिल थापा उत्कृष्ट डिफेन्डर बने ।

यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका रोशन बुढाथोकी सर्वाधिक गोलकर्ता र सुजन घिमिरे उत्कृष्ट गोलकिपर घोषित भए ।

समापन समारोहमा नेपाल इन्स्योरेन्स कम्पनीका अध्यक्ष चन्द्रसिंह साउद र प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले विजेता तथा उपविजेता टोलीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए । विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा मोबाइल एप पार्टनरको सहकार्यमा लाइभ स्कोर, खेलको नतिजा तथा प्रतियोगितासम्बन्धी जानकारी मोबाइल एपमार्फत उपलब्ध गराइएको थियो ।

बीमा क्षेत्रका कम्पनीलाई एउटै खेल मैदानमा जोड्दै आपसी सम्बन्ध, सहकार्य, स्वस्थ प्रतिस्पर्धा र टिम स्पिरिटलाई थप मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेपाल इन्स्योरेन्सले जनाएको छ ।

आयोजकका अनुसार प्रतियोगिताले बीमा क्षेत्रमा खेलकुदमार्फत आपसी सद्भाव र सहकार्यको वातावरण निर्माण गर्न सहयोग पुगेको छ ।

Share News