एकता होटल व्यवसायी संघले ३ लाख बढी आर्थिक सहायतासहित ५१ जनालाई रोजगारीको घोषणा

काठमाडौं । एकता होटल तथा गेष्ट हाउस व्यवसायी संघ, नेपालले गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावित होटल तथा पर्यटन व्यवसायी एवं पीडित परिवारका लागि ३ लाख १ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । 

संघले संकलन गरेको उक्त सहयोग रकमको चेक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गणेश) लाई  उनकै कार्यकक्षमा हस्तान्तरण गरेको हो । 

चेक संघका अध्यक्ष सरोज आले, उपाध्यक्ष प्रज्वल श्रेष्ठ, महासचिव लालबहादुर बानियाँ (अनिश), कोषाध्यक्ष एकदेव पाण्डे (सन्दीप) तथा सदस्य खेम घिमिरेको उपस्थितिमा हस्तान्तरण गरिएको थियो । 

चेक हस्तान्तरणका क्रममा संघका अध्यक्ष सरोज आलेले पछिल्लो समय आएको बाढी तथा पहिरोका कारण होटल तथा पर्यटन व्यवसाय क्षेत्रमा परेको गम्भीर असरबारे मन्त्री पौडेललाई जानकारी गराए । 

साथै, आगामी असोज ८ गतेदेखि १२ गतेसम्म भारी वर्षा हुने पूर्वानुमानसँग सम्बन्धित समाचार तथा सूचनाका कारण पर्यटन व्यवसायमा थप नकारात्मक असर पर्न सक्ने अवस्था रहेको भन्दै अध्यक्ष आलेले यसतर्फ सम्बन्धित निकायको विशेष ध्यानाकर्षण गराए । 

उनले नेपाल सुरक्षित गन्तव्य हो भन्ने सकारात्मक सन्देश प्रवाह गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड तथा सम्बन्धित सरकारी निकायमार्फत नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरू सुरक्षित छन् भन्ने सन्देशमूलक भिडियो तथा सूचना सामग्री सार्वजनिक गर्नुपर्ने आवश्यकता रहेको बताए ।

यसबाट नेपाल भ्रमणमा आउने विदेशी तथा स्वदेशी पर्यटकमा रहेको सम्भावित अन्योल हटाउन तथा पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन सहयोग पुग्ने उनको भनाइ थियो । 

सो अवसरमा अध्यक्ष आलेले बाढी तथा विपद्का कारण होटल, गेष्ट हाउस, रेष्टुरेन्ट तथा पर्यटन व्यवसायीहरूले भोग्नुपरेका समस्या, व्यवसायमा पुगेको क्षति तथा पीडित व्यवसायी र उनीहरूका परिवारको वर्तमान अवस्थाबारे समेत मन्त्री पौडेललाई जानकारी गराए । साथै, प्रभावित व्यवसायीको पुनःस्थापना तथा पर्यटन व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन सरकारको सहयोग आवश्यक रहेको बताए । 

यसै क्रममा अध्यक्ष आलेले एयरपोर्टको पार्किङभित्र देखिएका समस्या, पिङ्गलास्थान तथा गौशाला आसपासमा देखिएका विभिन्न बेथिति तथा पर्यटन व्यवसायसँग सम्बन्धित केही नीतिगत समस्याहरूका विषयमा समेत मन्त्रीको ध्यानाकर्षण गराएका थिए । 

आर्थिक सहयोगसँगै संघले बाढीबाट प्रभावित ५१ जना पीडित परिवारका सदस्यलाई तत्कालका लागि संघमा आबद्ध होटल तथा गेष्ट हाउस व्यवसायीमार्फत रोजगारीको अवसर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

 विपद्का कारण रोजगारी तथा आयआर्जनको स्रोत गुमाएका परिवारका सदस्यलाई कामको अवसर प्रदान गरी उनीहरूको दैनिक जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले उक्त पहल अघि बढाइएको संघले जनाएको छ । 

संघका अध्यक्ष आलेले विपद्को समयमा पीडित व्यवसायी तथा परिवारलाई आर्थिक सहयोग मात्र पर्याप्त नहुने भन्दै रोजगारीको अवसर, पुनःस्थापना र व्यवसाय पुनःसञ्चालनका लागि आवश्यक वातावरण निर्माण गर्नु पनि उत्तिकै महत्वपूर्ण रहेको बताए ।

एकता होटल तथा गेष्ट हाउस व्यवसायी संघ नेपालले बाढी तथा पहिरोबाट प्रभावित होटल, गेष्ट हाउस, रेष्टुरेन्ट तथा पर्यटन व्यवसायीहरूको वास्तविक क्षतिको सम्बोधन, राहत, पुनःस्थापना तथा व्यवसाय पुनरुत्थानका लागि आवश्यक पहल गर्न नेपाल सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

संघले आगामी दिनमा पनि व्यवसायीको हितसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विपद्मा परेका व्यवसायी तथा प्रभावित परिवारको साथमा रहने प्रतिबद्धता व्यक्त गरेको छ । राहतसँगै रोजगारीको अवसर सिर्जना गर्ने यो पहलले प्रभावित परिवारलाई तत्कालको कठिन परिस्थितिबाट माथि उठ्न तथा आत्मनिर्भर बन्न सहयोग पुग्ने संघको विश्वास छ ।

Share News