रसुवागढी हाइड्रोपावरको बीमा हिमालयन एभरेष्टमा, क्षतिको विवरण संकलन हुन बाँकी

फाइल तस्बिर ।

काठमाडौं । गत भदौ १० गते भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो क्षति पुगेको रसुवागढी हाइड्रोपावरको बीमा हिमालयन एभरेष्ट इन्स्योरेन्समा रहेको पाइएको छ । 

हाइड्रोपावर कम्पनीका सूचना अधिकारी नारानाथ न्यौपानेले आयोजनाका ठूला परियोजनाको बीमा हिमालयन एभरेष्ट इन्स्योरेन्समा रहेको जानकारी दिए । 

उनका अनुसार साना तथा सवारीसाधनको बीमा भने नेपाल इन्स्यारेन्समा रहेको छ ।  कम्पनीले बीमा दाबी प्रक्रिया अघि बढाइसकेको उनले बताए । 

यद्यपि, क्षतिको यकिन रकम भने तत्काल निर्धारण हुन नसकेको उनको भनाइ छ । 

प्राप्त फोटो तथा भिडियोका आधारमा केही संरचनागत क्षति भएको अनुमान गरिए पनि हाल क्षति रकमको यकिन गर्न बाँकी रहेको सूचना अधिकारी न्यौपानेले जानकारी दिए । 

उनका अनुसार आयोजनाको मुख्य संरचना, पावरहाउस, पुल तथा ट्रान्समिसन संरचनामा क्षति पुगेको छ ।

बाढीबाट भएको क्षतिबारे बीमा कम्पनीलाई प्रारम्भिक चरणमै औपचारिक जानकारी गराइसकेको उनले बताए । 

क्षतिको स्थलगत निरीक्षण तथा मूल्यांकनका लागि बीमा कम्पनीबाट सर्भेयर पठाउने विषयमासमेत छलफल भइसकेको उनले जानकारी दिए । 

‘बीमा कम्पनीलाई आयोजना क्षतिलगत्तै औपचारिक रूपमा जानकारी गराइसकेका छौं,’ उनले भने, ‘सर्भेयर पठाएर क्षतिको मूल्यांकन गरिदिन पनि आग्रह गरेका छौं ।’

बीमा कम्पनीमा कति रकम बराबरको दाबी पर्छ र बीमाबाट कति रकम कभर हुन्छ भन्ने अनुमान अहिले नै गर्न नसकिने उनले बताए । 

उनका अनुसार आयोजनाका कतिपय संरचनामा पूर्ण क्षति पुगेको छ भने केही संरचना मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने अवस्था पनि हुन सक्छ ।

‘क्षति पुगेका संरचनाको मात्रै बीमा दाबी गर्नुपर्ने भएकाले स्थलगत निरीक्षण र मूल्यांकनपछि मात्रै दाबी रकम यकिन हुन्छ,’ सूचना अधिकारी न्यौपानेले भने । 

दाबी गरेको रकमध्येमा पनि संरचनाको ह्रासकट्टी (डेप्रिसिएसन) घटाएर कम्पनीले भुक्तानी गर्ने हुँदा अहिले नै बीमाले कति रकम कभर गर्छ भनेर भन्न सकिने अवस्था नरहेको उनको भनाइ छ ।

आयोजनास्थलको भौगोलिक अवस्था कठिन हुनुका साथै मनसुन जारी रहेकाले स्थलगत निरीक्षण र क्षतिको विस्तृत मूल्यांकनमा समेत चुनौती देखिएको सूचना अधिकारी न्यौपानले बताए ।  

सो क्षेत्रमा हेलिकप्टर ल्याण्ड गर्न सक्ने अवस्था समेत नरहेकाले अहिले प्राथमिकता उद्धार तथा खोजी कार्यलाई दिइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार बाढीपछि आयोजनामा कार्यरत ५१ जना कर्मचारी बेपत्ता रहेको कम्पनीले जनाएको छ । सबै कर्मचारीको बीमा सक्रिय रहेकोसमेत सूचना अधिकारी न्यौपानले जानकारी दिए । 

उद्धार तथा खोजी कार्यपछि मात्रै आयोजनाको भौतिक क्षतिको विस्तृत विवरण तयार हुने र त्यसपछि बीमा दाबी तथा क्षतिपूर्ति प्रक्रियाले थप गति लिने उनको भनाइ छ । 

रसुवागढी हाइड्रोपावर चिलिमे हाइड्रोपावरको सहायक कम्पनी हो । योसन् २०११ मा सार्वजनिक कम्पनीको रूपमा स्थापना भएको थियो ।

यस कम्पनीको इक्युटी संरचनामा ५१ प्रतिशत प्रमोटर सेयर र ४९ प्रतिशत पब्लिक सेयर रहेको छ । 

संस्थापक सेयरमध्ये चिलिमेको ३२.७९ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको १८ प्रतिशत, स्थानीय निकायको ०.२१ प्रतिशत रहेको छ । 

कम्पनीले रसुवामा १११ मेगावट जडित क्षमता भएको रसुवागढी जलविद्युत आयोजना सञ्चालन गर्दै आएकोमा हाल बाढीपछि ठप्प छ ।

Share News